Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026
Home Blog Page 124

जगरनाथपुरमा एनवास एप्समार्फत तथ्याङ्क संकलन सम्बन्धी तालिम सम्पन्न

0

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकामा एनवास एप्समार्फत तथ्याङ्क संकलन सम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ।

पालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) योजना अध्यावधिक गर्ने उद्देश्यले शिक्षक तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो।

कृषि तथा पशुपन्छी विकास केन्द्र मसियानीको सभाहलमा सम्पन्न तालिममा विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा रहेको खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थाबारे अनलाइन माध्यमबाट संघीय, प्रदेश तथा स्थानीय तहमा तथ्याङ्क पठाउने सरकारी नीति रहेको जानकारी गराइएको थियो।

उक्त तथ्याङ्कका आधारमा सरकारले आवश्यक योजना तर्जुमा तथा कार्यान्वयन गर्ने जनाइएको छ।

तालिमको सहजीकरण छायाँ नेपालले गरेको थियो। कार्यक्रममा पालिकाभरिका ३३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा होमनाथ आचार्य र दीपक रोकायाले प्रशिक्षण दिनुभएको थियो।

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन, विभिन्न मन्त्रालयमा नयाँ अनुहार

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार अन्तर्गत १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्री, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी तथा वन तथा वातावरणमन्त्री, डा. दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको रूपमा शपथ लिनुभएको थियो ।

यसैगरी, रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैँ सम्हाल्नुभएको छ । राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, विशिष्ट सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

अमरेश सिंहद्वारा उद्योगमन्त्री पद अस्वीकार, मन्त्रालय प्रधानमन्त्री बालेनसँगै

0

काठमाडौँ । सर्लाही–४ बाट निर्वाचित नेता अमरेश कुमार सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई उक्त निर्वाचन क्षेत्रमा पराजित गरेका सिंहले मन्त्री बन्न अस्वीकार गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् सूचीबाट उनको नाम हटाइएको छ।

सिंहले जिम्मेवारी नलिने निर्णय गरेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री शाहले नै आफूसँग राख्ने भएका छन्।

सहोदरा माई मन्दिरमा मेला सुरु, नेपाली दहित परिवारद्वारा पहिलो पूजा र बलि

0

सेढवा । छिमेकी भारत को बिहारस्थित ऐतिहासिक आदिशक्ति सहोदरा माई मन्दिरमा नेपाली दहित परिवारले बलि चढाएसँगै विधिवत रूपमा मेला सुरु भएको छ।

पश्चिमी चम्पारण जिल्लाको गौनाहा प्रखण्ड अन्तर्गत जमुनिया पञ्चायतमा रहेको उक्त मन्दिरमा आजदेखि दश दिनसम्म मेला सञ्चालन हुने भएको हो। देवाढ गाउँमा अवस्थित यस मन्दिरमा प्रत्येक वर्ष राम नवमी (चैत नवमी) को अवसरमा मेला लाग्ने परम्परा रहिआएको छ।

विशेषतः मेलाको सुरुवात नेपाली दहित परिवारद्वारा पहिलो पूजा तथा बलि चढाएर गर्ने प्रचलन रहेको छ। पहिलो पूजा तथा बलि चढाउने जिम्मा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ देउरियास्थित दहित परिवारमा रहेको सो परिवारका महादेव दहितले जानकारी दिएका छन्।

उनका अनुसार जेष्ठताका आधारमा जयनारायण दहित, शिव दहित र शंकर दहितले क्रमशः पूजा तथा बलि चढाउने परम्परा कायम छ। परिवारका सदस्यहरू शनिबार नै मन्दिर पुगेर पूजाआजा तयारी पूरा गरी आज बलिदान गरेपछि सर्वसाधारणका लागि पूजा तथा बलि चढाउने कार्य खुला गरिएको उनले बताए।

आज बिहानदेखि भक्तजनहरूले माताको भाकल अनुसार बोका, हाँस, कुखुरा लगायतका जीवहरूको बलि चढाएका छन्।

ऐतिहासिक रूपमा यो मन्दिर आदिवासी थारु समुदायको प्राचीन संस्कृतिसँग जोडिएको मानिन्छ। यस कारण मन्दिरमा परम्परागत रूपमा थारु पुजारी रहने चलन रहेको जमुनियाका स्थानीय अमित कुमार चौधरीले बताएका छन्।

मन्दिरमा दर्शनका लागि भारतसँगै नेपाल का पर्सा, बारा, रौतहट तथा चितवन जिल्लाबाट हजारौँ भक्तजनहरूको भीड लाग्ने गरेको पनि उनले जानकारी दिएका छन्।

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै सपथ लिने

0

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नयाँ प्रधानमन्त्रीको रूपमा शाहलाई नियुक्त गरिएको जानकारी दिइएको हो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सगरमाथा एकेडेमीद्वारा कक्षा १० का विद्यार्थीलाई विदाई

0

वीरगंज । सगरमाथा एकेडेमीले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच विदाई गरेको छ। विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै औपचारिक रूपमा बिदाई गरिएको हो।

विद्यालय जीवनको महत्वपूर्ण चरण पूरा गरी उच्च शिक्षातर्फ अघि बढ्न लागेका विद्यार्थीहरूका लागि आयोजित उक्त कार्यक्रममा भावुक र उत्साहपूर्ण वातावरण देखिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको योगदान, अनुशासन र उपलब्धिहरूको चर्चा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।

कार्यक्रम विद्यालयका संस्थापक तथा प्रिन्सिपल जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसियाले उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौरसियाले विद्यार्थीहरूलाई लक्ष्यप्रति प्रतिबद्ध रहन र निरन्तर प्रयास गर्न सुझाव दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

प्रिन्सिपल गुप्ताले विद्यार्थीहरूलाई अनुशासन, समयको सदुपयोग र निरन्तर मेहनतमार्फत जीवनमा सफल बन्न प्रेरित गरे। उनले विद्यालयले दिएको शिक्षा र संस्कारलाई व्यवहारमा उतार्दै जिम्मेवार नागरिक बन्न आग्रह गर्दै भने, “विद्यालयबाट प्राप्त मूल्य र अनुशासन नै भविष्यको सफलताको मुख्य आधार हो।”

कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि तथा शिक्षासेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गूगल एकेडेमीका संस्थापक नरेश पटेल, गोल्डेन गेट स्कूलका शेख अजहर, शुभ तारा स्कूलका प्रमोद साह, अध्ययन स्कूलका गौतम श्रीवास्तव, ए–प्लस स्कूलका देव जैसवाल, नवयुग स्कूलका आनन्द पटेल, ममता विद्या मन्दिरका विश्वास शाह तथा ज्ञान उदय स्कूलका पतिराम शाहलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिन्हो प्रदान गरिएको थियो। शिक्षक र विद्यार्थीबीचका सम्झनाहरू साटासाट गर्दै कार्यक्रम भावनात्मक बनेको थियो भने केही विद्यार्थीहरूले आफ्ना अनुभव सुनाउँदै शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका थिए।

यसैगरी, विद्यार्थीहरूले नृत्य, गीत तथा हास्य प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

नवनिर्वाचित सांसदको शपथ : पर्साका तीनले भोजपुरी, एकले नेपाली रोजे

0

वीरगंज । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना सांसदलाई शपथ गराएका हुन्।

यसअघि ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित पर्साका चार जना प्रतिनिधिसभा सदस्यमध्ये तीन जनाले भोजपुरी भाषामा र एक जनाले नेपाली भाषामा शपथ लिएका छन्।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद (हरि) पन्त, क्षेत्र नम्बर २ का सुशील कुमार कानु र क्षेत्र नम्बर ४ का टेक बहादुर शाक्यले भोजपुरी भाषामा शपथ लिए। भने, क्षेत्र नम्बर ३ बाट निर्वाचित रामाकान्त प्रसाद चौरसियाले नेपाली भाषामा शपथ लिएका छन्।

पन्तले आफ्नो मातृभाषा नेपाली भए पनि आफू निर्वाचित क्षेत्रको भाषिक पहिचानलाई सम्मान गर्दै भोजपुरीमा शपथ लिएको बताएका छन्। “मेरो मातृभाषा नेपाली भए पनि मेरो कर्मभूमिको आत्मा भोजपुरीमा बसेको छ,” उनले भने।

सुशील कुमार कानुले आफ्नो मातृभाषा नै भोजपुरी भएकाले यसलाई आफ्नो पहिचानसँग जोड्दै तराई–मधेसको भाषालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले भोजपुरीमा शपथ लिएको बताए।

त्यस्तै, टेक बहादुर शाक्यले पनि भोजपुरी बाहुल्य क्षेत्रबाट निर्वाचित भएकाले समर्थकहरूको सल्लाहमा उक्त भाषा रोजेका हुन्।

यता, रामाकान्त प्रसाद चौरसियाको मातृभाषा भोजपुरी भए पनि उनले नेपाली भाषामा शपथ लिएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।

पार्टीमा राजनीतिक बेइमानहरू क्यान्सर बने, क्यान्सर फालेर अगाडि बढौं: रुपेश पाण्डेय

0

वीरगंज । अघिल्लो संसदमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले यसपटक तेस्रो दल बन्न पुगेको छ। एमाले २०६४ सालको पहिलो संविधान सभा निर्वाचन यता पहिलो पटक रक्षात्मक अवस्थामा पुगेको हो। रास्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण बढेर दुई तिहाई नजिक मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश उम्मेदवार पराजित भएका छन् ।

अहिले एमालेभित्र शुद्धीकरण तथा नयाँ नीतिसहित अगाडि बढ्नुपर्ने आवाज उठिरहेको छ । कतिपयले ओलीको नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने बताइरहँदा कतिपयले भने जरैदेखि शुद्धीकरण गरेर एमालेलाई नयाँ शीराबाट अगाडि लैजानुपर्ने आवाज उठाइरहेका छन् ।

यसैबीचमा, एमाले पर्सा ३ का नेता रुपेश कुमार पाण्डेय अब पार्टीलाई नयाँ शीराबाट अगाडि बढाउनका लागि गाउँगाउँमा खटिनुपर्ने आवाज उठाउन थालेका छन् । पार्टीभित्र उनको मत बलियो बन्दै गएको छ । उनले पार्टीलाई एकताबद्ध बनाउने, निर्वाचनमा एमालेमा बसेरै फरक दललाई सहयोग गरेका नेता तथा कार्यकर्ताहरूको पहिचान गरी निर्मम रूपमा समीक्षा र कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का एमालेका तर्फबाट पराजीत भए । उनलाई रास्वपाका उम्मेदवारले पराजीत गरेका थिए । त्यससँगै उनले आफू सांसद नभएपनि गाउँमै र गाउँकै विकासमा खटिने सन्देश दिइसकेका छन् । उनले पार्टीलाई पनि गाउँगाउँमा नयाँ ढंगबाट अगाडि बढाउने योजना बनाइरहेका छन् । पाण्डेयको अबको योजना के ? पार्टी अब कसरी अगाडि बढ्नुपर्छ भन्ने लगायतका समसामयिक विषयमा हामीले पाण्डेयसँग कुराकानी गरेका छौं । हेरौं, पाण्डेयसँगको कुराकानीको सम्पादित अंश:

पर्सा क्षेत्र नम्बर ३ मा तपाईंको राजनीतिक प्राथमिकता के रहनेछ?
पर्सा–३ मा २ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् । मेरो पहिलो प्राथमिकता भनेको पार्टीलाई एकताबद्ध बनाउनु हो । विगतमा भएका कमजोरीहरूलाई सच्याउँदै सबै तहमा कार्यकर्तालाई संगठित गरेर अगाडि बढ्नेछु । यस क्षेत्रका सबै स्थानीय तहमा एमालेलाई विजयी गराउने लक्ष्यका साथ सक्रिय रूपमा खटिने योजना छ ।

हालैको निर्वाचनमा तपाईं सहित पार्टीले नै किन ठूलो पराजय ब्यहोर्नुपरेको जस्तो लाग्छ ?
पार्टी बाहिर एकदमै बलियो थियो । तर भित्र निकै नै मक्किएको अवस्थामा थियो । यही अवस्थामा पार्टीका केही गलत प्रवृत्तिका पात्रहरूले एमालेमा अवसर लिएर अन्य दललाई सहयोग गरे । पार्टी नेतृत्वले पार्टीभित्रको समस्या पहिले नै चिनेर समाधानका लागि अगाडि बढ्नुपर्नेमा त्यसो गर्न सकेनन् । जसले गर्दा अहिले समस्या भयो । पार्टीले ठूलो पराजय ब्यहोर्नुको अर्को कारण राजनीतिक बेइमानी पनि हो । एउटा पार्टीको सदस्य बनेर अर्को पार्टीका नेता जिताउन मत माग्ने जुन गैरराजनीतिक काम भयो, त्यो माफी दिनै नसकिने अपराध जस्तै हो । यसलाई हटाउन पार्टी नेतृत्व निर्मम बन्न जरूरी छ ।

पार्टीभित्रको अनुशासन र आन्तरिक समस्या समाधान कसरी गर्न सकिन्छ ?
पार्टीभित्र अनुशासन अत्यन्तै महत्वपूर्ण कुरा हो। एमालेको झण्डामुनि बसेर अन्य चिन्हमा भोट माग्ने, पार्टीविरुद्ध काम गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्छ । यस्ता गतिविधिले संगठन कमजोर बनाउँछ । त्यसैले पार्टी कमिटीले प्रत्येक क्षेत्रमा छलफल गरेर अनुशासन उल्लंघन गर्नेहरूलाई पहिचान गरी कारबाही गर्नुपर्छ ।

तपाईंले ‘शुद्धीकरण अभियान’ को कुरा गर्नुभएको छ, एमालेमा यो सम्भव छ ?
हो, यो सम्भव छ र एकदमै आवश्यक पनि छ । हामीले एक महिनाको समय दिएर पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुपर्छ। यो अवधिमा पार्टीभित्र रहेका समस्या, कमजोरी र गुटबन्दीको ‘क्यान्सर’ पत्ता लगाएर त्यसलाई निर्मूल पार्न सकिन्छ । पार्टीमा रहेका धमिराहरूलाई चिनेर कारबाही गरेपछि मात्रै संगठन बलियो हुन्छ र फेरि नयाँ उचाइमा पुग्न सक्छ ।

स्थानीय तह निर्वाचनमा यसको प्रभाव कस्तो पर्ला?
यदि हामीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन सक्यौं भने यसको प्रत्यक्ष प्रभाव स्थानीय तह निर्वाचनमा देखिन्छ । कार्यकर्ताको मनोबल बढ्छ, मतदातामा सकारात्मक सन्देश जान्छ र एमालेले राम्रो मत प्राप्त गर्न सक्छ। त्यसैले अहिलेको मुख्य काम भनेकै संगठन सुदृढीकरण हो ।

अन्त्यमा, पर्सा–३ का मतदातालाई तपाईंको सन्देश के छ?
म पर्सा–३ का सम्पूर्ण मतदातालाई आश्वस्त पार्न चाहन्छु कि हामी सुधार र एकताको बाटोमा अघि बढिरहेका छौं । पार्टीलाई मजबुत बनाउँदै विकास र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित वीरगंजबाट एक जना पक्राउ

0

वीरगंज । पर्साको वीरगंज भन्सार मेनगेटबाट स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो करिब ३:३० बजे वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्साबाट खटिएको चेकपोस्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरेर लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगद फेला परेको हो।

बरामद गरिएको नगदमा नेपाली १ हजार दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब निरीक्षक मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको टोलीले नगदसहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक  निरौलाले वताए ।

चैते दशैंमा वीरगंज महानगरमा मौलो पूजा सम्पन्न

0

वीरगंज । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा तथा अर्चना सम्पन्न भएको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज कार्यालय परिसरमा परम्परागत विधिअनुसार मौलो पूजा गर्नुभएको हो। महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा पूजा गर्दै उहाँले नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्बाट सुरक्षाको कामना गर्नुभयो।

हरेक वर्ष चैते दशैंका अवसरमा गरिने यस पूजा कार्यक्रमले धार्मिक आस्था संरक्षण गर्नुका साथै सुरक्षा निकायप्रति सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ। कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

पूजा पश्चात नगर प्रमुख सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्कारहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।

चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्व हो। यस अवसरमा देशभरका शक्तिपीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्ने परम्परा रहिआएको छ।