Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Home Blog Page 125

प्याब्सन पर्साद्वारा अन्तर–स्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता आयोजना हुँदै

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले शुक्रबार अन्तर–स्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा पर्सा जिल्लाका प्याब्सनसँग आबद्ध ३५ वटा विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहनेछ ।

प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिता वीरगञ्जस्थित राणीसती मन्दिर धर्मशालामा बिहान १० बजेदेखि सुरु हुनेछ । विद्यार्थीहरूमा कलात्मक सीपको विकास गर्दै राम्रो हस्तलेखनको महत्त्वबारे सचेत गराउन र प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

“आजको डिजिटल युगमा पनि राम्रो हस्तलेखनको आफ्नै महत्त्व छ । यसले विद्यार्थीहरूको एकाग्रता र रचनात्मकता बढाउँछ,” सचिव सङ्ग्रौलाले भने, “यो प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको कलात्मक प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्नेछ ।”

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीलाई दिइएको छ । केसीका अनुसार प्रतियोगिता समूहगत रूपमा सञ्चालन हुनेछ । आर्टतर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ भने ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ४ वटा समूहमा राखिएको छ ।

निष्पक्ष तथा तटस्थ मूल्यांकनका लागि काठमाडौँबाट विशेष निर्णायक मण्डल बोलाइएको आयोजकहरूले जानकारी दिएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड, प्रमाणपत्रलगायत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

यस प्रतियोगिताले पर्सा जिल्लाका निजी विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास रहेको छ ।

रास्वपाको प्रथम सखुवा प्रसौनी पालिका भेला सम्पन्न, गाउँपालिका स्तरीय समिति गठन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सखुवा प्रसौनी गाउँपालिका भेला बिहिबार सम्पन्न भएको छ । भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा ९ सदस्यीय पालिका समिति सर्वसम्मत रूपमा गठन गरेको छ ।

नवगठित समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी, सचिवमा अफजल हुसैन, कोषाध्यक्षमा प्रभु प्रसाद महतो चयन भएका छन् । त्यस्तै सहसचिवमा जनक राज कँडेल तथा सदस्यहरूमा विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले भाद्र २३ र २४ गते भएको जेञ्जि विद्रोहले काँग्रेस, एमाले, माओवादी र मधेसवादी दलजस्ता पुराना दलहरूको सान्दर्भिकता र अस्तित्व समाप्त भएको सन्देश दिएको बताए । उनले यस घटनाले रास्वपाको महत्व र आवश्यकता अझ स्पष्ट रूपमा स्थापित गरेको उल्लेख गर्दै आगामी चुनावमा रास्वपालाई भारी मतले जिताउन सबैलाई आह्वान गरे ।

भेलामा रास्वपा जिल्ला उपसभापति तुलसा पौडेल, क्षेत्रिय सभापति जितेन्द्र मिश्र, अमन आलम, सबबु कँडेल, महेन्द्र दास, सोनालाल पटेल लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।

रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण कृष्णा पासवानले गरेका थिए ।

एमाले ११औँ महाधिवेशन: पर्साबाट ओली प्यानलका ३ केन्द्रीय सदस्य विजयी

वीरगंज । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पर्साका तीन जना उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार ओली प्यानलबाट विभिन्न क्लस्टरमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विजयकुमार सरावगी, प्रभु हजरा र निर्मला देवकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

मधेसी (खुला) क्लस्टरबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले १ हजार ४३५ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यसैगरी खुला दलित क्लस्टरबाट उम्मेदवारी दिएका निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पार्टीका पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले १ हजार ४६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै, भूगोल (मधेसी) महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटाले १ हजार ३२५ मत प्राप्त गरी विजयी भएकी छन् ।

पर्साबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू भने पराजित भएका छन् ।

पराजित हुनेमा पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पूर्व मधेस प्रदेश सभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीका इन्चार्ज नवराज शर्मा, रन्जु फुयाँल र अरविन्द सिंह रहेका छन् ।

एमाले ११औँ महाधिवेशनको मतदानमा पर्साका ४ प्रतिनिधि अनुपस्थित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत मतदान हुन सकेन ।

निर्वाचन समितिका अनुसार कुल २ हजार २२७ मत मात्र खसेका छन् भने ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमध्ये पर्सा जिल्लाका चार जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

अनलाइन खबरका अनुसार पर्साबाट अनुपस्थित हुनेमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवार राजकुमार गुप्ता रहेका छन् । यस्तै, पर्साबाटै चुनिएका महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रसाद यादव, अंशु आनन्द र मनोजकुमार गुप्ताले पनि मतदानमा सहभागिता जनाएनन् ।

पार्टीको महत्वपूर्ण राष्ट्रिय महाधिवेशनमा पर्साका चार प्रतिनिधि मतदानमा सहभागी नहुनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । अनुपस्थितिको कारणबारे सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया भने आएको छैन ।

पर्सा क्षेत्र नं.२ बाट डा. सिके राउतसहित जनमतद्वारा चारै क्षेत्रका उम्मेदवारको नाम सिफारिस

वीरगंज । जनमत पार्टी पर्साले जिल्लाका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय बैठक सम्पन्न गरेको छ। सम्पन्न बैठकहरूले यहीँ फाल्गुन २१ गते हुने आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरू सर्वसम्मत रूपमा सिफारिस गरेका छन्।

पार्टीका अनुसार पर्सा क्षेत्र नम्बर–१ बाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ र केन्द्रीय सदस्य श्याम प्रसाद गुप्तालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

यसैगरी पर्सा क्षेत्र नम्बर–२ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतसहित केन्द्रीय सदस्य पूर्व एसएसपी अनुराग द्विवेदी, अधिवक्ता हरिहर प्रसाद साह तथा राष्ट्रिय परिषद् सदस्य बृजकिसोर प्रसाद कलवार सिफारिस भएका छन्।

पर्सा क्षेत्र नम्बर–३ बाट केन्द्रीय सदस्य मालती कुमारी कुशवाहालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने पर्सा क्षेत्र नम्बर–४ बाट केन्द्रीय सदस्य सिमा देवी कलवार (सिमा गुप्ता) सिफारिस भएकी छन्।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फद्वारा जारी प्रेस विज्ञप्तिमा क्षेत्रीय बैठकहरू उत्साहजनक रूपमा सम्पन्न भएको र सिफारिस गरिएका उम्मेदवारहरूले आगामी निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ।

रास्वपा वीरगंज महानगर सभापतिमा महमद महमुद्दिन आलम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वीरगञ्ज महानगर भेलाले महमद महमुद्दिन आलमको सभापतित्वमा २५ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित समितिको उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ र उपसचिवमा मुन्ना साह चयन भएका छन्। सदस्यहरूमा कमल भुजेल, देबकी गुरुङ, रत्ना मानन्धर, पूर्णिमा शर्मा, सञ्जु शर्मा, कन्हैया प्रसाद, सन्दिप कुशवाह, आस महम्मद मन्सुरी, आजम मिया अन्सारी, विपिन शाह, लक्ष्मी नारायण साह, नगेन्द्र राउत थारु, प्रमोद कुमार पटेल, मुकेश कुमार कुर्मी, उमेश कुमार साह, प्रकाश कुमार कलवार, सदरे आलम, राज कुमार चौरसिया र राजकुमार उपाध्याय चयन भएका छन्।

महानगर भेलाको उद्घाटन गर्न आएका रास्वपाका कार्यबाहक सभापति डी.पी. अर्यालले देशले अब रास्वपाको नेतृत्व खोजिरहेको बताउँदै आगामी निर्वाचनले त्यसलाई स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोध साधिएको उल्लेख गर्दै अबको सरकारले त्यसलाई कसरी लिन्छ भन्ने विषय सम्पूर्ण नेपाली जनताले नजिकबाट नियालिरहेको बताए।

भेलाको सभापतित्व गरेका पर्सा जिल्ला सभापति हरी पन्तले पर्सा जिल्लामा राजनीति भ्रष्टाचारी र अपराधीहरूले मात्र गर्ने भन्ने गलत भाष्य निर्माण भएको बताउँदै अब पर्सेली जनताले त्यस्तो गलत नजिर तोड्ने दाबी गरे। उनले पर्साका जनता परिवर्तनको पक्षमा उभिने विश्वास व्यक्त गरे।

कृष्णा पासवानले सहजीकरण गरेको उक्त भेलामा केन्द्रीय सदस्य डा. नन्दन यादव, संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, नेताहरू जितेन्द्र मिश्र, मनोज कुर्मी, फैयाज मिया, पुरुषोत्तम उपाध्यक्ष, सब्बु कँडेल, दिलीप कुर्मी, राधिका न्यौपाने, मानिस शाहलगायतले आ–आफ्ना मन्तव्य राखेका थिए।

एमाले केन्द्रीय सदस्यमा केपी ओली प्यानलबाट विजय सरावगी सहित पर्साका तीन उम्मेदवार

वीरगंज । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय सदस्य पदको निर्वाचनमा संस्थापन पक्ष (केपी शर्मा ओली प्यानल) बाट पर्साका तीन जना नेताले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दिनेहरूमा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावागी, प्रभु हजरा र निर्मला देवकोटा रहेका छन् । पूर्व मेयर सरावागीले मधेसी खुला क्लष्टरतर्फ उम्मेदवारी दिएको जानकारी दिँदै पार्टी संगठन सुदृढीकरण, मधेसका मुद्दाको प्रभावकारी उठान र राष्ट्रिय राजनीतिमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगंज महानगरपालिकाका पहिलो निर्वाचित मेयरसमेत रहेका सरावागी पार्टीभित्र सक्रिय छन् । जिल्लाका अन्य नेतामध्ये उनी वीरगंज महानगर क्षेत्रमा जनतामाझ लोकप्रिय छन् । उनको उम्मेदवारीले मधेस क्षेत्रको प्रतिनिधित्व अझ बलियो हुने अपेक्षा गरिएको छ । उनको सहभागितापछि पार्टी थप मजबुत र चलायमान बनेको नेताहरूले प्रतिक्रिया दिएका छन्।

यस्तै, पर्साकै प्रभु हजराले केन्द्रीय सदस्य दलित खुला क्लष्टरबाट र निर्मला देवकोटाले भूगोल (मधेश प्रदेश) महिला क्लष्टरतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच, पर्साबाट केन्द्रीय सदस्य पदका लागि अन्य सात जना नेताले पनि उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये केहीले इश्वर पोखरेलको टिमबाट र केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बुझिएको छ ।

धाेबिनी गाउँपालिकाद्वारा प्रधानाध्यापक जितेन्द्र राम २५ हजार नगदसहित सम्मानित

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा सोमबार शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा श्री अजिज मियाँ माध्यमिक विद्यालय, धोबिनीका प्रधानाध्यापक जितेन्द्र रामलाई विशेष सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा शिक्षकलाई समानस्वरूप बैग वितरण गरिएको थियो भने प्रधानाध्यापक रामलाई उत्कृष्ट शिक्षकको रूपमा नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । राम यसअघि २०८२ असार महिनामा मधेस प्रदेश सरकारबाट “एक पालिका एक उत्कृष्ट शिक्षक” पुरस्कार तथा प्रजापति प्रसाई (पी.पी. प्रसाई फाउन्डेसन) पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

विद्यालयप्रति देखाएको लगनशीलता, शिक्षण पेशाप्रति कर्मठता र शैक्षिक सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै गाउँपालिकाले उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको अध्यक्ष चौहानले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मन्जु देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा, वडा अध्यक्षहरू बन्धु शाह तेली, दबेन्द्र प्रसाद कुर्मी, राजकिशोर पटेल, अबास मियाँ चुरिहार, मनौर अहमद, शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, शिक्षक महासंघका अध्यक्ष एम. आरिफ अन्सारी, कार्यपालिका सदस्यहरू, शिक्षा प्रेमी धुरुप साह, सरोज पटेल लगायतको उपस्थिति रहेको थियो ।

पुरस्कृत प्रधानाध्यापक जितेन्द्र रामले आफूले प्राप्त गरेको नगद पुरस्कार राशि २५ हजार रुपैयाँ विद्यालयलाई नै सहयोग गर्ने घोषणा गरेका छन् । उक्त रकम भोलि नै विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गर्ने जानकारी उनले कालिका टाइम्सलाई दिएका छन् ।

वीरगंज–१९ बिन्दबासिनी चौकको सार्वजनिक जग्गा अवैध कब्जामा, भाडाबिनै सटर सञ्चालन

वीरगंज । वीरगंज महानगरपालिका–१९ स्थित बिन्दबासिनी चौकमा रहेको पूर्व पञ्चायतकालीन सार्वजनिक (ऐलानी) जग्गा लामो समयदेखि अवैध रूपमा कब्जा गरिएको पाइएको छ। वडा नम्बर १९ को कित्ता नम्बर ८२ मा अवस्थित करिब ७ कठ्ठा क्षेत्रफलको उक्त सार्वजनिक जग्गामा निर्माण गरिएका सटरहरू भाडा नतिरी विभिन्न व्यक्तिले व्यवसाय सञ्चालन गरिरहेका छन्।

उक्त स्थानमा ललन साह कानुले बिन्दबासिनी अनमोल मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् भने अर्को सटरमा अमित यादवले आरके रिचार्ज सेन्टर चलाइरहेका छन्। यस्तै, दुई वटा सटरमा अस्थायी प्रहरी पोस्ट बिन्दबासिनी सञ्चालनमा रहेको छ भने एउटा सटर खाली अवस्थामा रहेको छ।

यस विषयमा श्री बिन्दबासिनी माई युवा क्लबका अध्यक्ष सोनु कुमार गुप्ताले सार्वजनिक सम्पत्तिमा केही व्यक्तिहरूले अवैध रूपमा कब्जा जमाएको भन्दै कडा आपत्ति जनाएका छन्। “सार्वजनिक जग्गा कब्जा गरेर निजी व्यवसाय सञ्चालन गर्नु गलत हो,” उनले बताए।

त्यहाँ निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगविहीन र दुरावस्थामा रहेको छ। शौचालयको सरसफाइ र व्यवस्थापनमा त्यहाँ बसेका व्यक्तिहरूले कुनै चासो नदिएको अध्यक्ष गुप्ताको आरोप छ।

अर्कोतर्फ, वडा नम्बर १९ को कार्यालय बिन्दबासिनी चौक नजिकै मासिक २५ हजार रुपैयाँ भाडा तिरेर सञ्चालन भइरहेको छ। वर्षेनी लाखौँ रुपैयाँ भाडामा खर्चिनुभन्दा सोही ऐलानी जग्गामा रहेको भवनलाई वडा कार्यालयका रूपमा प्रयोग गर्नुपर्ने स्थानीयको माग रहेको छ।

यस सम्बन्धमा वीरगञ्ज महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख मनोज कुमार कर्णले उक्त जग्गा तथा सटरहरूको उपयोगका लागि अहिलेसम्म कुनै पनि टेण्डर प्रक्रिया आह्वान नभएको स्पष्ट पारेका छन्।

स्थानीयवासीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, पारदर्शी व्यवस्थापन तथा कानुनी प्रक्रिया अनुसार जग्गा र संरचनाको उपयोग सुनिश्चित गर्न वीरगञ्ज महानगरपालिकासँग माग गरेका छन्।

पर्सामा सशस्त्र प्रहरीको कडा निगरानी : पाँच महिनामै १३ करोड ६२ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगंज । पर्सा जिल्लाको खुला सीमालाई केन्द्रमा राख्दै राजस्व चुहावट तथा चोरी तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यस अवधिमा सशस्त्र प्रहरीले सीमावर्ती भारतीय बजारबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका १३ करोड ६२ लाख ७२ हजार ६९५ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सीमा निगरानी, सक्रिय गस्ती र रणनीतिक सुधारका कारण चोरी तस्करी नियन्त्रण प्रभावकारी बन्दै गएको हो। ‘गत आर्थिक वर्षमा हामीले २८ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेका थियौँ,’ उनले भने, ‘चालु आर्थिक वर्षको हालसम्मको तथ्यांक हेर्दा यस वर्ष अझ बढी परिमाणमा बरामद हुने अपेक्षा गरेका छौँ।’

उनका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै करोड ५९ लाख ७२ हजार ७५० रुपैयाँ बराबरका बिलविजकभन्दा बढी मूल्यका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ। गत आर्थिक वर्षभरिमा भने यस्तो मूल्य ११ करोड ९९ लाख ४७ हजार १७८ रुपैयाँ रहेको थियो, जसले चालु आवमै उल्लेखनीय प्रगति भएको देखाउँछ।

भारतसँग १०७ किलोमिटर लामो खुला सीमाका कारण चोरी तस्करी नियन्त्रण चुनौतीपूर्ण भए पनि सशस्त्र प्रहरीले विशेष रणनीति अपनाएर काम गरिरहेको उपरीक्षक भट्टले बताए। तालिमप्राप्त कुकुरको प्रयोग, २४ घण्टा सीमा निगरानी, नियमित गस्ती तथा सूचनाको प्रभावकारी उपयोगले नियन्त्रण प्रयासलाई बलियो बनाएको उनले बताए। यसको सकारात्मक प्रभाव वीरगंज भन्सार कार्यालयको राजस्व संकलनमा समेत देखिएको छ।

वीरगंज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६६ अर्ब ७३ करोड रुपैयाँ मात्र संकलन भएकाले यस वर्ष १३ प्रतिशत अर्थात् ८ अर्ब ७६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो।

बेमौसमी वर्षा, जेन–जी आन्दोलन तथा भारतको बिहार राज्यमा सम्पन्न विधानसभा निर्वाचनजस्ता प्रतिकूल अवस्थाका बाबजुद पनि राजस्व संकलन उत्साहजनक रहनु सकारात्मक पक्ष भएको उपरीक्षक भट्टले बताए। स्थानीय प्रशासन र नागरिकको सहयोगले चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको उनको भनाइ छ।

राजस्व तथा सीमा सुरक्षासँगै सशस्त्र प्रहरी बल पर्सा विपद् व्यवस्थापनमा पनि सक्रिय रहेको छ। गत असोज १८ र १९ गतेको बाढीका क्रममा डुबानमा परेका नागरिक तथा सुत्केरी महिलाको सफल उद्धार गरिएको थियो। यस्तै, अवैध हतियार नियन्त्रण अभियानअन्तर्गत कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

लागुऔषध नियन्त्रणतर्फ चालु आर्थिक वर्षको पाँच महिनामा ३५० किलोग्राम गाँजा र ३० दशमलव ९८ किलोग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। राजस्व संरक्षण, सीमा सुरक्षा, विपद् व्यवस्थापन र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल पर्साको सक्रियता राज्यका लागि महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ।