Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
Home Blog Page 143

सांसद रहबर अन्सारीले संसदमा आफैंलाई मोसो दले

जनकपुरधाम । मधेश प्रदेशका सांसद रहबर अन्सारीले आज प्रदेशसभाको बैठकमा आफैंलाई मोसो दलेका छन् । सांसद र दलहरूको नैतिक धरातल समाप्त भएको भन्दै उनले संसदभित्रै यस्तो कदम चालेका हुन्।

मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला अन्तिममा बोल्ने अवसर माग्दै सांसद अन्सारीले सभामुखसँग समय मागेका थिए । तर सभामुख रामचन्द्र मण्डलले उनको माइक बन्द गरेपछि उनी आक्रोशित बनेर आफ्नै अनुहारमा मोसो दलेका हुन्।

अन्सारीले दलहरू सत्ता र स्वार्थमा लिप्त भएको र जनताको आवाज बेवास्ता भइरहेको आरोप लगाउँदै प्रतीकात्मक रूपमा विरोध जनाएका हुन् । संसदभित्रको यस घटनाले सभामा एकछिन हलचल मच्चिएको थियो । अन्सारी तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित पर्साका प्रदेश सांसद हुन् ।

लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन सम्पन्न

वीरगंज । लहावरथकरी मुल्म तथा सीमा सहजीकरण समिति पकहाँ मैनपुरको आयोजनामा शनिबार पकहाँ मैनपुर गाउँपालिका–४ लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीको खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत आयोजित उक्त प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले गरेका थिए।

महिला साइकल रेसमा श्री रमचरित्र भगत मावि पकहाँ मैनपुरकी गीता कुमारी साहनी प्रथम, गोल्डेन लाईफ कोचिङ सेन्टर सबैठवाकी अस्मिता चौरसिया द्वितीय र जह्राराना खातुन तृतीय भएकी छन् ।

त्यसैगरी पुरुष म्याराथनमा गोल्डेन लाईफ कै आदित्य कुशवाहा प्रथम, रवि साह द्वितीय र आकाश राम तृतीय भएका छन्। विजेताहरुलाई प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दाहालले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम पकहाँ मैनपुर गाउँपालिका–४ का वडाध्यक्ष एवं सीमा सहजीकरण समितिका संयोजक ढेडी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका गणपति एपसी पुरण चन्द्र भट्ट, डिएसपी लोकनाथ उप्रेती, वडाध्यक्ष सञ्जय चौहान, बलिराम चौरसिया, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर प्रदीप पौडेल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको सहजीकरण पत्रकार छठू साहले गरेका थिए । सीमाका स्थानीयसँग समन्वय, सहकार्य, जिम्मेवारी र मित्रवत व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी उप्रेतीले बताए ।

बिहार विधान सभा निर्वाचनलाई लक्षित गर्दै पर्साका सीमा नाकाहरू बन्द

वीरगंज । भारतको विहार राज्यमा यहि कार्तिक २५ गते (11th November) मा हुने विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्लाका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा जारी सूचनाअनुसार मिति २०८२।०७।२२ गतेदेखि २०८२।०७।२५ गते साँझ ६:०० बजेसम्म सीमावर्ती नाकाहरूमा अत्यावश्यक बाहेक आवतजावतमा रोक लगाइनेछ। निर्वाचनको दिन अर्थात् मिति २०८२।०७।२५ गते साँझ ६:०० बजेसम्म सीमावर्ती नाकाहरूमा पूर्ण रूपमा आवागमन रोक लगाइने जनाइएको छ।

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय बैठक (BDCC Meeting) मा भएको समझदारीअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्लासँग जोडिएका मुख्य नाकाहरू सहित अन्य साना नाकाहरूमा समेत यो निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू गरिएको यो कदम सीमाक्षेत्रमा सुरक्षात्मक दृष्टिले महत्त्वपूर्ण हुने जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले हस्ताक्षर गरेको सूचनामा यस अवधिमा अनावश्यक आवतजावत नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको छ।

पार्टीले वीरगंज महानगरपालिका–१६ का नगवा र फुलवारी टोलमा शुक्रबार उत्प्रेरणामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको हो। सो क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले स्थानीय बासिन्दासँग भेटघाट गर्दै मतदाता नामावलीमा आफ्नो नाम अनिवार्य रूपमा दर्ता गराउन र आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, “लोकतन्त्रको महापर्वमा कुनै पनि नागरिक मताधिकार प्रयोगबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो घरदैलो अभियान सञ्चालन गरिएको हो।”

कार्यक्रममा पार्टीका नेता भुपेन्द्र साह, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोषण पान्डे, दलित जिल्ला अध्यक्ष नरेश राम, जिल्ला सदस्यहरू सत्जिव साह र तुलसी राम, क्षेत्रीय संयोजक डा. मनोज साह, निखिल चौरसिया, सुमित सिंह, मन्जय साह लगायतको सक्रिय सहभागिता रहेको थियो।

यो अभियान अहिले पर्साका गाउँ–गाउँ र बस्ती–बस्तीमा विस्तार हुँदै गएको छ। पार्टीले जनचेतनाको यो पहललाई निरन्तरता दिने र सबै नागरिकलाई मतदाता सूचीमा समेट्ने तयारी गरिरहेको जनाएको छ।

जनमत पार्टीले लोकतान्त्रिक सहभागिता र सचेत मतदाताको निर्माणलाई दीर्घकालीन लक्ष्यका रूपमा लिएको बताएको छ।

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

0

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित उद्योगी–व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री खनालले व्यापारिक वातावरणलाई पारदर्शी र विश्वसनीय बनाउन अनलाइन प्रणालीको प्रभावकारी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनले भने, “वैदेशिक व्यापार सहजीकरणका लागि वीरगंज र विराटनगर भन्सारमा अनलाइन मूल्यांकन प्रणाली लागू गरिएको छ। वैध व्यापारलाई प्रोत्साहन र अवैध व्यापार नियन्त्रण गर्न ‘ट्रष्टेड व्यवसायी’ पहिचानको प्रक्रिया अघि बढाइएको छ।”

उनले इमानदार व्यवसायीलाई प्रोत्साहन दिने र गैरकानुनी गतिविधिमा संलग्न जो कोहीमाथि कडा कारबाही हुने चेतावनी समेत दिए। “यदि कर्मचारीतर्फ कुनै गुनासो प्रमाणित भयो भने तहपद नहेरी कारबाही हुन्छ,” भन्दै उनले प्रशासनिक सुधार र उत्तरदायित्वमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजी क्षेत्रका तर्फबाट उद्योग–व्यवसायमा देखिएका प्रमुख समस्या र सुधारका मागहरू अर्थमन्त्री समक्ष प्रस्तुत गरे। उनले सीमाक्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणका लागि कर नीतिको पुनरअवलोकन, स्थानीय सरकारद्वारा दोहोरो कर असुली रोक्ने, उधारो असुलीसम्बन्धी स्पष्ट कानून निर्माण र उद्योगमा विद्युत आपूर्तिको नियमितता सुनिश्चित गर्न माग गरे।

त्यस्तै, उनले नीतिगत स्थायित्व, कर प्रशासनको सरलीकरण र वैदेशिक लगानीमैत्री वातावरण सृजना गर्न आग्रह गरे। उनका अनुसार बारम्बार नीति परिवर्तन र जटिल कर प्रणालीका कारण उद्योग क्षेत्र निरुत्साहित हुँदै गएको छ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद, नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटा, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा र उद्यमी साकेत क्याललगायतले पनि उद्योग–व्यापार क्षेत्रका चुनौतीबारे धारणा राख्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

अर्थमन्त्री खनालले उद्योगी–व्यवसायीका सुझाव र समस्या समाधानका लागि मन्त्रालय स्तरमा गम्भीर छलफल गरिने र आवश्यक नीतिगत तथा प्रशासनिक सुधारका पहल तत्काल सुरु गरिने आश्वासन दिए।

कार्यक्रमको अन्त्यमा अर्थमन्त्री र निजी क्षेत्रबीच सहकार्य र विश्वास सुदृढ गर्दै आगामी आर्थिक नीतिहरूलाई उद्योगमैत्री बनाउन मिलेर अघि बढ्ने सहमति गरिएको थियो।

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

शुक्रबार बिहान १०:०० बजेतिर बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ मुसहरवा बस्ने कन्हाई साहका छोरा शनि कुमार साह डुबेको जानकारी स्थानीयवासीले दिएका थिए । सो जानकारीपछि सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्प बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा सात जनाको विपद् उद्धार टोली खटिएको थियो ।

उद्धार टोलीले खोजीकार्यपछि बालकको शव पोखरीबाट बाहिर निकालेर आवश्यक कानूनी प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साका सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए ।

सो क्रममा वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक नविन थापाको कमाण्डमा समेत टोली खटिएको थियो ।

पोखरिया नगरपालिकाद्वारा इन्स्पेक्टर प्रदीप पौडेलको स्वागत, शान्ति–सुरक्षामा सहकार्यका लागि प्रतिबद्धता

पोखरिया । पोखरिया नगरपालिकाले पोखरिया इलाका प्रहरी कार्यालयमा प्रमुखका रूपमा कार्यभार सम्हालेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेललाई औपचारिक रूपमा स्वागत गरेको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानले इन्स्पेक्टर पौडेललाई स्वागत गर्दै नगर क्षेत्रको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सघन समन्वयमा काम गर्न अनुरोध गरे ।

प्रमुख चौहानले भने, “पोखरिया नगरलाई शान्त, सुरक्षित र अपराधमुक्त बनाउन स्थानीय सरकार र सुरक्षाकर्मीबीचको सहकार्य अपरिहार्य छ। नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहनेछ।”

इन्स्पेक्टर प्रदीप पौडेलले पनि पोखरिया क्षेत्रको शान्ति सुरक्षा कायम राख्न आफ्नो टोलीसहित प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

नेशनल मेडिकल कलेजमा खेलौना प्रदर्शनी कार्यक्रम सम्पन्न

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बी.एस.सी. नर्सिङ १५औं ब्याचद्वारा आयोजित खेलौना प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमलाई नेपाल हेल्थ कोर्प्सले विशेष सहयोग प्रदान गरेको थियो।

कार्यक्रमको उद्घाटन कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले रिबन काटेर गरेका थिए । आयोजक समितिका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य बालबालिकामा सृजनात्मकता, सिकाइ र अन्तरक्रियात्मक शिक्षाको विकास गर्नु रहेको थियो।

कार्यक्रममा कलेजका शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, अस्पताल निर्देशक डा. ईशरत जाहान अन्सारी, भर्ना तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, प्राचार्य प्रा. डा. के. एन. सिंह, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, साथै नेपाल हेल्थ कोर्प्सका अध्यक्ष डा. प्रशान्त भण्डारी र विद्यार्थी क्लब टोलीको उल्लेखनीय सहभागिता रहेको थियो।

नर्सिङ संकायबाट निर्देशक तथा प्राध्यापकहरू — गंगा गुरुङ, बबिता सिंह, रमा श्रेष्ठ, ममता सिंह, कबिता पौडेल, सबिता राई, प्रमिला महतो, चन्दनी मल्ल, अश्मिता चौधरी, सन्ध्या प्रधान, ऋचा सिंह र मनिषा चौधरीले सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा छवटा विद्यालयका ६२५ जना बालबालिका सहभागी बनेका थिए । उनीहरूले नर्सिङ विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक र मनोरञ्जनात्मक खेलौनाहरूको अवलोकन गर्दै “खेल्दै सिक्ने संस्कृतिको” अनुभव प्राप्त गरे।

नर्सिङ विद्यार्थी, शिक्षक, व्यवस्थापन टोली तथा नेपाल हेल्थ कोर्प्सका स्वयंसेवकहरूको सुगठित समन्वयले प्रदर्शनीलाई प्रभावकारी र सफल बनाएको आयोजकले जनाएको छ।

नेशनल मेडिकल कलेजले यस्ता शैक्षिक तथा सामुदायिक कार्यक्रमहरू मार्फत “मेडिसिनभन्दा पर, मानवताको तर्फ” भन्ने मूल सन्देशलाई निरन्तर प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता हुने

0

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीको आयोजनामा आउँदो शनिबार महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

शशस्त्र प्रहरी र स्थानीय समुदायबीच सौहार्दपूर्ण सम्बन्ध कायम गर्न र सीमाक्षेत्रमा सामुदायिक सहकार्य बढाउने उद्देश्यले हरेक महिनामा यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यो निर्णय बिहिबार बसेको सीमा सुरक्षा समितिको बैठकले गरेको हो ।

बैठकमा पकहामैनपुर गाउँपालिका–४ का वडाध्यक्ष तथा सीमा सुरक्षा समितिका संयोजक ढेडी यादवको अध्यक्षतामा छलफल भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीले प्रत्येक महिनामा स्थानीय सहभागिता हुने यस्ता मैत्रीपूर्ण कार्यक्रम सञ्चालन गरेर सीमाक्षेत्रमा आपसी विश्वास र सहकार्य सुदृढ बनाइने बताए ।

प्रतियोगितामा सशस्त्र प्रहरी लहावरथकरी मातहतका कालिकामाई, पकहाँ मैनपुर र छिपहरमाई गाउँपालिकाअन्तर्गतका ४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् । सहभागी विद्यालयहरूमा —कालिकामाई गाउँपालिका–२ को श्री स्काई साह माध्यमिक विद्यालय, भेडिहारी, श्री दिव्य कन्या माध्यमिक विद्यालय, बिरञ्जीवर्वा, पकहाँ मैनपुर गाउँपालिकाको श्री रामचरित्र भगत माध्यमिक विद्यालय, पकहामैनपुर, र छिपहरमाई गाउँपालिकाको श्री ब्रह्मस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालय रहेका छन् ।

यी विद्यालयका ९ जना छात्राहरू साइक्ल प्रतियोगितामा र १५ जना छात्रहरू म्याराथन प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबार बिहान ७ बजे श्री ब्रह्मस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गणमा सुरु हुने बताइएको छ ।

बैठकमा शशस्त्र प्रहरीका अधिकारीहरू, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी, जेष्ठ नागरिक तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।

नागरिकलाई दुःख नदिने, सेवा ढिलासुस्तीमा सहनशीलता हुँदैन : सिडिओ दाहाल

वीरगंज । पर्साका नयाँ प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । कार्यक्रममा उनले जिल्लाको शान्ति–सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र प्रशासनिक सेवा सुधारका विषयमा महत्वपूर्ण छलफल भएको बताए ।

कार्यक्रममा बोल्दै सीडिओ दाहालले आफू “नागरिकको सेवाका लागि आएको अधिकारी” भएको बताउँदै सेवामा कुनै पनि किसिमको ढिलासुस्ती हुन नदिने प्रतिबद्धता जनाए । उनले सरकारी सेवामा पर्सा आफ्नो चौथो कार्यस्थल रहेको उल्लेख गर्दै, यसअघि सप्तरीमा ११ महिना सीडिओको रूपमा काम गरेको अनुभवका आधारमा मधेसका जिल्लाहरूको समस्या राम्रोसँग बुझेको बताए ।

“समस्याको समाधानका लागि सकारात्मक सोच र सहकार्य जरुरी हुन्छ,” उनले भने, “म मेरो कार्यकालमा नागरिकलाई दुःख दिने काम हुन दिनेछैन।”

सीडिओ दाहालले जिल्लाको कानून–व्यवस्थाको अवस्था, आपराधिक गतिविधि नियन्त्रणका रणनीति र आगामी योजनाबारे जानकारी दिँदै, प्रशासन र सञ्चारकर्मीबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए ।

“कसैको दबाबमा आएर काम नगर्ने, सेवा ग्राहीको हकहितमा सहज र खुला प्रशासन सञ्चालन गर्ने मेरो प्राथमिकता हुनेछ,” उनले जोड दिए ।

दाहालले पर्साबासीलाई कुनै पनि समस्या वा गुनासो भए सीधै सम्पर्क गर्न आग्रह गरे । अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले खुला सिमाना, किसानका मुद्दा, सेवा प्रवाहमा सुधार, सार्वजनिक सुरक्षा, र प्रशासनिक पारदर्शिताका विषयमा सुझावहरू दिएका थिए ।