Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 173

वीरगंजमा शिक्षक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0

वीरगंज । निमा पुस्तक प्रकाशन, काठमाडौंको आयोजनामा शनिबार वीरगंजमा शिक्षक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

ज्ञानदा एकेडेमी, वीरगंजमा सम्पन्न कार्यक्रममा विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरूलाई ग्रिड (विषयवस्तु विशिष्टीकरण तालिका), प्रश्न निर्माण (आइटम मेकिङ) तथा यसको प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (नेशनल प्याब्सन) वीरगंज महानगर समितिका अध्यक्ष जियालाल गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने ज्ञानदा एकेडेमी वीरगंजका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोइराला विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्यापन गराउने विज्ञान, सामाजिक अध्ययन र अंग्रेजी विषयका शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो । विशेषगरी कक्षा १० का लागि प्रत्येक विद्यालयबाट कम्तीमा दुई जना शिक्षक सहभागी गराइएको उक्त कार्यक्रममा कुल १८० जना शिक्षकहरूले सक्रिय सहभागिता जनाएका थिए।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य शिक्षकहरूलाई पाठ्यक्रममा आधारित प्रश्न निर्माण, मूल्यांकन प्रणाली तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा दक्ष बनाउनु रहेको छ। प्रशिक्षण सत्रमा निमा पुस्तक प्रकाशनका लेखक तथा प्रशिक्षकहरू डा. हिरालाल सुवेदी, जगन्नाथ कपाली र मानबहादुर सुनारले सहजीकरण गर्नुभएको थियो।

ज्ञानदा एकेडेमीमा सम्पन्न यस कार्यक्रमले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। निमा पुस्तक प्रकाशनले आगामी दिनहरूमा पनि यस्ता अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

पर्सा–३ मा एमाले क्षेत्रिय भेला सम्पन्न, दुई दर्जनभन्दा बढीले गरे पार्टीमा प्रवेश

0

वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी आयोजित उक्त बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको हो।

भेलामा नेपाली कांग्रेस निकट तरुण दल पर्सा सचिव सन्तोष महतो, राष्ट्रिय मुक्ति पार्टीका सदाम हुसैन लगायत पोखरिया नगरपालिका वडा नं. ८ मननपुर निवासी खरदार मिया, औरन्जेव अंसारी, मयोनदिन मिया, रामनाथ सहनी, रामबाबु सहनी, मजिद राय, मोति मुखिया बिन, परशुराम मिश्रसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई एमाले नेताहरूले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले पर्सा–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे । उनले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए ।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका शीर्ष तथा प्रभावशाली नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रमाेद जयसवाल, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव, युवा नेता अनिल हजरा, अकलेश कुमार साह, कौशल साहलगायत प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी थिए ।

पर्सा–१ मा नेकपाको क्षेत्रीय भेला सम्पन्न, ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ । भेलाले पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिकको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको सह–संयोजकमा राज कुमार घिमिरे रहेका छन्।

भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सीए अजय चौरसियाले आफू पहिलेदेखि नै शोषित, पीडित तथा मधेसका उत्पीडित वर्गको हक–अधिकारका पक्षमा संघर्ष गर्दै आएको बताए। उनले निर्वाचनको समयमा विभिन्न किसिमका प्रलोभनमा नपरी सही र योग्य व्यक्तिको छनोट गर्नुपर्ने आवश्यकता औंल्याए।

चौरसियाले शिक्षित युवा उम्मेदवारका रूपमा उच्च मनोबलका साथ जनताबीच जाने प्रतिबद्धता व्यक्त गर्दै जनताको हकअधिकारका लागि निरन्तर संघर्ष गर्ने बताए। आफू निर्वाचित भएर प्रतिनिधि सभामा पुगे जनताका समस्या समाधानका लागि नीति–नियम सुधारमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले नेपाली कम्युनिष्ट पार्टीले विगतदेखि गर्दै आएको संघर्ष र योगदानलाई जनतामाझ अझ प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने समय आएको बताएका थिए। पर्सा क्षेत्र नं. १ मा पार्टीको संगठन मजबुत बनाउँदै आगामी निर्वाचनमा जनताको विश्वास जित्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा उनीहरूले राखे।

केन्द्रिय सदस्य काैशिककाे अध्यक्षतामा भएकाे भेलामा नेकपाका केन्द्रीय सदस्य बालगोपाल थापा, रामबाबु बैठा, मुस्कान खातुन, नेता रामदरश कुश्वाहा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रमु यादवले गरेका थिए।

पर्सा–२ मा नेकपाको क्षेत्रीय भेला सम्पन्न, १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नं. २ को क्षेत्रीय भेला शनिबार वीरगंजमा सम्पन्न भएको छ। वीरगंजको रानिघाटस्थित बिन्दवासिनी होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न भेलाले पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साहको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सह–संयोजकमा विपिन यादव रहेका छन्।

क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनोज चौधरीले नेकपाले मात्र जेन–जी आन्दोलनका मागहरू पूरा गर्न सक्ने दाबी गरे। उनले हालका निवर्तमान सांसद नै मन्त्री रहेको सरकारका कारण जेन–जी आन्दोलन भएको र त्यसबाट देशले ठूलो क्षति व्यहोर्नु परेको बताए ।

त्यस्तै व्यक्तिहरू र पार्टी पुनः सरकारमा गए देश ठूलो दुर्घटनातर्फ जान सक्ने चेतावनी दिँदै चौधरीले नेकपाका उम्मेदवारलाई चुनाव चिन्ह तारा छापमा मतदान गरी विजयी गराउन आग्रह गरे।

पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य रामश्रय रामको अध्यक्षता तथा केन्द्रीय सदस्य नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य रामचन्द्र साह, समानुपातिक उम्मेदवारसमेत रहेकी केन्द्रिय सदस्य सावित्री पाेखरेल, केन्द्रीय सदस्य विपिन यादव, बिरेन्द्र यादव, फिरोज बादसाह लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य बृजलाल पासवानले गरेका थिए।

पर्सा–३ मा राष्ट्रिय मुक्ति पार्टीको क्षेत्रीय बैठक सम्पन्न, जनसमर्थन सुदृढीकरणमा जोड

0

वीरगंज । राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्सा क्षेत्र नं. ३ मा शनिबार पोखरिया नगरपालिका–९, शिवर्वा टोलमा आफ्नो क्षेत्रीय बैठक सम्पन्न गरेको छ । बैठकको अध्यक्षता क्षेत्र नं. ३ का उम्मेदवार मनोज पण्डित कुम्हालले गरेका थिए ।

उक्त बैठकमा पार्टीका सह–महासचिव नेजामुद्दीन शमानी, संविधान सभा सदस्य इस्लाम हवारी, पर्सा क्षेत्र नं. २ का उम्मेदवार फिरोज मियाँ, जिल्ला सचिव फहिम हवारी, शेषमन पटेल लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

बैठकमा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, चुनावी रणनीति र प्रचार–प्रसारका विषयमा विस्तृत छलफल गरिएको छ। साथै क्षेत्र नं. ३ मा पार्टीको पक्षमा जनसमर्थन थप सुदृढ बनाउने निर्णय समेत गरिएको छ।

पार्टी नेताहरूले आगामी निर्वाचनमा एकजुट भएर काम गर्ने र जनताको विश्वास जित्ने रणनीतिमा जोड दिएको बताएका छन्।

पर्सा–२ मा चुनावी तापक्रम चर्कियो, कांग्रेसका उम्मेदवार चौरसियाले भने– ‘बालेन साह लुसिफर हुन्’

0

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै कडा तथा विवादास्पद टिप्पणी गरेका छन्।

कांग्रेसले वीरगंजस्थित नगर सभागृहमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा निवर्तमान सांसदसमेत रहेका चौरसियाले बालेन साहलाई ‘लुसिफर’को संज्ञा दिँदै उनको कारण सिंहदरबारलगायत देशका विभिन्न संरचना ध्वस्त भएको दाबी गरे। उनले बालेन साह प्रधानमन्त्री बने देशको अवस्था कस्तो हुन्छ भन्ने प्रश्न समेत उठाए।

सभामा बोल्दै चौरसियाले बालेन साहप्रति लक्षित गर्दै आपत्तिजनक आरोपसमेत लगाए। उनले भने, “बालेन गजेडी हुन्, गाँजा पिएर उनका रातो–रातो आँखा हुन्थे, अहिले उपचार गराएर चुनाव लड्न आएका छन्।” यसका साथै उनले बालेन साहको गायन शैली, र्‍याप संगीत र जीवनशैलीप्रति टिप्पणी गर्दै यस्ता व्यक्तिले देशको नेतृत्व गरे मुलुकको हालत के हुने भन्दै प्रश्न गरे।

उनले अमेरिकामा वृद्ध आमाबुबालाई घरमा नराखी आश्रममा राखिने प्रसंग जोड्दै बालेन साह त्यही सोचबाट सञ्चालित भएको दाबीसमेत गरे र त्यसैले कांग्रेसलाई मतदान गर्नुपर्ने बताए।

कार्यक्रममा चौरसियाले नेपाली कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १२० स्थानमा नयाँ उम्मेदवार अघि सारेको उल्लेख गर्दै पार्टीभित्र पुस्तान्तरण भएको दाबी गरे। पार्टी सभापति आफूभन्दा करिब १५ वर्ष कान्छो रहेको उदाहरण दिँदै उनले कांग्रेसकै नेतृत्वमा देशको विकास सम्भव हुने धारणा राखे।

कांग्रेस पर्सा २ का क्षेत्रिय सभापति महमद सहाबुदिनकाे सभापतित्वमा भएकाे क्षेत्रिय भेलामा कांग्रेस पर्सा क्षेत्र नं. का उम्मेदवार अनिल रुंगटा, ३ का उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी, ४ का उम्मेदवार रमेश रिजाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

‘गोप्य सहमति छैन’ भन्दै राजेश्वर साहद्वारा उम्मेदवारी फिर्ताको स्पष्टिकरण

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका पूर्व प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले आफ्नाे उम्मेदवारी फिर्ता लिएकाे स्पष्टिकरण दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै साहले देशको वर्तमान चुनावी परिस्थिति र पार्टीको प्रतिष्ठालाई मध्यनजर गर्दै कम समयमै उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताएका छन्। केही दिनअघि समर्थक, शुभेच्छुक तथा स्थानीयको सल्लाह, सहयोग र समर्थनमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै उनले आफ्नो पछिल्लो निर्णयले समर्थकहरूलाई दुख पुगेकोप्रति गहिरो अनुभूति भएको बताएका छन्।

साहले समर्थकहरूको शब्द, सामाजिक सञ्जालका प्रतिक्रिया र मौन पीडा सबै आत्मसात गरेको उल्लेख गर्दै भरोसामा चोट पुगेको सत्यबाट भाग्न नचाहेको र हृदयदेखि नै क्षमायाचना गरेका छन्। उनले परिवर्तन, सुशासन, विकास र नयाँ राजनीतिक संस्कृतिको सपना कहिल्यै नछाडेको स्पष्ट पार्दै उक्त सपना समर्थकहरूसँगै देखेको र आज पनि त्यही विश्वास बोकेको बताएका छन्।

उम्मेदवारी फिर्ता लिने विषयमा फैलिएका हल्लाप्रति प्रतिक्रिया जनाउँदै साहले कुनै दल वा व्यक्तिसँग पद, पैसा, प्रलोभन वा दबाबमा कुनै गोप्य सहमति नगरेको स्पष्ट पारेका छन्। ती सबै हल्ला असत्य भएको उनको दाबी छ।

स्वतन्त्र रूपमा चुनाव लड्नु भावनात्मक रूपमा आकर्षक भए पनि दीर्घकालीन परिवर्तनलाई अझ गाह्रो बनाउने जोखिम रहेको उल्लेख गर्दै साहले आफ्नो निर्णय भावनामा नभई जिम्मेवारी र रणनीतिक परिस्थितिको मूल्यांकनका आधारमा लिएको बताएका छन्। दलभित्रै बसेर सुधार र परिवर्तनको संघर्ष कठिन भए पनि दीर्घकालीन परिवर्तनका लागि यही बाटो उपयुक्त ठानेको उनको भनाइ छ।

हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको उद्देश्य परिवर्तन र पुस्तान्तरण नै रहेको उल्लेख गर्दै साहले व्यक्ति विशेषभन्दा लोकतान्त्रिक प्रक्रिया र संगठनात्मक अनुशासनको सम्मानमा आफू उभिएको स्पष्ट पारेका छन्। उनले आफ्ना विचार त्यागेको नभई तिनलाई अझ इमानदार र जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

अन्त्यमा साहले समर्थकहरूसँग थोरै समय दिन आग्रह गर्दै आजको निर्णयभन्दा भोलिका काम र व्यवहारका आधारमा मूल्याङ्कन गर्न अनुरोध गरेका छन्। आफू सधैं समर्थकहरूसँगै रहेको र परिवर्तनको यात्रामा निरन्तर साथ रहने विश्वास दिलाएका छन्।

पर्साकी आयुषा कापरी बनिन् सबैभन्दा कान्छी पाइलट

0

वीरगंज । नेपालको उड्डयन क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै पर्सा जिल्लाकी आयुषा कापरी सबैभन्दा कान्छी पाइलटका रूपमा स्थापित भएकी छन्। परम्परागत रूपमा पुरुषप्रधान मानिने उड्डयन क्षेत्रमा उनको सफलता नेपाली महिलाको क्षमता, आत्मबल र सम्भावनाको सशक्त उदाहरण बनेको छ।

वि.सं. २०६१ साल असार १५ गते पर्सा जिल्लाको वीरगंजमा जन्मिएकी आयुषाले बाल्यकालदेखि नै पाइलट बन्ने सपना देखेकी थिइन्। सोही सपनालाई साकार पार्ने उद्देश्यका साथ उनले संयुक्त राज्य अमेरिका (अमेरिका) बाट पाइलट अध्ययन पूरा गरेकी हुन्। आधुनिक प्रविधि, कडा अनुशासन र उच्च सुरक्षा मापदण्डका लागि परिचित अमेरिकामा उनले चुनौतीपूर्ण तथा प्रतिस्पर्धात्मक प्रशिक्षण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिन्।

उड्डयन पेशा अत्यन्त जिम्मेवारीपूर्ण, प्राविधिक तथा मानसिक रूपमा चुनौतीपूर्ण क्षेत्र मानिन्छ । अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण वातावरणमा आफूलाई सक्षम सावित गर्दै कम उमेरमै पाइलट कोर्स पूरा गर्नु आयुषाको निरन्तर मेहनत, अनुशासन र दृढ इच्छाशक्तिको परिणाम हो।

सामान्य पारिवारिक पृष्ठभूमिबाट आएकी आयुषाका पिता बिरेन्द्र कापरी नेपाल आयल निगममा बाउजर अपरेटरका रूपमा कार्यरत छन्। सीमित स्रोतसाधनका बाबजुद परिवारको निरन्तर साथ, भरोसा र उत्साहले आयुषालाई लक्ष्यतर्फ अघि बढ्न ठूलो प्रेरणा दिएको देखिन्छ।

त्यसैगरी, आयुषाको सफल यात्रामा उनका मामा उमेश धिमालको सहयोग, मार्गदर्शन र प्रेरणा निर्णायक रहेको बताइन्छ। नेपाल आयल निगमअन्तर्गत एभिएसन फ्युल डिपो, सिनामंगलमा कार्यरत धिमालबाट प्राप्त उड्डयन क्षेत्रसम्बन्धी अनुभव र व्यावहारिक सुझावले आफूलाई थप हौसला मिलेको आयुषाको भनाइ छ।

भौगोलिक रूपमा चुनौतीपूर्ण नेपालमा हवाई सेवा अत्यन्त महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा दक्ष, अनुशासित र जिम्मेवार पाइलटहरूको आवश्यकता बढ्दो छ। पर्सा जिल्लाकी सबैभन्दा कान्छी पाइलटका रूपमा आयुषा कापरीको उदयले उड्डयन क्षेत्रमा महिलाको सहभागिता विस्तार गर्न र नयाँ पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयुषा कापरीले केवल विमान मात्र उडाएकी होइनन्, उनले पर्सा जिल्ला मात्र नभई देशभरका हजारौँ युवतीहरूको सपना र आत्मविश्वासलाई पनि उडान भर्न प्रेरित गरेकी छन्। उनको जीवनयात्रा संघर्ष, परिवारको साथ र आफन्तको सहयोगले असम्भव जस्तो देखिने सपना पनि सम्भव बनाउन सकिन्छ भन्ने सशक्त सन्देश बोकेको छ।

पर्सा–२ की उम्मेदवार रिमा यादवद्वारा घरदैलो अभियानको शुभारम्भ

0

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले सरस्वती पूजाको अवसर पारेर घरदैलो कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी छन्। उनी पर्सागढी नगरपालिकाबाट अभियान सुरु गर्दै टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिन्।

घरदैलो अभियानका क्रममा यादवले स्थानीयवासीका समस्या, गुनासा र अपेक्षाहरू सुनेर शिक्षा, रोजगारी, महिला सशक्तीकरण, आधारभूत सेवा र विकास निर्माणसँग सम्बन्धित धारणा संकलन गरिन्। उनले विद्यालयका विद्यार्थी, अभिभावक र सर्वसाधारणसँग भलाकुसारी गर्दै महिला, युवा र बालबालिकाको भविष्य सुरक्षित गर्न राजनीति परिवर्तनमुखी हुनुपर्नेमा जोड दिइन्।

उम्मेदवार यादवले भनिन्, “परिवर्तनको नेतृत्व महिलाले गर्छन्। अब महिलाको हक–अधिकारका लागि केवल आवाज उठाउने समय सकिएको छ, निर्णायक हस्तक्षेप र नेतृत्वको समय आएको छ।” उनले समृद्ध पर्सा, सबल समाज र जनताको हक–अधिकार सुनिश्चित गर्ने संकल्पका साथ जनतामाझ आएको बताइन्।

स्थानीयवासीहरूले युवा तथा महिला उम्मेदवारलाई अघि सारेकोमा खुलेर प्रशंसा गर्दै यसपटक परिवर्तनका लागि एमालेको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए। घरदैलो अभियान आगामी दिनहरूमा पर्सा–२ का अन्य वडाहरूमा पनि विस्तार गरिनेछ। कार्यक्रममा एमाले नेता गोकर्ण पाठक, नेतृ सिता लामा, प्रद्युमन यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पर्सा–२ का उम्मेदवार कानुद्वारा वीरगंज–२९ मा कार्यकर्ता तथा समर्थसंग भेटघाट

0

वीरगंज । पर्सा क्षेत्र नम्बर २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर २९ बसडिल्वामा रास्वपा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार रास्वपा उम्मेदवार सुशीलकुमार कानुले वडाका रास्वपा कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका छन्।

कार्यक्रममा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उम्मेदवार कानुले रास्वपा नै देशको वैकल्पिक शक्ति भएको र आगामी फागुन २१ को निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । उनले नेपालकै इतिहासमा पहिलोपटक मधेसी युवाले प्रधानमन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै रास्वपाका सिपाही बन्न पाउँदा गर्व लागेको बताए।

कानुले ‘अबकी बार, बालेन सरकार’ नाराले मधेसमात्रै नभई सम्पूर्ण देशमा गुञ्जन फैलिएको र परिवर्तन अपरिहार्य भइसकेको जिकिर गरे। आफू युवा भएको कारणले युवामा भरोसा गर्न आग्रह पनि गरे।

कार्यक्रम रास्वपाका क्षेत्रीय सभापति फैयाज मियाँको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा क्षेत्रीय सचिव किसन प्रसाद, वीरगंज महानगर उपसभापति परितोष द्विवेदी, नेता सुधीर पटेललगायतले पनि सहभागिता रहेको थियो ।