वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रशासन आफ्नो नभएसम्म सुशासन सम्भव नरहेको बताएका छन् ।
‘प्रदेशसँग जनताका आशा अपेक्षा, सोझो प्रश्नको प्रष्ट जवाफ खोज्दै’ नारा सहित न्यूज २४ टेलिभिजनले वीरगंजमा आयोजना गरेको ‘सिधा कुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले सुशासनको लागि प्रशासन आफ्नो हुनुपर्ने हो, जुन नभएको कारण सुशासन कायम गर्न समस्या भएको बताए ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै उनले संघ सरकारको कार्यालयमा दिनदहाडै लुटतन्त्र छ, त्यसमा बोल्ने कोही छैन, संघबाट आएको कर्मचारी कमाएर पुनः संघमा जाने भएको कारण भ्रष्टाचार व्याप्त रहेको बताए । संघ सरकारले कर्मचारी एवं प्रहरी प्रशासन समायोजन गरेपछि मधेश प्रदेशमा एक रुपैयाँ भ्रष्टाचार नहुने एवं एउटापनि अपराधका घटनाहरु नहुने वताए ।
उनले संघ सरकारको मातहतमा रहेका कर्मचारीहरुले प्रदेश सरकारलाई नटेरेको कारण सुशासन कायम गर्नेदेखि भ्रष्टाचार नियन्त्रण एवं अपराध न्यूनीकरणमा समस्या भइरहेको उनको भनाई छ । मुख्यमन्त्री यादवले संघीयता चाहिँदैन भन्नेहरुले संघीयता कसैले दानमा नदिएको बुझ्नुपर्ने बताए ।
उनले भने ‘संघीयताको आवश्यकता छैन भनेर केही हुनेवाला छैन । संघीयता कसैले दानमा दिएको होइन, संघीयता हामीले लडेर प्राप्त गरेका छौं, संघीयता देशबाट जान्छ भन्ने कल्पना नगरे हुन्छ ।’ संघीयता ल्याउनका लागि मधेशका हजारौं सपुतहरु सहिद भएका त्यो, त्यो बलिदानीलाई कदर गर्दै संघीयताबाट प्राप्त अधिकारलाई पूणर् रुपमा कार्यान्वयन गराउन प्रदेश सरकार अहिलेपनि संघर्ष गरि रहेको बताए ।
विकास निर्माण सम्बन्धी प्रसंगमा बोल्दै मुख्यमन्त्री यादवले यो भन्दा अगाडिको प्रदेश सरकारको अधुरो योजनाहरुलाई वर्तमान सरकारले चाँडै पुनः सुचारु हुने विश्वास व्यक्त गरे । कुनै ठाउँमा मुद्दा परेर अथवा जनताले अवरोध गरेको कारण शुरु नभएको होला तर त्यस बाहेक अन्य योजनाहरुको काम शुरु पनि भइसकेको बताए ।
पोखरी सौन्दर्यीकरणको नाममा अलपत्र रहेका पोखरीहरुलाई पुनः सौन्दर्यीकरण गर्नको लागि गृहकार्य भइरहेको बताए ।
कार्यक्रममा अर्थविद एवं विश्लेषक विनोद गुप्ताले प्रदेशलाई दिनुपर्ने अधिकार केन्द्र सरकारले नदिएको बताए । कर्मचारीतन्त्रको सहयोग नरहेको भन्दै मुख्यमन्त्रीले आफ्नो स्थानबाट समस्यालाई पहिचान गरि समाधान गर्न चाहे असम्भव नरहेको उनको भनाई छ ।
समय सापेक्ष विकास भएन भने मधेश विकास हुँदैन, नचाहेको अधिकारको लागि लड्नु स्वभाविक हो, तर पाएको अधिकारलाई पनि कार्यान्वयन गर्न प्रदेश सरकारको दायित्व रहेको बताए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले प्रदेश सरकारले औचित्य स्थापना गर्न विल्कुलै काम नगरेको आरोप लगाए । संघ सरकारलाई मात्रै गाली गर्नुभन्दा पनि आफ्नो अधिकारक्षेत्रभित्रको काम पनि प्रदेश सरकारले गर्न नसकेको उनको भनाई छ ।
उनले प्रदेश सरकारले हालसम्म प्रदेशमा सुशासन कायम गर्न नसकेको बताए । प्रदेश सरकारको मातहतमा रहेको योजना विक्री हुने, कर्मचारी सरुवामा घुस लिने जस्ता कामले गर्दा पनि हालसम्म कुनै योजना पुरा हुन नसकेको उनको भनाई छ । यसको साथसाथै मधेश प्रदेशमा राजनीतिक अस्थिरता पनि कायमै रहेको बताए ।
त्यस्तै कार्यक्रममा वातावरण प्रेमी एवं प्रकृत्ति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले चुरे विनाश, खोलाको अवैध उत्खनन्, अव्यवस्थित औद्योगिकरण निर्माण, वन फडानी, तस्करी कायमै रहेको बताए । वातावरण प्रदूषण, ध्वनी प्रदूषणले जनता आक्रान्त बनिसकेको भन्दै अध्यक्ष सिंहले वीरगंजको धार्मिक तथा पवित्र सिर्सिया नदी पनि प्रदूषणमुक्त हुन नसकेको बताए ।
उनले भने ‘प्रकृत्ति र वातावरण नै स्वास्थ्य रहेन भने हामी कसरी स्वस्थ्य हुन्छौं, कहिलेपनि पानीको अभाव नझेलेको वीरगंजले यस पटक पानी अभाव पनि झेलिसक्यो, वातावरण नै रहेन भने हामी, हाम्रो सन्तती कसरी रहन्छ ? हाम्रा सन्ततीहरु हामीसँग जवाफ मागि रहेका छन्’ । यसतर्फ प्रदेश सरकार गम्भिर हुनुपर्ने उनकाे भनाई थियाे ।
कार्यक्रममा डा. दिपेन्द्र चौधरीले युवाहरु विदेश पलायन भएपछि देश कसरी चल्ने ? उद्योग स्थापना गर्नको लागि आईईको सिफारिस लगायत सरकारी कामको लागि घुस दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।
यसैगरि अन्य वक्ताहरुले शिक्षा एवं स्वास्थ्य क्षेत्रमा जडा गाडेको समस्यालाई प्रदेश सरकारले अन्त्य गर्न विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले सामुदायिक विद्यालयका छोरीहरुलाई मात्रै साइकल वितरण गरेर सँस्थागत विद्यालयमा पढ्ने छोरीहरुसँग भेदभाव गरेको भन्दै हाम्रा सन्तती, छोरी एवं युवाहरुको शिक्षा, स्वास्थ्य एवं रोजगारीको लागि विशेष पहल गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस