Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 103

नेकपा नेता मनोज चौधरीलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश

0

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विष्फोटक पदार्थ तथा निर्वाचन सम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि वीरगंज कारागारमा रहेका नेता चौधरीलाई उच्च अदालतले जिल्ला अदालत पर्साको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश गरेको हो ।

उच्च अदालतको इजलास नं. १ का न्यायाधीश गोकर्ण डाँगी र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले चौधरीसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका सूचना अधिकारी ध्रुव सुबेदीले जानकारी दिए ।

यस्तै, सोही मुद्दाका अन्य प्रतिवादी सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने जिल्ला अदालतकै आदेश सदर भएको सूचना अधिकारी सुबेदीले बताए ।

चौधरीको तर्फबाट अधिवक्ता रामचन्द्र सिंह, सुधिर कुमार कर्ण, चन्द्रिका पटेलले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस गरेका थिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. २ बाट नेकपाका उम्मेदवार समेत रहेका नेता चौधरीलाई पर्सा प्रहरीले निर्वाचनभन्दा दुई दिनअघि फागुन १९ गते नियन्त्रणमा लिएको थियो । उनी सवार गाडीबाट विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोपमा उनी सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे थियो ।

यसअघि पर्सा जिल्ला अदालतले गत चैत १२ गते चौधरीलाई थुनामा पठाउने आदेश दिएको थियो । भने अन्य तिन जनासंग धराैटी माग गरेकाे थियाे । जिल्ला अदालतकाे आदेशमा चित नबुझेकाे भन्दै नेता चाैधरी पक्ष उच्च अदालत पुगेकाे थियाे ।

उनीसँगै पक्राउ परेका पर्सागढी नगरपालिका–३ निवासी सत्यनारायण दास थारु, धनुषाधाम नगरपालिका निवासी सुरज कार्की तथा सवारी चालक बाराको प्रसौनी गाउँपालिका–४ निवासी सहाब आलम अन्सारीलाई भने जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लागुऔषध नियन्त्रण अभियान प्रभावकारी बनाउन पर्सामा सरोकारवालासँग समन्वय बैठक

0

वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालित “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पर्सामा जिल्ला स्तरीय सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठक, सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगञ्जका प्रमुख एसपी मोहनबहादुर क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अभियानको पहिलो चरण अन्तर्गत तयारी अवस्था, कार्यान्वयन रणनीति तथा लागुऔषध नियन्त्रणका लागि अपनाइने प्रभावकारी उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले लागुऔषध दुव्र्यसन न्यूनीकरण, सेवनकर्ताको पहिचान, उपचार तथा पुनःस्थापना कार्यलाई समन्वयात्मक ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख, संघ–संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले अभियान सफल बनाउन सबै पक्षबीच सहकार्य, जनचेतना अभिवृद्धि र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

अन्तरक्रिया कार्यक्रमले जिल्लास्तरमा लागुऔषध नियन्त्रण तथा सुधार अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण आधार तयार पार्ने विश्वास लिइएको छ।

दलित पक्षमा उभिँदा कुटपिट र धम्की, विजय यादवद्वारा प्रशासनलाई प्रश्न

0

वीरगंज । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका वडा नं ५ सन्तपुर (दो) गाउँमा केही दिन अघि भएको जातीय विभेदसम्बन्धी घटनाले नयाँ मोड लिएको छ। दलित समुदायलाई सहयोग गरेको कारण आफ्नै परिवारमाथि पटक–पटक आक्रमण भइरहेको भन्दै मेयर प्रत्यासी विजय यादव निर्विजले सामाजिक सञ्जाल फेसबुकमार्फत गम्भीर आरोप सार्वजनिक गरेका छन्।

विजय यादवले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गर्दै राजकुमार राम लगायतका दलित परिवारमाथि सामूहिक आक्रमणमा संलग्न भनिएका व्यक्तिहरूले अहिले आफ्नो परिवारलाई लक्षित गर्दै हमला गरिरहेको बताएका छन्। उनका अनुसार भुनेश्वर यादव र नितेश यादव सहित चार जनाको समूहले उनका काँछो भाई जयकिशोर यादवमाथि कुटपिट गरी घाइते बनाएको छ। जयकिशोर शारीरिक रूपमा कमजोर रहेको उल्लेख गरिएको छ।

उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भइसकेको भए पनि निरन्तर धम्की र आक्रमण जारी रहेको उनले बताएका छन्। “दलित समुदायको पक्षमा उभिँदा हाम्रो परिवारमाथि नै हमला हुनु अत्यन्त दुःखद र चिन्ताजनक विषय हो,” उनले फेसबुकमार्फत लेखेका छन्।

विजय यादवले राज्य र सुरक्षा निकायप्रति असन्तुष्टि जनाउँदै यस्तो संवेदनशील विषयमा समेत प्रभावकारी कदम नचालिएको आरोप लगाएका छन्। उनले भनेका छन्, “एकातिर सरकारले दलित समुदायसँग माफी माग्ने कुरा गर्छ, अर्कोतिर उनीहरूलाई सहयोग गर्ने व्यक्तिमाथि नै हमला हुँदा पनि प्रशासन मौन बस्नु दुःखद हो।”

नेपालको कानुनले जातीय विभेदलाई स्पष्ट रूपमा दण्डनीय अपराध मानेको स्मरण गराउँदै उनले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। साथै, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न पनि उनले जोड दिएका छन्।

यो घटनालाई केवल व्यक्तिगत विवाद नभई सामाजिक विभेद र अन्यायको ज्वलन्त उदाहरणको रूपमा उल्लेख गर्दै विजय यादवले समानता, न्याय र मानव अधिकारको पक्षमा सबैलाई एकजुट हुन आह्वान गरेका छन्। उनले डर र धम्कीका बीच पनि सत्य र न्यायका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

वीरगंजमा कवाडी करको आडमा राजमार्गमै लुट, प्रहरी प्रशासन निरीह

0

वीरगंज । स्थानीय प्रहरी र प्रशासनलाई चुनौती दिँदै वीरगंज क्षेत्रमा कवाडी करको नाममा अवैध असुली रोकिएको छैन । महानगरसँगको सम्झौताविपरीत अमित ठेक्कापट्टाले राजमार्गका विभिन्न स्थानमा सवारी साधनबाट मनपरी ढंगले रकम उठाइरहेको गुनासो बढ्दै गएको छ ।

केही दिनअघि वीरगंज–२२ जगरनाथपुर चोकमा गण्डक नहरको जग्गामा बनाइएको असुली गर्ने छाप्राे प्रशासनले डोजर लगाएर हटाएको थियो । तर संरचना हटाइएपछि पनि पुनः त्रिपालको छाप्रो निर्माण गरी कर असुली सुरु गरिएको स्थानीयले बताएका छन् ।

जगरनाथपुर चोक, रामगढवा, परवानीपुरलगायत क्षेत्रमा भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली भइरहेको आरोप छ । कतिपय अवस्थामा रसिद नदिई रकम लिने, दिइएको रसिदभन्दा बढी रकम उठाउने तथा नदिँदा दुर्व्यवहार र कुटपिटसमेत हुने गरेको चालकहरूको गुनासो छ । तर प्रहरी प्रशासन मुख दर्शक बनेकाे छ ।

महानगरपालिकाका राजश्व शाखा प्रमुख मनोज कर्णका अनुसार ठेक्दारले सम्झौताअनुसार निश्चित कबाडी सामग्री—जस्तै पुरानो फलाम, प्लास्टिक, कागज, टायर–ट्युब लगायतमा मात्र कर उठाउन पाउने व्यवस्था छ । तर त्यसको उल्लंघन गर्दै खाली सवारी साधन तथा अन्य मालवाहक गाडीबाट समेत असुली भइरहेको स्वीकार गरिएको छ । उनले लिखित उजुरी आएपछि ठेक्दारलाई सचेत गराइएको भए पनि अटेर गरेकाले अब प्रहरीले कारबाही गर्नुपर्ने बताए ।

स्थानीयहरुले पनि वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि ठोस कारबाही हुन सकेको छैन । कतिपयले स्थानीय प्रहरीकै मिलेमतोमा यस्तो गतिविधि भइरहेको आरोपसमेत लगाएका छन् ।

यसैबीच, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले वैशाख ११ गते राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारीसाधनबाट सवारी कर नउठाउन आदेश दिएको थियो । तर उक्त आदेश हालसम्म कार्यान्वयन हुन सकेको देखिँदैन ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अदालतको आदेशबारे सञ्चारमाध्यममार्फत जानकारी पाएको भए पनि लिखित जानकारी प्राप्त नभएको बताएका छन् । यद्यपि अदालत स्रोतका अनुसार आदेश सम्बन्धित निकायहरू—जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकामा पठाइसकिएको छ ।

चालु आर्थिक वर्षका लागि वीरगंज महानगरपालिकाले जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलनको ठेक्का ५ करोड ४ लाख ६७ हजार ४४६ रुपैयाँमा स्वीकृत गरेको छ ।

तर सम्झौताअनुसार दररेट खुलाइएको सूचना बोर्डसमेत नदेखिएको र नियमविपरीत असुली जारी रहेकाले प्रशासनको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । अब अदालतको आदेश कार्यान्वयन हुन्छ वा पुनः बेवास्ता गरिन्छ भन्ने चासो सर्वसाधारणमा बढेको छ ।

बहुअरी मदरसामा ट्राफिक सुरक्षा र महिला हिंसा न्यूनीकरणबारे सचेतना कार्यक्रम सम्पन्न

0

वीरगंज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण तथा महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम वीरगंज महानगरपालिका–१४ बहुअरीस्थित मदरसा तौहिदुल इस्लाम सलफियामा सम्पन्न भएको छ ।

स्टार युथ क्लबका अध्यक्ष सम्साद अलीको सभापतित्व र पर्सा ट्राफिक प्रहरी प्रमुख युवराज कटवालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साकाे महिला सेलकी प्रहरी निरीक्षक सोनि नेमाफुकी लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमको संयोजन युवा अभियन्ता दिलिपराज कार्कीले गरेका थिए ।

कार्यक्रममा करिब १५० जना छात्र–छात्राको सहभागिता रहेको थियो । सहभागीहरूलाई सडक सुरक्षा सम्बन्धी विभिन्न विषय—सडक नियमको पालना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने (मापसे) को जोखिम, ट्राफिक संकेत चिन्ह तथा सडक लेनको प्रयोगबारे जानकारी दिइएको थियो ।

त्यसैगरी ‘बाल विवाह जीवन तबाह’ भन्ने सन्देशसहित बालविवाहको कानुनी अवस्था, यसबाट हुने नकारात्मक प्रभाव तथा बालबालिकामाथि हुने घरेलु हिंसा विषयमा पनि सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रम संयोजक दिलिपराज कार्कीले मुख्य सडक आसपासका विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको र आगामी दिनमा अन्य विद्यालयहरूमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले समाजमा बढ्दो बालविवाह र दाइजो प्रथालाई न्यूनीकरण गर्न युवापुस्तालाई सचेत बनाउनु आवश्यक रहेको बताए ।

सभापति सम्साद अलीले आगामी दिनमा टोल–समाजमा लागूऔषध विरुद्ध पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा मदरसाका प्रधानाध्यापक अकबर हवारीसहित स्थानीय समाजसेवी र युवा अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

पर्सामा लोककल्याणकारी विज्ञापन प्रसारणबारे रेडियो–टिभीकाे अनुगमन तीव्र

0

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले लोककल्याणकारी विज्ञापन प्रसारणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको छ । सोही क्रममा आज पोखरिया स्थित रेडियो पोखरियाको स्थलगत अनुगमन गरिएको छ।

रेडियो पोखरियाका प्रबन्ध निर्देशक शम्भु कुमार सुमनका अनुसार विज्ञापन बोर्डमार्फत प्रसारण हुँदै आएका लोककल्याणकारी विज्ञापनहरूको प्रभावकारिता तथा मापदण्ड पालना भए/नभएको विषयमा अनुगमन गरिएको हो ।

जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख नमाेनाथ यादवको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि शाखा अधिकृत विनय गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा सञ्चार माध्यमहरूले लोककल्याणकारी विज्ञापन प्रसारण गर्दा अपनाउनुपर्ने मापदण्ड, समय तालिका तथा सामग्रीको गुणस्तरबारे समेत जानकारी लिइएको थियो । साथै, सम्बन्धित निकायले तोकेको निर्देशिका पालना गर्न सञ्चार माध्यमलाई सुझावसमेत दिइएको अनुगमन टोलीले जनाएको छ ।

प्रमुख यादवका अनुसार पर्सा जिल्लाभित्र सञ्चालनमा रहेका अन्य रेडियो तथा टेलिभिजन संस्थाहरूको पनि क्रमशः स्थलगत अनुगमन जारी रहेको छ । उनले लोककल्याणकारी सन्देश प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउने उद्देश्यले यस्तो अनुगमन गरिएकाे बताए ।

वीरगंजको बीपी उद्यानलाई महानगरले हरियाली पार्क बनाउँदै

0

वीरगंज । वीरगंज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकतामा राख्दै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ।

लामो समयदेखि अव्यवस्थित र अतिक्रमणको चपेटामा परेको उक्त क्षेत्रलाई स्वच्छ, खुला र आकर्षक सार्वजनिक स्थलका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित अहिले माटो पुर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने काम भइरहेको महानगरपालिकाले जनाएको छ। आगामी चरणमा दुबो रोप्ने, विभिन्न प्रजातिका फूल तथा बिरुवा लगाउने र हरियाली व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना अघि सारिएको छ।

महानगरका मेयर राजेशमान सिंहले यो परियोजना केवल पार्क निर्माणमा सीमित नभई समग्र शहरी जीवनस्तर उकास्ने अभियान भएको बताएका छन्। उनका अनुसार बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गरिनेछ, जसले वीरगञ्जको सौन्दर्य अभिवृद्धि गर्नुका साथै नागरिकलाई स्वच्छ वातावरण र विश्रामका लागि खुला स्थान उपलब्ध गराउनेछ।

पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा हरियाली क्षेत्रको संरचना निर्माण गर्ने योजना बनाएको छ।

यसैगरी, पार्कको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। ऐतिहासिक महत्व झल्काउने उद्देश्यले जनकपुरबाट पुरानो रेल इन्जिन ल्याएर संग्रहालयमा राख्ने तयारी भइरहेको छ।

उद्यान क्षेत्रमा अतिक्रमण गरी व्यापार गर्दै आएका व्यवसायीलाई छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा स्थापना गरिएको कृषि बजारमा स्थानान्तरण गरिएको महानगरपालिकाले जनाएको छ, जसले उद्यान क्षेत्रलाई पूर्ण रूपमा खुला र व्यवस्थित बनाउन सहयोग पुगेको छ।

महानगरपालिकाले यसअघि भन्सार क्षेत्रमा समेत वृक्षारोपण गर्दै शहरको हरियाली विस्तार गर्ने प्रयास गरेको थियो।

बीपी उद्यानको हरियाली पार्क निर्माण सम्पन्न भएपछि वीरगञ्जमा शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

पर्साका विभिन्न पालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन समयसीमा तोके

0

वीरगंज । पर्साका विभिन्न स्थानीय तहहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन कडा चेतावनी दिएका छन् । धोबिनी, जिराभवानी र पकहाँमैनपुर गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमण हटाउन समयसीमा तोकेका हुन् ।

धोबिनी गाउँपालिकाले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार सार्वजनिक, सरकारी, ऐलानी, पर्ती जग्गा, सडक, खोला, नाला, विद्यालय, पोखरी, मठ–मन्दिर, मस्जिद, इदगाह, पार्क तथा खुला क्षेत्रलगायतमा भएको अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउने जनाएको छ । गाउँपालिकाले ३५ दिनभित्र स्वेच्छाले अतिक्रमण हटाउन आग्रह गर्दै अन्यथा कानूनी प्रक्रिया अपनाइने र खर्चसमेत अतिक्रमणकर्ताबाट असुल गरिने जनाएको छ ।

त्यसैगरी, जिराभवानी गाउँपालिकाले पनि सार्वजनिक तथा ऐलानी जग्गामा निर्माण गरिएका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने गाउँपालिकाले एक सूचना मार्फत चेतावनी दिएको छ ।

पकहाँ मैनपुर गाउँपालिकाले पनि मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार कार्ययोजनाअनुसार सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण अभियान अन्तर्गत सूचना जारी गर्दै १५ दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको छ । गाउँपालिकाले समयसीमा नाघेमा आफैं अतिक्रमण हटाइने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाएको छ ।

तीनवटै स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न सर्वसाधारणसँग अपिल समेत गरेका छन् ।

सिम्रौनगढमा ७ किलो गाँजासहित एक जना पक्राउ

0

कलैया । बारा प्रहरीले सिम्रौनगढबाट लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका–६ गोलागंज निवासी करिब ३० वर्षीय विश्वनाथ मलिक डोमलाई गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साेमबार राति करिब ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दा डाेमकाे घरबाट ७ किलो गाँजा बरामद गरेको हो ।

पक्राउ परेका मलिकमाथि बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन् ।

अदालतको आदेश अवज्ञा गर्दै वीरगंजका राजमार्गमा कर असुली, ठेक्दार र प्रशासनमाथि प्रश्न

0

वीरगंज । अदालतको स्पष्ट आदेश विपरित वीरगंजका विभिन्न राजमार्गहरूमा सवारी कर असुली जारी रहेको पाइएको छ । प्रभु कन्स्ट्रक्सनले उच्च अदालतको आदेशलाई बेवास्ता गर्दै कर संकलन गरिरहेको पाइएकाे हो ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले यही वैशाख ११ गते पर्साका राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट कर नउठाउन आदेश दिएको थियो । तर आदेश जारी भएको ११ दिन बितिसक्दा पनि त्यसको कार्यान्वयन हुन नसकेको देखिएको छ ।

न्यायाधीशद्वय अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले यसअघि सर्वोच्च अदालतमा दायर रिट निवेदनको सन्दर्भमा अन्तरिम आदेश जारी गर्दै राजमार्गमा कर उठाउन रोक लगाएको थियो । यद्यपि, महानगरपालिका अन्तर्गतका भित्री सडकमा भने कर उठाउन सकिने व्यवस्था गरिएको थियो ।

तर त्यस विपरीत प्रभु कन्स्ट्रक्सनले त्रिभुवन राजमार्ग, हुलाकी राजमार्गका ड्राइपोर्ट, बहुअरी, परवानीपुर लगायतका स्थानमा सवारी करका नाममा असुली गरिरहेको स्थानीयले बताएका छन् ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अदालतको आदेशअनुसार महानगरपालिकाले ठेक्दारलाई निर्देशन दिनुपर्ने बताए । वीरगंज महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले ठेक्दारलाई निर्देशन दिइसकिएको जनाउँदै आदेश विपरीत कर असुली भइरहेको अवस्थामा प्रहरी प्रशासनले कारबाही गर्नुपर्ने बताए ।

यता स्थानीय बासिन्दाहरूले भने प्रहरी प्रशासनकै मिलेमतोमा ड्राइपोर्ट, जगरनाथपुर, परवानीपुरलगायतका एक दर्जनभन्दा बढी स्थानमा अवैध असुली भइरहेको आरोप लगाएका छन् । स्थानियहरुले सवारी करसँगै कवाडी करका नाममा समेत असुली भइरहेको गुनासो गरे ।

केही दिनअघि वीरगंज–२२ जगरनाथपुर चोकमा कवाडी कर असुलीका लागि बनाइएको संरचना प्रशासनले डोजर प्रयोग गरी हटाएको थियो । गण्डक नहरको जग्गामा निर्माण गरिएको उक्त संरचना हटाइए पनि पुनः त्रिपालको छाप्रो बनाएर असुली सुरु गरिएको छ ।

अमित ठेक्का पट्टाले महानगरसँग भएको सम्झौता विपरीत खाली सवारी साधनबाट समेत कर असुली गरिरहेको छ । तर सम्बन्धित निकाय मौन बसेको भन्दै सर्वसाधारणले प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाउन थालेका छन् ।