Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 12

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

0

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले प्रहरीको परिचय तथा प्रभाव देखाउँदै आफूहरूमाथि दबाब सिर्जना गर्ने र विभिन्न बहानामा रकम माग्ने गरेको आरोप लगाएका छन्।

व्यवसायीहरूका अनुसार ठाकुर विभिन्न पसल तथा व्यावसायिक क्षेत्रमा पुग्ने, अनावश्यक दबाब दिने र रकम माग्ने गरेको गुनासो छ। केही व्यवसायीले नाम नखुलाउने सर्तमा आफूहरूलाई रकम दिन दबाब परेको दाबी गरेका छन्।

एक व्यवसायीले ठाकुर पसलमै आएर बस्ने तथा दबाब सिर्जना गर्दै रकम लिने गरेको आरोप लगाएका छन्। त्यस्तै, भारतको रक्सौल हुँदै छपकैया क्षेत्रबाट कपडा लिएर आउने महिलासँग समेत रकम उठाउने गरेको तथा हार्डवेयर व्यवसायीहरूसँग पनि रकम लिएको आरोप व्यवसायीहरूले लगाएका छन्।

व्यवसायीहरूले ठाकुरको गतिविधिका कारण बजार क्षेत्रमा आफूहरू असहज भएको बताउँदै आरोपबारे सम्बन्धित प्रहरी निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

यता, व्यवसायीहरूले लगाएको आरोपबारे प्रतिक्रिया दिँदै सुनिल ठाकुरले आफू घुमुवा प्रहरी नभएको स्पष्ट पारेका छन्। उनले व्यवसायीहरूसँग रकम उठाउने वा दबाब दिने गरेको आरोप अस्वीकार गर्दै आफूलाई त्यस्तो आरोपबारे जानकारी नभएको बताएका छन्।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी सहायक निरीक्षक (सई) उमेश निरौलाले पनि ठाकुर घुमुवा प्रहरी नभएको बताएका छन्। उनका अनुसार ठाकुरलाई लागूऔषध सेवनकर्ता तथा लागूऔषधसँग सम्बन्धित गतिविधिबारे सूचना संकलन र नियन्त्रणका लागि परिचालन गरिएको हो। उक्त जिम्मेवारीमा ठाकुरले राम्रो उपलब्धि हासिल गरेको निरौलाको दाबी छ।

व्यवसायीहरूले लगाएको रकम उठाउने तथा दबाब दिने आरोपबारे भने निरौलाले त्यस्तो गतिविधिमा सत्यता नरहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले प्रहरीको नाम वा परिचय प्रयोग गरी कसैसँग रकम मागिएको वा दबाब दिइएको प्रमाण भए प्रहरीसमक्ष उपलब्ध गराउन आग्रह गरेका छन्। प्रमाण भेटिए सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गरिने उनले बताएका छन्।

यस घटनामा एकातर्फ व्यवसायीहरूले प्रहरीको नाम तथा परिचय प्रयोग गरी रकम मागिएको र दबाब दिइएको आरोप लगाएका छन् भने अर्कोतर्फ सम्बन्धित प्रहरी अधिकारीहरूले ठाकुर घुमुवा नभएको र लागूऔषधसम्बन्धी सूचना संकलन तथा नियन्त्रणका लागि परिचालित भएको बताएका छन्।

त्यसैले व्यवसायीहरूले लगाएका आरोपको वास्तविकता प्रमाण, सम्बन्धित पक्षको बयान तथा आवश्यक अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिन्छ। आरोप पुष्टि नभएसम्म लगाइएका दाबीलाई आरोपकै रूपमा बुझिनुपर्ने हुन्छ।

प्रहरीको परिचय प्रयोग गरी रकम मागिएको वा दबाब दिइएको प्रमाण भए सम्बन्धित निकायमा उजुरी तथा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ। घटनाबारे उठेका प्रश्नका कारण सम्बन्धित प्रहरी निकायबाट तथ्यपरक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

0

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनुपरेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नेक्रममा छुट्टै विधेयक ल्याइएको बताउनुभयो ।

उहाँले संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको तथा आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्नुभयो । संविधानको धारा ५१ ले पनि जनस्वास्थ्यमा लगानी वृद्धि, गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समान पहुँच तथा स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या बढाउँदै लैजानुपर्ने व्यवस्था गरेको उहाँको भनाइ थियो ।

“संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा सुनिश्चित गर्न अस्पताल सेवाको विस्तारसँगै गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पनि राज्यले प्राथमिकता दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।

मन्त्री मेहताका अनुसार अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहे पनि मधेश प्रदेशमा हालसम्म त्यस्तो प्रतिष्ठान स्थापना तथा सञ्चालन हुन सकेको छैन । प्रादेशिक सन्तुलन कायम गर्दै मधेसका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठान आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिष्ठान स्थापनाका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भई पूर्वाधार निर्माण तथा तयारीका काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्रीले समितिको पहिलो बैठक २०८१ वैशाख २ गते बसेकाले प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था यथाशीघ्र तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री मेहताले चिकित्सा शिक्षामा समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गर्न सर्वोच्च अदालतबाट समेत महत्वपूर्ण फैसला भएको स्मरण गर्नुहुँदै प्रस्तुत विधेयकले चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँच विस्तार तथा हाल सञ्चालनमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्थामा एकरूपता कायम गर्न आधार तयार गर्ने बताउनुभयो ।

उहाँले सरकारले चिकित्सा शिक्षासम्बन्धी विभिन्न प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न भविष्यमा एकीकृत छाता ऐनमार्फत व्यवस्थित गर्ने नीति लिएको जानकारी दिनुभयो । त्यस्तो एकीकृत कानुनी व्यवस्था कार्यान्वयनमा नआएसम्म रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै ऐनमार्फत स्थापना गरी संस्थागत आधार तयार गर्नु आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“यस विधेयकलाई अझ प्रभावकारी, व्यवहारिक र जनमुखी बनाउन माननीय सदस्यज्यूहरूबाट प्राप्त हुने सुझाव र रचनात्मक योगदानलाई मन्त्रालयले उच्च सम्मानका साथ ग्रहण गर्नेछ,” उहाँले भन्नुभयो ।

प्रतिनिधिसभामा दर्ता भएको विधेयकको दफावार छलफलका क्रममा सदस्यहरूले दिएका सुझाव र मार्गदर्शनलाई सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता पनि मन्त्री मेहताले व्यक्त गर्नुभयो ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु

0

जनकपुरधाम । जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युु भएको छ ।

प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

टिपरको ठक्ककरबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

0

महोत्तरी । भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका लागि आवेदन गरेका छन् ।

भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा २८ हजार ४३५ आवेदन प्राप्त भएको जनाएको छ । प्राप्त आवेदनमध्ये २८ हजार २२७ प्रणाली (तोकिएको ढाँचामा फाइल खडा गर्ने) मा प्रविष्ट भइसकेका र २०८ प्रविष्ट गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ ।

प्रणालीमा प्रविष्ट आवेदनमध्ये सबैभन्दा बढी भूमिहीन परिवारका १६ हजार २३९ आवेदन छन् । जसमध्ये आठ हजार ४१८ भूमिहीन दलितका र सात हजार ८२१ भूमिहीन सुकुमवासीका रहेका समितिका अध्यक्ष तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

अव्यवस्थित बसोवासीका ११ हजार ६९१ आवेदन प्राप्त भएका समितिले जनाएको छ । समितिले २१७ वटा आवेदन प्रणालीमा सामेल नगर्ने गरी अस्वीकृत गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो । “हामीले जिम्मेवारी तोकिएसँगै कामलाई निरन्तरता दिँदै आएका छौँ”, यादव भन्नुहुन्छ, “पद्धति र निश्चित पक्रियाबाट अघि बढ्ने हो, यसले केही समय लाग्छ ।”

धेरैजसो काम स्थलगत, वडा र पालिका तहमै गर्नुपर्ने प्रकृतिका हुँदा सबैसँग समन्वय गरेर अघि बढिएको यादवको भनाइ छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा १३८ वडा छन् । जसमध्ये छवटा वडाबाट कुनै प्रकृति (भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी)का आवेदन नपरेका समितिले जनाएको छ ।

यस्ता वडामा सम्सी–४, पिपरा–१, सोनमा–५ र ६ एवं मनराशिश्वा–७ र ९ रहेका छन् । भूमि समस्या समाधानका लागि हकदाबीको सातदिने सूचना ११७ वडामा प्रकाशन गरिएको छ भने ९३ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन भएर काम अघि बढेको अध्यक्ष यादवले बताउनुभयो ।

समितिबाट २६ वडाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी पहिचान भइसकेको समितिले स्पष्ट पारेको छ ।

जिल्लामा पालिकास्तरमा अहिलेसम्म सम्सी, सोनमा, महोत्तरी, जलेश्वर र बर्दिबासमा मात्र सहजीकरण समिति बनेका छन् । स्थलगत अध्ययन, जग्गाको प्रकृति, हकभोगको अवस्था एकिन, नापनक्सा, वडास्तरीय सहजीकरण र पालिकास्तरीय सहजीकरण समितिबाट किटानसाथ निर्णय भएका आवेदन जिल्लाको भूमि समस्या समाधान समितिले आवश्यक अध्ययन गरेर टुङ्ग्याउने प्रक्रिया बनेको छ ।

वर्तमान सरकार गठनपश्चात जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन गरिएको हो । समितिले आवश्यक सबै पक्रिया अवलम्बन गरी सम्बद्ध पक्ष ९भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी०लाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) दिइने जनाएको छ ।

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

0

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने स्पष्ट पार्नुभएको छ ।

हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई आज भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने जनाउ दिनुभयो । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक यही असोज ५ देखि ८ गतेसम्म ललितपुरमा भएको थियो ।

लोकतन्त्रको रक्षा र अब हुने स्थानीय तहको निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले अर्जुनदृष्टि लिएर लक्ष्यमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

अन्य कुनै दलसँग तत्काल पार्टी एकता नहुने तर चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ नबनी स्थलमै गएर योजना बनाउन निर्देशन दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शङ्कर पोखरेललगायत नेताहरूको उपस्थिति थियो ।

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

1

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जसपाबाट चुनाव जितेका कुर्मीले अर्को दलको सदस्यता लिएर आफ्नै पार्टीलाई खुला चुनौती दिएका हुन्।

नेपाली कांग्रेसले सार्वजनिक गरेको क्रियाशील सदस्यसम्बन्धी विवरणमा कुर्मीको नामसमेत समावेश भएपछि उनले जसपा छाडेर कांग्रेसको क्रियाशील सदस्यता लिएको खुलेको हो। सार्वजनिक विवरणअनुसार उनको कांग्रेस क्रियाशील सदस्यता नम्बर १०३५९४ रहेको छ।

कुर्मी निर्वाचनअघि नेपाली कांग्रेसमा आबद्ध रहे पनि स्थानीय तह निर्वाचनमा जसपाबाट टिकट लिएर वीरगञ्ज–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए। तर, आफूलाई निर्वाचित गराउने दल जसपा छाडेर पुनः कांग्रेसमा आबद्ध भएपछि उनको राजनीतिक कदमसँगै वडाध्यक्ष पदको कानुनी हैसियतमाथि समेत प्रश्न उठेको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१(१) ले कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको स्थानीय तहको सदस्यले पदावधि कायम रहँदासम्म आफू निर्वाचित भएको दल त्याग गर्न नपाउने व्यवस्था गरेको छ। दफा ३१(२) मा उक्त व्यवस्थाविपरीत दल त्याग गरेमा निर्वाचित पद दल त्याग गरेको मितिदेखि स्वतः रिक्त हुने व्यवस्था छ। त्यस्तै, दफा ३२(१)(ख) ले अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने व्यवस्था गरेको छ।

यस आधारमा कांग्रेसको क्रियाशील सदस्यता लिएको विवरण पुष्टि भएमा कुर्मीको वडाध्यक्ष पद स्वतः रिक्त हुने कानुनी अवस्था सिर्जना भएको हो वा होइन भन्ने विषय सम्बन्धित निकायबाट स्पष्ट हुनुपर्ने देखिएको छ।

कुर्मीको कांग्रेस प्रवेशले जसपामाथि समेत गम्भीर राजनीतिक प्रश्न खडा गरेको छ। जसपाको टिकटमा निर्वाचित जनप्रतिनिधिले कार्यकालकै बीचमा अर्को दलको सदस्यता लिएको विवरण सार्वजनिक हुँदासमेत पार्टीले उनीमाथि कारबाही प्रक्रिया अघि नबढाएको भन्दै प्रश्न उठ्न थालेको छ।

आफ्नै टिकटमा चुनाव जितेका वडाध्यक्षले पार्टी छाडेर अर्को दल रोज्दा समेत जसपा मौन बस्नुले पार्टीको राजनीतिक अनुशासनमाथि नै प्रश्न उठाएको छ। कुर्मीको कांग्रेस प्रवेशलाई जसपालाई दिइएको खुला राजनीतिक चुनौतीका रूपमा समेत हेरिएको छ ।

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

0

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक पदाधिकारी हटाउने र अध्यादेश निष्क्रिय भएपछि साविककै कानुनी व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै साहले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।

साहले सामाजिक सञ्जालमार्फत राजनीतिक नियुक्तिमा नयाँ थिति बसाल्ने सरकारको उद्देश्य भए नयाँ कानुन निर्माण गर्नुपर्ने धारणा राखेका छन् । अध्यादेशको छोटो बाटो प्रयोग गरेर पुरानो व्यवस्था परिवर्तन गर्ने र पछि पुनः साविककै कानुनी व्यवस्था कायम गर्ने प्रक्रिया उचित नभएको उनको भनाइ छ ।

सरकारले राजनीतिक नियुक्तिमा देखिएको बेथिति हटाउने उद्देश्यसहित ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ल्याएको थियो । उक्त अध्यादेशले विभिन्न ऐनमा संशोधन तथा खारेजीका व्यवस्था गरेको थियो । अध्यादेश निष्क्रिय भएपछि त्यसबाट प्रभावित साविकका कानुनी व्यवस्था पुनः कायम गर्न सरकारले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ संसद् सचिवालयमा दर्ता गरेको छ ।

संसद् सचिवालयको अभिलेखअनुसार उक्त विधेयक असोज ६ गते दर्ता भएको हो । विधेयकका प्रस्तुतकर्ता प्रधानमन्त्री वालेन्द्र शाह र सम्बन्धित मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको उल्लेख छ ।

सार्वजनिक विवरणअनुसार उक्त अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक पदाधिकारी पदमुक्त भएका थिए । विभिन्न सञ्चारमाध्यमले पदमुक्त हुने पदाधिकारीको संख्या १ हजार ५ सयभन्दा बढी रहेको उल्लेख गरेका छन् ।

साहले सरकारको कदममाथि प्रश्न उठाउँदै यदि नयाँ थिति र प्रणाली स्थापित गर्ने उद्देश्य थियो भने नयाँ कानुन बनाएर अघि बढ्नुपर्ने बताएका छन् । अध्यादेशबाट पुरानो व्यवस्था हटाएर पदाधिकारीलाई पदमुक्त गर्ने र त्यसपछि पुनः पुरानै व्यवस्था ब्युँताउने प्रक्रियाले सरकारको नीतिगत स्थिरतामाथि प्रश्न उठाएको उनको भनाइ छ ।

उनले पुरानो व्यवस्था हटाएर आफूनिकट व्यक्तिलाई नियुक्त गर्ने उद्देश्य त होइन भन्ने प्रश्नसमेत उठाएका छन् । राज्य सञ्चालनको आधार विश्वास भएकाले सरकारले एउटा कुरा भनेर अर्को व्यवहार गर्न नहुने साहको भनाइ छ ।

साहले सरकारले ‘दोहोरो चरित्र’ अन्त्य गर्दै आसेपासेलाई नियुक्त गर्ने अभ्यास बन्द गर्नुपर्ने र सुशासन तथा पारदर्शितामा आधारित स्पष्ट एवं स्थिर कानुनी व्यवस्था निर्माण गर्नुपर्ने माग गरेका छन् ।

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

0

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् ।

आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन् । उनलाई लखन्देही सोती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार छिमेकीको दाहसंस्कारमा सामेल साह नुहाउन खोलामा पसेपछि बेपत्ता भएका हुन् । लगातारको बर्सात्का कारण खोलामा पानीको सतह बढेकाले वृद्ध बेपत्ता भएका हुन् । उनको खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको  प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

1

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका अर्थमन्त्री युवराज भट्टराई, एडीबी नेपाल आवासीय नियोगका देशीय निर्देशक अर्नो काउश्वा र सेजनका अध्यक्ष भागवत भट्टराईले प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

प्रतिवेदन सार्वजनिक गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मूल्याङ्कन प्रतिवेदनले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनको वर्तमान अवस्थाको वस्तुनिष्ठ र प्रमाणमा आधारित स्पष्ट चित्र प्रस्तुत गरेको बताउनुभयो ।

“प्रतिवेदनले आगामी दिनमा वित्तीय व्यवस्थापनमा सुधार गर्नुपर्ने केही संवेदनशील क्षेत्रको पनि स्पष्ट रूपमा पहिचान गरेको छ । बजेटको विश्वसनीयतामा सुधार गर्ने, सार्वजनिक लगानी व्यवस्थापन सुदृढ गर्ने, बजेट निर्माण तथा सेवा प्रवाहको डिजाइन प्रक्रियामा नागरिक सहभागिता बढाउने र राजस्व तथा खर्च व्यवस्थापनको प्रभावकारिता अभिवृद्धि गर्ने विषय प्रमुख सुधारका क्षेत्र हुन्”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री यादवले मूल्याङ्कनले सुधार गर्नुपर्ने क्षेत्र पहिचान र कार्यान्वयन गर्न स्पष्ट मार्गचित्रसमेत उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार प्रतिवेदनले संस्थागत सुदृढीकरण, प्रक्रियागत सुधार, क्षमता अभिवृद्धि तथा सरकारी निकायबीच समन्वय सुधारका लागि आधार प्रदान गरेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सार्जजनिक वित्त व्यवस्थापन मूल्याङ्कनले प्रदेशको कार्यसम्पादनको वस्तुनिष्ठ तथा तथ्यमा आधारित चित्र प्रस्तुत गरेको बताउनुभयो । “मूल्याङ्कनले हालसम्म हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरूलाई पहिचानका साथै आगामी दिनमा थप सुधार गर्नुपर्ने क्षेत्रलाई पनि स्पष्ट रूपमा देखाएको छ । यसले बजेट कार्यान्वयन, सार्वजनिक खरिद प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय प्रतिवेदन तथा अनुगमन र निगरानी संयन्त्रलाई थप सुदृढ गर्ने महत्त्वपूर्ण अवसरसमेत देखाएको छ”, उहाँले भन्नुभयो ।

मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव सेवन्तक पोखरेलले प्रतिवेदनले वित्तीय व्यवस्थापनमा सुधार गर्नुपर्ने महत्त्वपूर्ण क्षेत्रहरू स्पष्ट रूपमा पहिचान गरेको बताउनुभयो । उहाँले बजेटको विश्वसनीयता सुधार, सार्वजनिक लगानी व्यवस्थापन सुदृढीकरण, बजेट निर्माण तथा सेवा प्रवाहको डिजाइन प्रक्रियामा नागरिक सहभागिता वृद्धि र राजस्व तथा खर्च व्यवस्थापनको प्रभावकारिता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

एडीबी मनिलास्थित सार्वजनिक क्षेत्र तथा सुशासन क्षेत्र विभागकी निर्देशक छिडेम अकिनले पेफा मूल्याङ्कनले बजेटको विश्वसनीयता सुधार गर्न, पारदर्शिता तथा जवाफदेहिता बढाउन, वित्तीय अनुशासन सुदृढ गर्न र नागरिकको हितमा सार्वजनिक स्रोतको अझ प्रभावकारी उपयोग गर्न सहयोग पुर्याउने बताउनुभयो ।

एडीबी नेपाल आवासीय नियोगका कन्ट्री डाइरेक्टर अर्नो काउश्वाले मूल्याङ्कन सम्पन्न हुनु सुधारको नयाँ चरणको सुरुआत भएको बताउनुभयो । “निदानात्मक अध्ययनको काम पूरा भएको छ । अबको काम यसका निष्कर्षलाई संस्थागत क्षमता सुदृढ गर्ने र नागरिकका लागि परिणाम सुधार गर्ने ठोस कार्यमा रूपान्तरण गर्नु हो । त्यसैले आजको दिन सुधारको नयाँ चरणको सुरुआत हो, जहाँ पेफाका निष्कर्ष र अङ्कलाई स्पष्ट प्रतिबद्धता, प्राथमिकताका आधारमा तय गरिएका कार्य तथा मापनयोग्य सुधारमा रूपान्तरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

काउश्वाले करदाताको रकम प्रभावकारी रूपमा उपयोग गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, आर्थिक अवसर सिर्जना तथा नागरिकको जीवनस्तर सुधार गर्न बलियो सार्वजनिक वित्त व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले सार्वजनिक वित्त व्यवस्थापन, वित्तीय सुशासन तथा सेवा प्रवाह सुदृढीकरणका लागि नेपाल सरकार र मधेस प्रदेश सरकारलाई एडीबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पेफा परामर्शदाता प्रकाशजङ्ग थापाले मूल्याङ्कनका प्रमुख निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । अन्तरराष्ट्रिय रूपमा मान्यताप्राप्त मापदण्डका आधारमा प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको मूल्याङ्कन गरिएको प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिलाई समेटेको छ ।

मूल्याङ्कनका क्रममा प्रदेशसभामा पेश गरिएको पछिल्लो बजेट आर्थिक वर्ष २०८१/८२ को रहेको थियो । मूल्याङ्कनमा ३२ वटा कार्यसम्पादन सूचक तथा ९८ वटा आयामको अध्ययन गरिएको थियो । सूचक तहमा मधेस प्रदेशले समग्रमा ‘डी प्लस’ अङ्क प्राप्त गरेको छ । आयाम तहमा भने ‘डी’ सबैभन्दा बढी दोहोरिएको अङ्क रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले मधेस प्रदेशको बजेट तथा लेखा वर्गीकरण प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुकूल रहेको जनाएको छ। त्यस्तै, वार्षिक बजेट दस्तावेजमा पर्याप्त सूचना समावेश गरिएको, बजेट क्यालेन्डरको व्यवस्था रहेको, बजेट समयमै स्वीकृत हुने गरेको तथा चालु आर्थिक वर्षमा बजेट समायोजनका लागि स्पष्ट नियम रहेको विषयलाई प्रदेशको सबल पक्षका रूपमा औँल्याइएको छ ।

त्यस्तै करदातासम्बन्धी सूचना सहज रूपमा उपलब्ध हुनु, खर्च बक्यौता न्यून हुनु, त्रैमासिक बजेट कार्यान्वयन प्रतिवेदन तयार हुनु तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार वार्षिक एकीकृत वित्तीय विवरण तयार हुने गरेकोलाई पनि सकारात्मक पक्षका रूपमा प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदनले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार गर्नुपर्ने विभिन्न पक्षसमेत औंल्याएको छ । राजस्व तथा खर्चको वास्तविक उपलब्धि न्यून हुनु, बजेट निर्माण तथा सार्वजनिक लगानी योजनामा सीमित सार्वजनिक परामर्श हुनु, बजेटबाहिरका निकायको वित्तीय अनुगमन पर्याप्त नहुनु तथा सेवा प्रवाहसम्बन्धी सूचना सीमित हुनु प्रमुख कमजोरीका रूपमा देखिएका छन् ।

सार्वजनिक लगानी व्यवस्थापन कमजोर रहेको, कर जोखिम व्यवस्थापन तथा पारिश्रमिक नियन्त्रणमा कमजोरी रहेको, सार्वजनिक खरिदको अनुगमन खण्डीकृत रहेको र लेखापरीक्षण प्रतिवेदनमाथि प्रदेशसभाबाट समीक्षा हुन ढिलाइ हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

पेफा मूल्याङ्कन प्रतिवेदनलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारका लागि आधारभूत दस्तावेजका रूपमा प्रयोग गर्ने प्रदेश सरकारले जनाएको छ । प्रतिवेदनले सुधारका प्राथमिकता पहिचान गरी प्राथमिकताक्रम र चरणबद्ध रूपमा सार्वजनिक वित्त व्यवस्थापन सुधार कार्यक्रम विकास गर्न आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले प्रतिवेदनका निष्कर्षका आधारमा वित्तीय अनुशासन सुदृढ गर्ने, बजेटको विश्वसनीयता बढाउने, सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने तथा सार्वजनिक स्रोतको प्रयोगमा ‘भ्यालु फर मनी’ अर्थात् खर्चअनुसार अधिकतम प्रतिफल सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

मधेस प्रदेशको अर्थ मन्त्रालयको नेतृत्वमा तयार गरिएको मूल्याङ्कन प्रक्रियामा एडीबीको सहयोग तथा नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय सङ्घीयता समन्वय महाशाखासँग समन्वय गरिएको थियो । अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले पनि सन् २०२५ जनवरीसम्म मूल्याङ्कन प्रक्रियामा सहयोग गरेको थियो ।

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

0

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न आग्रह गर्दै सोमबार सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई आफ्नै कार्यकक्षमा पत्र बुझाएका छन् ।

मुख्य सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत् तार व्यवस्थापन गर्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै महानगरले सडक विस्तारकै क्रममा विद्युत् तार भूमिगत गर्न माग गरेको हो ।

त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्ड विस्तारको काम अघि बढिरहेको अवस्थामा विद्युत् पोल तथा तारको व्यवस्थापनसमेत दीर्घकालीन रूपमा गर्नुपर्ने महानगरको धारणा छ ।

महानगरका अनुसार सडक विस्तारपछि पुनः विद्युत्का पोल र तार राख्दा सडकको संरचना तथा सौन्दर्यमा असर पर्नुका साथै भविष्यमा सडक मर्मत तथा विस्तारका क्रममा थप समस्या सिर्जना हुन सक्छ । त्यसैले अहिले नै विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउनु उपयुक्त हुने महानगरले जनाएको छ ।

यसअघि पनि महानगर प्रमुख सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेका थिए ।

महानगरले मुख्य सडकलाई दीर्घकालीन रूपमा व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन सडक विस्तारसँगै विद्युत् प्रणाली भूमिगत गर्न सम्बन्धित निकायबीच आवश्यक समन्वय र बजेट व्यवस्थापनमा जोड दिएको छ ।