Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 111

पर्सामा सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले १९औँ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणपति मोहन बहादुर क्षेत्रीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख प्रहरी डिआइजि कृष्ण ढकालले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी ढकालले सशस्त्र प्रहरी बलले स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वताए । उनले भने,सशस्त्र प्रहरी बल केवल सुरक्षा निकाय मात्र नभई राष्ट्रको भरोसाको संस्था हो । सीमाको रक्षा, शान्ति सुरक्षा कायम र विपद् व्यवस्थापनमा यस संस्थाको योगदान अत्यन्त सराहनीय छ। आगामी दिनमा अझ बढी अनुशासित, जिम्मेवार र प्रविधिमैत्री ढंगले काम गर्न आवश्यक छ।”

कार्यक्रमका प्रमु अतिथी समेत रहेका डिआइजी ढकालले सुरक्षाकर्मीहरूको समर्पण, त्याग र कर्तव्यनिष्ठा नै संस्थाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै संगठनभित्र व्यावसायिकता र नैतिकताको उच्च मापदण्ड कायम राख्न आग्रह गरे।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, प्रहरी उपरीक्षक सुदीप राज पाठक लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधि, विशिष्ट व्यक्तित्व तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहका क्रममा सशस्त्र प्रहरी बलको इतिहास, उपलब्धि र वर्तमान भूमिकाबारे प्रकाश पारिएको थियो । उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै उनीहरूको योगदानको उच्च मूल्यांकन गरिएको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन सांस्कृतिक प्रस्तुति, अनुशासित परेड प्रदर्शन तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

परवानीपुर गोल्डकप : वीरगंज युनाइटेडको रोमाञ्चक जित

0

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा वीरगंज युनाइटेड क्लबले सडेनडेथमा जित निकाल्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ।

परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा वीरगंज युनाइटेड क्लबले चिडियादह स्टार क्लब रौतहटलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएदेखि नै दुवै टोली आक्रामक शैलीमा प्रस्तुत भएका थिए र जितका लागि निरन्तर दबाब सिर्जना गरेका थिए ।

निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पनि दुवै टिमले समान गोल गरेपछि खेलको निर्णय सडेनडेथबाट गरिएको थियो । सडेनडेथमा वीरगंज युनाइटेडका खेलाडीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वीरगंज युनाइटेडका गोलकिपर तबरेज अन्सारी ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद २१ सय रुपैयाँ पुरस्कार प्राप्त गरे, जुन पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसियाले प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत भोलिको खेल नव जन जागृति युवा क्लब सिमरा र रिगल एन्फा क्लब मकवानपुरबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष चौरसियाले उद्घाटन गरेका थिए । वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट एक र नेपालका सात गरी कुल आठ टोलीको सहभागिता रहेको सहसंयोजक दीपक यादवले जानकारी दिए ।

“राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिता करिब १७ लाख रुपैयाँको लागतमा भइरहेको छ । प्रतियोगितामा विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसका साथै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रत्येक खेलका उत्कृष्ट खेलाडी तथा समग्र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले जानकारी दिएका छन् ।

वीरगंज सडक विस्तारः विकासको सुरुवातसँगै पुनर्स्थापनाको चुनौती गहिरिँदै

0

वीरगंज । वीरगंजमा लामो समयदेखि रोकिएको सडक विस्तारको काम सुरु भएसँगै सहर विकासको नयाँ चरणमा प्रवेश गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि मितेरी पुल सम्मको सडक खण्डमा अतिक्रमित संरचना हटाउने अभियान तीव्र रूपमा अघि बढाइएको हो।

प्रशासनले २५/२५ मिटर मापदण्डअनुसार सडक फराकिलो बनाउने लक्ष्य राख्दै आइतवार बिहानैदेखि डोजर परिचालन गरेपछि सयौँ घर, पसल तथा टहरा भत्काइएका छन् । यससँगै वर्षौँदेखि अवरुद्ध रहेको योजनाले गति लिएको भए पनि प्रभावित नागरिकका लागि भने यो प्रक्रिया पीडादायी बनेको छ ।

सडक विस्तारले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन, व्यापारिक वातावरण सुधार तथा सहरको सौन्दर्य अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । तर, तत्कालीन अवस्थामा भने धेरै स्थानीयवासी घरबारविहीन हुने, व्यवसाय गुम्ने र दैनिक जीवन प्रभावित हुने समस्यासँग जुधिरहेका छन् ।

अचानक गरिएको तोडफोडका कारण धेरैले आफ्नो सम्पत्ति जोगाउन नसकेको, सामान व्यवस्थापन गर्न समय नपाएको तथा वैकल्पिक व्यवस्था बिना विस्थापित हुनुपरेको गुनासो गरेका छन् । विशेषगरी साना व्यवसायी, मजदुर तथा दैनिक ज्यालादारी गर्ने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् ।

सडक डिभिजन कार्यालयका अनुसार अदालतको निर्णयपछि वर्षौँदेखिको विवाद टुंगिँदै काम अघि बढाइएको हो । यसअघि पनि पटक–पटक सूचना जारी भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

अचानक १२ घण्टाकाे सूचनामा डाेजर चलेपछि आइतबारदेखि साेमबार दिउसाे सम्म विद्युत् लाइन अवरुद्ध हुँदा सर्वसाधारणले थप समस्या झेल्नुपरेको थियाे । पानी आपूर्ति, सञ्चार तथा दैनिक कामकाजमा समेत अवरोध सिर्जना भएको स्थानीयको भनाइ छ।

यता, केही स्थानीयवासीले भने विकासका लागि यस्तो कदम आवश्यक भएको बताएका छन् । उनीहरूका अनुसार समयमै योजना पूरा भए वीरगंज आधुनिक र व्यवस्थित सहरको रूपमा विकास हुने विश्वास गरिएको छ।

वीरगंज महानगरपालिकाका अनुसार हालसम्म करिब १ हजार २ सय संरचना हटाइसकिएको छ भने सडक विस्तार क्षेत्रभित्र सरकारी तथा निजी दुवै प्रकारका भवनहरू परेका छन्।

सडक विस्तारले सहरको भविष्य उज्यालो बनाउने अपेक्षा गरिए पनि पुनर्स्थापना, मुआब्जा र प्रभावित नागरिकको व्यवस्थापनबारे स्पष्ट योजना नआउँदा यो विषय अहिले पनि बहसको केन्द्रमा रहेको छ ।

सरुवामा असन्तुष्ट ‘जेन जेड’ अभियानका अगुवा अधिकृत घिमिरेको राजीनामा

0

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत गणेश घिमिरेले निजामती सेवाबाट राजीनामा दिएका छन्। ‘जेन जेड’ कर्मचारीहरूको नेतृत्व गर्दै सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ सञ्चालन गर्दै आएका घिमिरेले सरुवा निर्णयप्रति असन्तुष्टि जनाउँदै पद त्याग गरेका हुन्।

घिमिरेको अछाममा सरुवा भएपछि उनले सोमबार आयोगका सचिव दिनेश कुमार घिमिरेसमक्ष हस्तलिखित राजीनामा पत्र बुझाएका छन्। पत्रमा उनले आफू २०६७ सालदेखि निरन्तर रूपमा निजामती सेवामा रही विभिन्न निकायमा काम गर्दै आएको उल्लेख गरेका छन्।

हाल नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र तृतीय श्रेणीको शाखा अधिकृत पदमा कार्यरत रहेका उनले निजामती सेवा नियमावली, २०५० को नियम १२८ बमोजिम सोमबारदेखि लागू हुने गरी स्वेच्छाले पद त्याग गरेको जनाएका छन्।

राजीनामा पत्रमार्फत उनले हालसम्म राष्ट्रसेवा गर्ने अवसर प्रदान गरेकोमा नेपाल सरकारप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

घिमिरे सार्वजनिक प्रशासन सुधारका विभिन्न मागहरू अघि सार्दै ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२’ सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय सरकारले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई स्थायी पदपूर्ति गर्ने प्रक्रियाअनुसार सरुवा गर्दा उनी अछाम पुगेका थिए।

सरुवा निर्णयसँगै आएको उनको राजीनामाले निजामती वृत्तमा चर्चा सुरु भएको छ।

परवानीपुर गोल्डकप : निजगढ फुटबल क्लब सडेनडेथमा बिजयी

0

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको आइतबारको खेलमा निजगढ फुटबल क्लब निजगढले सडेनडेथमा जित निकालेको छ ।

परवानीपुर खेल मैदानमा जारी दोस्रो दिनको खेलमा निजगढ फुटबल क्लब निजगढले ८-७ वीरगन्ज युथ एकेडेमी वीरगन्जलाई हराउदै जित निकालेको हो ।

खेल सुरु भएको समय देखि रोमाञ्चक प्रतिस्पर्धामा उत्रेको दुबै टोलि जित निकाल्ने दाउमा थिए । तर निजगढ फुटबल क्लबले बलियो देखिएको थियो ।

खेलको ३५ औं मिनेटमा निजगढ फुटबल क्लब निजगढका खेलाडी अजय चौधरी आफ्नो टिमको लागि पहिलो गोल गरेर अग्रता बनाए ।

खेलको ५० औं मिनेटमा वीरगन्ज युथ एकेडेमीका खेलाडी जिशस शाक्यले गोल फर्काएका थिए । उनले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलको निधारित्त समयमा दुई टिमले १-१ गोलले बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो । पेनाल्टीमा पनि टिम बराबरी गोल गरेका थिए । त्यसपछि सडेनडेथमा

निजगढ फुटबल क्लबका खेलाडी अमित उरावले गरेको  गोल निर्णायक साबित भएको थियो ।

आजको खेलमा म्यान अफ दी म्याच निजगढ फुटबल क्लबका गोलकिपरका युनिस चौधरी घोषित हुदै २१ सय नगद प्राप्त गरे । उनलाई परवानीपुर गाउँपालिका ३ का  वडाअध्यक्ष इब्राहिम मियाले पुरस्कार प्रदान गरे । भोलिको खेलमा चिडियादह स्टार क्लब रौतहट र वीरगन्ज युनाइटेड क्लब वीरगन्ज बीच हुनेछ ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षता भएको आजको खेलमा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवारले उदघाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रतियोगिताका सहसंयोजक दीपक यादवले गरेका थिए ।

एक हप्ता सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले सहभागी आयोजक क्लबका उपाध्यक्ष हुलास यादवले जानकारी दिए ।

जसमा उदघाटन खेलमा यंग स्टार क्लब बिहार आयोजक शक्ति युवा क्लब संग ५-० गोल अन्तरले पराजित हुदै बाहिरीएको छ । आजको खेलमा वीरगन्ज युथ एकेडेमी पराजित हुदै बाहिरीएको छ ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा वैशाख ५–१२ गते प्रतियोगिता संचालन हुने यादवले बताए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध  श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

सर्वोच्चको फैसला कार्यान्वयनसँगै वीरगंज मेनरोड विस्तार सुरु, “कानुनभन्दा माथि कोही छैन”

0

वीरगंज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य अन्ततः कार्यान्वयन चरणमा पुगेको छ। अधिवक्ता चन्द्रिका पटेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कार्य कुनै हुकुमी वा दमनात्मक शैलीमा नभई सम्मानित सर्वोच्च अदालतको फैसलाअनुसार गरिएको स्पष्ट पारेकी छन्।

उनका अनुसार हाल भइरहेको संरचना हटाउने कार्य न त कुनै राजनीतिक शक्ति प्रदर्शन हो, न त राज्य आतङ्क, बरु विधि र कानुनको शासनको उदाहरण हो। “लोकतान्त्रिक राज्यमा कानुनभन्दा माथि कोही हुँदैन—न सरकार, न जनता,” उनले उल्लेख गरेकी छन्।

पटेलले मेनरोड विस्तारको सुरुवात हालको स्थानीय वा कुनै नयाँ सरकारबाट नभई २०७६ सालमै तत्कालीन नेपाल सरकारले गरेको निर्णयबाट भएको दाबी गरेकी छन्। उनले प्रस्तुत गरेका आधारहरू अनुसार, २०३४ सालमै राजपत्रमा प्रकाशित सूचनाद्वारा वीरगञ्जको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र सडक सीमा तोकिएको थियो।

त्यसैगरी, २०७६ भदौ ६ गते सडक विभागअन्तर्गतको व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज–पथलैया सडक कार्यालयले उक्त सीमाभित्रका संरचना हटाउन सूचना जारी गरेको थियो। सो निर्णयविरुद्ध मुआब्जा र क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा दायर रिट (०७७-WO-०७३३) भने २०८१ फागुन २८ गते खारेज भएको थियो।

सर्वोच्च अदालतले मुआब्जा नदिने निर्णय गरेसँगै अहिले सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्जमा संरचना हटाउने कार्य अघि बढाएको छ।

यद्यपि, पटेलले व्यवसायी तथा स्थानीयलाई तयारीका लागि केही दिनको समय दिएको भए अझ राम्रो हुने धारणा राखेकी छन्। “२–४ दिनको समय दिएको भए सुनमा सुगन्ध हुन्थ्यो,” उनले उल्लेख गरेकी छन्।

उनले ढिलै भए पनि सही निर्णय कार्यान्वयनमा आएको भन्दै अब राज्यले अभिभावकीय भूमिका निर्वाह गर्दै वीरगञ्जको समग्र विकासमा निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन्।
“देर आए दुरुस्त आए जस्तै २०७६ मा हुन नसकेको काम २०८३ मा भए पनि राम्रोको लागि नै भएको छ,” उनले निष्कर्ष दिएकी छन्।

‘नाच रे पतरकी’ सार्वजनिक, सद्दाम–रेबिकाको जोडी चर्चामा

0

काठमाडौं । सद्दाम हुसेन र रेबिका अधिकारीको अभिनय रहेको नयाँ गीत ‘नाच रे पतरकी’ सार्वजनिक भएको छ।  सप्तरङ्गी फिल्मको प्रस्तुतिमा तयार भएको यो गीत सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बटुल्न थालेको छ।

सार्वजनिक पोस्टर र भिडियोमा देखिएको रंगीन मेला, उत्सवमय वातावरण र आकर्षक दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ। विशेषगरी सद्दाम र रेबिकाबीचको रोमान्टिक केमेस्ट्री तथा ऊर्जावान नृत्य प्रस्तुति दर्शकलाई लोभ्याउने खालको देखिन्छ।

गीतका शब्द अजित मण्डलले लेखेका हुन् भने स्वर श्याम राउत र शिल्पी राजले दिएका छन्। संगीत तथा कम्पोज आर्या शर्माको रहेको छ, जसले गीतलाई आधुनिक र नाच्न मिल्ने शैलीमा प्रस्तुत गरेको छ।

गीतको निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले सम्हालेका छन्। क्यामेरा मिलन थापाले गरेका छन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन शौखिन तिमल्सिनाले गरेका छन्।

सार्वजनिक भएको छोटो समयमै ‘नाच रे पतरकी’ले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। आकर्षक प्रस्तुति, संगीत र नृत्यका कारण यो गीत आगामी दिनमा झन् लोकप्रिय हुने अपेक्षा गरिएको छ।

वीरगंज सडक विस्तारबारे सांसद हरि पन्तको भावुक अपिल : “विकाससँगै पीडा पनि स्वाभाविक”

0

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजमा भइरहेको सडक विस्तार अभियानलाई लिएर आम नागरिकको पीडाप्रति सहानुभूति व्यक्त गरेका छन्।

काठमाडौंबाट सडक विस्तार कार्यका लागि आएका गृहमन्त्रीका स्वकीय सचिव, भौतिक योजना तथा निर्माण मन्त्रीका स्वकीय सचिव तथा सचिवालय सचिवसँगकाे गढीमाई दर्शनकाे तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सांसद पन्तले वीरगंजलाई फराकिलो र विकसित शहर बनाउने सबैको साझा चाहना पूरा हुने क्रममा ऐतिहासिक महत्व बोकेको मुख्य बजार क्षेत्रका संरचना भत्किँदा स्वाभाविक रूपमा पीडा महसुस हुने बताएका छन्। उनले विशेषगरी घर, आँगन तथा व्यवसायिक संरचना गुमाउनुपरेका स्थानीय बासिन्दाको दुःखलाई आफूले नजिकबाट बुझेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “हामी जन्मिनुभन्दा अघिको ऐतिहासिक पृष्ठभूमि बोकेको वीरगञ्जको मुख्य अंश भत्किँदा पक्कै पनि दुखी नहुने कोही पनि छैनन्। अझै जसका घर, आँगन र पसल परेका छन्, उहाँहरूको दुःख त मैले पनि भोगेको जस्तै हो।”

सडक विस्तारका क्रममा कतिपय घरमा अहिले विद्युत् र खानेपानी सेवा समेत अवरुद्ध भएको उल्लेख गर्दै उनले यस अवस्थालाई ‘प्रसव पीडा’सँग तुलना गरेका छन्। विकासको क्रममा केही असहजता आउनु स्वाभाविक भएको भन्दै उनले नागरिकहरूलाई धैर्य गर्न आग्रह गरेका छन्।

अन्त्यमा उनले सबै प्रभावित नागरिकप्रति क्षमायाचना व्यक्त गर्दै असुविधाप्रति आफू संवेदनशील रहेको बताएका छन्।

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

0

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा पनि डिएपी र यूरिया मलको आपूर्ति नहुँदा किसानहरू मारमा परेका हुन्।

जिराभवानी गाउँपालिका–१ शान्तिनगरका किसान जलेश्वर दासले नेपालमा मल नपाएपछि भारतीय बजारबाट प्रति बोरा (५० केजी) डिएपी मल करिब ४ हजार रुपैयाँमा खरिद गर्नुपरेको बताए। त्यस्तै, यूरिया मल प्रति केजी ४० रुपैयाँसम्म तिर्नुपरेको अर्का किसान राउतले जानकारी दिए।

सामान्य अवस्थामा स्थानीय कृषि सहकारी संस्थामार्फत डिएपी करिब ५० रुपैयाँ र यूरिया २० रुपैयाँ प्रति केजीमा पाइने भए पनि अहिले संस्थाहरूमा मल अभाव हुँदा किसानहरू महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन्। “संस्थामा मल छैन, त्यसैले महँगोमा किन्नुपरेको छ,” किसान राउतले गुनासो गरे।

यसअघि नेपाली बजारमा मल अभाव हुँदा किसानहरूले भारतीय बजारबाट ल्याएर व्यवस्थापन गर्ने गरेका थिए। तर हाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नीति कडाइका साथ लागू गरेपछि सीमापारबाट मल ल्याउनसमेत कठिन भएको किसानहरूको भनाइ छ।

ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगञ्जका केही वडाहरूमा चैते धान रोपाइँ सुरु भएको दुई साताभन्दा बढी भइसक्दा पनि मल अभाव कायमै रहेको छ।

धान रोपाइँका लागि अत्यावश्यक डिएपी, पोटास र यूरिया मल यस क्षेत्रमा रहेका अधिकांश कृषि सहकारी संस्थाहरूमा उपलब्ध छैनन्। गादी साना किसान कृषि सहकारी संस्था, रंगपुरका सञ्चालक हरिनारायण चौधरीका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले करिब २० दिनअघि ७५ बोरा यूरिया मात्र उपलब्ध गराएको थियो। “डिएपी र थप मल कहिले आउँछ भन्ने निश्चित छैन,” उनले बताए।

किसानहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै एकातिर कृषि उत्पादन बढाउन आग्रह गर्ने तर अर्कोतिर आवश्यक मल उपलब्ध नगराउने, सीमापारबाट ल्याउन कडाइ गर्ने र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने नीतिले आफूहरू थप समस्यामा परेको आरोप लगाएका छन्। साथै, उत्पादन गरेको अन्नको उचित मूल्यसमेत नपाउँदा किसानहरूको अवस्था झन् दयनीय बन्दै गएको उनीहरूको भनाइ छ।

१०० रुपैयाँभन्दा बढी सामानमा कर लगाउने नियमविरुद्ध वीरगंज नाकामा धर्ना

0

वीरगंज । वीरगंज नाकास्थित शंकराचार्य प्रवेशद्वारमा जनअधिकार पार्टीले आइतबार धर्ना प्रदर्शन गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने सरकारी नियमको विरोधमा पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको नेतृत्वमा नेता तथा कार्यकर्ताहरूले एक घण्टा सडकमा बसेर विरोध जनाएका हुन्।

धर्नामा सहभागीहरूले उक्त नियमले नेपाल–भारतबीचको ऐतिहासिक रोटी–बेटी सम्बन्धमा असर पर्ने भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। अध्यक्ष यादवले सरकारले भन्सार कर असुलीको नाममा सीमावर्ती क्षेत्रका नागरिकलाई सास्ती दिने नीति लिएको आरोप लगाए।

उनले मधेसका जनताले ठूलो आशा गरेर सरकारलाई समर्थन गरे पनि छोटो समयमै यस्तो अप्रिय निर्णय आएको भन्दै असन्तुष्टि व्यक्त गरे। महँगी नियन्त्रणमा सरकार असफल भएको उल्लेख गर्दै उनले खाद्यान्न, इन्धन लगायत दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको अवस्थामा थप कर लगाउनु जनविरोधी कदम भएको बताए।

यादवले भन्सारमा लागू गरिएको यो व्यवस्था मधेसमाथिको ‘अघोषित नाकाबन्दी’ जस्तै भएको टिप्पणी समेत गरे।
सरकारले केही दिनयता नेपाल–भारत सीमानाकामा राजस्व चुहावट रोक्ने उद्देश्यले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार कर अनिवार्य गर्ने नियम कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। यसले विशेषगरी सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई प्रत्यक्ष असर पारेको छ।

भन्सार महसुल ऐन, २०८१ को दफा १३ उपदफा (३) अनुसार यो व्यवस्था २०८० जेठ १५ गतेदेखि नै लागू भए पनि व्यवहारमा हाल मात्रै कडाइका साथ कार्यान्वयन हुन थालेपछि यसको चौतर्फी आलोचना भइरहेको छ।