Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 142

जगरनाथपुरमा प्रदीप यादवको घरदैलो, समर्थकद्वारा भव्य स्वागत

0

वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव लाई बुधबार बिहान वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा समर्थक तथा मतदाताले भव्य स्वागत गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय समर्थकहरूले अबीर–टीका र गम्छा लगाएर उम्मेदवार यादवलाई स्वागत गर्दै उनीसँगै घरघरमा पुगेका थिए। सो अवसरमा समर्थकहरूले यादवको जितका लागि नारासमेत लगाएका थिए।

मतदातासँगको संवादमा पूर्वमन्त्री यादवले यसअघिका दुई संसदीय कार्यकालमा आफूले क्षेत्रमा गरेका कामहरूको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे। उनले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको हालत कस्तो थियो? म निर्वाचित भएपछि भएका विकासहरू तपाईंहरूले आफैं देख्न सक्नुहुन्छ।”

यादवले आफूलाई क्षेत्रको हरेक टोल, समस्या र समाधानबारे जानकार उम्मेदवारका रूपमा प्रस्तुत गर्दै अन्य उम्मेदवारहरूप्रति कटाक्षसमेत गरे। “मलाई यस क्षेत्रको प्रत्येक टोलबारे जानकारी छ, तर अन्य उम्मेदवारहरूलाई यहाँका टोलहरूको नामसमेत थाह नहुन सक्छ,” उनले भने।

उम्मेदवार यादवले एमालेको राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने तथा समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको बताए। उनले गरिबी निवारण, रोजगारी सृजना र सांस्कृतिक संरक्षणका मुद्दामा आफू निरन्तर लागिरहने दाबी गरे।

पूर्वमन्त्रीसमेत रहेका यादवले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई चिन्न आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन्। निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई पहिचान गर्नुहोस्। म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्छु।”

पर्सा–२ मा रीमा यादवको घरदैलो: विकास र रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता

0

वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रीमा यादव ले बुधबार वीरगंज महानगरपालिका–१९ अन्तर्गत बर्वा र बिन्द्वासानी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरिन्।

कार्यक्रममा बिचारी यादव, प्रेम पटेल, लियाकत अली, अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएको थियो।

स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।

पर्सा–३ मा रुपेश पाण्डेयको घरदैलो: झुटो आश्वासन होइन, कामको प्रतिबद्धता

0

वीरगंज। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ र २ मा बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेय ले वडा नम्बर १ र २ का हरिनगर, गर्दौल र बहुअर्वा क्षेत्रमा घरदैलो गर्दै स्थानीय मतदातासँग भेटघाट गरेका थिए। सो क्रममा उनले मतदाताका गुनासा र अपेक्षा सुन्दै आफू अरू नेताजस्तो झुटा आश्वासन नदिने प्रतिबद्धता व्यक्त गरे।

मतदातासँगको संवादमा पाण्डेयले भने, “भलै राजनीतिमा म नयाँ छु, तर पर्सा–३ का गाउँगाउँमा पुगेर यहाँको वास्तविकता बुझेको छु। शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी यहाँका मुख्य समस्या हुन्। यी समस्या समाधानमा मेरो मुख्य ध्यान रहनेछ।” उनले जनताको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर विकासका कामहरू जितेर गएपछि पूरा गर्ने अठोट व्यक्त गरे।

उम्मेदवार पाण्डेयले मतदातालाई झुटो आश्वासनमा नपर्न आग्रह गर्दै आफू विजयी भएपछि स्वच्छ र स्पष्ट भिजनसहित जनताको सेवा गर्ने अवसर दिन अपिल गरे।

घरदैलोका क्रममा स्थानीय युवा मतदाताहरूले पाण्डेयलाई स्वागत गर्दै उनलाई जिताउन दिलोज्यानले लाग्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।

“खानेपानी, शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता” : अशाेक टेमानी

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले आफ्नो घरदैलो अभियानलाई थप सशक्त बनाउँदै वीरगंज महानगरपालिका वडा नं. १९ अन्तर्गत विन्दवासिनी टोलका मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवारी दिएका टेमानीले चुनावी कार्यक्रमअन्तर्गत स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका हुन्।

ग्रामीण भेगमा पर्ने विन्दवासिनी टोलमा पुगेका टेमानीलाई स्थानीयवासीले स्वागत गर्दै दैनन्दिन जीवनसँग जोडिएका कठिनाइहरू खुलेर सुनाएका थिए। विशेषगरी खानेपानीको चरम अभाव, शिक्षा क्षेत्रको कमजोर अवस्था, स्वास्थ्य सेवाको सीमित पहुँच तथा कृषि क्षेत्रमा देखिएका समस्याहरूबारे गुनासो गरिएको थियो। वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेका यी मुद्दाले जनजीवन प्रभावित बनेको स्थानीयको भनाइ थियो।

खानेपानीको समस्या यहाँका बासिन्दाका लागि प्रमुख चुनौती बनेको छ। नियमित शुद्ध खानेपानीको व्यवस्था नहुँदा महिलाहरू र बालबालिकाले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। कतिपय स्थानमा हातेधारा बिग्रिएको, कतै पाइपलाइन जडान भए पनि पानी नआउने समस्या रहेको गुनासो गरिएको छ। यसले स्वास्थ्यमा समेत नकारात्मक असर पारेको स्थानीयको अनुभव छ।

स्थानीयका गुनासा ध्यानपूर्वक सुनेपछि टेमानीले विकासको मूल आधार स्थानीय आवश्यकता र जनसहभागितामै रहेको उल्लेख गरे। उनले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाहरूका लागि रोजगारी सिर्जना, किसानमैत्री नीति तथा सामाजिक न्याय सुदृढ गर्ने एजेन्डा अघि सारे।

“जनताको विश्वास र साथ पाएर संसदमा पुगेपछि यहाँका समस्यालाई योजनाबद्ध ढंगले समाधान गर्न पहल गर्नेछु,” टेमानीले भने।

पर्सा–२ मा कांग्रेससहित विभिन्न दलबाट एमालेमा प्रवेश तीव्र, रिमा यादवको सम्भावना बलियो

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेससहित विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काँग्रेस, जसपा, नेकपालगायत दल छाडेर एमाले रोज्नेहरूको लहर देखिएको हो। दिनहुँजसो भइरहेका पार्टी प्रवेश कार्यक्रमले पर्सा–२ मा एमाले संगठन बलियो बन्दै गएको राजनीतिक वृत्तमा चर्चा छ।

मंगलबार पर्सागढी नगरपालिका वडा नं. ६ निवासी नेपाली काँग्रेसका पूर्व वडाध्यक्ष प्रयाग पासवान औपचारिक रूपमा एमालेमा प्रवेश गरेका छन् । उनलाई आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, वीरगंज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली तथा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले खादा र अविरको टीका लगाएर स्वागत गरेका थिए।

यसैबीच, नेकपा निकट युवा संघ नेपालसँग आबद्ध युवा नेता तारकेश्वर चौवे पनि समर्थकसहित एमालेमा प्रवेश गरेका छन् । एमाले पर्साका सचिव महेश दासका अनुसार चौवेसँगै नेकपाका वीरगंज महानगर कमिटीका सहसचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डल लगायतका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, जिल्ला अध्यक्ष विशम्भर शर्मा, उपसचिव नविजान अन्सारी, क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादव, संयोजक मनोज कुशवाह, प्रधुमन यादव लगायतले खादा–माला लगाएर स्वागत गरेका थिए।

त्यसैगरी, वीरगंज महानगरपालिका वडा नं. २५ निवासी नेपाली काँग्रेसका युवा नेता उमेश पटेल पनि मंगलबार नै एमालेमा प्रवेश गरेका छन् । यसअघि पनि जसपा नेपालबाट निर्वाचित मेयर, वडाध्यक्ष लगायत सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिसकेको जनाइएको छ ।

पार्टी प्रवेशका क्रममा नवप्रवेशीहरूले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसले फागुन २१ गतेकाे निर्वाचनमा एमालेकी उम्मेदवार रिमा यादवकाे जितकाे सम्भावना बलियाे हुँदै गएकाे छ ।

पर्सा १ मा ओमप्रकाश सरार्फको घरदैलो अभियान तिब्र

0

वीरगंज । जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाउँदै वीरगंज महानगरपालिका वडा नं. २१ अन्तर्गत कुशवाहा टोल र तात्वा टोलमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। अभियानका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका छन्।

घरदैलोका क्रममा स्थानीयवासीहरूले सरार्फलाई स्वागत गर्दै दैनन्दिन जीवनसँग जोडिएका आधारभूत समस्याहरू खुलेर राखेका थिए। विशेषगरी खानेपानीको चरम अभाव यहाँका बासिन्दाको प्रमुख समस्या बनेको स्थानीयले बताएका छन्। नियमित र शुद्ध खानेपानीको व्यवस्था नहुँदा महिलाहरू तथा बालबालिकाले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। कतिपय स्थानमा हातेधारा बिग्रिएको, कतै पाइपलाइन जडान भए पनि पानी नआउने समस्या रहेको गुनासो गरिएको छ। यसका कारण स्वास्थ्यमा समेत नकारात्मक असर परेको स्थानीयको भनाइ थियो।

त्यस्तै, शिक्षा क्षेत्रको अवस्था पनि सन्तोषजनक नरहेको स्थानीय अभिभावकहरूले बताएका छन्। सरकारी विद्यालयमा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी तथा गुणस्तरीय शिक्षाको अभावले विद्यार्थीहरू प्रभावित भएका छन्। आर्थिक रूपमा कमजोर परिवारले समेत छोराछोरीलाई निजी विद्यालयमा पठाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।

स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको विषय पनि घरदैलोमा उठाइएको थियो। नजिकै सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि समेत वीरगंज बजार क्षेत्र धाउनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। आकस्मिक बिरामी पर्दा यातायात र खर्चको अभावले थप समस्या हुने गरेको उनीहरूको भनाइ छ। स्वास्थ्य चौकीमा आवश्यक औषधि, उपकरण र जनशक्तिको अभाव रहेको गुनासो गरिएको छ।

कृषि क्षेत्रमा समेत चुनौतीहरू प्रशस्तै रहेको किसानहरूले बताएका छन्। पर्याप्त सिँचाइ सुविधा नहुँदा उत्पादनमा असर परेको, मलखाद र बिउबिजनको अभाव तथा उत्पादनको उचित मूल्य नपाएको गुनासो गरिएको थियो। बजार व्यवस्थापन कमजोर हुँदा किसान निराश बनेको स्थानीयको धारणा छ। कृषि क्षेत्रलाई सुदृढ बनाउन दीर्घकालीन र किसानमैत्री योजना आवश्यक रहेको उनीहरूले जोड दिएका छन्।

स्थानीयका गुनासा ध्यानपूर्वक सुनेपछि सरार्फले विकासको मूल आधार स्थानीय आवश्यकता र जनसहभागितामा निर्भर हुने बताए। उनले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, युवाहरूका लागि रोजगारी सिर्जना, किसानमैत्री नीति तथा सामाजिक न्याय सुदृढ गर्ने एजेन्डा आफ्नो मुख्य प्राथमिकतामा रहेको उल्लेख गरे।

“जनताको विश्वास र साथ पाएर संसदमा पुगेपछि यहाँका समस्यालाई दीर्घकालीन र दिगो समाधानतर्फ लैजान पहल गर्नेछु,” उनले भने। घरदैलो अभियानलाई प्रभावकारी बनाउन महिला टोलीसमेत परिचालन गरिएको जनाइएको छ।

कार्यक्रमका क्रममा स्थानीय मतदाताले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुसी व्यक्त गर्दै विगतमा आश्वासन मात्र पाएको तर कार्यान्वयन कमजोर रहेको गुनासो दोहोर्‍याए। यसपटक भने परिणाममुखी काम गर्ने नेतृत्वलाई समर्थन गर्ने उनीहरूको भनाइ थियो। पर्सा क्षेत्र नं. १ मा सरार्फको घरदैलो अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको जनाइएको छ।

पर्सा–३ मा रुपेश पाण्डेको घरदैलो जारी, ‘सूर्य छाप’मा मत दिन आग्रह

0

वीरगंज । नेकपा एमालेका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश पाण्डेले मंगलबार बहुदरमाई नगरपालिकाको पटनी गाउँमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार पाण्डेले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताका समस्या सुन्नुका साथै समाधानका लागि प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो चुनाव चिन्ह ‘सूर्य छाप’मा मतदान गरी विजयी बनाउन आग्रह गर्दै निर्वाचित भएपछि क्षेत्रका मुद्दा संसदसम्म पुर्‍याएर समाधान खोज्ने बताए।

पाण्डेले विभिन्न मन्त्रालय तथा दातृ निकायसँग समन्वय गरेर क्षेत्रको विकासलाई तीव्रता दिने आश्वासन दिए। उनले पर्सा–३ का जनताले विगतमा धोखा खेप्नुपरेको उल्लेख गर्दै अब सचेत भएर निर्णय गर्नुपर्ने धारणा राखे। आफू विगत तीन वर्षदेखि क्षेत्रका जनताका समस्या बुझ्दै आएको र सधैं सुख–दुःखमा साथ रहने प्रतिबद्धता समेत उनले जनाए।

कार्यक्रममा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, नेता शिव पटेल लगायत एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

टिपरको ठक्करबाट महिला प्रहरीको मृत्यु, प्रहरी निरीक्षक घाइते

0

वीरगंज । जनकपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिला प्रहरीको मृत्यु भएको छ भने प्रहरी निरीक्षक घाइते भएका छन् । दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान चन्द्रकला कुमारीको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय लेखा शाखाका प्रमुख प्रहरी निरीक्षक विजय कुमार यादवले चलाएको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको थियो । माेटरसाइकलकाे पछाडी सवार चन्द्रकला ठक्करबाट गम्भिर घाइते भएकी थिइन । उनकाे उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरी निरीक्षक यादव घाइते भएका छन्।

जनकपुरकाे मुरली चोकबाट जिरोमाईलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०१०४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनापछि दुवै सवारी साधन र टिपर चालक सुनिल रविदासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको जनाएको छ। रविदास धनुषाको मिथिला नगरपालिका–२, आनन्दपुरका ३० वर्षीय निवासी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पर्सा–३ मा रामाकान्त चौरसियाको घरदैलो तीव्र, शिक्षा–स्वास्थ्य–सुशासन मुख्य एजेण्डा

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामाकान्त चौरसियाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। उनले शिक्षा, स्वास्थ्य, विकास, सुशासन र रोजगारी सिर्जनालाई चुनावी एजेण्डाको केन्द्रमा राख्दै अभियानलाई गति दिएका हुन्।

प्रचारप्रसारको क्रममा चौरसियाले मंगलबार सखुवाप्रसौनी गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गरी मतदाता भेटघाट तथा प्रत्यक्ष संवाद गरे। कार्यक्रममा उनले स्थानीय बासिन्दासँग सडक, ढल निकास, फोहोर व्यवस्थापन, खानेपानी आपूर्ति तथा सुरक्षासम्बन्धी गुनासाहरू प्रत्यक्ष सुने।

उम्मेदवार चौरसियाले यस्ता समस्या अस्थायी योजनाबाट समाधान नहुने उल्लेख गर्दै दीर्घकालीन पूर्वाधार विकास योजनाको आवश्यकता औंल्याए। संघीय संसद्मा निर्वाचित भएपछि क्षेत्रका समस्यालाई प्राथमिकतामा राखी सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर स्थायी समाधानका लागि पहल गर्ने प्रतिबद्धता उनले जनाए।

घरदैलो कार्यक्रममा सहभागी मतदाताले विकासका आश्वासनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै चौरसियाले निर्वाचनपछि नियमित जनसम्पर्क, सार्वजनिक सुनुवाइ तथा प्रगति प्रतिवेदनमार्फत नागरिकलाई जानकारी गराउने प्रणाली विकास गर्ने आश्वासन दिए।

पर्सा २ मा कांग्रेसका पूर्व वडाध्यक्ष पासवान र नेकपाका युवा नेता चौवे एमाले प्रवेश

0

वीरगंज । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ६ निवासी नेपाली काँग्रेसका पूर्व वडाध्यक्ष प्रयाग पासवान मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

पासवानलाई आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, वीरगञ्ज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली तथा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले खादा र अविरको टीका लगाएर स्वागत गरेका थिए।

यसैबीच, युवा संघ नेपालसँग आबद्ध युवा नेता तारकेश्वर चौवे पनि समर्थकसहित औपचारिक रूपमा एमालेमा प्रवेश गरेका छन्। एमाले पर्साका सचिव महेश दासका अनुसार चौवे सहित वीरगञ्ज महानगर कमिटीका सहसचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डल लगायतका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, जिल्ला अध्यक्ष विशम्भर शर्मा, उपसचिव नविजान अन्सारी, क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादव, संयोजक मनोज कुशवाह, प्रधुमन यादव लगायतले खादा–माला लगाएर स्वागत गरेका थिए।

पार्टी प्रवेशका क्रममा नवप्रवेशीहरूले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।