नेपालको दक्षिणी सिमानामा रहेको ठोरी केवल एउटा सानो भूभाग मात्र होइन, यो प्राचीन नाका केन्द्र, धार्मिक स्थल, प्राकृतिक सौन्दर्यता, इतिहास, संस्कृति र राजनीतिक आन्दोलनहरूको महत्वपूर्ण केन्द्र रहँदै आएको छ । रामायणकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म ठोरीको विशेष महत्त्व रहँदै आएको छ । तथापि, पछिल्लो समय ठोरी इतिहासको पानामा मात्र सीमित हुँदै गएको त होइन ? कुनै समय नेपाल–भारत व्यापारको प्रमुख केन्द्र रहेको यो भूभाग आज किन उपेक्षित छ ? वेलायती राजा–महाराजा हिँड्ने बाटो आज किन पछि पर्दैछ ? ठोरीको ऐतिहासिक महत्त्वलाई ओझेलमा पार्ने कारकतत्व के हुन् ? यी सबै प्रश्नको उत्तर खोज्ने प्रयाससहित आजको यो खोजमूलक लेख तयार गरिएको छ ।
इतिहासका पानाहरू पल्टाउँदा ठोरी रामायणकाल, बुद्धकालीन, लिच्छविकाल, शाहाकाल देखि राणाकाल सम्म नेपाल–भारतको व्यापारिक मार्गका रूपमा रहेको पाइन्छ । चिनियाँ यात्री हू ह्वेनसांग तथा भारतका अशोक सम्राट यही मार्ग हुँदै लुम्बिनी पुगेको विवरण भेटिन्छ । मध्यकालसम्म पनि ठोरी व्यापारिक नाका थियो । त्यति मात्र होइन, अंग्रेज शासकहरू तथा राजा महाराजहरुलाई ठोरी शिकार खेल्ने प्रमुख स्थल समेत थियो । राणाहरुले अग्रेजलाई खुशी पार्न ठोरीको जंगलमा शिकार खेलाउने गरिदथ्थो । सन् १९११ मा बेलायती सम्राट जर्ज पञ्च नेपाल भ्रमणका क्रममा ठोरीको नाका हुँदै प्रवेश गरी एघार दिनसम्म शिकार खेलेका थिए ।
यसै भ्रमणपछि नेपाल–अंग्रेजबीच सन् १९२३ मा ऐतिहासिक सन्धि भयो, जसले नेपालको सार्वभौमिकता अन्तर्राष्ट्रिय रूपमा स्थापित गरायो । जव भारतमा रहेको ईस्ट इण्डिया कम्पनी सरकारले नेपालको सीमावर्ती क्षेत्रमा रेल्वे विस्तार गर्ने क्रममा सन् १८८५ मा नेपालगंज, सन् १८९० मा विराटनगर, सन् १८९७ मा जनकपुर र सन् १८९८ मा गहवा नजिकै रक्सौलसम्म रेल विस्तार गर्यो । र रक्सौलमा रेल विस्तार भएको आठ वर्ष पछि सन् १९०६ मा भिखनाठोरीमा रेल्वे संचालन भएको थियो । तर, नेपालका तत्कालीन प्रधानमन्त्री वीरशम्शेरले रक्सौल रेल्वे विस्तारबाटै फाइदा लिने निर्णय गरे र सिद्धवीर माथेमा तथा ध्वजबीर माथेमालाई विशेष दूतका रूपमा गहवा भन्ने ठाउँमा पठाए ।
सर्वप्रथम यी दाजुभाइले प्रधानमन्त्री वीरशम्शेरको नामबाट सानो गहवा गाउँलाई “वीरगंज” नामकरण गरे । व्यापार प्रवर्द्धन गर्न सरकारले निशुल्क जग्गा वितरण, जनताको घर निर्माण समेत सहयोग तथा अन्य प्रोत्साहनका कार्यक्रम ल्याएर जनघनत्व बढाउने प्रयास गर्यो । यसै क्रममा भारतबाट २२ मारवाडी परिवार र १० रौनियार परिवारलाई वीरगंजमा व्यापार गर्न ल्याइयो । ती व्यापारीहरूलाई वीरगंज–काठमाडौं व्यापारमा सहुलियत प्रदान गरियो । साथै, रक्सौल–अमलेखगंज ४७ कि.मी. लामो रेल्वे विस्तार गर्दै वीरगंजलाई वाणिज्य केन्द्रका रूपमा विकास गर्न राज्यको सम्पूर्ण शक्ति प्रयोग गरियो । यही नीतिको कारणले सदियौँदेखि व्यापारिक केन्द्र रहेको ठोरी विस्तारै ओझेलमा पर्दै गयो ।
वीरगंज व्यवस्थित हुँदै जाँदा ठोरीको व्यापारिक गतिविधि घट्ने क्रम निरन्तर जारी रह्यो । राणाहरूले ठोरीलाई प्राथमिकता नदिई वीरगंजलाई वाणिज्य केन्द्रका रूपमा विकास गर्न सबै सरकारी संयन्त्र परिचालन गरे । यसका कारण ठोरी हुँदै आउने व्यापारिक मालसामानको मात्रा क्रमशः घट्दै गयो, जसले ऐतिहासिक व्यापारिक केन्द्र ठोरी उपेक्षित हुन पुग्यो । विशेषगरी, रक्सौलसम्म रेल्वे विस्तार भएपछि ठोरी हुँदै भारत जाने व्यापारिक मार्ग सर्न थाल्यो, जसले ठोरीको व्यापारिक सम्भावनामा ठूलो धक्का पुर्यायो ।
वीरशमशेरका विश्वासपात्र सिद्धवीर माथेमा र ध्वजबीर माथेमाको व्यवस्थापनका कारण वीरगञ्जको व्यापार एकाएक फस्टाउँदै गयो । तर, पछि चन्द्रशम्शेरको पालमा यी दाजुभाइलाई वीरगञ्ज स्थापनामा राज्यकोषको रकम चरण दुरुपयोग गरेको आरोपमा जेल हालियो । रु ३ लाख हर्जाना बुझाउन नसकेर मृत्युदण्डको सजाय सुनाइयो । वीरशम्शेरकी विधवा रानी, जो नेवार समुदायकी थिइन्, नेवार जातिको जीवनरक्षाका लागि भनेर हर्जाना तिर्न सहयोग गरेपछि उनीहरू मृत्युदण्डबाट जोगिए । राणा शासनकालमा ठोरी प्रजातान्त्रिक आन्दोलनका लागि नेपाल प्रवेश गर्ने प्रमुख मार्ग थियो ।
गणेशमान सिंहलाई ठोरीमा पक्राउ गरिएको घटना, नेपाली कांग्रेसको जनमुक्ति सेनाले ठोरी कब्जा गरी राणाहरूको आपूर्ति रोक्ने प्रयास जस्ता घटनाहरूले ठोरीलाई ऐतिहासिक रूपमा महत्त्वपूर्ण बनाएको थियो । तर, प्रजातन्त्र स्थापनापछि पनि ठोरीलाई आवश्यक प्राथमिकता दिइएन । वीरगंजको व्यापारिक वर्चस्व बढ्दै जाँदा ठोरीको राजनीतिक र आर्थिक प्रभाव क्रमशः घट्दै गयो । तथापि, राणाकालको अन्तिम समयमा पनि पश्चिम पहाडी भेगतर्फको प्रमुख नाका ठोरी नै थियो । इतिहासले उपेक्षा गरे पनि ठोरीको प्राकृतिक स्रोतसाधन तथा रामायणकालीन इतिहासले अहिले पुनः चर्चा पाउन थालेका छन् ।
यसको धार्मिक, पुरातात्त्विक र पर्यटकीय महत्त्वलाई प्रवर्द्धन गर्न सकिएमा ठोरी फेरि महत्वपूर्ण धार्मिक, व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा पुनःस्थापित हुने प्रचुर सम्भावना छ । वीरगञ्जको उदय, राणा प्रधानमन्त्री वीरशम्शेरको नीति, भौगोलिक कठिनाइ र यातायात पूर्वाधारको अभावका कारण ठोरी ओझेलमा परेको छ । ठोरीको ऐतिहासिक महत्त्वलाई पुनः स्थापित गर्न पर्यटन प्रवर्द्धन, व्यापारिक पूर्वाधार निर्माण र सरकारी ध्यान अपरिहार्य छ । विगतमा नेपालको प्रमुख व्यापारिक नाका रहेको ठोरी आज एउटा सानो “छोटी भन्सार” समेत बन्द भएको अवस्थामा छ । त्यसैले, ठोरीको पहिचान पुनः स्थापित गर्न स्थानीय सरकार, नागरिक समाज, राजनीतिक दल तथा युवा बौद्धिक वर्गहरू एकजुट भई ठोस पहल गर्न आवश्यक छ ।