Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 148

छपकैयामा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, विकास प्रतिबद्धता प्रस्तुत

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले बुधवार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा उनले स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै आफ्ना विकास योजना र प्रतिबद्धताहरू प्रस्तुत गरे। कानुले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने वाचा गर्दै पर्सा क्षेत्रको जीवनस्तर उकास्ने र भुईँ तहका मानिसहरूको आवाज संसद्मा प्रतिनिधित्व गर्ने बताए। “मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ,” उनले भने।

उनी विगतका निर्वाचित प्रतिनिधिहरूमाथि रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पर्याप्त काम नभएको आरोप लगाउँदै निर्वाचित भए तुरुन्तै परिवर्तन गर्ने दाबी गरे। कानुले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै रास्वपाका सबै उम्मेदवारलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाहलाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने बताए।

उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिने र मुस्लिम महिला तथा युवाहरूलाई रोजगारीमुखी तथा सीपमूलक तालिम प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखियो। युवाहरूले कानुको उत्साहपूर्वक स्वागत गर्दै “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा पनि लगाएका थिए।

पर्सा–१ मा व्यापारी र राजनीतिकर्मीबीच मुख्य प्रतिस्पर्धा

0

वीरगंज । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नं. १ मा व्यापारी पृष्ठभूमिका उम्मेदवार र राजनीतिककर्मीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रदीप यादव र नेपाली कांग्रेस का उम्मेदवार अनिल रुंगटा बीच कडा भिडन्त हुने आकलन गरिएको छ।

एमाले उम्मेदवार यादव पूर्व मन्त्री तथा निर्वतमान सांसद हुन् । मधेस आन्दोलनबाट उदाएका यादव पछिल्लो समय जसपा परित्याग गरी एमालेबाट चुनावी मैदानमा उत्रिएका हुन् । पार्टी परिवर्तनसँगै मधेसका मुद्दा छाडेको आरोप उनीमाथि लाग्दै आएको छ । यादवले मन्त्री र सांसद हुँदा गरेका कामका आधारमा मत माग्दै आफू सधैं जनताको सुख–दुःखमा साथमा रहेको दाबी गर्दै आएका छन् ।

कांग्रेस उम्मेदवार रुंगटा उद्योगी तथा व्यवसायी हुन् । उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् । रुंगटामाथि संविधानसभा सदस्य हुँदा उल्लेख्य काम नगरेको तथा चुनावको समयमा मात्र सक्रिय हुने गरेको आरोप लाग्दै आएको छ । साथै, उनले सञ्चालन गरेको उद्योगले सिर्सिया नदी प्रदूषित बनाएको र नेपाली कामदारभन्दा भारतीय कामदार बढी राखेको भन्दै स्थानीयस्तरमा असन्तोष व्यक्त हुँदै आएको छ । रुंगटाले भने परिवर्तन र विकासको एजेन्डासहित मत माग्दै निर्वतमान सांसदले क्षेत्रको विकास नगरेको आरोप लगाएका छन् ।

यस क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरि पन्त, नेपाल कम्युनिष्ट पार्टीबाट अजय चौरसिया, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामनरेश यादव, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह (पराग), तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नन्दु श्रीवास्तव लगायत उम्मेदवार चुनावी मैदानमा छन्।

रास्वपा उम्मेदवार पन्त पनि पेशाले होटल व्यवसायी हुन् र राजनीतिमा नयाँ अनुहारका रूपमा देखिएका छन् । नेकपा उम्मेदवार चौरसिया पेशाले सिए हुन्, उनी पनि नयाँ अनुहारकै रूपमा प्रतिस्पर्धामा रहेका छन् । यसाका साथै उज्यालाे नेपाल पार्टीका उम्मेदवार पराग वडाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यकाे चुनाव लडेका हुन् ।

क्षेत्र नं. १ मा मुख्यत: यादव र रुंगटाबीच प्रतिस्पर्धा केन्द्रित हुने राजनीतिक विश्लेषण गरिएको छ। यसका अलवा रास्वपाले बालेनलाई प्रधानमन्त्रीकाे उम्मेदवारकाे रुपमा अगाडी सारेका कारण रास्वपा प्रति पनि देशभर जस्तै पर्सा १ मा पनि आक्रषण देखिएकाे छ ।

मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा रास्वपा परित्याग

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशकी संस्थापक सभापति तथा हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्मा ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।

शर्माले २०७९ साल श्रावण १० गतेदेखि पार्टीप्रति निस्वार्थ भावले आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पण गर्दै निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरेकी छन्। “राजनीतिमा युवा पुस्ताको सहभागिता बढाउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भई आफू पार्टीमा आबद्ध भएको बताउँदै उनले आसन्न फागुन २१ गतेको निर्वाचन सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धतासँग मेल नखाने अनुभव भएको जनाएकी छन्।

उनका अनुसार संगठनमा दिनरात खटिएका सक्षम समर्थक तथा कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसक्नु, विधि र विधानविपरीत गतिविधिहरू हुनु, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नहुनु तथा निर्णय प्रक्रियामा आर्थिक अनियमितताको प्रभाव देखिनुले आफू गम्भीर रूपमा असन्तुष्ट भएको बताएकी छन्।

“यी सबै क्रियाकलापहरूको साक्षी बनेर मौन रहिरहनु मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूप्रति अन्याय हुने ठहरसहित आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेश गरेकी हुँ,” शर्माले वक्तव्यमा उल्लेख गरेकी छन्।

अन्त्यमा उनले पार्टीमा रहँदा पाएको अभिभावकत्व, सहकार्य र अवसरप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि लोकतान्त्रिक मूल्य, सुशासन र पारदर्शिताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पर्सा–३ मा एमालेकाे क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन, रुपेश पाण्डेकाे जनतासँगै रहने प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे क्षेत्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएको छ।

कार्यालयकाे बुधबार आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुपेश कुमार पाण्डेले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै उम्मेदवार पाण्डेले आफू निर्वाचित भए सधैं जनताकाे साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले जनताकाे सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै क्षेत्रकाे विकासका लागि कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए । “आफ्नाे मत दिएर निर्वाचित गराउनुस्, म तपाईहरूकाे विश्वास कहिल्यै खेर जान दिने छैन,” उनले भने । यहाँकाे जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रकाे विकास आफ्नाे पहिलो प्राथमिकता रहने पाण्डेले बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हाजरा, विजय सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. बिश्वम्भर शर्मा, प्रदेशसभा सदस्य प्रमोद जयसवाल, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, पूर्व अध्यक्ष प्रदिप जयसवाल, नेता शिव पटेल, मंजुर अन्सारी, तेजप्रकाश निषाद लगायतकाे उपस्थिति रहेको थियो।

भिस्वा र सबैठवामा ओमप्रकाश सरार्फको घरदैलो, आधारभूत पूर्वाधार सुधारको प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । जनमत पार्टीका तर्फबाट उम्मेदवार सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–१५ भिस्वा र वडा नम्बर–२३ सबैठवामा सन्ध्याकालीन चुनावी सभा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गरेका हुन्।

घरदैलो अभियानका क्रममा सरार्फले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका थिए । वडा नम्बर–१५ भिस्वामा सडकको दयनीय अवस्था, ढल निकासको अभाव, खानेपानी समस्या र सरसफाइ व्यवस्थापनको कमजोरी प्रमुख रूपमा उठाइएको थियो। स्थानीयहरूले वर्षायाममा सडक हिलाम्मे हुने, नालाको अभावका कारण पानी जम्ने तथा दुर्गन्ध फैलिने समस्या समाधान गर्न माग गरेका थिए।

त्यसैगरी वडा नम्बर–२३ सबैठवामा कच्ची सडक, अव्यवस्थित ढल, सडकबत्तीको अभाव, स्वास्थ्य सेवामा पहुँचको कमी तथा युवाहरूका लागि रोजगारी अवसर नहुँदा उत्पन्न समस्या स्थानीयले उठाएका थिए। आधारभूत पूर्वाधार विकास, सुरक्षित सडक, नियमित सरसफाइ र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्न स्थानीयले आग्रह गरेका छन्।

स्थानीयको गुनासो सुन्दै उम्मेदवार सरार्फले चुनाव जितेर जनताको विश्वासको कदर गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताले देखिने र महसुस हुने विकास चाहेका छन्। सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकतामा सुधार ल्याउनु नै मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने।

सरार्फले जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राख्ने बताउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रोत्साहन, साना तथा मध्यम व्यवसायलाई सहयोग र पूर्वाधार विकासलाई गति दिने योजनासमेत सुनाए। जनतासँग प्रत्यक्ष संवाद गर्नु नै वास्तविक राजनीति भएको उनको भनाइ थियो।

घरदैलो अभियानमा युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। स्थानीयहरूले यसपटक विकास र काम गर्ने उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले क्षेत्र नं. १ मा चुनावी माहोल थप तातेको संकेत गरेको छ। सरार्फले आगामी दिनहरूमा अन्य वडाहरूमा पनि घरदैलो अभियानलाई निरन्तरता दिने बताएका छन्।

बढनिहारमा सुशील कानुको घरदैलो, कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले आज पर्सागढी नगरपालिका–३ बढनिहारमा घरदैलो कार्यक्रम गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार कानुले मतदाताहरूसँग भेटघाट गर्दै घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले बढनिहारसहित आसपासका क्षेत्रमा अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकहरूले भोग्दै आएको मल र सिँचाइ पानीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

“कृषि यहाँको मुख्य आधार हो। किसानले समयमै मल र पानी नपाए समृद्धि सम्भव हुँदैन,” कानुले भने, “निर्वाचित भएपछि यी विषयलाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्नेछु।”

युवालाई लक्षित कार्यक्रमअन्तर्गत स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम सञ्चालन गर्ने, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्ने योजना पनि उनले सार्वजनिक गरे। यसबाट वैदेशिक रोजगारीमा जान बाध्य युवालाई आफ्नै गाउँ–ठाउँमै भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ।

त्यसैगरी, प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र शिक्षाको गुणस्तर सुधार रास्वपाको प्रमुख एजेन्डा रहेको कानुले बताए। “जनताको आधारभूत आवश्यकता पूरा नगरी विकासको कुरा गर्नु अर्थहीन हुन्छ,” उनले उल्लेख गरे।

घरदैलोका क्रममा बढनिहारका ज्येष्ठ नागरिकहरूले उम्मेदवार कानुलाई समर्थन जनाउँदै परिवर्तनका पक्षमा नाराबाजी गरेका थिए। बुद्धिजीवी, युवा, महिला तथा कृषक समुदायले पनि यसपालिको मतले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रमले बढनिहार क्षेत्रमा रास्वपाप्रति बढ्दो आकर्षण र चुनावी सक्रियता थप सशक्त बन्दै गएको संकेत गरेको छ।

टेढामा रास्वपाको विशाल पार्टी प्रवेश, हरि पन्तको समर्थनमा ओर्लिए स्थानीय

0

वीरगंज । पर्सा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तको समर्थनमा टेढावासीको ठूलो समूह खुलेर उत्रिएको छ।

मंगलबार टेढामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै पाँच सयभन्दा बढी स्थानीय नागरिक रास्वपामा प्रवेश गरेकाे उम्मेदवार पन्तले जानकारी दिए । कार्यक्रममा सहभागी नवप्रवेशीहरूले देशले अब परिवर्तन खोजिरहेको भन्दै रास्वपा नेपाली जनताको आशा, भरोसा र परिवर्तनको प्रमुख संवाहक भएको धारणा व्यक्त गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति समेत रहेका उम्मेदवार पन्तले मुलुकभर रास्वपामय वातावरण बनिरहेको दाबी गरे । उनले आगामी सरकार रास्वपाले बहुमतका साथ गठन गर्नेमा आफूहरू ढुक्क रहेको बताए । साथै, विगतमा सरकारमा रहेका दलहरू नै समृद्धि र विकासका बाधक बनेको आरोप लगाउँदै जनताले अब नयाँ विकल्प रोज्ने विश्वास व्यक्त गरे ।

विशाल कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए । कार्यक्रममा टेढाका स्थानीय अगुवा साकिर हुसेन, अबुलेश हुसेन लगायतको उपस्थिति रहेको थियो । साथै, सगिर आलम, पूर्ण सापकोटा, मनीष यादव, कमला भुजेल, चन्दन यादव लगायतले मन्तव्य राखेका थिए ।

पर्सामा पनि आमाको नामले नागरिकता वितरण सुरु

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि आमाको नामको आधारमा नागरिकता वितरण प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार एकै आमाका दुई छोरा रुस्तम मियाँ अन्सारी र रहमत मियाँ अन्सारी (दाजुभाइ)लाई आमाको नामको नागरिकता प्रदान गरेका हुन्।

नागरिकता ऐन र नियमावलीमा सरकारले हालै गरेको संशोधनअनुसार विभिन्न कारणले नागरिकता पाउन नसकेका नागरिकलाई आमाको नामको आधारमा नागरिकता दिन सकिने व्यवस्था लागू भएपछि पर्सामा पनि सो प्रक्रिया सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यसअघि बारा लगायतका जिल्लामा आमाको नामबाट नागरिकता वितरण सुरु भइसकेको भए पनि पर्सामा भने उक्त व्यवस्था कार्यान्वयनमा ढिलाइ भएको थियो।

बहुदरमाई–४ मा अशोक टेमानीको घरदैलो, ग्रामीण विकासमा जोड

0

वीरगंज, ०५ फागुन । पर्सा क्षेत्र नं. २ का जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार अशोक टेमानीले बहुदरमाई नगरपालिका वडा नं. ४ अन्तर्गत डौकैला–बहुवरी चौक क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा टेमानीले टोल–टोलमा पुगेर स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला, युवा तथा किसानहरूसँग प्रत्यक्ष कुराकानी गरेका थिए। कार्यक्रममा सहभागीहरूले खानेपानी, शिक्षा, स्वास्थ्य सेवा र कृषि क्षेत्रसँग सम्बन्धित दैनिक जीवनका समस्याहरू उठाएका थिए।

स्थानीय बासिन्दाका अनुसार गाउँका धेरै स्थानमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच छैन। विद्यालयमा पर्याप्त पूर्वाधार र गुणस्तरीय शिक्षाको कमी, शिक्षक अभाव र स्वास्थ्य चौकीको असुविधाले ग्रामीण जीवनमा समस्या बढाएको स्थानीयले बताएका छन्। कृषकहरूले सिँचाइ, मल–बीउ आपूर्तिमा ढिलाइ तथा उपजको उचित बजार नपाउनु जस्ता चुनौतीसमेत उठाएका छन्।

टेमानीले जनताको समस्या आफ्नै समस्या भएको भन्दै त्यसको समाधानका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “म राजनीति गर्न होइन, काम गर्न आएको हुँ। खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधार बिना ग्रामीण क्षेत्रको समग्र विकास सम्भव छैन।”

उम्मेदवारले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवा विस्तारका लागि विशेष पहल गर्ने प्रतिवद्धता जनाए। घरदैलो कार्यक्रममा स्थानीयले टेमानीलाई विकासमुखी नेतृत्वका लागि समर्थन गर्ने आश्वासन दिएका थिए।

यस घरदैलो अभियानसँगै टेमानीले पर्सा क्षेत्र नं. २ का विभिन्न गाउँ–टोलमा आफ्नो चुनावी अभियान थप तीव्र बनाएका छन्। जनमुखी संवादमार्फत मतदातासँगको सम्बन्ध बलियो पार्दै उनले चुनावी अभियानलाई वास्तविक समस्या र विकासमा केन्द्रित बनाउने प्रयास गरिरहेका छन्।

बहुदरमाई–३ मा मनोज चौधरीको घरदैलो, सहभागिहरुद्वारा ‘तारा’ चिन्हमा मतदान गर्न अपिल

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले मंगलबार बहुदरमाई नगरपालिकाको वडा नं. ३ अन्तर्गत नगरदाहा र गमहरियामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो तथा जनता दर्शन कार्यक्रममा उम्मेदवार चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेण्डा र रणनीतिबारे छलफल गरेका थिए। मतदाताहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै उनले सक्षम नेतृत्व दिन सक्ने उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गरे।

नेपालको लोकतान्त्रिक आन्दोलनलाई उच्च स्थानमा पुर्‍याउन भूमिका खेलेका नेताहरू नेकपामै रहेको उल्लेख गर्दै चौधरीले आफ्नो चुनाव चिह्न तारामा मतदान गर्न मतदाताहरूलाई अनुरोध गरे।

कार्यक्रममा पार्टीका नेताहरू किशोरी कुशवाहा, बृजलाल पासवान, बिपिन यादव, जीवन राम, अरुण रेग्मी, उमेश राम, रमेश चौधरी र दीपेन्द्र सिंह पटेललगायतको उपस्थिति रहेको थियो।

सहभागी नेताहरूले पर्सा निर्वाचन क्षेत्र नं. २ मा ‘तारा’ चुनाव चिह्नको पक्षमा जनलहर देखिएको दाबी गर्दै उम्मेदवार चौधरी जितको नजिक पुगेको बताएका छन्।