वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताउनुभएको छ ।
नेकपा पर्साले बुधबार वीरगंजस्थित नगर सभागृहमा आयोजना गरेको पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयाेजक प्रचण्डले वैदेशिक शक्ति केन्द्रको प्रभाव र सरकारका स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले सडक, सदन र आगामी निर्वाचनमार्फत निर्णायक संघर्ष गर्नुपर्ने अवस्था आएको दाबी गर्नुभयो । “देशमा प्रतिक्रान्तिको हावा चलाउने र प्राप्त अधिकारहरू खोस्ने षड्यन्त्र भइरहेको छ,” प्रचण्डले भन्नुभयो, “संविधान र गणतन्त्र जोगाउन हामीले हिजो पनि मध्यरातिसम्म संघर्ष गरेका थियौँ, आज पनि खतराको घण्टी बजिरहेको छ ।”
प्रचण्डले वर्तमान सरकार विदेशीहरूको इशारामा चलिरहेको आरोप लगाउँदै नेपाली जनताको हातबाट नेतृत्व उम्किने खतरा बढेको बताउनुभयो । संविधान, गणतन्त्र तथा प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक रहेको उहाँको भनाइ थियो ।
वीरगंज र समग्र मधेश क्षेत्रले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रचण्डले २००७ सालको राणाविरोधी सशस्त्र संघर्ष, २०१२ सालको किसान विद्रोह तथा २०३६ सालका आन्दोलनमा मधेशको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
“मधेशका जनता क्रान्तिकारीका उत्तराधिकारी हुन्,” उहाँले भन्नुभयो, “वर्तमान निरंकुशता र सामाजिक अन्यायविरुद्ध फेरि एकपटक एकजुट भएर जाग्नुपर्ने समय आएको छ ।”
नयाँ राजनीतिक दल र जनप्रतिनिधिप्रति टिप्पणी गर्दै प्रचण्डले विचार, सिद्धान्त र इतिहासभन्दा सामाजिक सञ्जालको प्रचारमा आधारित राजनीतिले भ्रम सिर्जना गरेको बताउनुभयो । सामाजिक सञ्जालको एल्गोरिदमले जनतालाई प्रभावित गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरूले गरेका जनपक्षीय काम जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसक्दा भ्रम उत्पन्न भएको स्वीकार गर्नुभयो ।
“सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफिमको नशाजस्तै बनाएको छ,” प्रचण्डले भन्नुभयो, “हामीले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका मुद्दा जनतामाझ सही ढंगले लैजान नसक्दा भ्रम पैदा भएको हो ।”
वर्तमान सरकारले सत्तामा आएपछि सुकुम्बासीमाथि डोजर र बल प्रयोग गरेको तथा तराई–मधेशका साना व्यापारी र किसानमाथि करको भार थपेको आरोप पनि प्रचण्डले लगाउनुभयो । विधि र प्रक्रिया मिचेर रातारात गिरफ्तारी गर्ने तथा लोकतान्त्रिक अधिकार कटौती गर्ने काम भइरहेको उहाँको दाबी थियो ।
उहाँले सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी हटाउन नहुने, बिना कारण कसैलाई गिरफ्तार गर्न नहुने र जनतामाथि अनावश्यक कर लगाउन नहुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणका लागि कम्युनिष्टबीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बनाउने गरी सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेता मातृका यादवले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मधेश प्रदेश इन्चार्ज महेन्द्रप्रसाद यादव, नेता रामकुमार भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पर्साका सहइन्चार्ज मनोज चौधरीले गर्नुभएको थियो ।








