वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मा प्रहरीले छापामारी गरि जुवाखालबाट जुवा खेल्ने आधा दर्जन मानिसलाई पक्राउ गरेकाे छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले शनिबार विहान १:३० बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१३ बस्ने सोनालाल कुशवाहाको पक्की घरको छतमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेकाे हाे ।
उक्त स्थानबाट जुवातास खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिकाकाे वडा नं. ४ निवासी ४६ बर्षिय धुरेन्द्र प्रसाद यादव, वीरगंज कै वडा नं. ११ निवासी ४२ बर्षिय बिमल बहादुर क्षेत्री, साेही वडा निवासी ५९ बर्षिय गणेश कुमार थापा, वडा नं.१३ निवासी ३१ बर्षिय राम श्रेष्ठ, वडा नं. १७ निवासी नरेश बहादुर सिंह पौडेल र साेही वडा निवासी ४५ बर्षिय जयराम प्रसादलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका व्यक्तिहरुकाे जुवाखालबाटै नगद रू. १ लाख ४५ हजार ५ सय ४० र ३ वुक तास समेत बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए । निजहरू विरुद्ध जुवा सम्बन्धी कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको उनले वताए ।