Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 112

१३ वर्षको प्रतीक्षा अन्त्य: वीरगंजमा मुख्य सडक विस्तार सुरु, २५/२५ मिटरभित्रका संरचना हटाइँदै

0

वीरगंज । लामो समयदेखि अन्योलमा रहेको त्रिभुवन राजपथअन्तर्गत वीरगंजकाे मुख्य सडक विस्तार कार्य अन्ततः आइतबार बिहानदेखि सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बिहान सबेरैदेखि सडक सीमाभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान थालिएको हो।

प्रशासनले शनिबार साँझ नै सूचना जारी गर्दै आइतबार बिहान साढे ४ बजेसम्म सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार बिहानैदेखि डोजर र एक्साभेटर प्रयोग गरी घर, टहरा तथा अन्य संरचनाहरू हटाउन सुरु गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार नेपाल–भारत मितेरी पुलदेखि गण्डक चोकसम्मको क्षेत्रमा सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ २५ मिटरभित्र पर्ने सम्पूर्ण संरचना हटाइँदैछ। सडक विस्तारलाई तीव्रता दिन भन्सार क्षेत्र, घण्टाघर, मुर्ली तथा चिनी मिल आसपासका विभिन्न स्थानमा एकैसाथ काम अघि बढाइएको छ।

सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार विस्तार कार्यलाई प्रभावकारी बनाउन पाँच स्थानबाट एकैपटक काम सुरु गरिएको छ भने डोजर, एक्साभेटरसहित करिब एक दर्जन उपकरण परिचालनमा छन्। सुरक्षाको दृष्टिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

वीरगंज महानगरपालिका, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन तथा सुरक्षानिकायबीचको समन्वयमा अतिक्रमण हटाउने काम भइरहेको छ। प्रशासनले चरणबद्ध रूपमा संरचना हटाउँदै सडक विस्तारलाई अगाडि बढाउने जनाएको छ।

यसअघि करिब १३ वर्षदेखि अवरुद्ध रहेको यो योजना सर्वोच्च अदालतको फैसलापछि कार्यान्वयनमा आएको हो। २०८१ फागुन २८ गते सर्वोच्च अदालतले सडक विस्तारसम्बन्धी मुद्दामा सरकारकै पक्षमा फैसला गर्दै जग्गाधनीहरूले दायर गरेको रिट खारेज गरेपछि विस्तारको बाटो खुलेको हो।

रिट निवेदकहरूले मुआब्जा तथा वैकल्पिक व्यवस्थाको माग गर्दै मुद्दा दायर गरेका थिए। साथै, जग्गा प्राप्ति ऐन, २०३४ र सार्वजनिक सडक ऐन, २०३१ अनुसार प्रक्रिया नअपनाइएको दाबी गरेका थिए। तर अदालतले उक्त दाबी अस्वीकार गरेपछि प्रशासनले रोकिएको योजना कार्यान्वयनमा ल्याएको हो।

अब अतिक्रमण हटाउने कार्यसँगै वीरगंजकाे मुख्य सडकलाई व्यवस्थित, फराकिलो र सुरक्षित बनाउने लक्ष्यका साथ विस्तार अभियान अघि बढाइएको छ।

वीरगंजकाे मेनरोड भत्काउने कार्यमा जेन जि पर्साको समर्थन

0

वीरगंज । वीरगंजको मेनरोडमा फराकिलो पार्ने कार्यप्रती जेन जि यूथ फोर्स पर्साले समर्थन जनाएको छ ।

संस्थाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अभियानप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएको हो। शहरलाई व्यवस्थित, सुन्दर र सुरक्षित बनाउनका लागि आवश्यक कदम चालिनु सकारात्मक पहल भएको संस्थाको धारणा छ।

विज्ञप्तिमा विशेषगरी २५/२५ मिटरको अवधारणाअनुसार गरिने कार्यले दीर्घकालीन रूपमा शहरी व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, अभियानलाई पारदर्शी, निष्पक्ष र जनहितमुखी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

जेन जि यूथ फोर्स पर्साले सम्पूर्ण नगरवासीलाई समेत यस अभियानमा सहयोग गर्न अनुरोध गर्दै वीरगञ्जलाई थप व्यवस्थित र उत्कृष्ट शहरको रूपमा विकास गर्न सबैको साथ आवश्यक रहेको जेन जि यूथ फोर्स पर्साका संयाेजक विशेष सााहले वताए ।

१३ वर्षपछि टुट्दै वीरगंजको मेनरोड, एकैसाथ ५ स्थानमा डोजर लगाउने सडक विभागको तयारी

0

वीरगंज । वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारकाे काम आजै (शनिबार) साँझ देखि सुरु गरिने भएको छ।

सडक डिभिजन कार्यालय हेटाैंडाले त्रिभुवन राजपथ अन्तरगत पर्ने वीरगन्जको गण्डक चाेकदेखि पावरहाउस, मुर्ली, घण्टाघर,माइस्थान,आदर्शनगर, मकालु हाेटल चाेक, वीर्ता, छपकैया,भन्सार हुँदै मितेरीपुलसम्मकाे मुख्य सडक २५/२५ मिटर विस्तार गर्ने काम शनिबार साँझदेखि सुरु गर्न लागिएको सडक डिभिजन कार्यालय हेटाैंडाका नायब सुब्बा राजकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार, सडककाे मध्यभागबाट दायाँ बायाँ २५/२५ मिटर क्षेत्रमा पर्ने घर,टहरा, भवन लगायतका संरचना शनिबार साँझदेखि हटाउन सुरु गरिनेछ।त्यसका लागि सडक डिभिजन कार्यालयले हेटाैडाबाटै डाेजर, जेसीबी र एक्साभेटर गरि ९ थान उपकरण वीरगन्ज लिएर आइसकेकाे उनले जानकारी दिए।

अहिले साँझ ४ बजे वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे कार्यकक्षमा सडक डिभिजन कार्यालयका प्रमुख गुरु अधिकारी, वीरगन्जको नापी, टेलिकम,खानेपानी संस्थान,विद्युत प्राधिकरण लगायतका सरकारी कार्यालय प्रमुखहरुकाे बैठक बस्न लागेकाे श्राेतले जानकारी दियाे।

उक्त बैठक लगत्तै वीरगन्ज महानगरपालिका र प्रहरीको सहयाेगमा वीरगन्जको विभिन्न ५ स्थानबाट एकैसाथ डाेजर लगाएर सडक विस्तारकाे काम सुरु गरिने अर्यालले जानकारी दिए।उनले भने,`एकैसाथ ५ स्थानमा डाेजर लगाउने तयारीमा छाैं।त्यसका लागि महानगर र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसंग अहिले छलफल चलिरहेको छ।´

 

सर्वोच्च अदालतले त्रिभुवन राजपथमा पर्ने वीरगन्जको मुख्य सडक(मेनरोड) विस्तार सम्बन्धि मुद्धामा २०८१ फागुन २८ मा सरकारको पक्षमा फैसला गरेकाे थियाे ।

 

पटक पटक पेसी सर्दै आएको उक्त मुद्धामा सर्वोच्च अदालतले २०८१ फागुन २८ मा विपक्षीहरुको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि झण्डै १३ बर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारका लागि बाटो खुलेको थियाे ।सर्वोच्च अदालतका न्यायधिशद्वय विनोद शर्मा र महेश शर्माको संयुक्त इजलाश मेनरोड विस्तारविरुद्ध विपक्षीहरुले हालेको रिट खारेज गरेसंगै मेनरोड विस्तारका लागि बाटो खुलेको थियाे ।

 

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि पावर हाउस,घण्टाघर,आदर्शनगर, रजतजयन्ति चोक, शंकराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मेनरोड २५/२५ मिटर विस्तार गर्ने सडक विभागको निर्णय खारेजीको माग गर्दै त्यस क्षेत्रमा पर्ने करिब १ हजार २ सय घरधनीहरुले सर्वोच्च अदालतमा २०७६ कार्तिक ७ गते रिट हालेका थिए ।उक्त रिटमा सरकारको निर्णय खारेज हुनु पर्ने,यदि सडक विस्तार गरिएको खण्डमा त्यसको मुआब्जा पाउनुपर्ने,वीरगन्जमा अन्य वैकल्पिक सडक निर्माण भएकाले मेनरोड विवस्तारको आवश्यकता नै नरहेको र सरकारले त्रिभुवन राजपथको एलाइमेन्ट परिवर्तन गरेर परवानीपुरदेखि आइसिपीसम्मको ६ लेनको व्यपारिक राजमार्गलाई त्रिभुवन राजपथ कायम गर्ने निर्णय गरेको मागदाबी गरिएको थियो ।

तर सर्वोच्चले उक्त मुद्धाको पटक पटक पेसी सारेर टुङगो नलगाइ दिएका कारण १३ वर्षदेखि वीरगन्जको सडक विस्तारको काम सुरु नहुदैं रोकिएको थियो ।

२०६९ सालमा तत्कालीन नेपाल सरकारको निर्णय अनुसार सडक विभागले वीरगन्जको मेनरोड विस्तारका लागि सडकको मध्यभागबाट दायाँ–बाँया दुवै तर्फ २५\२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना निकालेपछि त्यस क्षेत्रमा पर्ने करिब १ हजार दूई सय घरधनीले सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । लक्ष्मण साह रौनियारसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, सडक डिभिजन कार्यालय हेटौंडा, व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय वीरगञ्ज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाएर ७ कार्तिक २०७६ मा रिट दर्ता गराएका थिए । त्यसअघि ११ मंसिर २०७५ मा विक्रम गुरुङले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा सरकारी कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै वीरगन्जको मेनरोड विस्तार गर्ने तयारी गरको थियो । २०७६ भदौमा निकालेको १५ दिने सूचनाको म्याद सकिएपछि फेरि म्याद दिएर आयोजना कार्यालयले घरधनीलाई आफ्नो घर आफैं भत्काउन आग्रह गरेको थियो । सडक विस्तार आयोजनाले एक चरण नापीको कामसमेत सम्पन्न गरिसकेको अवस्था छ ।

त्यसअघि सडक विभागले २०६९ साल भदौ १५ गते, सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ फागुन ११ गते र २९ गते, २०७१ फागुन २ गते तथा २०७३ पुष १८ गते पनि १५ दिने सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घर टहरा भत्काउन आग्रह गरेको थियो । सभार : मधेश खबर

डिजेल महँगिँदा चैते धान रोपाइँ संकटमा, किसान रोपाइँबाटै पछि हट्दै

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

सेढवा । दिनप्रतिदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा पर्साका किसानहरू गम्भीर मारमा परेका छन्। विशेषगरी हर्दिनाथ–१ (चैते धान) जातको खेती गर्ने किसानहरू प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। कतिपय किसानहरूले रोपाइँका लागि ब्याडमा तयार भएको बीउ हुँदाहुँदै पनि रोपाइँ नगर्ने निर्णय गरेका छन्।

हाल नेपाली बजारमा डिजेलको मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुगेको छ। डिजेल महँगिँदा खेतीका लागि जोताइ खर्चसमेत उल्लेख्य रूपमा बढेको छ। फालीबाट जोताइ गर्दा अहिले प्रति घण्टा २ हजार रुपैयाँ लाग्ने गरेको छ भने रोटाभेटर प्रयोग गर्दा ३ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। जबकि डिजेल सस्तो हुँदा फालीबाट जोताइ १ हजार २०० रुपैयाँ र रोटाभेटरबाट १ हजार ५०० रुपैयाँमै हुने गरेको थियो।

चैते धान सुख्खा याममा लगाइने बाली भएकाले बारम्बार सिँचाइ आवश्यक पर्छ। रोपाइँपछि करिब पाँचदेखि सात दिनसम्म निरन्तर सिँचाइ गर्नुपर्ने हुन्छ। भूमिगत सिँचाइका लागि विद्युत् मोटर प्रयोग गर्ने किसानलाई खासै असर नपरे पनि डिजेलबाट चल्ने दमकल प्रयोग गर्ने किसानहरू भने बढी प्रभावित भएका छन्।

जिराभवानी गाउँपालिका–३ का किसान प्रेम चौधरीका अनुसार रोपाइँका लागि बीउ तयार भए पनि जोताइ र सिँचाइको अत्यधिक खर्चका कारण यस वर्ष रोपाइँ नगर्ने अवस्था आएको छ। “सुख्खा समय भएकाले सिँचाइमा धेरै समय र खर्च लाग्छ, दमकल चलाउँदा डिजेलको खर्च निकै महँगो पर्छ, त्यसैले रोपाइँ नै नगर्ने सोच बनाएको छु,” उनले बताए।

यद्यपि हर्दिनाथ–१ जातको उत्पादन राम्रो हुने भए पनि धानको मूल्य भने बजारमा सधैं घट्ने प्रवृत्ति रहेको किसानहरूको गुनासो छ। गत वर्ष यस जातको धानको मूल्य करिब १ हजार ७०० रुपैयाँ प्रतिक्विन्टल रहेको थियो।

बढ्दो लागत र घट्दो मूल्यका कारण किसानहरू खेतीबाट निरुत्साहित बन्दै गएकाले यसको दीर्घकालीन असर कृषि उत्पादनमा पर्ने चिन्ता व्यक्त गरिएको छ।

पर्सामा ‘वेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ गठन

0

वीरगंज । पर्सा जिल्लामा वेवारिसे शवहरूको सम्मानजनक व्यवस्थापन तथा सडकमा अलपत्र परेका व्यक्तिहरूको उद्धार र पुनर्मिलन गर्ने उद्देश्यले ‘वेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ गठन गरिएको छ। विजय श्रीवास्तवको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको जानकारी शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

केन्द्रका संस्थापक विजय जंग बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवगठित समितिको सचिवमा आरोही श्रीवास्तव, रिंकी कुमारी कुम्हार र प्रेरणा श्रीवास्तव चयन भएका छन्। त्यसैगरी उप–सचिवमा नारायण श्रीवास्तव, लेखापालमा आराध्या श्रीवास्तव, महिला विभाग प्रमुखमा रिता श्रीवास्तव तथा मिडिया कोअर्डिनेटरमा आराध्य श्रीवास्तव चयन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विगत १६ वर्षमा ७ हजार ७ सय ३८ वटा वेवारिसे शवहरूको सम्मानपूर्वक सद्गत गरिएको जानकारी दिए। सडकपेटीमा भेटिने वेवारिसे शवहरूको उचित व्यवस्थापन नभएको देखिएपछि काठमाडौँबाट यो अभियान सुरु गरिएको उनले बताए।

यस अभियानलाई निरन्तरता दिन आफूले व्यक्तिगत रूपमा दुई रोपनी जग्गा बिक्री गरेर लगानी गरिसकेको समेत उनले जानकारी दिए। हालसम्म काठमाडौँसहित देशका ५४ जिल्लामा सेवा विस्तार गरिसकेको संस्थाले अब पर्सा जिल्लामा पनि वेवारिसे शवहरूको व्यवस्थापन गर्ने र सडकमा भेटिने बेवारिसे व्यक्तिहरूको हेरचाह गर्दै उनीहरूलाई आफन्तसँग पुनर्मिलन गराउने लक्ष्य लिएको छ।

केन्द्र गठनसँगै पर्सामा सामाजिक उत्तरदायित्वको क्षेत्रमा महत्वपूर्ण पहल हुने विश्वास गरिएको छ।

सय रुपैयाँभन्दा माथिको सामान ल्याउन कडाई नगर्न जेन जी पर्साको माग

0

वीरगंज । जेन जी पर्साले सीमावर्ती भन्सार नाकामा १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार गराएर मात्र ल्याउने नियम लागु नगर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाइएको उक्त पत्रमा नेपाल–भारतबीचको पुरानो सामाजिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई स्मरण गर्दै हाल भन्सार कार्यालयहरूले अपनाएको कडाइले सीमावर्ती क्षेत्रका आम नागरिकको दैनिकीमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

पत्रमा विशेषगरी वीरगंजलाई देशको प्रमुख प्रवेशद्वार तथा सबैभन्दा बढी राजस्व संकलन हुने भन्सार क्षेत्रका रूपमा चिनिए पनि यहाँका नागरिकले अपेक्षित सुविधा नपाएको गुनासो गरिएको छ। साथै, दैनिक उपभोग्य सामग्री समेत १०० रुपैयाँभन्दा बढी भएमा भन्सार तिर्नुपर्ने बाध्यकारी व्यवस्थाले सर्वसाधारण मारमा परेको जनाइएको छ।

जेन जी पर्साले राज्यले तस्करी नियन्त्रण गर्नुपर्ने दायित्वलाई स्वीकार गर्दै त्यसको नाममा सर्वसाधारण नागरिकलाई दुःख दिन नहुने स्पष्ट पारेको छ। खुला सीमाको विशेषताका कारण सीमावर्ती बासिन्दाले घरायसी प्रयोजनका लागि सामान ल्याउँदा सहज वातावरण हुनुपर्ने उनीहरूको माग छ।

पत्रमा भन्सार छलि हुने तस्करीका घटनाहरू नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिँदै आम नागरिकलाई अनावश्यक झन्झटमा पार्ने नीति तत्काल खारेज गर्न आग्रह गरिएको छ।

साथै, उक्त मागप्रति सम्बन्धित निकायले चाँडो सम्बोधन नगरे जेन जी पर्साले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने र आवश्यक परे नाका बन्द गर्न समेत बाध्य हुने चेतावनी दिएको छ।

उक्त ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयमा समेत पठाइएको जेन जी पर्साका संयोजक महादेव कुर्मीले जानकारी दिएका छन्।

वीरगंज ‘भविष्य मेला २०२६’: आकर्षक पुरस्कार, विशेष छुट र करियर मार्गदर्शन एकै ठाउँमा

0

वीरगंज । एसइई परीक्षा दिएका विद्यार्थी तथा अभिभावकहरूलाई लक्षित गर्दै वीरगंजमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२६’ मा सहभागीहरूका लागि आकर्षक पुरस्कारसँगै टेक ग्याजेटमा विशेष छुटको व्यवस्था गरिएको छ।

आयोजक एड्स बी मिडियाका अनुसार, मेलामा गोला प्रथा मार्फत एक जना विद्यार्थीले मोबाइल फोन, १० जनाले एयरबड्स, १० जनाले पावर बैंक र १० जनाले स्मार्ट वाच जित्ने अवसर पाउनेछन्। कार्यक्रमको साँझ नै विजेता घोषणा गरिने जनाइएको छ।

यसैबीच, मेलामा युबन कम्पनीले आफ्ना विभिन्न टेक ग्याजेटहरू विशेष छुटमा उपलब्ध गराउने भएको छ। सहभागी विद्यार्थीहरूले एयरबड्स, पावर बैंक, इयरफोन, चार्जर र स्मार्ट वाचलगायतका सामग्री सस्तो मूल्यमा खरिद गर्न पाउनेछन्। आयोजकका अनुसार यसले विद्यार्थीहरूलाई गुणस्तरीय प्रविधि सामग्री सहज रूपमा प्राप्त गर्न सहयोग पुर्‍याउनेछ।

वैशाख ५ गते शनिबार (भोलि) वीरगञ्जको सिद्धार्थ दियालो होटेलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक दिने शैक्षिक तथा करियर मेलामा ८ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावक सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार, “भविष्य मेला केवल शैक्षिक प्रदर्शनी मात्र नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी मञ्च हो। पुरस्कार र विशेष छुटले विद्यार्थीहरूलाई थप उत्साहित बनाउने विश्वास गरेका छौं।”

मेलामा विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा तथा व्यावसायिक शिक्षासम्बन्धी विषयहरूमा निःशुल्क करियर काउन्सिलिङ, विषय छनोट मार्गदर्शन, छात्रवृत्तिका अवसर तथा विभिन्न शैक्षिक संस्थाहरूको जानकारी उपलब्ध गराइनेछ। सहभागी कलेजहरूले पूर्णदेखि आंशिक छात्रवृत्ति समेत घोषणा गर्ने जनाइएको छ।

त्यस्तै, विद्यार्थीहरूका लागि निःशुल्क डिम्याट खाता, बैंक खाता, आँखा जाँच शिविर, स्टेशनरी किट, शैक्षिक किताब तथा टेक ग्याजेटसमेत उपलब्ध गराइनेछ।

गत वर्ष वीरगञ्ज टाउन हलमा सम्पन्न पहिलो संस्करणमा १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने तयारी आयोजकले गरेको जनाएको छ।

वीरगञ्ज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको मेलाले पर्सा, बारा, रौतहट लगायत आसपासका क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक समानता र करियर तयारीमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एसइई दिएका विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाहरूलाई मेलामा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।

पर्साका ३ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

0

वीरगंज । पर्सा जिल्लाका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।

मन्त्रालयले पोखरिया नगरपालिकामा उपसचिव शेखर पौड्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाएको छ। गृह मन्त्रालयमा कार्यरत पौड्याललाई नयाँ जिम्मेवारी दिइएको हो । यसअघि यहाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कौशल झा कार्यरत थिए।

त्यसैगरी बहुदरमाई नगरपालिकामा उपसचिव रमेश अधिकारीलाई खटाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत अधिकारीलाई बहुदरमाई पठाइएको हो । यहाँ यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा वृजकिशोर प्रसाद कार्यरत थिए ।

यस्तै, कालिकामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा केशव कुमार अधिकारीलाई पठाइएको छ । यहाँ कार्यरत रहेका राज कुशवाहालाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका अधिकारीलाई कालिकामाईमा जिम्मेवारी दिइएको हो ।

मन्त्रालयले गत चैत ३० गतेको निर्णयअनुसार २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको थियो । सोही निर्णयअन्तर्गत पर्साका तीन पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएकाे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएकाे छ ।

पर्सागढी–५ हरदियामा बृहत स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न, ७५ जनाभन्दा बढी लाभान्वित

0

वीरगंज । पर्सागढी नगरपालिका वडा नं. ५ स्थित हरदिया गाउँमा आँखा, दन्त तथा मेडिसिन सम्बन्धी रोगहरूको बृहत स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न भएको छ। बिहीबार आयोजित उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविरमा विशेषगरी आँखासम्बन्धी मोतियाबिन्दु, बालबालिकामा दाँतमा किरा लाग्ने समस्या, उच्च रक्तचाप (प्रेशर) तथा मधुमेह (शुगर) जस्ता रोगहरूको परीक्षण गरिएको थियो। साथै, सम्भावित जोखिममा रहेका व्यक्तिहरूको पहिचान गरी समयमै उपचारतर्फ अभिमुख गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा डा. चन्द्र भूषण सिंहले गाउँ समाजमा मोतियाबिन्दु, दन्त समस्या, उच्च रक्तचाप तथा मधुमेह जस्ता रोगहरू देखा परे पनि आर्थिक अभावका कारण नियमित औषधि सेवन नगर्ने समस्या अझै विद्यमान रहेको बताउनुभयो।

त्यस्तै, चिकित्सक जीतेन्द्र गिरीले आँखा तथा दाँतसम्बन्धी समस्या ग्रामीण क्षेत्रमा बेवास्ता गरिने प्रमुख स्वास्थ्य समस्या रहेको उल्लेख गर्दै शल्यक्रिया आवश्यक भएका बिरामीहरूको व्यवस्थापन वीरगंजस्थित आँखा अस्पतालमा गरिने जानकारी दिनुभयो।

शिविरमा आँखा तथा दन्त सेवा अन्तर्गत ३३ जना र मेडिकल सेवा अन्तर्गत करिब ४२ जना गरी ७५ जनाभन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए। कार्यक्रमबारे जानकारी “समानता अभियान नेपाल” का अभियन्ता इन्जिनियर गोल कुमार बस्नेटले दिनुभएको हो।

कार्यक्रममा स्थानीय समाजसेवी, अगुवा तथा सर्वसाधारणको सक्रिय उपस्थिति रहेको थियो। गाउँ समाजमा देखिने सामान्य तर गम्भीर बन्न सक्ने रोगहरूको समयमै पहिचान, परामर्श तथा उपचारमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो।

हरि खेतान क्याम्पसमा प्राध्यापक–कर्मचारी आन्दोलन: १७ बुँदे मागसहित धर्ना सुरु

0

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आफ्ना विभिन्न जायज मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन सुरु गरेका छन्। संयुक्त संघर्ष समितिको आह्वानमा बिहीबारदेखि क्याम्पस परिसरमा सामूहिक धर्ना कार्यक्रम सुरु गरिएको हो।

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा लामो समयदेखि उठाइँदै आएका मागप्रति क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिले चरम उदासीनता र गैरजिम्मेवारी देखाएको आरोप लगाइएको छ। प्रशासनको निरन्तर बेवास्ताका कारण आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको समितिको भनाइ छ।

आन्दोलनरत पक्षले हाल लागू रहेको निजी विधान खारेज गरी सामुदायिक क्याम्पसको मर्मअनुसार नयाँ विधान लागू गर्न माग गरेका छन्। साथै, QAA नवीकरण प्रक्रिया सुरु गर्न तथा University Grants Commission (UGC) को अनुदान निरन्तरता कायम राख्नुपर्ने माग पनि अघि सारिएको छ।

त्यस्तै, प्राध्यापकहरूको तलवमान तथा सुविधा Tribhuvan University को मापदण्डअनुसार लागू गर्न, वार्षिक ग्रेड, पदोन्नति, सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने माग गरिएको छ।

यसैगरी, सेवा निवृत्तिपछि उपदानको व्यवस्था, प्याकेज तथा ज्यालादारी प्राध्यापकलाई तलवमा रूपान्तरण, स्थायी नियुक्ति, तलवमा समानता, सन्तानको निःशुल्क शिक्षा तथा संचित बिरामी बिदाको रकम उपलब्ध गराउनुपर्ने लगायतका १७ बुँदे माग समितिले प्रस्तुत गरेको छ। क्याम्पस प्रमुख किशोरी रायले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग पनि गरिएको छ।

संयुक्त संघर्ष समितिले मागहरू यथाशीघ्र सम्बोधन नगरिए रिले अनसनदेखि आमरण अनसनसम्मका कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी क्याम्पस प्रशासनले नै वहन गर्नुपर्ने समितिको भनाइ छ।

समितिले आफ्नो आन्दोलनप्रति समर्थन जनाउन सरोकारवाला निकाय, अभिभावक, विद्यार्थी, नागरिक समाज तथा सञ्चारकर्मीहरूलाई अपिलसमेत गरेको छ।