Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
Home Blog Page 149

बैंकिङ कसुरमा अनिल साह पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिङ कसुर मुद्दामा फरार रहेका अनिल कुमार साहलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१५ ब्रहमचोकस्थित स्थानबाट वीरगंज–१६ बस्ने ३२ वर्षीय अनिल कुमार साहलाई शुक्रबार दिउँसो १:१० बजे पक्राउ गरेको हो।

साहलाई पर्सा जिल्ला अदालतले मिति २०८१ साउन २४ गते बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय र रु. १ करोड ९२ लाख ४० हजार जरिवाना तोकेको थियो । साथै, उनी अन्य दुई मुद्दामा पनि संलग्न रहेका थिए।

पक्राउ परेका साहलाई आजै पर्सा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

पर्सा प्रहरीद्वारा असाेज महिनामा उल्लेखनीय उपलब्धि हासिल

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत कार्यालयहरूले गत एक महिनामा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा जनसचेतनामूलक कार्यक्रमहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । पर्सा प्रहरी प्रमुखमा नयाँ प्रहरी उपरिक्षक सुदिप राज पाठक आएपछि असाेज महिनामा प्रहरीले अपराध नियन्त्रण र जनसेवामा उल्लेखनीय उपलब्धि हासिल गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयले महिनाकाे अन्तिम दिन असाेज ३१ गते शुक्रबार एक महिना प्रतिवेदन सार्वजनि गरेकाे छ । सो अवधिमा प्राप्त निवेदन संख्या १०५ रहेको छ भने ८७ निवेदन फछ्यौट भएका छन् । हराएका ४३ जना व्यक्तिहरूमध्ये १२ जना फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतका अनुसार एक महिनाकाे अवधिमा ट्राफिक व्यवस्थामा १०९२ सवारी साधनहरूलाई कारवाही गरिएको छ र राजस्व १२ लाख ९३ हजार ५ सय रुपैया संकलन भएको छ। यस अवधिमा ७२ सवारी दुर्घटना भएका छन् जसमा ६ जनाको मृत्यु र ९४ जना घाइते भएका छन् ।

भन्सार चोरी निकासीका सामानहरू रु. ६ करोड ८७ लाख ६२ हजार ३२१ मूल्यका बरामद गरिएको छ । फरार रहेका ७ जनालाई नियन्त्रणमा लिइएको छ । मादक पदार्थ नियन्त्रण अन्तर्गत ४३ के.जी. ९०० ग्राम गाँजा, ११ के.जी. चरेश र ३१ ग्राम ८८० मि.ग्राम खैरो हिरोईन बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक कार्यालयबाट सञ्चालन गरिएका १८९ सचेतनामूलक कार्यक्रममा ११,३४२ जनाले सहभागिता जनाएका छन्।

प्रहरी नायब उपरीक्षक बस्नेतले यस्तो उपलब्धिले प्रहरी कार्यलाई अझ प्रभावकारी बनाउने र जनतालाई सुरक्षित वातावरण सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

वीरगंजमा पर्सा मदिरा व्यवसायी संघको कार्यालय उद्घाटन, सञ्चालक समिति घोषणा

वीरगंज । वीरगंज महानगरपालिका–१६ बसपार्कस्थित पर्सा मदिरा व्यवसायी संघको कार्यालय एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले रिबन काटी कार्यालयको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उनले जिल्लाको मदिरा व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन संघले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा पर्सा मदिरा व्यवसायी संघको सञ्चालक समिति पनि औपचारिक रूपमा घोषणा गरिएको छ । समितिकाे अध्यक्षमा चिनीलाल पटेल, उपाध्यक्षमा सन्दीप कुमार गुप्ता, महासचिवमा प्रदीप कुमार लोहार, सचिवमा रजनीश कुमार, कोषाध्यक्षमा राकेश कुमार साह रहेका छन् । त्यस्तै सदस्यहरूमा मनीष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रजित जयसवाल रहेका छन् भने प्रेस सल्लाहकारमा सन्तोष पटेल चयन भएका छन् ।

संघका अध्यक्ष चिनीलाल पटेलले संघको मुख्य उद्देश्य जिल्लाभित्रका मदिरा व्यवसायीहरूलाई एकजुट गर्दै व्यवसायमा पारदर्शिता र अनुशासन ल्याउनु रहेको बताए। उपाध्यक्ष सन्दीप गुप्ताले संघले व्यापारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा विभिन्न व्यवसायी, समाजसेवी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अन्त्यमा महासचिव प्रदीप कुमार लोहारले सबै अतिथी र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

पर्सामा ७०औं प्रहरी दिवस भव्य रूपमा सम्पन्न, ‘नागरिक–प्रहरी सहकार्य’ मा जोड

वीरगंज । “नागरिक प्रहरी सहकार्य: सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ पर्सा जिल्लामा पनि ७०औं प्रहरी दिवस–२०८२ भव्य रूपमा मनाइएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा प्रहरी दिवसकाे अवसरमा शुक्रबार आयोजित समारोह वीरगंजस्थित नेपाल प्रहरी प्रदेश कार्यालय परिसरभित्र रहेको अमर प्रहरी स्मारकमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति र सुरक्षाको वातावरण कायम रहन सक्ने बताउँदै प्रहरी सेवाप्रति सम्मान र कृतज्ञता व्यक्त गरे ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठकले ७०औं प्रहरी दिवसले प्रहरी संगठनलाई अझ जिम्मेवार, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै समाजका सबै पक्षसँग सहकार्य र सहयोगको आग्रह गरे ।

सो अवसरमा उपस्थित पूर्व प्रहरी कर्मचारी, अमर शहीद प्रहरीका परिवारजन, सि.प्र.अ./जु.प्र.अ., मातहत प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी अधिकृत, प्रहरी तथा कर्मचारीहरूले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे । अमर शहीदका परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो।

प्रहरी उपरिक्षक पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षकद्वय किशोर लम्साल, हरि बहादुर बस्नेत, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निरोज चौलागाईं, इलाका प्रहरी कार्यालय पाेखरिया प्रमुख प्रहरी निरिक्षक स्वरुप शर्मा लगायतका प्रहरी अधिकृत, प्रहरी, संचारकर्मी र समाजसेवीहरुकाे उपस्थिति थियो।

यस अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, श्रवणबहादुर रायमाझी तथा विभिन्न संघ–संस्थालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पनि प्रशंसापत्र र प्रमाणपत्र प्रदान गरिएको थियो।

बिश्रामपुर गाउँपालिकामा आजपाको ८५ सदस्यीय गाउँ कमिटी गठन

वीरगंज । आम जनता पार्टी (आजपा) बारा जिल्लाको बिश्रामपुर गाउँपालिका कमिटी गठन गरिएको छ । पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार लक्षमन बिनकाे अध्यक्षतामा ८५ सदस्यीय गाउँपालिका कमिटी गठन भएकाे हाे ।

पार्टीका बारा जिल्ला कमिटी अध्यक्ष राजकिशोर साहद्वारा जारी विज्ञप्तिमा रबि साहलाई इन्चार्ज र रमेश कुशवाहालाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ।

नवनिर्वाचित गाउँ कमिटीकाे उपाध्यक्षमा धर्मेन्द्र पटेल, नागेन्द्र पाल, राजा हुसेन शेख, गिरधारी कुशवाहा, उपेन्द्र कुशवाहा, शिवपुजन शराफ र बिनोद कुशवाहा चयन भएका छन्।

त्यस्तै, नवगठित समितिकाे सचिवमा सोनालाल चौरसिया, सह सचिवमा निराजन साह, नबिन कुशवाहा र पपु यादव, काेषाध्यक्षमा मुनि कुमारी कुशवाहा र सदस्यहरुमा कमलेस यादव, राजकुमार कुशवाहा, बिदयलाल कुशवाहा, शम्भु कुशवाहा लगायतका रहेका छन्।

आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले नवनियुक्त सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

एमालेभित्र आत्मसमीक्षाको आवाज : अरविन्द सिंहले उठाए १० ठोस प्रश्न

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौं केन्द्रीय कमिटी बैठकमा पर्साबाट निर्वाचित केन्द्रीय सदस्य अरविन्द सिंहले पार्टी नेतृत्व र हालको कार्यनीतिप्रति कडा असन्तुष्टि जनाउँदै १० वटा ठोस प्रश्न र सुझावहरू प्रस्तुत गरेका छन् ।

सिंहले पार्टीको राजनीतिक दिशा, निर्णय प्रक्रिया र नेतृत्व शैलीप्रति प्रश्न उठाउँदै पार्टीलाई “वस्तुनिष्ठ मूल्यांकन र संस्थागत अनुशासनतर्फ फर्कन” आग्रह गरेका छन् ।

भदौ २२ गते प्रस्तुत गरिएको ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्था’ शीर्षकको राजनीतिक प्रतिवेदन २४ घण्टामै असफल भएको दाबी गर्दै उनले भने, “फेल भएको कार्यनीति बोकेर हामी आगामी पाँच वर्ष कसरी अघि बढ्ने?”

“नरसंहारको आरोपबाट सतही विश्लेषणले उन्मुक्ति मिल्दैन”

सिंहले भदौ २३ गतेको घटनालाई लिएर पार्टी र राज्य दुवैको भूमिकामाथि प्रश्न उठाउँदै त्यसबारे तथ्यपरक समीक्षा आवश्यक भएको बताए । उनले घटनालाई विदेशी षड्यन्त्रको आवरणमा ढाकछोप गर्ने प्रवृत्तिको पनि आलोचना गर्दै भने, “आफ्नो अकर्मण्यता लुकाउने नाममा घटनालाई षड्यन्त्रमा ढाल्नु फेरि पनि सतही समीक्षा मात्र हो ।”

“भ्रष्टाचारका आरोपमा नेतामाथि कारबाही किन छैन?”

डेढ दर्जनभन्दा बढी भ्रष्टाचार र व्यभिचारका आरोपमा संलग्न भनिएका नेतामाथि कारबाही नहुने अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, “पार्टीले यस विषयमा संस्थागत रूपमा कहिले बोल्ने? कि अब पनि मौन बस्ने?”

सिंहका अनुसार जनताको आक्रोश अहिले पार्टी भन्दा पनि अध्यक्ष र उनको वरिपरि घुम्ने सानो समूहमाथि केन्द्रित छ । “यो यथार्थ आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गर्नु नै पार्टीको भविष्य जोगाउने उपाय हो,” उनले भने ।

“सडकमा आएका युवा र विद्यार्थी जनआवाज हुन्”

सरकारविरुद्धको नागरिक आन्दोलनलाई प्रतिक्रान्तीका रूपमा व्याख्या गर्नु गलत भएको बताउँदै उनले भने, “कुशासन र भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई प्रतिगमन भन्न मिल्दैन । पार्टीले यसबारे वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ ।”

अनेरास्ववियुमा देखिएको अस्थिरता र नेतृत्व संकटलाई उदाहरण दिँदै उनले जनसंगठनहरूको कमजोर व्यवस्थापनप्रति पनि चिन्ता व्यक्त गरे ।

“दुई पटक संसद विघटनपछि पुनर्स्थापनाको माग हास्यास्पद”

सिंहले पार्टीले आफैं दुई पटक संसद विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रनु “घृणा र हासोको पात्र बन्ने काम” भएको टिप्पणी गरे । उनले भने, “चुनाव बहिष्कार नीति अर्को भिडन्त निम्त्याउने योजना हो, कमजोरी सच्याउँदै चुनावमा जानु नै एक मात्र विकल्प हो ।”

पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरी सक्रिय रूपमा संलग्न गराउनुपर्ने सुझाव पनि उनले दिएका छन् ।

सिंहका ती प्रश्न र सुझावहरूले एमालेभित्र आत्मसमीक्षा, नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रबारे नयाँ बहसलाई गति दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

जनकपुरमा पोषण शुशासन र बहुक्षेत्रीय पोषण योजना सम्बन्धी ३ दिने तालिम सम्पन्न

0

वीरगंज । पोषण शुशासन र बहुक्षेत्रीय पोषण योजना (तेस्रो चरण) सम्बन्धी तीन दिने तालिम धनुषाको जनकपुरस्थित अजनी स्वीट्स सभाहलमा सम्पन्न भएको छ ।

युरोपियन युनियनको सहयोगमा, एक्सन अगेंस्ट हङ्गर (ACF) र एन–टेक (N–Tec) को प्राविधिक सहजीकरणमा, मधेश प्रदेश सरकारको नीतिगत तथा योजना आयोग, जनकपुरधामको आयोजनामा सम्पन्न उक्त तालिममा मधेश प्रदेशका २१ स्थानीय संघ–संस्थाहरू सहभागी भएका थिए ।

तालिमको उद्देश्य प्रदेशस्तरमा पोषण शुशासन र बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनलाई प्रभावकारी बनाउने र सरकारी निकाय, नागरिक समाजका संगठन तथा सरोकारवालाबीच सहकार्य र साझा बुझाइ विकास गर्नु रहेको थियो।

कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकुमार सिंहले पोषण शुशासन र बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार, स्थानीय तह तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायबीचको सहकार्य अपरिहार्य रहेको बताए।

समापन समारोहमा मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. ओमप्रसाद आर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रशासन अधिकृत दिपेश कटेल, तथा गैरसरकारी संस्था महासंघ नेपाल, मधेश प्रदेशका अध्यक्ष रामबाबु साह विशेष अतिथि रहनुभएको थियो।

तालिममा एन–टेकका कार्यकारी निर्देशक दिपक थापा, एसीएफ नेपालकी अनुपा महत, कार्यक्रम प्रबन्धक रंजन कपाली, एन–टेकका कार्यक्रम प्रबन्धक कुसुम वाग्ले, अनुगमन तथा मूल्यांकन अधिकृत सत्यराज उपाध्याय, र मधेश प्रदेशका कार्यक्रम अधिकृत हरिगेन्द्र सिंहले सहजीकरण तथा प्रशिक्षण प्रदान गरेका थिए।

तालिमबाट प्राप्त निष्कर्षका आधारमा मधेश प्रदेशमा दीर्घकालीन कार्ययोजना निर्माण गरी पोषणसम्बन्धी समस्या न्यूनिकरण तथा सुधारका दिशामा साझा प्रतिबद्धता सहित कार्य अघि बढाइने भएको छ।

तिहार नजिकिएसँगै पर्साका ग्रामीण बासिन्दा घर लिपपोत र कातिकी काममा व्यस्त

सेढवा । दशैं सकिएसँगै तिहार नजिकिँदै जाँदा पर्साका ग्रामीण क्षेत्रका बासिन्दाहरू अहिले घरको लिपपोत, सरसफाइ र कातिकी खेतीका तयारीमा व्यस्त भएका छन् । वर्षायाममा घरका भित्तो, छाना र आँगनमा झारपात उम्री फोहोर बढेपछि अहिले सर्वसाधारणले घर–आँगन सफा गर्दै तिहारको तयारी थालेका हुन्।

लक्ष्मी पूजाको अवसरमा घर आँगनलाई सुन्दर बनाउनका लागि बिहानैदेखि ग्रामीण गृहेणीहरू भाँचिएका खरका भित्ताहरू मर्मत गरी पहेंलो चिम्टियाइलो माटोले लिपपोत गर्न जुटेका छन्। जिराभवानी गाउँपालिका–२ सेढवाकी कान्ती देवीका अनुसार, “यो वर्ष पानी ढिलो रोकिएकाले घर–आँगन सफा गर्न ढिलो भयो, त्यसैले अहिले हतार–हतारमा तिहारको तयारी गर्दैछौं।”

साथै, घरका भित्तासँगै झ्याल–ढोकामा रंगरोगन र रंगिन बतिहरूको जडान पनि सुरु भएको छ। गाउँका घरहरू झिलिमिली बनाउन विभिन्न प्रकारका रंगीन बल्ब र बत्तीहरू जडान गर्न थालेका स्थानीयहरूले बताएका छन्।

यसैबीच, धान भण्डारण र हिउँदे बाली रोपाइँका तयारीमा किसानहरू पनि व्यस्त छन्। खेतमा पाक्न लागेका धान काट्ने र भण्डारणका लागि बाँसको भाठाबाट बनेका भकारी मर्मत गर्ने काम भइरहेको छ। वर्षायाममा बिग्रिएका भकारी र फुसका छानाहरू मर्मत गरी प्रयोगमा ल्याउने क्रम तीव्र बनेको किसानहरूले जनाएका छन्।

जगरनाथपुर गाउँपालिका–३ का किसान रामचन्द्र यादवका अनुसार, “अहिले हामी तोरी, रायो, आलु, लसुन, चमसुर, धनिया, भण्टा, काउली, बन्दा लगायतका हिउँदे तरकारी रोप्ने तयारीमा छौं। खेतको सरसफाइ र जोताइको काम सकिँदैछ।”

तर, जिराभवानी र ठोरी गाउँपालिकामा तोरी खेतीमा समस्या देखिएको छ। खेतमा पानी जमेकाले तोरी छर्ने काम रोकिएको किसानहरूको भनाइ छ। उनीहरूले भने, “ढिलो गरी तोरी छरे बालामा दाना लाग्ने बेलामा जाडो पर्न सक्छ, जसले उत्पादन घटाउँछ।”

हाल यस क्षेत्रमा करिब छ सयदेखि आठ सय बिघासम्ममा तोरी खेती हुँदै आएको छ। किसानहरूले समयमै पानी निकास र जमिन तयारी हुन सके तोरी उत्पादनमा सुधार हुने विश्वास व्यक्त गरेका छन्।

महागढीमाई मेयर कपकाे फाइनलमा युनाइटेड क्लब वीरगंज प्रबेश

वीरगंज । युनाइटेड क्रिकेट क्लब वीरगंजले शानदार प्रदर्शन गर्दै महागढीमाई मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गढिमाई खेल मैदानमा बिहीबार सम्पन्न सेमिफाइनल खेलमा वीरगंजले भारतको मोतिहारीलाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

पहिले ब्याटिङ गरेको वीरगंजले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वीरगंजका वासिम मियाले १८ बलमा ३६ रन, सोनु अन्सारीले २९ बलमा २६ रन, र महमद एसले १३ बलमा २५ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको मोतिहारी टिम १८.२ ओभरमै ११४ रनमा अलआउट भयो। मोतिहारीका युसुफले ४० बलमा ३८ रन, समीरले १२ बलमा २० रन, र मनिकान्तले १७ बलमा १६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

बलिङतर्फ वीरगंजका सन्तोष कार्कीले ३.२ ओभरमा १७ रन खर्चिएर ४ विकेट, समसाद अलिले ४ ओभरमा १८ रनमा ३ विकेट, र चन्दन रामले २ ओभरमा २२ रनमा २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।

खेलमा प्रभावशाली बलिङ प्रदर्शनका लागि सन्तोष कार्कीलाई म्यान अफ दि म्याच घोषित गरिएको छ । अब वीरगंजले फाइनलमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारी गरेको छ।

पर्सामा जनमत पार्टीद्वारा जेन्जी जनमत संघ गठन र मतदाता दर्ता अभियान तीव्र

वीरगंज । जनमत पार्टी पर्साले जिल्लाका विभिन्न गाउँपालिका, टोल र वडाहरूमा जेन्जी जनमत संघ गठन अभियानलाई तीव्रता दिएको छ। साथै, पार्टीले वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियान पनि सक्रिय रूपमा सञ्चालन गरिरहेको जनाएको छ।

जनमत युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडाहरू र ग्रामीण पालिकाका ७ वटा वडाहरूमा जेन्जी जनमत संघ गठन भइसकेको छ। उनले भने, “कार्तिक महिनाभित्रै सबै वडाहरूमा जेन्जी जनमत संघ र युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।”

त्यसैगरी, जेन्जी मतदाता दर्ता अभियान पर्साको वीरगंज महानगरसहित सात वटा स्थानीय तहमा जारी रहेको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताएका छन्।

पार्टीका प्रदेश सदस्य बृजेश्वर चौधरीका अनुसार जगरनाथपुर गाउँपालिका सहित अन्य ग्रामीण पालिकाहरूमा मतदाता दर्ता अभियानमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।

जनमत पार्टीले जेन्जी पुस्तालाई संगठनमा जोड्दै राजनीतिक सचेतना र सशक्तिकरणतर्फ अग्रसर गराउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको जनाएको छ।