Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

निलकण्ठ अस्पतालमा महिलाको मृत्युपछि ४ लाखमा मिलापत्र, उपचार लापरबाहीबारे गम्भीर प्रश्न

पोस्टमार्टम र निष्पक्ष छानबिनबिनै आर्थिक सहमतिमा घटना टुंग्याइएको आरोप, स्वास्थ्य सेवा र प्रहरी भूमिकामाथि प्रश्न

spot_img
spot_img

वीरगंज । वीरगंजका निजी अस्पतालहरूमा उपचारका क्रममा हुने घटनाहरूलाई निष्पक्ष अनुसन्धान नगरी आर्थिक लेनदेनमार्फत मिलाउने प्रवृत्ति बढ्दै छ । पछिल्लो उदाहरणका रूपमा हुलाकी राजमार्गअन्तर्गत रहेको निलकण्ठ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि घटना रकम लेनदेनमै टुंग्याइएको पाइएको छ ।

वीरगंज महानगरपालिका–३१ चोर्नी निवासी कपिलदेव साहकी करिब ४८ वर्षीया श्रीमती प्रमिला देवीलाई पेट दुखेपछि शुक्रबार बिहान करिब ४ बजे उपचारका लागि निलकण्ठ अस्पतालमा भर्ना गरिएको थियो । परिवारका अनुसार अस्पताल ल्याउँदासम्म उनको अवस्था सामान्य थियो र उनी मोटरसाइकलमै अस्पताल पुगेकी थिइन् । अस्पताल परिसरमा समेत उनी आफैं हिँडेर प्रवेश गरेकी थिइन् ।

घटनाको समयमा अस्पतालमा विशेषज्ञ चिकित्सक नभई मेडिकल अफिसर मात्र ड्युटीमा रहेको बताइएको छ। सामान्य जाँचपछि इमर्जेन्सीमा औषधि लेखिएको र औषधि खरिद गरी ल्याएपछि एक नर्सले इन्जेक्सन लगाएकी थिइन्। परिवारजनले ती नर्स दक्ष नभएको तथा केनुला समेत राम्रोसँग लगाउन नसकेको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त दृश्य अस्पतालको सीसीटीभी फुटेजमा समेत देखिएको छ ।

इन्जेक्सन लगाएको केही मिनेटमै प्रमिला देवीको अवस्था अचानक बिग्रिएको, बान्ता भएको र लगत्तै मृत्यु भएको परिवारजनले बताएका छन्। घटनापछि आक्रोशित आफन्तहरूले अस्पतालमा विरोध जनाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको टोली अस्पताल पुगेको थियो।

परिवार स्रोतका अनुसार अस्पताल प्रशासनले उपचारमा लापरबाही भएको स्वीकार गरेको दाबी गरिएको छ। तर घटनाको निष्पक्ष छानबिन, पोस्टमार्टम वा चिकित्सकीय परीक्षण नगरी स्थानीय प्रहरीकै रोहवरमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिमा मिलापत्र गरिएको बताइएको छ ।

यस घटनाले उपचारमा वास्तविक लापरबाही भएको हो वा सामान्य चिकित्सकीय जटिलता थियो भन्ने विषयमा गम्भीर प्रश्न खडा गरेको छ। सरोकारवालाहरूका अनुसार मृत्युको कारण कानुनी र चिकित्सकीय प्रक्रियामार्फत यकिन गरी दोषी पाइए कारबाही हुनुपर्नेमा अनुसन्धान नै नगरी आर्थिक सम्झौतामार्फत घटना टुंग्याइनु कानुन र प्रक्रियाविपरीत हो ।

अर्कोतर्फ, प्रत्येक चिकित्सकीय मृत्यु घटनालाई दबाब र हल्लाका आधारमा आर्थिक लेनदेनमार्फत समाधान गर्ने प्रवृत्ति पनि बढ्दै गएको भन्दै चिकित्सकहरू चिन्तित छन्। यसले स्वास्थ्य संस्थामाथिको जनविश्वास कमजोर बनाउने उनीहरूको भनाइ छ ।

स्रोतका अनुसार मिलापत्रपत्रमा अस्पतालका तर्फबाट डा. सुनिल यादवले हस्ताक्षर गरेका छन् भने मृतक परिवारलाई ४ लाख रुपैयाँ नगद प्रदान गरिसकिएको छ। तर प्रमिला देवीको मृत्युको वास्तविक कारण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले प्रहरी अस्पतालमा शान्ति–सुरक्षा कायम गर्न मात्र जाने गरेको बताए। उनका अनुसार उपचारसम्बन्धी विषय नेपाल मेडिकल काउन्सिलले हेर्ने गर्छ र उजुरी परे आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।

वीरगंजका एक चिकित्सकले पैसा लेनदेन गरेर यस्ता घटना मिलाउनु कानुनविपरीत भएको बताए । उनका अनुसार चिकित्सक संघले यस्ता गतिविधिको सधैं विरोध गर्दै आएको छ। उनले अस्पतालसम्बन्धी विवादमा प्रहरीले नेपाल मेडिकल काउन्सिललाई बेवास्ता गर्दै आफैं मिलापत्र गराउने काममा सक्रिय हुने गरेको आरोप समेत लगाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...