Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 155

पर्सा २ काे बर्वामा एमालेको अगुवा कार्यकर्ता भेला, रिमा यादवद्वारा विकास एजेन्डा सार्वजनिक

0

वीरगंज । पर्सा क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१९ अन्तर्गत बर्वा टोलमा नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा उम्मेदवार रिमा यादवले क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना तयार गरेको बताइन्। उनले सीपमूलक तालिम विस्तार, प्राविधिक शिक्षाको प्रवर्द्धन, आधुनिक कृषि प्रणाली विकास, पशुपालन प्रवर्द्धन तथा स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर नीतिगत रूपमा काम गर्ने धारणा व्यक्त गरिन्।

यादवले कृषि क्षेत्रको सुदृढीकरणका लागि प्रत्येक वडामा ‘कृषि क्लिनिक’ स्थापना गर्ने योजना रहेको उल्लेख गरिन्। साथै, समयमै मल र बिउ उपलब्ध गराउने नीति निर्माणमार्फत कृषकका समस्या समाधान गर्ने लक्ष्य रहेको बताइन्।

विगतका जनप्रतिनिधिले पूरा गर्न नसकेको कामलाई अघि बढाउँदै क्षेत्रको विकासमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले अझै धेरै काम बाँकी रहेको उल्लेख गरिन्। ती मुद्दा सदनसम्म सशक्त रूपमा उठाउन आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन्।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी, मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अली, लेखा समिति संयोजक अजय साह, वडा अध्यक्ष संजु छतकुली, युवा नेता मुकेश दुबेदी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा ४ काे भेडिहारीमा रमेश रिजालको घरदैलो

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातेका बेला नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । मतदाताको घरआँगनमै पुगेर समर्थन जुटाउने रणनीतिअन्तर्गत उनले बिहिबार बिहान कालिकामाई गाउँपालिका–२ भेडिहारीमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरे ।

घरदैलोका क्रममा रिजालले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको सुधारलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए । स्थानीय बासिन्दाले विगतका अधुरा योजना, पूर्वाधारको अभाव र रोजगारी संकटबारे गुनासो राखेका थिए ।

मतदाताका जिज्ञासा र गुनासोको जवाफ दिँदै रिजालले “अबको पाँच वर्ष पर्सा–४ को समग्र विकासका लागि निर्णायक हुने” भन्दै स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी, अजय पटेल, राधाकिशुन चौधरी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेताहरूले गाउँ–गाउँमा बढ्दो सहभागिताले कांग्रेसको अभियान थप बलियो बन्दै गएको दाबी गरेका छन्।

पर्सा–३ मा परिवर्तनको बहस: युवा उम्मेदवार रूपेश पाण्डेप्रति बढ्दो जनसमर्थन

0

वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले पुरानो राजनीतिक धरातललाई चुनौती दिने संकेत देखिएको छ। लामो समयदेखि सक्रिय राजनीतिमा रहेका नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी विरुद्ध जनअसन्तुष्टि बढ्दै गएको चर्चा चलिरहँदा परिवर्तनको पक्षमा माहोल बनेको स्थानीय स्तरमा आँकलन गरिएको छ।

फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति मतदाताको आकर्षण बढ्दो रहेको बताइन्छ। घरदैलो अभियान, टोल–टोल भेटघाट तथा जनसंवाद कार्यक्रममा पाण्डेको सक्रियताले मतदातामाझ सकारात्मक सन्देश प्रवाह गरेको समर्थकहरूको भनाइ छ।

स्थानीय मतदाताहरूले विगतमा पटक–पटक सांसद र मन्त्री हुँदा पनि अपेक्षित क्षेत्रीय विकास हुन नसकेको विषय उठाउँदै नेतृत्वको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्ने गरेका छन्। पटेर्वा सुगौलीका एक मतदाताले भने, “भाषणभन्दा काम र परिणाम जनताको प्राथमिकता हो।”

यता रूपेश कुमार पाण्डेले रोजगारी, सुशासन, पारदर्शिता तथा स्थानीय पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आएका छन्। विभिन्न स्थानमा उनलाई खादा र टीका लगाएर स्वागत गरिएको तथा अग्रिम शुभकामना दिइएको दृश्यहरू पनि देखिएका छन्।

यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि प्रतिस्पर्धामा छन्। यद्यपि समग्र राजनीतिक समीकरण हेर्दा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच केन्द्रित रहेको विश्लेषण भइरहेको छ।

पर्सा–३ मा यसपटकको निर्वाचन केवल दलगत प्रतिस्पर्धा नभई पुस्तान्तरण, कार्यशैली र विकासका मुद्दासँग जोडिएको रूपमा हेरिएको छ। मतदाताहरूले वाचा भन्दा परिणाम र भाषणभन्दा कामलाई प्राथमिकता दिने संकेत दिएका छन्।

पर्सा २ मा जसपाकाे पार्टी प्रवेश कार्यक्रम, उम्मेदवार टेमानीद्वारा पार्टी कार्यालय उद्घाटन

0

वीरगंज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने उक्त वडामा विभिन्न दल परित्याग गरी सयौं जना युवा, बुद्धिजीवी तथा स्थानीय अगुवाहरू जसपामा प्रवेश गरेका छन्। सामूहिक रूपमा आयोजित प्रवेश कार्यक्रमले क्षेत्रमा जसपाको चुनावी अभियानलाई नयाँ ऊर्जा दिएको पार्टीले जनाएको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी, जसपाकी नेतृ करिमा बेगम, पार्टी नेता सन्तोष तिवारी तथा वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी लगायतको उपस्थिति रहेको थियो। नेताहरूले अबिर, टीका र फूलमाला लगाएर नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा देखिएको उत्साहले जसपाप्रति स्थानीय तहमा बढ्दो विश्वास झल्काएको सहभागीहरूको भनाइ थियो।

उक्त अवसरमा सोही स्थानमा जसपाको नयाँ पार्टी कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ। कार्यालयको उद्घाटन प्रमुख अतिथिका रूपमा रहेका उम्मेदवार अशोक टेमानीले गरेका थिए। स्थानीय स्तरमै पार्टी कार्यालय सञ्चालनमा आएपछि संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी गतिविधि सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले जसपालाई विकास र परिवर्तनको आशा बोकेको शक्ति भएको धारणा व्यक्त गरे। विगतमा विभिन्न दलका उम्मेदवारलाई निर्वाचित गराउँदा अपेक्षित विकास हुन नसकेको अनुभव सुनाउँदै उनीहरूले यसपटक जनचासो र आवश्यकता नजिकबाट बुझेका उम्मेदवारलाई साथ दिने बताएका छन्।

उम्मेदवार टेमानीले उपस्थित सबैलाई धन्यवाद दिँदै क्षेत्रको विकास, सुशासन र जनसेवामुखी राजनीति आफ्नो प्राथमिकता रहेको बताए। स्थानीय युवाशक्ति र बुद्धिजीवीहरूको साथले चुनावी अभियान थप मजबुत बन्ने विश्वास उनले व्यक्त गरे।

बहुदरमाई–४ मा भएको यस सामूहिक प्रवेश कार्यक्रमलाई जसपाको चुनावी रणनीतिका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। स्थानीय तहमा पार्टी संरचना मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी पार्टीले जनाएको छ।

पर्सागढी–२ मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, स्थानीयबाट उत्साहजनक समर्थन

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा स्थानीयवासीले पर्सा–२ मा परिवर्तनको आशा जागेको प्रतिक्रिया दिएका छन्। सहभागीहरूले यसपटकको मतदानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुप्रति समर्थन जनाएका थिए।

उम्मेदवार सुशील कुमार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल उपलब्ध गराउने व्यवस्था तथा सिंचाइका लागि पानीको सुनिश्चिततालाई प्राथमिकतामा राखिने बताए।

त्यसैगरी बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि सार्दै कानुले निर्वाचित भएसँगै आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने धारणा राखे।

घरदैलो कार्यक्रममा रास्वपाका नेता शर्फु आलमका अनुसार फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरी लगायतको सहभागिता रहेको थियो।

पर्सा–३ मा रूपेश पाण्डेको चुनावी अभियान तिब्र, घरदैलोमा स्थानीय उत्साहको स्वर

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रुपेश कुमार पाण्डेले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै पाण्डेको घरदैलो, जनदर्शन र मतदाता भेटघाट कार्यक्रमले स्थानीय समुदायबाट व्यापक समर्थन जुटाइरहेका छन्।

“गयो दिन भाषणको, अब परिणाम चाहियो” भन्ने स्थानीय जनआवाजलाई आत्मसात गर्दै पाण्डेले विकास, सुशासन र जवाफदेहिताको एजेन्डा सहित मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। आम नागरिकले खोक्रा आश्वासन होइन, काम गर्ने नेतृत्व खोजिरहेको सन्देश घरदैलो कार्यक्रममार्फत प्रष्ट देखिएको छ। युवापुस्ताको भरोसा र अग्रजहरूको आशीर्वादले पाण्डेको उम्मेदवारी थप मजबुत बन्दै गएको छ।

बुधबार पकहाँमैनपुर गाउँपालिकामा सम्पन्न घरदैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य शिव पटेल, संविधानसभा सदस्य प्रधुमन चौहान, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघ अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष तथा युवा नेता अकलेश कुमार साह, पालिका इन्चार्ज विजय चौरसिया लगायत नेताहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीयले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा ठोस पहल गर्नुपर्ने माग राख्दै पाण्डेप्रति आफ्नो विश्वास व्यक्त गरे। यसरी जनसमर्थन बढ्दै जाँदा पर्सा–३ मा परिवर्तनको संकेत स्पष्ट भएको छ।

पर्सा–४ का शिकारीबासमा मत माग्न पुगे जसपा उम्मेदवार डा. कृपासिन्धु चौधरी

0

सेढवा । पर्सा ठोरी गाउँपालिका–३ अन्तर्गत दुर्गम बस्ती शिकारीबासमा पहिलाे पटक मत माग्न उम्मेदवार पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार डा. कृपासिन्धु चौधरीले पहिलोपटक शिकारीबासमा मत माग्दै घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।

उम्मेदवार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार र पर्यटनलाई विकासको मुख्य आधार बनाउँदै आफ्नो चुनावी प्रतिबद्धता स्थानीय बासिन्दासमक्ष प्रस्तुत गरेका थिए । घरदैलोका क्रममा उनले प्रत्यक्ष संवाद गर्दै शिकारीबासका समस्याबारे जानकारी लिएका र मतदातासँग समर्थन मागेका छन् ।

स्थानीय सालिराम दिस्वाका अनुसार चौधरीले आफू निर्वाचित भए दुर्गम बस्तीका दीर्घकालीन समस्याको समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

शिकारीबास पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा अवस्थित छ । दुर्गम अवस्थिति र आधारभूत पूर्वाधारको अभावका कारण यहाँका बासिन्दाले वर्षौंदेखि विभिन्न चुनौती झेल्दै आएका छन् । गाउँमा व्यवस्थित सडकको अभाव, जंगली जनावरको आक्रमणबाट धनजनको क्षति, उत्पादन भएका बालीको नष्ट हुनु, असुरक्षित बसोबास, र बेरोजगारी मुख्य समस्या रहेका छन् ।

शिकारीबासमा ५५ घरधुरी रहेका छन्, जहाँ आदिवासी थारु समुदायको बाहुल्य छ । गाउँको कुल जनसंख्या करिब २६० रहेको र मतदाता संख्या करिब १४० जनाभन्दा बढी रहेको जनाइएको छ ।

पर्सा–२ मा रास्वपाका वरिष्ठ नेतासहित सयौँ जना एमालेमा प्रवेश, उम्मेदवार रिमाले गरिन् स्वागत

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२७ कुहडीमा बुधवार नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। प्रमोद साह तेलीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि आफ्नो योजना र प्रतिबद्धता सार्वजनिक गरेकी छन्।

भेलामा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालका दर्जनौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। रास्वपाका वडा नं. २७ का वरिष्ठ नेता तथा पूर्व वडा अध्यक्ष बुनी प्रसाद यादवसहित नव प्रवेशी नेताहरूले पार्टीमा आबद्ध भएका हुन्।

नव प्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य विजय कुमार सरावगी, मधेस प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव, उम्मेदवार रिमा यादव, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवलगायत नेताहरूले फुलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए।

भेलामा सम्बोधन गर्दै रिमा यादवले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै महिलालाई घरेलु तथा व्यावसायिक तालिम प्रदान गर्ने योजना प्रस्तुत गरेकी छन्। सिलाई, कढाई, मस्यौरा बनाउने र हाते कढाई जस्ता सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने र आयआर्जनमा जोड दिने उनको लक्ष्य रहेको छ।

उनी महिला सशक्तीकरणमा जोड दिँदै भनिन्, “महिला अब घरको चुलो–चौकामा मात्र सीमित छैनन्, हरेक क्षेत्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। अवसर पाएमा महिला पनि काम गरेर देखाउने क्षमता राख्छिन्। अब समय आएको छ, महिलालाई जिताएर देखाउने।”

साथै, रिमा यादवले प्रत्येक स्वास्थ्य चौकीमा कम्तीमा एक एमबिबिएस डाक्टरको व्यवस्था गर्ने र सुलभ रूपमा औषधि उपलब्ध गराउने आफ्नो प्रमुख लक्ष्य रहेको स्पष्ट पारेकी छन्।

वीरगंजमा बालेनको रोड शो: युवाहरूले लगाए ‘अबकी बार बालेन सरकार’ का नारा

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले बुधवार वीरगंजमा रोड शो गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले मंगलबार सप्तरीबाट सुरु गरेको चुनावी प्रचार अभियान बुधबार वीरगंजमा सक्रिय रूपमा जारी राखेका हुन्।

बालेनकाे रोड शो वीरगंजकाे प्रतिमा चोकबाट सुरु भई भानु चोक, नगवा, इनरवा, इदगहा चोक हुँदै छपकैया, बिर्ता, आदर्शनगर, माईस्थान र अन्ततः घण्टाघर चोकसम्म पुगेर सम्पन्न भएको थियो । घण्टाघर चोकमा बालेनको स्वागत गर्न हजारौं युवायुवतीहरू भेला भएका थिए । सडकभरि उपस्थित समर्थकहरूले ‘अबकी बार बालेन सरकार’, ‘जय घण्टी’ जस्ता नारा लगाउँदै जोशिलो वातावरण सिर्जना गरेका थिए ।

बालेनले गाडीबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन गरेका थिए । उनका साथमा रास्वपाबाट पर्साका चारै क्षेत्रका उम्मेदवार—हरि पन्त, सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य— पनि एउटै गाडीमा सवार भएर रोड शोमा सहभागी भएका थिए ।

घण्टाघर चोकबाट रोड शो मुर्ली, पावर हाउस चोक र गण्डक चोक हुँदै बाराको जीतपुर सिमराका लागि प्रस्थान गरेको जानकारी पर्सा–२ का उम्मेदवार सुशील साह कानुले दिएका छन् ।

बालेनको रोड शोले वीरगंजमा चुनावी माहोल तताएको मात्र होइन, युवापुस्तामा राजनीतिक उत्साह र सक्रियता पनि थपिएको देखिएको छ । समर्थकहरूले सडकमा उपस्थित भएर बालेनको नेतृत्वमा नयाँ सरकारको आशा व्यक्त गरेका छन् । यस अभियानले रास्वपाका उम्मेदवारहरूलाई स्थानीय मतदातासँग सिधा सम्पर्क स्थापित गर्ने अवसर दिएको छ ।

अशोक टेमानीको घरदैलो अभियान: पर्सागढीका मतदातासँग प्रत्यक्ष संवाद

0

वीरगंज । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले पर्सागढी नगरपालिका वडा नं. ७ मा घरदैलो अभियानलाई सशक्त बनाउँदै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार टेमानीले बुधबार फुलवरिया टोलमा पुगेका थिए।

उम्मेदवार टेमानीले घर–घरमा पुगेर मतदातासँग दैनिक जीवनसँग सम्बन्धित समस्या र अपेक्षा सुनेका थिए। स्थानीय बासिन्दाले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका चुनौती मुख्य रहेको गुनासो गरेका थिए। ग्रामीण भेगमा पर्ने पर्सागढीमा आधारभूत सेवा अभाव हुँदा जनजीवन प्रभावित भइरहेको जनाइएको छ।

स्थानीयले शुद्ध खानेपानीको अभाव, बिग्रिएका धारा, सीमित आपूर्ति, विद्यालयमा पर्याप्त शिक्षक र संरचना नहुँदा बालबालिकाको पढाइमा समस्या, स्वास्थ्य चौकीमा आवश्यक औषधि र दक्ष जनशक्तिको कमी, साथै कृषि क्षेत्रमा मल–बीउको अभाव र बजार नपाउनु मुख्य चुनौती भएको बताएका छन्।

सुनुवाइपछि टेमानीले निर्वाचित भएमा यी क्षेत्रमा प्राथमिकता दिँदै विकास योजनामा जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रामीण क्षेत्रको समग्र विकास बिना क्षेत्रीय समृद्धि सम्भव नभएको र जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने बताए।

घरदैलो अभियानका क्रममा स्थानीयले विकास र रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका छन्। अभियानले गाउँ–गाउँमा राजनीतिक गतिविधि सक्रिय बनेको र चुनावी माहोल तताएको छ।