Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 102

पर्सामा सशस्त्र प्रहरीको छापा : १४ लाखभन्दा बढीको कपडा र किराना सामान बरामद

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपालले पर्सा र बारामा संयुक्त रुपमा सञ्चालन गरेको छापामारी अभियानमा भन्सार छली गरी ल्याइएका करिब १४ लाख ११ हजार रुपैयाँ बराबरका कपडा तथा किराना सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार मिति २०८३ वैशाख २६ गते प्राप्त विशेष सूचनाको आधारमा छापामारी गरिएको हो ।

जिल्ला बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बिर्ताटोलस्थित गोठमा भन्सार छलि गरी कपडा भण्डारण गरिएको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो ।

टोलीले करिब ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको १७ पोका कपडा बरामद गरेको जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

त्यसैगरी पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्र नजिकका कच्ची घरहरूमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका किराना सामान लुकाइछिपाइ राखिएको सूचनापछि अर्को संयुक्त टोलीले खानतलासी गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीको नेतृत्वमा गएको टोली, प्रहरी चौकी बलुवा र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ ।

बरामद सबै सामान थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

परवानीपुर घटना थप शंकास्पद, ट्याक्टर चालक पक्राउपछि अन्यलाई जोगाउन चलखेल

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिका– ३ परवानीपुर बजारमा ट्याक्टरबाट माटो खसाउने क्रममा एक युवकको मृत्यु भएकाे घटनामा सलंग्न एक जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएकाे छ । प्रहरीले उक्त ट्याक्टरका चालकलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान थालेकाे छ ।

पक्राउ पर्नेमा ना.५ त ३०११ नम्मबरका ट्याक्टर चालक वीरगंज महानगरपालिका-२१ का ५० वर्षीय काशी महतो तत्मा रहेको बारा प्रहरीले जनाएको छ ।

गत आइतबार स्थानीय रामबाबु रौनियारको जग्गामा ट्याक्टरले रातिको समयमा माटो खसाउने क्रममा माटोले पुरिएर प्लाष्टिक टिप्ने युवकको मृत्यु भएको थियो । प्रहरीका अनुसार आइतबार रातिको समयमा खाली जग्गामा माटो खसाउने क्रममा प्लाष्टिक टिपेर जीविकोपार्जन गर्ने बाराको परवानीपुर गाउँपालिका-५ नौतन निवासी ३८ वर्षीय दु:खी महतो बिनको मृत्यु भएको थियो ।

स्थानियका अनुसार गाउँपालिकाद्वारा परवानीपुर बजारमा निर्माण भइरहेकाे सेडकाे माटाे ट्याक्टरबाट मध्ये रातिमा राैनियारकाे जग्गामा खसाउने काम भइरहेकाे थियाे । मध्य रातमा माटाे खसाउनु र साे क्रममा माटाेले च्यापिएका ब्यक्तिलाई अस्पताल नपुर्याउनु नै घटना संकास्पद रहेकाे छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार ट्याक्टरबाट माटाे खसाउने क्रममा माटाेले च्यापेर महताेकाे मृत्यु भएको जस्तो देखिएकाले सिसिटिभीको मद्दतले अनुसन्धान प्रक्रिया अगाडि बढेपछी ट्याक्टर चालक तत्मा पक्राउ परेका हुन् ।

मृतक युवक भेटिएको घटनास्थलमा पुगेको प्रहरी टोलीले ट्याक्टरका चालक तत्मालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया पनि अगाडि बढाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार मृतक युवक च्यापिएपछि घटनास्थलबाट केही अगाडि शवलाई राखिएकाले घटनामा अन्यको पनि संलग्नता रहेको भन्दै अनुसन्धान प्रक्रिया बढेको छ ।

यता घटनामा सलंग्न अन्यलाई जाेगाउन स्थानिय जनप्रतिनिध र नेताहरु सक्रिय रहेकाे बुझिएकाे छ । स्राेतका अनुसार उनीहरुले पिडितलाई दबाव दिएर मात्र ट्याक्टर चालकमाथि जाहेरी दिन लगाएका छन् ।

यस बिषयमा जग्गा धनी राैनियारसंग बुझ्दा घटना कसरी भयाे भने आफुलाई जानकारी नरहेकाे वताए । मध्य रातमा तपाईकाे जग्गामा माटाे खसाउनुकाे कारण के रहेकाे साेध्दा गाउँपालिकाले खसाउने काम गरेकाे वताए । तर स्थानियहरुले मध्ये रातमा माटाे खसाउनु र घटना भएपछि घाइतेलाई अस्पताल नपुर्याउनुमा उनकाे भुमिका पनि शंकास्पद रहेकाे वताएका छन् ।

रिहाइपछि नेकपा नेता चौधरीलाई भेट्न वीरगंज पुगे पूर्व प्रधानमन्त्री नेपाल

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार वीरगंज आएका छन् । गृह जिल्ला रौतहटको कार्यक्रम सकेर वीरगंज आएका नेता नेपालले हालै अदालतको आदेशबाट रिहा भएका नेकपा नेता मनोज चौधरीसँग भेटवार्ता गरेका हुन् ।

पूर्व प्रधानमन्त्री नेपाल वीरगंजस्थित पानीटंकीमा रहेको चौधरी निवासमै पुगेर भेट गरेका थिए । भेटका क्रममा उनले चौधरी पक्राउ परेको घटनाको विषयमा विस्तृत जानकारी लिँदै घटनाको वास्तविक अवस्थाबारे चासो व्यक्त गरेका थिए । नेता नेपालले चौधरीसँगको भेटमा पछिल्लो राजनीतिक अवस्था, पक्राउ प्रकरण तथा त्यसपछि विकसित घटनाक्रमबारे समेत छलफल गरेको बताइएको छ ।

यसअघि पनि नेता नेपालले मनोज चौधरी प्रहरी हिरासतमा रहेका बेला जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर भेट गरेका थिए । त्यसबेला उनले घटनाबारे जानकारी लिनुका साथै कानुनी प्रक्रियाप्रति चासो व्यक्त गरेका थिए ।

नेता चौधरी फागुन १९ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुभन्दा दुई दिनअघि फागुन १९ गते पक्राउ परेका थिए । पर्सा क्षेत्र नं. २ काे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत रहेका नेता चाैधरी उनी सवार गाडीबाट विस्फोटक पदार्थ जस्ताे देखिने शंकास्पद बस्तु फेला परेकाे आराेपमा मुद्दामा पक्राउ परेका थिए ।

पर्सा जिल्ला अदालतकाे आदेशमा पूर्पक्षका लागि वीरगंज कारागारमा रहेका चौधरी दुई महिना ६ दिनपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजकाे आदेशमा बिहिबार रिहा भएका थिए ।

चौधरीको रिहाइपछि उनलाई भेट्न पूर्व प्रधानमन्त्री नेपाल स्वयं वीरगंज पुगेपछि स्थानीय राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कानून दिवस २०८३ को अवसरमा पर्सा जिल्ला अदालतको शुभकामना

0

वीरगंज । पर्सा जिल्ला अदालतले “कानून दिवस २०८३” को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रधान न्यायालय ऐन, २००८ विक्रम संवत् २००९ वैशाख २६ गतेबाट लागू भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानून दिवसका रूपमा मनाइँदै आएको उल्लेख गरिएको छ ।

अदालतद्वारा जारी शुभकामना सन्देशमा नेपालमा विधिको शासन, न्याय, समानता र संवैधानिक मूल्यमान्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो दिवस मनाइने गरिएको जनाइएको छ । कानून दिवस केवल औपचारिक कार्यक्रम मात्र नभई नागरिक अधिकार, कर्तव्य, न्यायिक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यहरूको संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसर भएको पनि उल्लेख गरिएको छ ।

यस अवसरले न्याय सम्पादन गर्ने निकाय, कानून व्यवसायी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण नागरिकलाई आफ्नो जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्न प्रेरणा मिलोस् भन्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी समाजमा विद्यमान अन्याय, विभेद, हिंसा, भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य गर्दै विधिको सर्वोच्चता कायम गर्न सबै पक्षबीच सहकार्य र पारदर्शिता अझ सुदृढ हुनुपर्नेमा जोड दिइएको छ ।

अदालतले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता तथा लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्याय प्रणालीको प्रवर्द्धन तथा न्यायमा सबैको सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

अन्त्यमा, प्राकृतिक न्यायको सिद्धान्तको पूर्ण पालना गर्दै न्यायिक निर्णय कार्यान्वयनलाई पनि उत्तिकै महत्वपूर्ण मान्दै सम्बन्धित निकाय, नागरिक समाज, कानून व्यवसायी, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाको सहकार्य आवश्यक रहेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए ।

पर्सागढीमा “घरदैलोमा डाक्टर” स्वास्थ्य शिविर, २५० जनाले पाए सेवा

0

वीरगंज । पर्सा जिल्लाको पर्सागढी नगरपालिकाअन्तर्गत बढनियारमा दोस्रो साता पनि “घरदैलोमा डाक्टर” कार्यक्रम सम्पन्न भएको छ । प्रभु हस्पिटल वीरगंजको सहकार्य र जुनतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा स्थानीय २५० जनाले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

कार्यक्रममा १९० महिला र ६० पुरुष गरी कुल २५० जनाको स्वास्थ्य जाँच, सुगर किटमार्फत सुगर परीक्षण तथा निशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ । आर्थिक रूपमा कमजोर, पहुँचविहीन तथा अस्पतालसम्म पुग्न नसक्ने बिरामीलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको प्रभु अस्पतालले जनाएकाे छ ।

स्थानीय बलिराम शुक्लाको समन्वय तथा जुनतारा सहकारी संस्थाकी अध्यक्ष मञ्जु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभु अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै वरिष्ठ फिजिसियन डा. रवि रञ्जन साहको विशेष उपस्थितिमा बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको थियो ।

डा. लक्ष्मी थापाले प्रभु हस्पिटलले आगामी हप्ताहरूमा पनि दुर्गम तथा पिछडिएका क्षेत्रमा पुगेर घरदैलो स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै दीर्घरोगी, जेष्ठ नागरिक तथा महिला सम्बन्धी गम्भीर रोगका बिरामीलाई थप सहयोग गरिने बताइन् ।

कार्यक्रमका प्रमुख दिलीप राज कार्कीले अस्पताल केवल व्यवसायिक नभई सेवा–मुखी हुनुपर्ने बताउँदै जनतासँग हातेमालो गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशेष पहलकर्ता पत्रकार तथा सामाजिक अभियान्ता बलिराम शुक्लाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहकार्य गर्ने बताए । त्यसैगरी अध्यक्ष मञ्जु क्षेत्रीले सामाजिक स्वास्थ्य सेवामा निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

वीरगंज १० मा चौथो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु, सांसद कानुद्वारा उद्घाटन

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १० को आयोजनामा चौथो संस्करणको वडा स्तरीय क्रिकेट प्रतियोगिता शनिबारदेखि विधिवत रूपमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) सुशिल साह कानुले गरेका हुन् । युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने, अनुशासन, सद्भाव र सहकार्यको भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद कानुले खेलकुदले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने बताउँदै स्थानीय तहबाट यस्ता प्रतियोगिताको निरन्तर आयोजना हुनु आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उनले खेलकुदमार्फत समाजमा अनुशासन र भाइचाराको भावना मजबुत बन्ने उल्लेख गरे ।

वडा नं. १० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगपति अशोक बैध, प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, रबि श्रीवास्तव, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, वडा सचिव पवन प्रधानलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन अवसरमा वडा अन्तर्गतका ८ वटा विद्यालयहरूको सहभागितामा मार्चपास प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा लिटल एन्जल स्कुल प्रथम, माउन्ट मकालु स्कुल दोस्रो तथा श्री रामचरण पन्नालाल माध्यमिक विद्यालय तेस्रो भएका थिए ।

उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गरेको छ। कार्यक्रमको सञ्चालन पत्रकार क्रान्ती साहले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहनेछ र आगामी केही दिनसम्म प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

निलकण्ठ अस्पतालमा महिलाको मृत्युपछि ४ लाखमा मिलापत्र, उपचार लापरबाहीबारे गम्भीर प्रश्न

0
एआइकाे सहयाेगमा तयार पारिएकाे तस्बिर

वीरगंज । वीरगंजका निजी अस्पतालहरूमा उपचारका क्रममा हुने घटनाहरूलाई निष्पक्ष अनुसन्धान नगरी आर्थिक लेनदेनमार्फत मिलाउने प्रवृत्ति बढ्दै छ । पछिल्लो उदाहरणका रूपमा हुलाकी राजमार्गअन्तर्गत रहेको निलकण्ठ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि घटना रकम लेनदेनमै टुंग्याइएको पाइएको छ ।

वीरगंज महानगरपालिका–३१ चोर्नी निवासी कपिलदेव साहकी करिब ४८ वर्षीया श्रीमती प्रमिला देवीलाई पेट दुखेपछि शुक्रबार बिहान करिब ४ बजे उपचारका लागि निलकण्ठ अस्पतालमा भर्ना गरिएको थियो । परिवारका अनुसार अस्पताल ल्याउँदासम्म उनको अवस्था सामान्य थियो र उनी मोटरसाइकलमै अस्पताल पुगेकी थिइन् । अस्पताल परिसरमा समेत उनी आफैं हिँडेर प्रवेश गरेकी थिइन् ।

घटनाको समयमा अस्पतालमा विशेषज्ञ चिकित्सक नभई मेडिकल अफिसर मात्र ड्युटीमा रहेको बताइएको छ। सामान्य जाँचपछि इमर्जेन्सीमा औषधि लेखिएको र औषधि खरिद गरी ल्याएपछि एक नर्सले इन्जेक्सन लगाएकी थिइन्। परिवारजनले ती नर्स दक्ष नभएको तथा केनुला समेत राम्रोसँग लगाउन नसकेको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त दृश्य अस्पतालको सीसीटीभी फुटेजमा समेत देखिएको छ ।

इन्जेक्सन लगाएको केही मिनेटमै प्रमिला देवीको अवस्था अचानक बिग्रिएको, बान्ता भएको र लगत्तै मृत्यु भएको परिवारजनले बताएका छन्। घटनापछि आक्रोशित आफन्तहरूले अस्पतालमा विरोध जनाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको टोली अस्पताल पुगेको थियो।

परिवार स्रोतका अनुसार अस्पताल प्रशासनले उपचारमा लापरबाही भएको स्वीकार गरेको दाबी गरिएको छ। तर घटनाको निष्पक्ष छानबिन, पोस्टमार्टम वा चिकित्सकीय परीक्षण नगरी स्थानीय प्रहरीकै रोहवरमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिमा मिलापत्र गरिएको बताइएको छ ।

यस घटनाले उपचारमा वास्तविक लापरबाही भएको हो वा सामान्य चिकित्सकीय जटिलता थियो भन्ने विषयमा गम्भीर प्रश्न खडा गरेको छ। सरोकारवालाहरूका अनुसार मृत्युको कारण कानुनी र चिकित्सकीय प्रक्रियामार्फत यकिन गरी दोषी पाइए कारबाही हुनुपर्नेमा अनुसन्धान नै नगरी आर्थिक सम्झौतामार्फत घटना टुंग्याइनु कानुन र प्रक्रियाविपरीत हो ।

अर्कोतर्फ, प्रत्येक चिकित्सकीय मृत्यु घटनालाई दबाब र हल्लाका आधारमा आर्थिक लेनदेनमार्फत समाधान गर्ने प्रवृत्ति पनि बढ्दै गएको भन्दै चिकित्सकहरू चिन्तित छन्। यसले स्वास्थ्य संस्थामाथिको जनविश्वास कमजोर बनाउने उनीहरूको भनाइ छ ।

स्रोतका अनुसार मिलापत्रपत्रमा अस्पतालका तर्फबाट डा. सुनिल यादवले हस्ताक्षर गरेका छन् भने मृतक परिवारलाई ४ लाख रुपैयाँ नगद प्रदान गरिसकिएको छ। तर प्रमिला देवीको मृत्युको वास्तविक कारण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले प्रहरी अस्पतालमा शान्ति–सुरक्षा कायम गर्न मात्र जाने गरेको बताए। उनका अनुसार उपचारसम्बन्धी विषय नेपाल मेडिकल काउन्सिलले हेर्ने गर्छ र उजुरी परे आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।

वीरगंजका एक चिकित्सकले पैसा लेनदेन गरेर यस्ता घटना मिलाउनु कानुनविपरीत भएको बताए । उनका अनुसार चिकित्सक संघले यस्ता गतिविधिको सधैं विरोध गर्दै आएको छ। उनले अस्पतालसम्बन्धी विवादमा प्रहरीले नेपाल मेडिकल काउन्सिललाई बेवास्ता गर्दै आफैं मिलापत्र गराउने काममा सक्रिय हुने गरेको आरोप समेत लगाए ।

विज्ञापन सम्बन्धी विभेदकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको आग्रह

0

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले नेपाल सरकारले सबै तहका सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने गरी गरेको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

फ्रान्सको पेरिसमा मे ४ देखि ७, २०२६ सम्म सम्पन्न आईएफजेको विश्व सम्मेलनले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमाथि प्रतिकूल असर पर्ने जनाएको हो ।

नेपाल पत्रकार महासंघ र आईएफजे एशिया प्रशान्त क्षेत्रद्वारा प्रस्तुत प्रस्तावलाई सम्मेलनले “अति जरुरी प्रस्ताव” का रूपमा पारित गरेको महासंघले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको निर्देशनमा सरकारी खर्च कटौतीको बहाना देखाउँदै सबै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

आईएफजे सम्मेलनले उक्त निर्णयले सम्पादकीय स्वतन्त्रता, पत्रकारिताको स्वायत्तता र सञ्चार क्षेत्रको विविधतामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ । सम्मेलनले सरकारी विज्ञापनको वितरणलाई निष्पक्ष, पारदर्शी र गैर–विभेदकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

सम्मेलनले सरकारी सञ्चारमाध्यमलाई आर्थिक रूपमा बलियो बनाउने नाममा सूचना प्रवाहमा एकाधिकार कायम हुन सक्ने र सञ्चार क्षेत्रमा सरकारी नियन्त्रण बढ्ने खतरा रहेको उल्लेख गरेको छ । साथै स्वतन्त्र सञ्चारमाध्यमको आर्थिक दिगोपना, पत्रकारहरूको जीविकोपार्जन तथा जनताको सुलभ सूचनामा पहुँच प्रभावित हुने चेतावनी दिएको छ ।

प्रस्तावमा नेपाल पत्रकार महासंघले गरिरहेको आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै नेपाल सरकारलाई विभेदकारी नीति तत्काल फिर्ता लिन आग्रह गरिएको छ । साथै प्रेस स्वतन्त्रता कमजोर बनाउने वा अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने खालका कानुनी तथा नीतिगत प्रबन्ध नगर्न सरकारलाई आह्वान गरिएको छ ।

आईएफजे सम्मेलनमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष निर्मला शर्माले प्रतिनिधित्व गर्नुभएको थियो । उक्त जानकारी महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सई दिनेश राउतविरुद्ध घुस काण्डमा आरोपपत्र दायर

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बैंकिङ्ग कसुर (चेक बाउन्स) सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै सई राउतले सेवाग्राहीसँग घुस माग गरेका थिए । प्राप्त सूचना तथा उजुरीका आधारमा आयोगको टोलीले उनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

अनुसन्धानका क्रममा सई राउतले मुद्दाको प्रक्रिया सहजीकरण गरिदिने नाममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै आयोगले बिगो २० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी सहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएकाे आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

वीरगंजमा विद्यार्थीलाई ट्राफिक सचेतना : सडक दुर्घटना न्यूनीकरणमा प्रहरीले चलायो अभियान

0

वीरगंज । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम वीरगंज महानगरपालिका–१३ स्थित पावरहाउसको जीएचपी स्कुलमा सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्कुलका प्रिन्सिपल रविन्द्र कौरको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्रहरी नायब उपरीक्षक राजु कार्की सहभागी रहेका थिए । कार्यक्रममा पर्सा ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे अभिमुखीकरण गरेका थिए ।

कार्यक्रमको संयोजन युवा अभियन्ता दिलिप राज कार्कीले गरेका थिए । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सचेतनामूलक कार्यक्रममा सडक नियम पालना, ट्राफिक संकेतको महत्व, मापसे गरेर सवारी चलाउँदा हुने जोखिम लगायतका विषयमा जानकारी दिइएको थियो । विशेषगरी मुख्य सडक आसपास बसोबास गर्ने तथा दैनिक सडक ओहोरदोहोर गर्ने विद्यार्थीलाई लक्षित गर्दै सडक दुर्घटनाबाट बच्ने उपायबारे सचेत गराइएको आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक दिलिप राज कार्कीले ट्राफिक दुर्घटना न्यूनीकरणका लागि विभिन्न विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा अन्य विद्यालयहरूमा पनि विस्तार गरिने बताए ।

त्यसैगरी विद्यालयका सञ्चालक जगजित सिंहले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई ट्राफिक अनुशासन र सडक सुरक्षाबारे व्यवहारिक ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे ।