Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 11

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

0
Screenshot

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

पर्सा क्षेत्र नं। १ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पन्तले बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै दसैँको मुखमा श्रमिकको पारिश्रमिक यथाशीघ्र भुक्तानीका लागि आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरे।

उनका अनुसार उद्योगका श्रमिकले करिब अढाई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक पाउन बाँकी रहेको छ। लामो समयदेखि तलब नपाउँदा श्रमिक तथा उनीहरूका परिवार आर्थिक समस्यामा परेको भन्दै उनले तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका हुन्।

पन्तले कुनै समय हजारौँ श्रमिकलाई रोजगारी दिएको ज्योति समूहअन्तर्गतको उक्त उद्योग अहिले करिब १५० जना श्रमिकलाई समेत पारिश्रमिक दिन नसक्ने अवस्थामा पुग्नुको कारणबारे समेत सरकारसँग प्रश्न गरेका छन्।

उनले पछिल्ला सरकारका आर्थिक तथा बैंकिङ लगानी नीतिका कारण उत्पन्न औद्योगिक संकटको गम्भीर समीक्षा गर्नुपर्ने बताए। संकटग्रस्त उद्योगलाई पुनः सञ्चालनमा ल्याउन विशेष आर्थिक नीति अवलम्बन गर्दै उद्योग र रोजगारी संरक्षणमार्फत अर्थतन्त्र चलायमान बनाउन सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए।

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

0

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि ४० जनाको तलब तथा अन्य पारिश्रमिक रोकिएको छ ।

अस्पतालका इन्चार्ज रोशन महताले तलब माग गर्दा व्यवस्थापन पक्षबाट स्पष्ट जवाफ नदिइएको बताउनुभयो । उहाँका अनुसार व्यवस्थापन पक्षले “कानुनी बाटो खोज्नुहोस्, अदालत जानुहोस्, हामी पैसा दिँदैनौँ” भन्ने किसिमको जवाफ दिएको छ ।

पारिश्रमिक नपाएको विषयमा विवाद बढेपछि कर्मचारीहरू मंगलबार एकजुट भएर विरोधमा उत्रिएका थिए । आन्दोलनका क्रममा उनीहरूले केही समय अस्पतालको मुख्य ढोका बन्द गरी तालाबन्दीसमेत गरेका थिए ।

आन्दोलनरत कर्मचारीहरूले आफूहरूले काम गरेको अवधिको सम्पूर्ण तलब तथा बाँकी पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् । अस्पताल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अर्को पक्षलाई हस्तान्तरण गर्ने प्रक्रियाबीच आफ्नो रोजगारी र बाँकी पारिश्रमिकको विषय अन्योलमा परेको अस्पतालका अर्का कर्मचारी बुलट तिवारीले वताए ।

आफूहरूले गरेको कामको तलब तथा अन्य बाँकी रकम कसले र कसरी भुक्तानी गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने कर्मचारीहरूको माग छ । अस्पतालको व्यवस्थापन वा सञ्चालनको जिम्मेवारी परिवर्तन भए पनि यसअघि काम गरेको पारिश्रमिकको दायित्वबाट सम्बन्धित पक्ष पन्छिन नहुने उनीहरूको धारणा छ ।

कर्मचारीहरूले अब पारिश्रमिक भुक्तानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र श्रम कार्यालयमा निवेदन दर्ता गराउने तयारी गरेका छन् । आफूहरुकाे श्रमको पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित निकायले पहल गर्नुपर्ने उनीहरूको माग छ ।

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

0

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ।

दलित महिला संघ पर्साको आयोजना तथा वुमन फन्ड एसियाको सहयोगमा सञ्चालित ‘महिला नेतृत्वका लागि अभियान परियोजना’ अन्तर्गत गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिका उपाध्यक्ष ज्योति देवी चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रकी कौशलया कुमारी, कुमारी बिन्दु देवी, दलित महिला संघ पर्साकी कोषाध्यक्ष संगीता दासलगायत दलित महिला, युवा तथा स्थानीय अगुवाहरूको सहभागिता थियो।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक निला रामले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा ३७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा जातीय विभेद, नारीवाद, लैंगिक समानता तथा स्थानीयस्तरमा महिलाले भोग्दै आएका विभिन्न समस्या र चुनौतीबारे छलफल गरिएको थियो।

गाउँपालिका उपाध्यक्ष चौरसियाले महिला सशक्तीकरणबिना समाज र देश बलियो बन्न नसक्ने बताइन्। उनले जातीय विभेद, लैंगिक असमानता तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि महिला नेतृत्वको विकास आवश्यक रहेकोमा जोड दिइन्।

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रभु हस्पिटलद्वारा महिला स्वास्थ्य शिविर

0

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रभु हस्पिटल वीरगञ्जले बुधबार महिला स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शिविरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी तथा थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी अन्तरक्रिया तथा परामर्श प्रदान गरिएको थियो।

प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताले करिब ४० जना महिला प्रहरी र एक जना महिला थुनुवाको स्वास्थ्य परीक्षण गरेकी थिइन्। शिविरमा पाठेघर तथा सर्भाइकल क्यान्सरलगायत महिलामा देखिने विभिन्न स्वास्थ्य समस्याको परीक्षण गरिएको थियो।

सहभागीलाई स्वास्थ्य समस्याबारे आवश्यक परामर्श दिनुका साथै आवश्यक औषधि वितरण र उपचारका लागि सुझावसमेत दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्ने भएकाले स्वास्थ्य शिविर आयोजना गरिएको बताए।

कार्यक्रममा संयोजक दिलिपराज कार्की, प्रहरी नायब उपरीक्षकद्वय चक्रबहादुर मल्ल र राजु कार्की, प्रभु हस्पिटलकी नर्सिङ निर्देशक सरिता सिंह, प्राविधिक सन्जित साह, फर्मासिस्ट मिखा श्रेष्ठ, प्रहरी निरीक्षक सोनी निम्हाफुकीलगायतको सहभागिता थियो।

पोखरियाका २३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

0

पोखरिया । पर्साको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट र न्यू लाइट फाउन्डेसनको सहयोग तथा नयाँ जनशक्ति युवा क्लब र लायन्स क्लब अफ पोखरियाको समन्वयमा विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरी तथा विभिन्न खेलकुद सामग्री वितरण गरिएको हो ।

वडा अध्यक्ष रामप्रवेश चौहानको अध्यक्षतामा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शमानीले बालबालिकाको शिक्षा, स्वास्थ्य र खेलकुद विकासमा सहयोग गर्नु समाजको साझा दायित्व भएको बताउनुभयो । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालका प्रतिनिधि कवितकुमार नेपाल तथा न्यू लाइट फाउन्डेसनका तर्फबाट वीरगंजका युवा समाजसेवी आसिफ हसनलगायतको उपस्थिति थियो ।

शैक्षिक तथा खेलकुद सामग्री प्राप्त भएपछि विद्यार्थीको अध्ययनमा सहजता हुनुका साथै विद्यालयप्रति आकर्षण र नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी सञ्जय रेग्मी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख भानुभक्त अर्याल, नयाँ जनशक्ति युवा क्लबका अध्यक्ष रामबाबु चौहान, लायन्स क्लबका कृष्णा पटेल, मनोज साह कानुलगायत शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।

जिराभवानीमा समावेशी शिक्षाबारे वक्तृत्वकला प्रतियोगिता

0

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी, अभिभावक तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको जिराभवानी गाउँपालिका–३ परसवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा, श्री महेन्द्र नेपाल निम्न माध्यमिक विद्यालय परसवा तथा स्थानीय दलित समुदायको सहभागितामा ‘समावेशी शिक्षाको महत्व तथा आवश्यकता’ विषयमा प्रतियोगिता आयोजना गरिएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, नेसनल क्याम्पेन फर एजुकेसन नेपाल (एनसीई नेपाल) र नेपाल अपाङ्ग महिला संघको सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र, पर्साको साझेदारीमा सञ्चालित पहुँच परियोजना (एसीसीईएसएस प्रोजेक्ट) अन्तर्गत फ्युचर स्कुल एन्ड कम्युनिटी इन्गेजमेन्ट अभियानमार्फत कार्यक्रम आयोजना गरिएको थियो ।

दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अशोक चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा श्री महेन्द्र नेपाल निम्न माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र चौधरी, समाजसेवी दिनेश्वर महतो तथा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश साहको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम जिम्मेवार व्यक्ति अमित कुमार राउतले गर्नुभएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा दुवै विद्यालयका कक्षा ९ सहित विभिन्न कक्षाका गरी ७ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा रिया चौबे प्रथम, निलिमा कुमारी द्वितीय र हसिना खातुन तृतीय हुनुभएको थियो । विजयी विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा जात, लिङ्ग, अपाङ्गता, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी सबै बालबालिकालाई समान रूपमा शिक्षाको अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो । सहभागी वक्ताहरूले समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि विद्यालय, परिवार, समुदाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमले विद्यालय तथा समुदायमा समावेशी शिक्षाको महत्व र आवश्यकताबारे सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यार्थी, अभिभावक तथा समुदायमा चेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

कार्यक्रममा समुदायबाट १०० जना र विद्यालयबाट ५० जना गरी करिब १५० जनाको सहभागिता रहेको थियो ।

वैदेशिक हस्तक्षेप र स्वेच्छाचारी कदमविरुद्ध निर्णायक आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताउनुभएको छ ।

नेकपा पर्साले बुधबार वीरगंजस्थित नगर सभागृहमा आयोजना गरेको पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयाेजक प्रचण्डले वैदेशिक शक्ति केन्द्रको प्रभाव र सरकारका स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले सडक, सदन र आगामी निर्वाचनमार्फत निर्णायक संघर्ष गर्नुपर्ने अवस्था आएको दाबी गर्नुभयो । “देशमा प्रतिक्रान्तिको हावा चलाउने र प्राप्त अधिकारहरू खोस्ने षड्यन्त्र भइरहेको छ,” प्रचण्डले भन्नुभयो, “संविधान र गणतन्त्र जोगाउन हामीले हिजो पनि मध्यरातिसम्म संघर्ष गरेका थियौँ, आज पनि खतराको घण्टी बजिरहेको छ ।”

प्रचण्डले वर्तमान सरकार विदेशीहरूको इशारामा चलिरहेको आरोप लगाउँदै नेपाली जनताको हातबाट नेतृत्व उम्किने खतरा बढेको बताउनुभयो । संविधान, गणतन्त्र तथा प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक रहेको उहाँको भनाइ थियो ।

वीरगंज र समग्र मधेश क्षेत्रले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रचण्डले २००७ सालको राणाविरोधी सशस्त्र संघर्ष, २०१२ सालको किसान विद्रोह तथा २०३६ सालका आन्दोलनमा मधेशको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“मधेशका जनता क्रान्तिकारीका उत्तराधिकारी हुन्,” उहाँले भन्नुभयो, “वर्तमान निरंकुशता र सामाजिक अन्यायविरुद्ध फेरि एकपटक एकजुट भएर जाग्नुपर्ने समय आएको छ ।”

नयाँ राजनीतिक दल र जनप्रतिनिधिप्रति टिप्पणी गर्दै प्रचण्डले विचार, सिद्धान्त र इतिहासभन्दा सामाजिक सञ्जालको प्रचारमा आधारित राजनीतिले भ्रम सिर्जना गरेको बताउनुभयो । सामाजिक सञ्जालको एल्गोरिदमले जनतालाई प्रभावित गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरूले गरेका जनपक्षीय काम जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा भ्रम उत्पन्न भएको स्वीकार गर्नुभयो ।

“सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफिमको नशाजस्तै बनाएको छ,” प्रचण्डले भन्नुभयो, “हामीले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका मुद्दा जनतामाझ सही ढंगले लैजान नसक्दा भ्रम पैदा भएको हो ।”

वर्तमान सरकारले सत्तामा आएपछि सुकुम्बासीमाथि डोजर र बल प्रयोग गरेको तथा तराई–मधेशका साना व्यापारी र किसानमाथि करको भार थपेको आरोप पनि प्रचण्डले लगाउनुभयो । विधि र प्रक्रिया मिचेर रातारात गिरफ्तारी गर्ने तथा लोकतान्त्रिक अधिकार कटौती गर्ने काम भइरहेको उहाँको दाबी थियो ।

उहाँले सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी हटाउन नहुने, बिना कारण कसैलाई गिरफ्तार गर्न नहुने र जनतामाथि अनावश्यक कर लगाउन नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणका लागि कम्युनिष्टबीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बनाउने गरी सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता मातृका यादवले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मधेश प्रदेश इन्चार्ज महेन्द्रप्रसाद यादव, नेता रामकुमार भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पर्साका सहइन्चार्ज मनोज चौधरीले गर्नुभएको थियो ।

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ।

स्थानीयवासीले विरोध गरेपछि महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गर्दै लामो समयदेखि अवरुद्ध पानीको निकास खुलाएको हो।

पानीको सहज निकास नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ का अठराहा, सुगौली, अलौललगायत आसपासका बस्ती तथा ठूलो क्षेत्र डुबानमा पर्दै आएको थियो। लामो समयसम्म पानी जमिरहँदा स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो।

बस्ती तथा आसपासका क्षेत्रमा लामो समय पानी जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने तथा विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको स्थानीयको गुनासो थियो। जलजमावका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै खेतीयोग्य जमिनसमेत प्रयोग गर्न कठिन हुँदै आएको थियो।

लामो समयदेखि अवरुद्ध पानी निकास खुलाउन थालिएपछि अठराहा, सुगौली, अलौललगायत आसपासका क्षेत्रका स्थानीयवासीले वर्षायाममा हुने डुबान तथा जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन्।

महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकासलाई पूर्ण रूपमा खुलाएर वर्षाको पानी सहज रूपमा निकास हुने व्यवस्था मिलाइएको छ। नियमित रूपमा पानीको निकास हुन थालेपछि बस्ती तथा खेतीयोग्य जमिनमा हुने डुबानसँगै जलजमावका कारण उत्पन्न हुने लामखुट्टे र दुर्गन्धको समस्या पनि न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका छन्।

लामो समयदेखि मुआब्जा प्रक्रिया टुंगोमा पुग्न नसक्दा प्रभावित जग्गाधनी आर्थिक तथा सामाजिक समस्यामा परेको भन्दै स्थानीयवासीले समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

मुआब्जा संघर्ष समिति वीरगञ्ज–२५ श्रीसियाका अध्यक्ष अशोककुमार चौधरीको हस्ताक्षरमा स्थानीयवासीले वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्ण मैनालीलाई ज्ञापनपत्र बुझाउँदै वर्षौँदेखि रोकिएको मुआब्जा प्रक्रिया शीघ्र टुंग्याउन माग गरेका हुन्।

ज्ञापनपत्रमा करिब दुई दशकअघि ड्राइपोर्ट निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा प्रक्रिया अझै पूर्ण रूपमा सम्पन्न हुन नसकेको उल्लेख गरिएको छ। संघर्ष समितिका अनुसार २०६१ सालदेखि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइए पनि कतिपय जग्गाधनीले हालसम्म आफ्नो जग्गाको पूर्ण मुआब्जा पाउन सकेका छैनन्।

स्थानीयवासीका अनुसार नापजाँचका क्रममा नक्सा तथा फिल्डबुकमा देखिएका त्रुटिका कारण वास्तविक जग्गाधनीको नाममा मुआब्जा निर्धारण तथा वितरण गर्न समस्या भएको हो।

उनीहरूले अभिलेखमा देखिएका त्रुटि सच्याएर वास्तविक जग्गाधनीको पहिचान गरी बाँकी मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

स्थानीयवासीले लामो समयदेखि रोकिएको मुआब्जा प्रक्रिया तत्काल टुंग्याउन र प्रभावित परिवारले पाउनुपर्ने रकम शीघ्र उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

0

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागञ्जबाट खटिएको टोलीले सोमबार सिम्रौनगढ नगरपालिका–६, सलेमपुरबाट कुशवाहालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार कुशवाहाको साथबाट दुई थान कटुवा पेस्तोल, ५ राउन्ड गोली र एक थान मोबाइल बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले बरामद सामग्रीसहित कुशवाहालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

पेस्तोल तथा गोलीसहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।