Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 156

वीरगंज–१४ मा प्रदीप यादवको घरदैलो, खानेपानी सङ्कट समाधानको भूमिका स्मरण

0

वीरगंज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रमलाई तीव्रता दिएका छन् ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले बुधवार वीरगञ्ज महानगरपालिका–१४ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले पर्सा–१ बाट दुई पटक निर्वाचित भएपछि क्षेत्रको विकासका लागि आफूले गरेका कामबारे जानकारी गराएका थिए ।

विशेषगरी गत वर्ष देखिएको खानेपानी सङ्कट समाधानमा आफूले खेलेको भूमिकाबारे स्मरण गर्दै यादवले समस्या उत्पन्न भएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिएको दाबी गरे । “पानीको समस्या निम्तिएको बेला सौभाग्यवश म खानेपानी मन्त्री थिएँ । समस्या देखिएको २४ घण्टाभित्रै प्रत्येक टोल–टोलमा डीप बोरिङ जडान गर्ने निर्देशन दिएपछि आज वीरगञ्जको खानेपानी समस्या अन्त्य भएको छ,” उनले भने ।

यादवले निर्वाचनपछि पनि जनताकै बिचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै मतदातालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे । “म सधैँ तपाईँहरूको बिचमा छु । सांसद बने पनि, मन्त्री बने पनि घरदैलोमै पुगेर सुख–दुःखको सारथि बनेको छु,” उनले भने । साथै, अन्य दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूको काम र उपस्थितिबारे प्रश्न गर्न मतदातालाई आग्रह गरे ।

घरदैलो कार्यक्रममा वीरगञ्ज–१४ का वडाध्यक्ष महबुब एलाही अन्सारी, पूर्व वडाध्यक्ष भरत प्रसाद कुर्मी लगायत नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

वीरगंजमा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता

0

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले वीरगंज महानगरपालिकासँगको सहकार्यमा प्रत्येक बालबालिकालाई ५ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको हो ।

महानगर क्षेत्रभित्रका १६ जना अपाङ्गता भएका बालबालिकालाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य तथा समाज दुवैको दायित्व भएको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महानगरले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । यस्ता सहकार्यात्मक पहलले समावेशी शिक्षा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा जानकारी दिँदै लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेंलो परिचयपत्र प्राप्त गरेका बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार रातो र निलो परिचयपत्रधारी अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट मासिक भत्ता पाउने व्यवस्था भए पनि सेतो र पहेंलो कार्डधारीले आर्थिक सहयोग नपाउने अवस्था रहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यकताका लागि सहयोग उपलब्ध गराइएको उहाँले स्पष्ट पार्नुभयो ।

सहयोग प्राप्त गर्ने १६ जना बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन् । अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको पढाइलाई निरन्तरता दिन सहज हुने र थप हौसला मिल्ने बताएका छन् ।

महानगर र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता र आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

पर्सा–४ मा रमेश रिजालको घरदैलो अभियान तीव्र, विकास र सुशासनको प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत जिराभवानी गाउँपालिकाको परसवा टोल तथा वडा नम्बर–५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। उनले विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीको पक्षमा समर्थन जुटाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले भने, “जनताको आवाजलाई केन्द्रमा राखेर क्षेत्रको समग्र विकास र समृद्धि हाम्रो प्रमुख लक्ष्य हो। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले लोकतन्त्रको रक्षा र समावेशी विकासको बाटोमा अघि बढ्न कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे।

स्थानीय बासिन्दाहरूले रिजालप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तन र विकासका लागि कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य एवं वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी लगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कुहडीमा एमाले अगुवा कार्यकर्ता भेला सम्पन्न, रिमा यादवलाई जिताउन एकजुट हुने प्रतिबद्धता

0

‘नेता होइन, सेवक’ भन्दै रुपेश पाण्डेले गरे पकहाँ मैनपुरमा पार्टी कार्यालयकाे उद्घाटन

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पकहाँ मैनपुर गाउँपालिका वडा नं. ३ मा नेकपा (एमाले) वडा कमिटीको कार्यालय सञ्चालनमा आएको छ। एक कार्यक्रमका बीच एमाले पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेले कार्यालय उद्घाटन गरेका हुन्।

कार्यालय उद्घाटन गर्दै उम्मेदवार पाण्डेले क्षेत्र नं. ३ को विकासका लागि परिवर्तन आवश्यक रहेको उल्लेख गरे । उनले आफू नेता नभई सेवकको भूमिकामा काम गर्न आएको बताउँदै भने, “म तपाईंहरूको नेता होइन, सेवक बन्न आएको हुँ। एकचोटि मौका दिनुहोस्, म गरेर देखाउँछु।”

पाण्डेले भाषणभन्दा कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै अवसर पाए क्षेत्रको मुहार फेर्ने दाबी गरे । देशको समग्र विकासका लागि सुशासन अपरिहार्य रहेको बताउँदै उनले सुशासन कायम राख्दै शिक्षा, स्वास्थ्य, कृषि लगायत सबै क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पकहाँ मैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया, नेता शिव पटेल, बिन्धान्चल ठाकुर, रामबाबु चौरसिया, तेजप्रकाश निषाद, राजकिशोर साह तेली, नवल पटेल, मोटर कुमार, जानमहमद आलम लगायतको उपस्थिति रहेको थियो।

प्रसौनी गाउँपालिकाद्वारा निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

0

वीरगंज। बाराको क्षेत्र नं. ४ अन्तर्गत पर्ने प्रसौनी गाउँपालिकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता उल्लंघन गरेको आरोप लागेकाे छ। स्थानीयले बताएका अनुसार, गाउँपालिकाले मतदातालाई प्रभावित पार्ने उद्देश्यले धमाधम विकासका गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

यस क्रममा वडा नं. २, ५ र ६ मा पर्ने बेलहिया, प्रष्टोका र भलुही चौक लगायतका विभिन्न स्थानमा बोरिङ जडान गरी घरघरमा धारा जडान गर्ने काम भइरहेको छ । स्थानीय बासिन्दा र स्रोतका अनुसार, यस कार्यको नेतृत्व सो वडाका निर्वाचित जनप्रतिनिधि र गाउँपालिकाका प्रमुख स्वयं गर्दै आएका छन्।

विश्लेषकहरू भन्छन् कि निर्वाचन नजिकिँदै गर्दा यस प्रकारको गतिविधि मतदातामा दबाब वा लोभजाल सिर्जना गर्न सक्ने जोखिम राख्छ । आचारसंहिता उल्लंघनको यो घटना सम्बन्धित निकायले ध्यानमा लिएर अनुसन्धान वा सचेतनाको आवश्यकता रहेको बताइएको छ।

स्थानीयका अनुसार, यस प्रकारका गतिविधिले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा प्रभाव पार्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

पर्सा ४ काे शिकारीबासमा अहिलेसम्म मत माग्न उम्मेदवार पुगेनन्

0

सेढवा । पर्साको ठोरी गाउँपालिका–३ अन्तर्गत पर्ने शिकारीबास गाउँमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आजसम्म कुनै पनि राजनीतिक दलका उम्मेदवार मत माग्न नपुगेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

देशभर निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसार, घरदैलो अभियान, पार्टीका झन्डा, पोस्टर र ब्यानरले माहोल तातेको देखिए पनि शिकारीबासमा त्यस्तो गतिविधि देखिएको छैन। वीरगञ्ज–ठोरी हुलाकी राजमार्गबाट करिब सात किलोमिटर जंगलभित्र अवस्थित यस गाउँमा उम्मेदवार नआएको स्थानीय प्रेम महतोले बताए।

वर्षौंदेखि विभिन्न समस्यासँग जुझ्दै आएको यस गाउँका बासिन्दाले चुनावको बेला आफ्ना पीडा र आवश्यकताहरू उम्मेदवारहरूलाई सुनाउने अवसर गुमाएको गुनासो गरे। “नेताहरू चुनावमा वाचा गरेर जान्छन्, जितेपछि अर्को चुनावसम्म फर्केर हेर्दैनन्,” स्थानीयले बताए। यद्यपि समस्या सुनाउँदा केही समाधान हुने आशा अझै बाँकी रहेको महतोले बताए।

गाउँमा सडकको अभाव, जंगली जनावरको आक्रमण, बेरोजगारी मुख्य चुनौतीका रूपमा रहेका छन्। किसानहरूले उत्पादन गरेका बालीनाली जंगली जनावरले नष्ट गर्ने गरेको र बासिन्दा जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको जनाइएको छ।

स्थानीय स्रोतका अनुसार संघीयता कार्यान्वयनपछि केही समस्या आंशिक रूपमा समाधान भएका छन्। प्राथमिक उपचारका लागि स्वास्थ्य इकाइ स्थापना, खानेपानीका लागि बोरिङ, सोलार प्लान्टमार्फत विद्युत् सुविधा, निःशुल्क वाइफाइ, र नदी नियन्त्रण परियोजना जस्ता पहल भए पनि ती पर्याप्त नभएको स्थानीयले बताए।

शिकारीबासमा ५५ घरधुरी छन्, जसमा आदिवासी थारु समुदायको बाहुल्यता छ। कुल जनसंख्या करिब २६० रहेको छ भने करिब १४० मतदाता छन्। बासिन्दामध्ये एक जना प्रहरी सेवा, एक जना शिक्षण पेशामा कार्यरत छन्। चार जना करार सेवामा छन् भने दुई जना वैदेशिक रोजगारीमा छन्। बाँकी अधिकांश स्थानीय खेतीपातीमा निर्भर छन्।

स्थानीयका अनुसार उम्मेदवारले गाउँको वास्तविक समस्या बुझेर समाधानतर्फ ध्यान नदिँदा मतदाता बीचमा असन्तोष बढ्दै गएको छ।

पर्सा–४ मा डा. कृपासिन्धु चौधरीको घरदैलो अभियान तीव्र, शिक्षा–स्वास्थ्य–कृषिमा विकास वाचा

0

सेढवा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार डा. कृपासिन्धु चौधरीले आफ्नो घरदैलो अभियान तीव्र बनाएका छन्। उनले मतदाताको घरदैलोमा पुग्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार र पर्यटनलाई क्षेत्रीय विकासको मुख्य आधारका रूपमा अघि सारेका छन्।

सो अवसरमा डा. चौधरीले जिराभवानी गाउँपालिका–५ अन्तर्गत शंकरसरैया, हरैया र सखुवनीयाका मतदातासँग भेटघाट गरी समर्थन मागेका थिए। साथै, ठोरी गाउँपालिकाको विजय बस्ती, निर्मलबस्ती, ब्रह्मानगर र शिकारीबास क्षेत्रमा समेत घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

उम्मेदवार डा. चौधरीले सार्वजनिक गरेको चुनावी घोषणापत्र अनुसार शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। यसमा सामुदायिक विद्यालय र उच्च शिक्षाको गुणस्तर सुधार, SEE नतिजा अभिवृद्धि, गणित, विज्ञान, अंग्रेजी र कम्प्युटर शिक्षामा सुधार ल्याउने योजना समावेश गरिएको छ। साथै, Education with Skill अवधारणाअनुसार CTEVT मार्फत सीपमूलक, प्राविधिक र व्यावसायिक तालिम सञ्चालन गरी युवालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि गरिएको छ।

स्वास्थ्यतर्फ, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरण, मातृ–शिशु स्वास्थ्यमा सुधार र विपन्न नागरिकलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना घोषणापत्रमा उल्लेख छ।

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ सुविधा विस्तार, किसानलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउने र कृषि उत्पादनको बजार सुनिश्चित गर्ने नीति पनि समावेश गरिएको छ। रोजगारी सृजनाका लागि सीप विकास, स्वरोजगार प्रवर्द्धन र वैदेशिक रोजगारीबाट फर्किएका युवाको पुनःस्थापनालाई प्राथमिकता दिइएको छ।

यसैगरी, सडक, पुल, खानेपानी, विद्युत् र सञ्चार जस्ता भौतिक पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन मार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य डा. चौधरीले घोषणापत्रमा उल्लेख गरेका छन्। उनले समावेशी विकास, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्दै पर्सा–४ को समग्र विकासमा प्रतिबद्धता व्यक्त गरेका छन्।

पूर्व मन्त्री चौरसियाको विकल्प खोज्दै मतदाता: पर्सा–२ मा परिवर्तनको माग

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार, पूर्व मन्त्री एवं निर्वतमान सांसद अजय कुमार चौरसियाको विकल्प खोज्न मतदाताहरू सक्रिय बनेका छन् । ६१ वर्षीय चौरसियाले लामो समय मन्त्री र सांसदको रूपमा सेवा गरे तापनि क्षेत्रको विकासमा अपेक्षित योगदान नगरेको भन्दै मतदाताले परिवर्तनको आवश्यकता महसुस गरिरहेका छन्।

यस क्षेत्रमा नेकपा एमालेकी रिमा कुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुशिल साह कानु, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मनोज चौधरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक टेमानी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विना जयसवाल लागयतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मतदाता भन्छन् कि जो उम्मेदवार चौरसियालाई हराउने सम्भावना राख्छ, त्यसलाई उनीहरूले नै समर्थन गर्ने योजना बनाएका छन् । उनीहरूले चौरसियासँग कार्यकालमा के उपलब्धि भए र अब के योजना बाँकी छन् भनी प्रश्न गर्दै परिवर्तनको माग गरेका छन् ।

चौरसियाको मन्त्री रहँदा सरकारकै कारण भएको जेएनजे आन्दोलनमा ठूलो जनधनको क्षति भएको थियो । त्यस्तै, इँटा भट्टामा जीवित व्यक्तिलाई जलाएको आरोपमा जन्मकैद सजाय पाएका आफताब आलमलाई उनले सफाई दिलाएको आरोप पनि सार्वजनिक रूपमा लाग्दै आएको छ । यी सबै कारणले मतदाता चौरसियाको विकल्प खोज्न थालेको बताइन्छ ।

स्थानीय नेताहरू र सामाजिक अभियन्ताहरू भन्छन्, “अब मतदाताले केवल व्यक्तिको इतिहास होइन, वर्तमान उपलब्धि र भविष्य योजना हेरेर निर्णय गर्नेछन्। विकास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मुद्दाहरूले मतदाता आन्दोलनको रूप लिइरहेका छन्।”

सुवर्णपुरबाट मानसिक अस्थिर पुरुष उद्धार, मानवसेवा आश्रममा भर्ना

0

वीरगंज । पर्साकाे ठोरी गाउँपालिका वार्ड नम्बर ५, सुवर्णपुर चोकबाट एक जना आफ्नो नाम थर स्पष्ट गर्न नसक्ने र मानसिक अवस्था कमजोर भएको अनुमानित ३० वर्षीय पुरुषलाई मंगलबार दिउँसो २:३० बजे मानवसेवा आश्रम बिरगंज शाखाले उद्धार गरेको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, संयोजक मुना मगर, अभिभावक प्रकाश थारू, ठोरी गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन, प्रहरी चौकी सुवर्णपुरका प्रहरी वरिष्ठ हवलदार विवेक राउत कुर्मी लगायतको उपस्थिती रहेको थियो।

उद्धार पश्चात् पुरुषलाई आश्रममा ल्याइएर सरसफाइ, नुहाइ धुहाइ गरिएको छ। यसपछि डाक्टर भरत गोईको निगरानीमा आवश्यक औषधि र उपचार सुरु गरिने बताइएको छ।

मानवसेवा आश्रमले सामाजिक सुरक्षा र मानसिक स्वास्थ्य क्षेत्रमा यस प्रकारको सक्रिय पहललाई निरन्तरता दिने जनाएको छ।