Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 113

अमरपट्टीस्थित दशगजा क्षेत्रबाट अवैध मदिरा पसल र टहरा हटाइयाे

0

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा सीमा क्षेत्रमा रहेका अवैध संरचना हटाइएको छ।

बिहीबार सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोली, प्रहरी चौकी अमरपट्टीको टोली तथा भारतको पूर्वी चम्पारण जिल्ला सिसुवा ग्राम पंचायत–१ अन्तर्गत सशस्त्र सीमा बल (SSB) ४७ बटालियन ‘सी’ कम्पनी धुपाटोलाबाट खटिएको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

संयुक्त टोलीले दशगजा क्षेत्रमा अतिक्रमण गरी अवैध रूपमा सञ्चालनमा रहेका खुल्ला मदिरा पसल, भट्टी तथा बेचबिखनका लागि बनाइएका टहराहरू हटाएको सशस्त्र प्रहरीले जनाएकाे छ । कारबाहीका क्रममा नेपालतर्फ ५ वटा टहरा, ३ वटा मदिरा पसल र १ वटा भट्टी तथा भारततर्फ ३ वटा टहरा हटाइएको जनाइएको छ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा अतिक्रमण रोक्न संयुक्त रूपमा निगरानी र कारबाहीलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा अवैध संरचना तथा गतिविधि नियन्त्रणका लागि यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछन्।

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र: एक घण्टामै दुबै सेवा

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) को विवरण भर्ने तथा वितरण गर्ने प्रक्रिया सँगसँगै सुरु गरिएको छ।

बिहीबारदेखि लागू गरिएको यस व्यवस्थाअनुसार सेवाग्राहीले करिब एक घण्टाभित्रै नागरिकता र राष्ट्रिय परिचयपत्र दुवै सेवा प्राप्त गर्न थालेका छन्। सेवाग्राहीलाई सरल, छरितो र झन्झटमुक्त सेवा दिने सरकारी नीतिअनुसार कार्यालयले ‘ह्यान्ड टु ह्यान्ड’ प्रणाली कार्यान्वयनमा ल्याएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बैशाख ३ गतेदेखि नयाँ नागरिकता बनाउने सेवाग्राहीलाई सोही समयमा राष्ट्रिय परिचयपत्र पनि उपलब्ध गराउन थालिएको हो। “अहिले सुरुवाती चरणमा नयाँ नागरिकता लिनेहरुलाई मात्र हातोहात परिचयपत्र दिइरहेका छौं, प्रतिलिपिका हकमा भने यो सेवा लागू गरिएको छैन,” उनले बताए।

नागरिकताको प्रमाणपत्र तयार भएसँगै सोही समयमा बायोमेट्रिक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सबै विवरण प्रणालीमा समावेश गरिन्छ। यसले गर्दा सेवाग्राहीलाई छुट्टै दिन कार्यालय धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने र अतिरिक्त खर्च व्यहोर्नुपर्ने बाध्यता हटेको छ।

जिल्ला प्रशासन कार्यालयका राष्ट्रिय परिचय पत्र शाखाका जागृत साहका अनुसार सिसिआइएमएस प्रणालीमार्फत नागरिकताको विवरण स्वतः राष्ट्रिय परिचयपत्र प्रणालीमा जाने भएकाले प्रक्रिया छिटो र सहज भएको हो। “नागरिकता तयार भएको करिब ५ मिनेटभित्रै राष्ट्रिय परिचयपत्र पनि तयार हुन्छ,” उनले जानकारी दिए।

नयाँ व्यवस्थाप्रति सेवाग्राहीहरू पनि सन्तुष्ट देखिएका छन्। नागरिकता लिन पुगेकी पिन्की कुमारीले नागरिकतासँगै राष्ट्रिय परिचयपत्र पाउँदा खुसी व्यक्त गर्दै यस्तो सेवा निरन्तर हुनुपर्ने बताइन्। उनले करिब एक घण्टामै दुवै कागजात प्राप्त गरेको बताइन्।

त्यस्तै अर्का सेवाग्राही मनोज पटवाले पनि झन्झटबिना करिब दुई घण्टामै नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन सफल भएको बताए। “एकद्वार प्रणालीका कारण कम समयमा सेवा पाउँदा निकै सहज भयो,” उनले भने।

हाल जिल्ला प्रशासन कार्यालयबाट दैनिक ८० देखि १०० वटा नागरिकता वितरण हुँदै आएको छ। नयाँ व्यवस्थासँगै अब नयाँ नागरिकता बनाउने सबै सेवाग्राहीले नागरिकतासँगै केही मिनेटमै राष्ट्रिय परिचयपत्र पनि प्राप्त गर्नेछन्। राष्ट्रिय परिचयपत्र बनाएसँगै मतदाता नामावलीमा पनि स्वतः नाम समावेश हुने जनाइएको छ।

पाँचौं परवानीपुर गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

0

वीरगंज । शनिबारदेखि सुरु हुने पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

बिहीबार बिहान परवानीपुर खेल मैदानमा आयोजक शक्ति युवा क्लबले पत्रकार सम्मेलन गरी वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सम्पन्न भएको जानकारी दिएको हो।

एक सातासम्म चल्ने प्रतियोगितामा भारतको एक टोलीसहित नेपालका सात टोली गरी कुल आठ टोली सहभागी हुने संयोजक संजय मण्डलले बताए। प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड क्लब, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, नव जनजागृति युवा क्लब सिमरा, चिडियादह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लबको सहभागिता रहनेछ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता करिब १७ लाख रुपैयाँको लागतमा सञ्चालन हुने सहसंयोजक दीपक यादवले जानकारी दिए। उनका अनुसार प्रतियोगिता प्रत्येक दिन साँझ ३ बजेदेखि ५ बजेसम्म हुनेछ।

प्रतियोगितामा प्रथम पुरस्कार २ लाख रुपैयाँ र द्वितीय पुरस्कार १ लाख रुपैयाँ राखिएको छ। साथै उत्कृष्ट डिफेन्डर, फरवार्ड तथा दैनिक उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले बताए। प्रतियोगिताभरिका उत्कृष्ट खेलाडीलाई ५१०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता सफल बनाउन आयोजकले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, खेलप्रेमी तथा सञ्चारकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष हुलास यादव, महासचिव ध्रुव साह, कोषाध्यक्ष सोनालाल मण्डल, प्रशिक्षक पंकज चौधरी, पूर्व फुटबल खेलाडी बिनोद न्यौपाने, प्रहरी चौकी परवानीपुरका इन्चार्ज शक्ति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

यसअघि प्रतियोगिताको अन्तिम तयारी अन्तर्गत आयोजकले स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, खेलाडी तथा सञ्चारकर्मीहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो। कार्यक्रममा सहभागीहरूले खेलकुदलाई राजनीतिबाट अलग राख्दै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

वीरगंजमा गैरकानूनी सवारी कर तत्काल रोक्न माग

0

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज भन्सार कार्यालयको मुलगेट लगायत राजमार्ग तथा सहायक राजमार्गहरूमा स्थानीय तहबाट उठाइँदै आएको गैरकानूनी सवारी कर तत्काल अन्त्य गर्न सरकारसँग जोडदार माग गरेको छ।

सङ्घका अध्यक्ष हरि प्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय सरकारले वर्षौँदेखि भारतीय गाडी सहित विभिन्न सवारी साधनहरूबाट गैरकानूनी रूपमा सवारी कर उठाउँदै आएको उल्लेख गरिएको छ। गत फाल्गुनमा सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ सरकारले उक्त कर हटाउन पहल गरेकोमा सङ्घले स्वागत समेत गरेकाे छ।

तर, संघीय सरकारको प्रयासका बाबजुद पनि स्थानीय सरकारले सवारी कर नउठाउन आलटाल गर्दै आएको तथा स्थानीय सरकार र प्रशासनबीच आवश्यक समन्वय हुन नसकेको अनुभूति भइरहेको विज्ञप्तिमा उल्लेख छ।

सङ्घले यस्तो गैरकानूनी कार्य तत्काल रोक्न सरकारका सबै सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्न आग्रह गरेको छ।

यसैबीच, केही दिनअघि प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा गएको अनुगमन टोलीले १३ स्थानमा सञ्चालन हुँदै आएका ढाटहरूबाट कबाडी कर र सवारी करका रसिदका ठेलीहरू नियन्त्रणमा लिएको थियो।

प्रमुख जिल्ला अधिकारी दाहालसहित पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक लगायतको सहभागिता रहेको अनुगमन टोली वीरगंज ड्राइपोर्ट, बहुअरी, जगरनाथपुर, परवानीपुर लगायतका स्थानमा पुग्दा अवैध असुलीमा संलग्न व्यक्तिहरू भागाभाग भएका थिए । तर अनुगमनको दुई दिनपछि पुनः अवैध असुली सुरु भएको पाइएको छ।

अनुगमन टोलीले राजमार्गमा कुनै किसिमको अवैध असुली नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी दिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी दाहालले अनुगमनकाे भाेलीपल्ट आफूसँग केही व्यक्तिहरू आए पनि गैरकानूनी असुली गर्न नमिल्ने भन्दै फर्काइएको र त्यसपछि पनि यस्ता गतिविधि दोहोरिएमा रोक्न प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।

दुधेश्वर महादेव मेलामा हजारौं भक्तजनको भीड, व्यवस्थापनमा चुनौती

0

सेढवा । पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित दुधेश्वर महादेव मन्दिरमा बैशाख कृष्णपक्ष त्रयोदशीको अवसरमा लाग्ने वार्षिक मेला आज सम्पन्न भएको छ। हरेक वर्षझैँ यस वर्ष पनि मेलामा स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

मानव बस्तीबाट करिब १७ किलोमिटर टाढा, जंगलको बीचमा रहेको रामभौरी भाठास्थित मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो। विगत तीन दिनदेखि मेला भर्न गएका व्यापारी, पसले तथा भक्तजनहरू अहिले जंगलबाट फर्किन थालेका छन्। पटेर्वासुगौली गाउँपालिका–४ का मुकेश गौरोका अनुसार ट्र्याक्टर, जीप, कार तथा मोटरसाइकलमार्फत मेला जानेहरूको चाप अत्यधिक रहेको थियो।

दुधेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुले यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा भक्तजनहरूको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिए। किसानहरूले गहुँबाली समयमै भित्र्याइसकेकाले फुर्सदको समय मिलेकाले पनि मेलामा भीड बढेको उनले बताए। यस वर्ष ३० भन्दा बढी अष्टजाम समेत आयोजना गरिएको थियो।

निकुञ्ज प्रशासनले जंगल प्रवेशका लागि साँझ ६ बजेसम्म समय तोकेको भए पनि यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै ७ बजेसम्म आवागमनको अनुमति दिइएको समितिले जनाएको छ। सम्भावित भीड व्यवस्थापनका लागि जनपद प्रहरी तथा स्वयंसेवकहरू परिचालन गरिएको थियो।

मन्दिरमा दर्शन गर्न पर्सा, बारा, मकवानपुर, रौतहट, चितवन लगायतका जिल्लाबाट साथै भारतका बिहार र उत्तर प्रदेशबाट समेत हजारौं भक्तजनहरू आउने गरेका छन्। तर भारतीय सुरक्षाकर्मीहरूले ठोरी र इनरवा नाकाबाट चारचक्के सवारीसाधनलाई मात्र अनुमति दिने गरेको गुनासो समेत आएको छ।

यस्तै, मन्दिर आवागमनका लागि विभिन्न मार्गहरू उपलब्ध भए पनि निकुञ्ज प्रशासनले चारभैया नाका मात्र सञ्चालनमा ल्याउँदा उक्त क्षेत्रमा अत्यधिक भीडभाड र ट्राफिक जाम भएको ठोरी गाउँपालिका–५ का देवीप्रसाद दहालले बताए। यसले गर्दा भक्तजनहरूले आवतजावतमा सास्ती खेप्नुपरेको उनको भनाइ छ।

मध्यवर्ती क्षेत्रका गडुवालाईन, सुवर्णपुर, बाघमोर्चा लगायतका सामुदायिक वन क्षेत्रका चौकहरूमा समेत भक्तजनहरूको उल्लेखनीय भीड देखिएको थियो।

कालिकामाई–१ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह सहज हुने अपेक्षा

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन जिल्ला समन्वय समिति पर्साका प्रमुख निरंजन प्रसाद साह सोनार र गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजय सर्राफले शिक्षाको विकास र भौतिक पूर्वाधार सुदृढीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो। उहाँले सोही अवसरमा विद्यालयको थप विकासका लागि जिल्ला समन्वय समितिको तर्फबाट ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

गाउँपालिका अध्यक्ष गुप्ताले नयाँ भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले जनताको आवश्यकता र स्पष्ट विकास दृष्टिकोणका साथ आफ्नो पहलमा निर्माण सम्पन्न भएको उक्त भवन केवल संरचना मात्र नभई समृद्ध कालिकामाई निर्माणको महत्वपूर्ण आधार भएको बताए।

उनले भने, “वर्षौँदेखि प्रतिक्षामा रहेको यस पूर्वाधारलाई व्यवहारमा उतार्दै हामीले विकासको गति अब रोकिने छैन भन्ने सन्देश दिएका छौँ। जनताको सेवा, सुशासन र दिगो विकास हाम्रो पहिलो प्राथमिकता हो र रहनेछ।”

कालिकामाई गाउँपालिका र जिल्ला समन्वय समिति पर्साको संयुक्त लगानीमा दुई तल्ले सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो। करिब ८० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा जिल्ला समन्वय समितिले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी गरेको जनाइएको छ।

गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख सोनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन प्रसाद कुर्मी, वडा नं. १ का वडाध्यक्ष लालबाबु प्रसाद बरै, वडा नं. ५ का वडाध्यक्ष जयनारायण प्रसाद कुर्मी लगायतको उपस्थिति रहेको थियो।

निषाद समुदायलाई जनजाति सूचीमा समावेश गर्न प्रधानमन्त्रीसँग सांसद चौधरीको माग

2

वीरगंज । प्रधानमन्त्री बालेन्द्र साहसँग पर्साकी समानुपातिक सांसद सुनिता कुमारी चौधरी निषादले निषाद समुदायको समग्र विकासका लागि विशेष पहल गर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्रीसँगको भेटमा उनले आफू निषाद समुदायबाट प्रतिनिधित्व गर्ने जनाउँदै निषाद समुदायभित्र बिन, मल्लाह, केवट र नूनिया जातिहरू पर्ने र यी चार जातिहरू हाल २७ वटा थरबाट परिचित रहेको बताइन्। उनका अनुसार निषाद समुदाय प्रायः नदी, खोला, नाला, पोखरी तथा तलाउ आसपास बसोबास गर्दै पानीमै आधारित पेशाबाट जीविकोपार्जन गर्दै आएको छ। यस समुदायको मुख्य पेशा माछा मार्ने र माछा बेच्ने रहेको उनले उल्लेख गरिन्।

सांसद चौधरीले निषाद समुदाय अशिक्षित, अति विपन्न, अपहेलित तथा राज्यबाट समेत पछाडि पारिएको अवस्थामा रहेको बताउँदै राज्यबाट प्रदान गरिने अनुदान, कृषि ऋण, स्रोत तथा साधनहरूमा गैर–निषाद समुदायको पहुँच बढी भएको गुनासो गरिन् । यसका कारण निषाद समुदायको अवस्था झन् कमजोर बन्दै गएको र अहिले दलित समुदायभन्दा समेत दयनीय अवस्थामा पुगेको उनको भनाइ छ।

उनले निषाद समुदायको मत्स्य पालन व्यवसायलाई राज्यस्तरबाटै संरक्षण गर्न आवश्यक रहेको जोड दिँदै समुदायको जीवनस्तर उकास्न ठोस कार्यक्रम ल्याउन आग्रह गरिन्।

साथै, देशको समग्र विकासका लागि सबै समुदायको समान विकास आवश्यक रहेको उल्लेख गर्दै उनले करिब ६ लाख जनसंख्या रहेको निषाद समुदायलाई जनजाति क्लस्टरमा सूचीकृत गरी आरक्षणको दायरामा ल्याउन माग गरिन्। यसो गर्न सके निषाद समुदायको आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक विकासमा सहजीकरण हुने विश्वास उनले व्यक्त गरिन्।

चौघरीको पहलमा आगलागी पीडितलाई राहत

0

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनस्थित सुकुम्बासी दलित बस्तीमा साेमबार राति भएकाे आगलागी प्रभावित तीन परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

बृजेश्वर प्रसाद चौघरीको विशेष पहलमा नाम नखुलाउने एक सहयोगी व्यक्तिबाट संजय राम, मन्जय राम, मन्तुरा देवी र भगतिन सहितका तीन परिवारलाई मंगलबार खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो । प्रत्येक परिवारलाई एक बोरा चामल, एक बोरा आटा, एक बोरा आलु, एक प्याकेट प्याजसहित दाल, मसला, नुन, खाने तेल, चना, मटर, साबुन लगायतका सामग्री सहयोग गरिएको चाैधरीले जानकारी दिए ।

आगलागीबाट पीडितहरूको फुसको झुपडी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

यस विपद्को घडीमा समन्वयकारी भूमिका निर्वाह दलित अभियन्ता मनोज रामले खेलेका हुन् । हाल पीडित परिवारहरूलाई थप सहयोगको आवश्यकता रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गरिएको छ।

पोखरियामा नेपाल–भारत सहकार्यको नमूना: ७ करोड बढी लागतमा विद्यालय भवन शिलान्यास

0

वीरगंज । नेपाल–भारत मैत्री सहयोग अन्तर्गत पोखरिया नगरपालिका वडा नं. ६ स्थित श्री महोबनी पदमा माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

उक्त विद्यालयमा ७ करोड २५ लाख रुपैयाँको लागतमा तीन तल्ले आधुनिक भवन निर्माण गरिनेछ । मंगलबार वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको उक्त भवनका लागि ६ करोड ५३ लाख रुपैयाँ भारत सरकारले र ७२ लाख रुपैयाँ पोखरिया नगरपालिकाले व्यहोर्ने जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथी महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा विकास, पूर्वाधार विस्तार तथा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौहानले यो परियोजना नेपाल र भारतबीचको प्रगाढ सम्बन्ध तथा शिक्षा क्षेत्रमा सहकार्यको महत्वपूर्ण प्रतीक भएको बताए । उनले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन महावाणिज्यदूत मीनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

“प्रभु साहसँग नयाँ वर्ष: रौतहटमा युवाको भव्य जमघट”

0

रौतहट । रौतहटको बौद्धीमाई नगरपालिका वडा नं. ८ सरमुजवामा “युवाका साथ नयाँ वर्ष” शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बौद्धीमाई नगरपालिकाका युवाहरूको पहलमा आयोजित उक्त कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्ता कार्यक्रमले युवाहरूमा नयाँ जोश, उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरे। उनले युवाहरू राष्ट्र निर्माणका मेरुदण्ड भएको उल्लेख गर्दै संगठित भएर विकास र समृद्धिको अभियानमा लाग्न आह्वान गरे।

नयाँ वर्ष २०८३ को अवसरमा सरमुजवास्थित गुजरा माई पिकनिक स्थलमा आयोजित कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यसैबीच, आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवका अनुसार अध्यक्ष साह पछिल्ला दिनहरूमा पर्सा, बारा र रौतहट जिल्लाका विभिन्न पालिकामा कार्यकर्तासँग भेटघाटमा सक्रिय रहेका छन्।

कार्यक्रमले युवामा नयाँ ऊर्जा र सकारात्मक सोच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ।