Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 144

पर्सा–२ मा कांग्रेस उम्मेदवार अजय चौरसियाप्रति असन्तुष्टि बढ्दो, परित्याग र दलपरिवर्तन तीव्र

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्दै जाँदा पार्टी परित्याग गर्नेहरूको संख्या वृद्धि भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजय चौरसिया प्रति असन्तुष्टि जनाउँदै केही नेता तथा कार्यकर्ताले दलपरिवर्तन गरेको बताएका छन्।

आइतबार बहुदरमाई नगरपालिकाको डकैला बहुअरीमा आयोजित नेकपा (एमाले)को चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका पूर्व बुथ सभापति काशी यादव, स्थानिय नेता रामबालक यादव लगायत एक सयभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ।

यसअघि पर्सागढी नगरपालिकामा पनि कांग्रेस परित्याग गरी दुई दर्जनभन्दा बढी युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए । रास्वपाका अनुसार युवा समाजसेवी रविशंकर दास चौधरी, वडा नम्बर–९ का वडाध्यक्षका प्रत्यासी निरज चौधरी, भूतपूर्व प्रहरी रामाधारी यादव, समाजसेवी मीनबहादुर भण्डारी लगायतका व्यक्तिहरू रास्वपामा आबद्ध भएका छन्।

कांग्रेस परित्याग गर्नेहरूका अनुसार लामो समयदेखि एउटै व्यक्तिलाई अवसर दिँदा पनि क्षेत्रको अपेक्षित विकास हुन नसकेको गुनासो छ । “परिवर्तनका लागि जनस्तरमा आवाज उठिरहेको बेला पुरानै अनुहार दोहोरिनु असन्तुष्टिको कारण बनेको छ,” एक स्थानीयले बताए।

नाम नलेख्ने सर्तमा एक कांग्रेसी युवा नेताले भने, “यसपटकको निर्वाचनमा चौरसिया जीको जित त्यति सहज देखिँदैन । कांग्रेसभित्रै पनि थुप्रै असन्तुष्टि छन् । नेता–कार्यकर्तासँगै घुमे पनि भोट सुनिश्चित छैन ।” अर्का एक मतदाताले जनताको परिवर्तन चाहनाका कारण प्रतिस्पर्धा कडा हुने टिप्पणी गरे ।

स्थानीय राजनीतिक वृत्तमा कांग्रेसभित्रको असन्तुष्टि र मतदाताको परिवर्तन चाहनाले अन्य दललाई अवसर मिल्न सक्ने आकलन गरिएको छ । क्षेत्रबासीका अनुसार एमालेकी उम्मेदवार रिमा कुमारी यादव र रास्वपाका उम्मेदवार सुशील साह कानु प्रति आकर्षण देखिएको बताइन्छ ।

पर्सा–२ मा दलपरिवर्तन र चुनावी गतिविधि तीव्र भइरहेका बेला आगामी निर्वाचन परिणाममा यसको प्रभाव कस्तो पर्ला भन्ने चासो बढेको छ।

मुख्यमन्त्री यादवद्वारा पर्सा–४ मा रमेश रिजललाई जिताउन आग्रह

0

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले फागुन २१ गतेकाे निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातासँग अपिल गरेका छन् ।

पर्सा क्षेत्र नं. ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरमा पुगेका मुख्यमन्त्री यादवले कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै कांग्रेसका उम्मेदवार रमेश रिजललाई जिताउन आग्रह गरेका हुन्।

नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष समेत रहेका मुख्यमन्त्री यादवले यसपालिकाको निर्वाचन मुलुकका लागि महत्वपूर्ण रहेको औंल्याउँदै कांग्रेसको जित आवश्यक रहेको बताए । उनले देशमा संकटको बेलामा कांग्रेसले निकास दिएको स्मरण गराउँदै अहिलेको चुनौतीको समाधानका लागि पनि कांग्रेसको विकल्प नभएको दाबी गरे ।

कांग्रेसका वडा सभापति पासपती गिरीको अध्यक्षतामा भएकाे भेटघाट कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेस पर्साका सह सचिव नविन सिंह, रमेश पाण्डे, बलिष्टर अहमद, किशाेर जयसवाल, वडाध्यक्ष कामेश्वर प्रसाद यादव, पप्पु यादव, रुपेश उपाध्याय, सुरेन्द्र यादव लगायत स्थानिय नेता तथा कार्यकर्ताकाे उल्लेखनीय उपस्थिती रहेको थियो।

यसअघि मुख्यमन्त्री यादवले श्री नेरा प्राबी भलुवहिया, मिर्जापुर छठघाट र ओरिया नदीको टठबन्ध निर्माणका लागि स्थलगत अवलाेकन तथा निरीक्षणसमेत गरेका थिए। अवलाेकनकाे क्रममा मुख्यमन्त्री यादवले टठबन्ध निर्माण र मिर्जापुरमा छठघाट बनाउने प्रतिबद्धता व्यक्त गरेकाे नेपाली कांग्रेस नेता नविन सिंहले जानकारी दिए ।

कालिकामाईमा डा. कृपासिन्धु चौधरीको घरदैलो, चुनाव जित्ने दाबी

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ अन्तर्गत कालिकामाई गाउँपालिकाकाे हरिहरपुर, बिरञ्चीबर्वा र कट्टीबलुवामा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. कृपासिन्धु चौधरीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

उम्मेदवार चौधरीले घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै गाउँका समस्या सुनेका थिए । उनले मतदातालाई आफ्नो चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह गर्दै विजयी भए जनताको समस्या संसदसम्म पुर्याउने प्रतिबद्धता जनाए ।

डा. चौधरीले आफू शिक्षित र अनुभवी उम्मेदवार भएको दाबी गर्दै, ठाकुर राम क्याम्पस प्रमुख र राष्ट्रिय आयोजना आयोग सदस्य रहँदा गरेको कामसमेत उल्लेख गरे । उनले निर्वाचित भए सधैं जनताको बीचमै रहने विश्वास पनि व्यक्त गरे ।

घरदैलोका क्रममा स्थानियहरूले उम्मेदवार चौधरीलाई फूलको माला लगाएर स्वागत समेत गरेका थिए । उम्मेदवार चाैधरी र जसपा नेपालका नेताहरुले जनमत आफुहरुकाे पक्षमा रहेकाेले आफुहरु नै चुनाव जित्ने दाबी गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व उर्जा, सिचाइ तथा खानेपानी मन्त्री एवं प्रदेश सभा सदस्य सिंगासन सा. कलवार, जसपा नेपालका नेता दिनेश कलवार, जयनारायण कुर्मी लगायत स्थानीय नेता र कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

पर्सा–३ मा रूपेश पाण्डेलाई जिताउन टोल–टोलमा नेता तथा कार्यकर्ताको सक्रियता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ जमुनीयामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी अभियानलाई तीव्र बनाउँदै अगुवा नेता तथा सक्रिय कार्यकर्तासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। एमालेका नेता एवं सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको सक्रियता भेला सम्पन्न भएकाे हाे ।

कार्यक्रममा स्थानीय तहका अगुवा नेता, युवा कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलका क्रममा संगठन सुदृढीकरण, घरदैलो अभियानको प्रभावकारिता, मतदाता सम्पर्क विस्तार तथा विकासका एजेण्डालाई जनस्तरसम्म पुर्‍याउने विषयमा विस्तृत रणनीति तय गरिएको सहभागीहरूले बताएका छन् ।

वक्ताहरूले पर्सा–३ को समग्र विकासका लागि कृषि आधुनिकीकरण, सडक तथा पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र युवालाई रोजगारीसँग जोड्ने दीर्घकालीन योजनामा प्राथमिकता दिनुपर्ने धारणा राखे। उनीहरूले स्थायित्व, सुशासन र समृद्धिका लागि एमाले नै भरपर्दो शक्ति भएको दाबी गरे।

छलफलमा पर्सा–३ का युवा उम्मेदवार रूपेश पाण्डेको भूमिकाबारे पनि सकारात्मक चर्चा भएको बताइएको छ । विगत केही वर्षदेखि बस्ती–बस्ती पुगेर जनताका समस्या बुझ्दै आएका पाण्डेप्रति स्थानीय तहमा विश्वास र अपेक्षा बढ्दो रहेको नेताहरूले उल्लेख गरे । “ग्रासरूट तहमा निरन्तर सक्रियता देखाएका कारण रूपेश पाण्डे फागुन २१ काे निर्वाचनमा जिताउन सक्रिय भुमिका खेल्ने निर्णय समेत भएकाे छ ।”

नेता जयसवालले संगठनलाई एकताबद्ध र अनुशासित बनाउँदै निर्वाचनमा प्रभावकारी परिणाम ल्याउने गरी अभियानलाई अझ सशक्त बनाइने बताए। उनले प्रत्येक टोल र बस्तीमा पुगेर एमालेको नीति, कार्यक्रम र विकास दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको पर्सा–३ मा जमुनीयामा सम्पन्न उक्त कार्यक्रमलाई स्थानीय स्तरमा एमालेको पक्षमा माहोल निर्माण गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। पार्टीका नेताहरूका अनुसार आगामी दिनमा घरदैलो, टोलसभा, युवासँग अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रमलाई थप तीव्र बनाइनेछ।

वीरगंज–२६ मा रिमा यादवको घरदैलो उत्साहजनक, नमुना क्षेत्र बनाउने प्रतिबद्धता

0

वीरगंज । वीरगंज महानगरपालिका–२६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवको घरदैलो कार्यक्रम आज उत्साहजनक रूपमा सम्पन्न भएको छ। चुनावी माहोल तातिरहेका बेला उम्मेदवार यादव टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेकी हुन्।

घरदैलोका क्रममा यादवले पर्सा–२ लाई आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरिन्। युवालाई रोजगारी सिर्जना, किसानलाई आधुनिक कृषि प्रविधिमा जोड, महिलाको सशक्तीकरण तथा नगर क्षेत्रमा सडक, ढल र सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्ने उनले बताइन्।

कार्यक्रममा समानुपातिक उम्मेदवार बिचारी यादव, प्रदेश कमिटी सदस्य रमिला खातुन, क्षेत्र नं. २ का अध्यक्ष मनोज कुशवाहा लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। टोलीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार निर्माणका विषयमा आफ्नो स्पष्ट योजना प्रस्तुत गरेको जनाएको छ।

नेताहरूले मतदातालाई आगामी निर्वाचनमा सूर्य छापमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए। स्थानीय बासिन्दाले विकास र सुशासनप्रति अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएको सहभागीहरूले बताए।

वडा नं. २६ मा सम्पन्न उक्त कार्यक्रमसँगै एमालेको चुनावी अभियान थप सक्रिय बनेको छ। नेता–कार्यकर्ताले आगामी दिनमा पनि घरदैलो र जनभेटघाट कार्यक्रमलाई तीव्रता दिने बताएका छन्।

भबानिपुरमा हरि पन्तको घरदैलोमा उत्साहजनक सहभागिता, ‘साझा रोजाइ’का रूपमा चर्चा

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि पन्तले वीरगंज महानगरपालिका वडा नं. १८ भबानिपुरमा आयोजना गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ। कार्यक्रममा जेन्जी, युवा, प्रौढ तथा ज्येष्ठ नागरिकसहित विभिन्न तह–तप्काका स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

घरदैलोका क्रममा उम्मेदवार पन्तले घर–घरमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शितासम्बन्धी आफ्ना धारणा राखे। विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिताले कार्यक्रम थप उत्साहपूर्ण बनेको आयोजकहरूले बताएका छन्। स्थानीय स्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको उपस्थितिले चुनावी माहोल तातेको देखिएको थियो।

कार्यक्रममा सहभागी स्थानीयहरूले पुराना दलप्रति बढ्दो निराशा र वैकल्पिक शक्तिको खोजी नै आफ्नो निर्णयको मुख्य कारण रहेको बताए। उनीहरूले पारदर्शिता, सुशासन र युवा नेतृत्वप्रतिको प्रतिबद्धताले आफूहरूलाई रास्वपातर्फ आकर्षित गरेको उल्लेख गरे।

उम्मेदवार पन्तले मतदातासँगको भेटमा जनताको विश्वासलाई केन्द्रमा राखेर जिम्मेवार र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले स्थानीय आवश्यकता र प्राथमिकताअनुसार नीति तथा योजना अघि बढाउने आश्वासन दिएका छन्।

वीरगंज–१ मा टेमानीको सक्रियता, घरदैलोमार्फत स्थानीय समस्या समाधानमा प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट उम्मेदवारी दिएका टेमानीले सोमबार वीरगंज महानगरपालिका वडा नम्बर १ मा घरदैलो तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार टेमानीले ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै जनजीवनसँग जोडिएका समस्याबारे संवाद गरे। अगुवा भेलामा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा विभिन्न टोल विकास समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा टेमानीले आफू केवल मत माग्न नभई समस्या सुन्न र समाधानका लागि स्पष्ट प्रतिबद्धता गर्न आएको बताएका थिए।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले विशेषगरी खानेपानीको चरम समस्या उठाए। नियमित र स्वच्छ पानीको अभाव, चापाकल तथा धारामा पानी नआउने र कमजोर गुणस्तरका कारण स्वास्थ्य जोखिम बढेको गुनासो गरिएको थियो। यस विषयमा टेमानीले दीर्घकालीन खानेपानी आयोजना सञ्चालनका लागि संघीय स्तरबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी शिक्षा क्षेत्रको अवस्था सन्तोषजनक नभएको स्थानीय अभिभावकहरूको भनाइ थियो। सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार, शिक्षक दरबन्दी तथा गुणस्तरीय शिक्षाको अभाव रहेको गुनासो सुनिएपछि टेमानीले विद्यालय स्तरोन्नति, प्राविधिक शिक्षा विस्तार र युवालाई रोजगारीमुखी सीप प्रदान गर्ने योजना अघि सार्ने बताए।

स्वास्थ्य सेवाको पहुँच र गुणस्तरसमेत अर्को प्रमुख मुद्दाका रूपमा उठ्यो। सामान्य बिरामी पर्दा टाढा जानुपर्ने बाध्यता, औषधि अभाव र स्वास्थ्यकर्मीको कमीबारे स्थानीयले ध्यानाकर्षण गराए। टेमानीले वडास्तरमै प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने तथा सरसफाइ अभियान सुदृढ गर्ने आश्वासन दिए।

वर्षायाममा हुने बाढी तथा पानी जम्ने समस्या पनि वडा नम्बर १ का बासिन्दाको चिन्ताको विषय बनेको छ। कमजोर नाला प्रणाली र ढल निकासको अभावका कारण सामान्य वर्षामै सडक तथा घरहरूमा पानी पस्ने अवस्था रहेको स्थानीयको भनाइ छ। यसप्रति टेमानीले वैज्ञानिक ढंगले ढल निकास प्रणाली निर्माण तथा सडक पूर्वाधार सुदृढीकरणका लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए।

अगुवा भेलालाई सम्बोधन गर्दै टेमानीले विकास नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए। “जनताको घरदैलोमा पुगेर सुनेका समस्याहरू नै मेरो एजेन्डा हुन्,” उनले भने, “खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ र ढल निकासका विषयमा संघीय संसद्मा बलियो आवाज उठाउनेछु।” उनले पारदर्शी, जवाफदेही र जनमुखी राजनीति आफ्नो प्राथमिकता रहेको पनि उल्लेख गरे।

वीरगंज जारी कर्फ्यू आदेशको चाैतर्फी आलोचना

0

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा वीरगंजमा जारी गरिएको कर्फ्यू आदेशको चाैतर्फी आलोचना सुरु भएको छ। वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा भएको घटनालाई लिएर अकास्मात् पुरै बजार क्षेत्रभरी कर्फ्यू आदेश जारी गरिएपछि स्थानीयस्तरमा असन्तुष्टि बढेको हो।

अहिले निर्वाचन र विवाहको लगनको समय भएकाले कर्फ्यू आदेश पालना गर्न गाह्रो हुने वीरगंजबासीको भनाइ छ। “एउटा वडामा भएको घटनालाई आधार बनाएर पुरै वीरगंज ठप्प पार्नु उचित होइन,” स्थानीयहरूको गुनासो छ । यस कदमले प्रशासन र सुरक्षा संयन्त्र असफल भएको आरोप समेत लगाइएको छ ।

समाजिक कार्यकर्ता जय साहले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेख्दै “एउटा वडामा भएको सानो विवाद नियन्त्रण गर्न नसक्ने असक्षमताको परिणाम स्वरूप सम्पूर्ण वीरगंजमा कर्फ्यू लगाइएको” बताएका छन् । वीरगंज मधेशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै उनले “शहर बन्द होइन, सुरक्षा व्यवस्था मजबुत बनाउने” माग अघि सारेका छन्।

यसैगरी, युवा महादेव कुर्मीले केही उच्छृङ्खल व्यक्तिका कारण पुरै वीरगंजलाई ‘बन्धक’ बनाउन नमिल्ने बताएका छन्। उनले अहिले हिन्दु समुदायमा बिहेको लगन चलिरहेको सन्दर्भ उल्लेख गर्दै कर्फ्यू कुनै हालतमा मान्य नहुने धारणा व्यक्त गरेका छन् ।

अर्का युवा कृष्णा कुमारले पनि सामाजिक सञ्जालमा कर्फ्यूको विरोध जनाउँदै केही व्यक्तिको गतिविधिका कारण पुरै शहर बन्द गर्नु गलत भएको टिप्पणी गरेका छन्। विवाहको लगनकै बेला कर्फ्यू लगाइनु नागरिकमैत्री कदम नभएको उनको भनाइ छ।

कतिपयले भने यसलाई निर्वाचन भाँड्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन् । आइतबार साँझ वडा नं. ११ श्रीपुरमा दुई समुदायबीच झडप भएको थियो । झडपमा केही व्यक्ति घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । तर सोमबार बिहान ९:४५ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यू आदेश जारी भएपछि स्थानीयहरू आक्रोशित बनेका हुन्।

यस विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी दाहालसँग फोनमार्फत सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण प्रतिक्रिया लिन सकिएन।

वीरगंज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लागू

0

वीरगंज । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार आज मिति २०८२।११।११ गते बिहान ९ः४५ बजे देखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशमा महानगरपालिका क्षेत्रभित्र पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटलाई चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने उल्लेख गरिएको छ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू—एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।

नेशनल मेडिकल कलेजद्वारा प्रदेश प्रहरी कार्यालयलाई कम्प्युटर सहयोग

0

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालयलाई दुई सेट कम्प्युटर आवश्यक एक्सेसरिज तथा युपिएससहित सहयोग स्वरूप हस्तान्तरण गरेको छ। कार्यक्रम २०८२ साल फागुन १० गते कलेजको सम्मेलन हल, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो।

प्रविधिगत पूर्वाधार सुदृढीकरणमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा छिटोछरितो बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको कलेजले जनाएको छ। यस सहयोगबाट प्रदेश प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सूचना व्यवस्थापन प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।

हस्तान्तरण कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारीले सामग्री हस्तान्तरण गर्नुभएको थियो भने वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा एडमिसन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी तथा मार्केटिङ, प्रशासन र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कलेजले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै समाज र सुरक्षा निकायबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको जनाएको छ।