Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026
Home Blog Page 126

सांसद कानु र साहले भोजपुरी भाषामा शपथ लिने

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले आगामी चैत १२ गते भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिन लागेको छन्।

सङ्घीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार पर्सा–२ बाट निर्वाचित कानुले आफ्नो मातृभाषा भोजपुरी रोजेका हुन्। उनले भने, “भोजपुरी मेरो मातृभाषा मात्र होइन, मेरो पहिचान र अस्मिता पनि हो । तराई–मधेसको भाषालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन यो एउटा सानो प्रयास हो।”

त्यसैगरी बाराकाे क्षेत्र नं. ३ मा रास्वपाबाटै निर्वाचित सांसद अरविन्द साहले पनि मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्ने वताइएकाे छ ।

यस पटकको शपथ ग्रहणमा करिब दुई दर्जन सांसदहरूले मातृभाषा वा रुचिअनुसारका भाषामा शपथ लिनेछन् । भाषाहरूमा भोजपुरी, नेवारी, मैथिली, डोटेली, थारु, तामाङ, संस्कृत र बान्तवा रहेका छन्।

सङ्घीय संसद् सचिवालयले नेपाली बाहेक अन्य भाषामा शपथ लिन चाहने सांसदहरूलाई सोमबारसम्म नाम दर्ता गर्न समयसीमा दिएको थियो ।

शपथ ग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने भएको छ।

नारायणी अस्पतालमा दलाल र बेथितीविरुद्ध सांसद कानुको सिडिओसँग छलफल

0

वीरगंज। पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगंजको नारायणी अस्पतालमा फैलिएको बेथिती र दलालबाजीको विषयमा प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग मंगलबार छलफल गरेका छन्।

छलफलमा सांसद कानुले अस्पतालमा बिचौलिया र दलालको सक्रियता बढेको र बिरामीहरू प्रत्यक्ष प्रभावमा परेको बताउँदै तत्काल कडा कदम चाल्न प्रजिअको ध्यानाकर्षण गराए। उनले केही निजी अस्पतालले एम्बुलेन्स चालक मार्फत बिरामीलाई प्रभावित पार्ने र कमिसनका लोभमा सरकारी अस्पतालबाट निजी अस्पतालमा रेफर गराउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।

सांसद कानुले भने, “सरकारी अस्पतालमा चिकित्सक समयमा नआउने, पूरा ड्युटी नबस्ने जस्ता गतिविधिले सेवाग्राही प्रत्यक्ष मारमा परिरहेका छन्। नियमित अनुगमन र कडाइ आवश्यक छ।”

त्यसैगरी उनले छठ पर्वको समयमा छठघाट वरपर माछा–मासु बिक्री रोक्न माग गर्दै धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्न आवश्यक कदम चाल्न आग्रह गरे।

गर्मी मौसमसँगै बढ्ने आगलागी र अन्य विपद् व्यवस्थापनका तयारीबारे पनि सांसदले दमकल, पानीको स्रोत, उद्धार टोली र आवश्यक उपकरण पर्याप्त व्यवस्था गर्न प्रजिअ दाहालसँग जोड दिए।

प्रमुख जिल्ला अधिकारी दाहालले सांसद कानुको ध्यानाकर्षण गराएका विषयहरूमा सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता जनाए।

छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधिर पटेल, मुर्ली जलान, क्षेत्रीय सभापति फैयाज मिया, प्रकाश साहलगायतको पनि उपस्थिति रहेको थियो।

जगरनाथपुर गाउँपालिकामा बुधबार शाेक विदा

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले वडा नं. ५ धर्मपुर टोलकी महिला दलित वडा सदस्य गेनी देवी दुसादको असामयिक निधनप्रति शोक व्यक्त गर्दै एक दिन शोक विदा घोषणा गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवद्वारा जारी सूचनाअनुसार मंगलबार निधन भएकी दुसादको मृत्युले समग्र गाउँपालिकालाई स्तब्ध बनाएको उल्लेख गरिएको छ।

गाउँपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, यस दुःखद घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिएको छ।

उक्त शोकमा चैत १२ गते बुधबार गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवा तथा शैक्षिक संस्थाबाहेकका सबै कार्यालयहरू बन्द रहने जनाइएको छ।

यसैबिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पनि वडा सदस्य दुसादकाे निधनमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेका छन् ।

सांसद शाक्यद्वारा एसईई लक्षित नगद पुरस्कार घोषणा

0

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले आगामी एसईई परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार योजना घोषणा गर्नुभएको छ।

मंगलबार आयोजित एक कार्यक्रमबीच उहाँले पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत रहेका ६ वटा पालिकाबाट उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने प्रत्येक पालिकाका एक–एक जना विद्यार्थीलाई जनही रु. २१ हजार १११ नगद पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो।

त्यसैगरी, सम्पूर्ण क्षेत्रमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई रु. ५१ हजार १११ नगद पुरस्कार प्रदान गरिने पनि उहाँले बताउनुभयो।

सांसद शाक्यले शिक्षा क्षेत्रको विकास तथा विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको उल्लेख गर्दै मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गरी उत्कृष्ट नतिजा हासिल गर्न सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।

मधेशमा एमाले कमजोर भए पनि पर्सामा मत सन्तोषजनक, प्रदीप यादव शीर्षमा

0

वीरगंज । मधेश प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा पराजित भएका नेकपा एमालेका उम्मेदवारमध्ये पर्साका उम्मेदवारहरूले तुलनात्मक रूपमा बढी मत ल्याएका छन्।

एमालेका एक नेताका अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप यादवले मधेश प्रदेशभरिका एमाले उम्मेदवारमध्ये सबैभन्दा बढी १३ हजार ३० मत प्राप्त गरेका थिए । यद्यपि, उनी पराजित भए । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका थिए ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्गटाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका थिए।

देशभर ‘घण्टी’ चुनाव चिन्हको लहर देखिएपछि पर्सा जिल्लाका निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ का एमाले उम्मेदवारहरूले पराजय बेहोरेका छन् । तर उनीहरूले प्राप्त गरेको मतलाई सन्तोषजनक रूपमा लिइएको ती नेताको भनाइ छ ।

मधेश प्रदेशका अन्य जिल्लामा एमाले उम्मेदवारहरूले १२ हजार मतसमेत कटाउन नसकेको अवस्थामा पर्साका उम्मेदवारहरूले अपेक्षाकृत राम्रो मत ल्याएको एमाले नेताहरूको दाबी छ । पार्टीले समग्र रूपमा कमजोर नतिजा व्यहोरे पनि मतपरिणाम र हारका कारणबारे आन्तरिक समीक्षा भइरहेको र थप ऊर्जा साथ पुनः उठ्ने दाबी गरिएको छ ।

पर्सा निर्वाचन क्षेत्र नं. २ मा एमाले उम्मेदवार रिमा यादवले ११ हजार ६ सय ५, क्षेत्र नं. ३ मा रुपेश पाण्डेले ११ हजार ९ सय १४ र क्षेत्र नं. ४ मा जालिम मियाँले १२ हजार १ सय ४५ मत प्राप्त गरेका थिए । क्षेत्र नं. १ बाहेक अन्य तीनवटै क्षेत्रमा एमाले उम्मेदवारहरू तेस्रो स्थानमा सीमित भए।

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशका ३२ सिटमध्ये ३१ सिटमा जित निकाले पनि कानुनी अड्चनका कारण एक सिट गुमाउनुपरेको थियो । रास्वपाले ३० सिटमा अन्य दलका उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गरेको जनाइएको छ।

प्रदीप यादवलाई जनता समाजवादी पार्टी नेपालले टिकट नदिएपछि उनी एमाले प्रवेश गरी चुनाव लडेका थिए । उता, जनता समाजवादी पार्टी नेपाल (जसपा) का मधेश प्रदेश अध्यक्ष उपेन्द्र यादव बाहेक अन्य अधिकांश उम्मेदवारहरूको जमानत जफत भएको बताइएको छ । पर्साका चारै निर्वाचन क्षेत्रमा जसपा नेपालका उम्मेदवारहरूले जमानतसमेत जोगाउन सकेनन् ।

कालिकामाईकाे बिरन्चीबर्वामा दुई तल्ले विद्यालय भवनकाे शिलान्यास

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वामा एक कार्यक्रमका बीच विद्यालय भवन निर्माण कार्यको शिलान्यास गरिएको छ।

श्री दिव्य कन्या माध्यमिक विद्यालयमा ४ कोठे, २ तल्ले भवन निर्माण कार्यको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा अध्यक्ष गुप्ताले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले भवन निर्माणपछि विद्यालयमा कक्षा कोठाको अभाव हट्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका अनुसार पालिका स्तरीय योजना अन्तर्गत ५५ लाख ८५ हजार ६७३ रुपैयाँको लागतमा भवन निर्माण हुने छ। जनसेवा भवन निर्माण उपभोक्ता समितिद्वारा निर्माण गरिने उक्त भवनको काम २०८३ साल वैशाख १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वडा अध्यक्ष जयनारायण पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जतन राउत, उमेश तिवारी, उमेश चौहान, बृजेश तिवारी, महन्त राउत, सुमेश तिवारी, बृजकिशोर चौहान लगायत वडा सदस्य तथा महिला सदस्यहरूको सहभागिता रहेको थियो।

जिराभवानीमा बुहारीको कुटपिटबाट ५५ वर्षीया महिलाको मृत्यु, दुई जना पक्राउ

0

सेढवा । जिराभवानी गाउँपालिका मा कुटपिटका कारण एक वृद्ध महिलाको मृत्यु भएको घटना सार्वजनिक भएको छ।

जिराभवानी गाउँपालिका–१, पिपरा टोल निवासी स्वर्गीय सुरेश श्रीवास्तवकी श्रीमती करिब ५५ वर्षीया सायदा श्रीवास्तवको आफ्नै बुहारीको कुटपिटबाट आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी २६ वर्षीया बुहारी पिंकी देवी र उनका मामा पक्षकी १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो।

स्थानीयका अनुसार मृतक सायदा र उनकी बुहारी पिंकीबीच लामो समयदेखि विवाद तथा झैझगडा हुँदै आएको थियो।

मृतक सायदाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

एमाले पराजयबारे गम्भीर समिक्षा: महासचिव पोखरेलसँग पर्सा–३ का नेता पाण्डेको छलफल

0

वीरगंज । नेकपा एमालेका नेता तथा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रुपेश पाण्डेसहितका नेताहरूले पार्टीका महासचिव शंकर पोखरेलसँग निर्वाचन परिणामबारे समिक्षात्मक छलफल गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको उक्त छलफलमा हालै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पर्सा क्षेत्र नं. ३ लगायत विभिन्न क्षेत्रमा व्यहोरेको पराजयका कारणबारे गहन समीक्षा गरिएको थियो।

छलफलका क्रममा नेताहरूले पार्टीको हारका कारण आन्तरिक कमजोरी तथा बाह्य परिस्थितिहरू दुबै जिम्मेवार रहेको निष्कर्ष प्रस्तुत गरेका थिए । उनीहरूले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध मजबुत बनाउने तथा निर्वाचन रणनीतिमा सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजारा, निर्मला देवकोटा तथा बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री मोहम्मद इश्तियाक राईको समेत उपस्थिति रहेको थियो।

छलफलपछि आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउँदै जनविश्वास पुनः हासिल गर्ने दिशामा ठोस योजना बनाएर अघि बढ्ने सहमति भएको जनाइएको छ।

पोखरिया नगरपालिकामा बढ्दो ठगी धन्दा: निष्पक्ष छानबिन र कडा कारबाहीको माग

0

पाेखरिया । पर्साको पोखरिया नगरपालिकामा पछिल्लो समय संस्थागत रूपमा ठगी धन्दा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। आम नागरिक, विशेषगरी बेरोजगार युवाहरूबाट प्राप्त गुनासोअनुसार नोकरीको प्रलोभन देखाई रकम असुल्ने, लामो समय काम गराएर तलब नदिने जस्ता घटनाहरू बढ्दै गएका छन्।

राष्ट्रिय मुक्ति पार्टीका सह–महासचिव नेजामुदिन सम्मानीले साेमबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्र विभिन्न शीर्षकमा आर्थिक अनियमितता र ठगी भइरहेको आरोप लगाएका छन् । उनका अनुसार कर वृद्धि गर्ने नाममा अनावश्यक शुल्क असुली गरिएको, ३०० रुपैयाँ लाग्ने सम्पत्ति करलाई १५०० रुपैयाँसम्म पुर्‍याइएको र विरोधपछि सामान्य रूपमा मात्र घटाइएको जानकारी आएको छ।

त्यस्तै, नगर विस्तार तथा विकास योजनाको नाममा नागरिकहरूबाट रकम उठाउने तथा भ्रम सिर्जना गर्ने गतिविधि समेत बढेको आरोप लगाइएको छ । विकास योजनाको DPR (डिटेल प्रोजेक्ट रिपोर्ट) बनाउने क्रममा समेत आर्थिक अनियमितता भएको दाबी गरिएको छ।

सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस पहल नभएको भन्दै उनले आपत्ति जनाएका छन् । जनताको सेवा र विकासका लागि जिम्मेवार निकायबाटै आर्थिक शोषण भइरहेको भन्दै स्थानीय स्तरमा आक्रोश बढ्दै गएको उनले उल्लेख गरेका छन्।

विज्ञप्तिमार्फत तत्काल निष्पक्ष छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कर प्रणालीलाई पारदर्शी र जनमैत्री बनाउन माग गरिएको छ। साथै, यस्ता गतिविधि दोहोरिन नदिन कडा अनुगमन र नियन्त्रण व्यवस्था लागू गर्नुपर्नेमा जोड दिइएको छ।

अन्त्यमा उनले नागरिकलाई आफ्नो अधिकारका लागि एकजुट हुन, अन्याय र भ्रष्टाचारविरुद्ध आवाज उठाउन र सत्य तथा न्यायको पक्षमा उभिन आह्वान गरेका छन्।

हरि खेतान बहुमुखी क्याम्पस समस्यामा सहमति, स्थगित परीक्षा पुनः सञ्चालन हुने

0

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पसमा उत्पन्न समस्या समाधानका लागि आइतबार जिल्ला प्रशासन कार्यालय, पर्सामा क्याम्पस व्यवस्थापन समिति, प्रध्यापक र विद्यार्थीबीच बैठक बसेको छ।

बैठकमा क्याम्पस प्रशासनले आइतबार स्थगित गरिएको परीक्षा र पठन–पाठन तत्काल सञ्चालन गर्ने सहमति जुटाएको छ। आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरुको उपचारको व्यवस्था क्याम्पस प्रशासनले मिलाउने जिम्मेवारी लिएको पनि निर्णयमा उल्लेख छ।

विद्यार्थीका अन्य माग र समस्याहरुको समाधानका लागि सोमबार पुनः बैठक आयोजना गरिने निर्णय भएको छ। सो बैठकमा क्याम्पस व्यवस्थापन समिति, प्रशासन र विद्यार्थी सहभागी हुनेछन्।

दिनभर चलेको प्रदर्शनपछि साँझ प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा क्याम्पस व्यवस्थापन, शिक्षक प्रतिनिधि र विद्यार्थी अगुवाहरूसँग बैठक बसेको थियो।