वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ झलमैयामा डिजे बजाउने विषयमा विवाद हुँदा २ जना घाइते भएका छन् । चर्काे आवाजमा भोजपुरी अस्लिल गीत बजाई नाचगान गर्दै भिडभाड गरेको अवस्थामा विवाद हुँदा सोही ठाउँका अजय साह कानु र ललन साह घाइते भएका हुन् ।
स्थानीय राजेश यादब, सितलाल यादव, जलेन्धर यादब लगायतको समूहले शनिवार राति साढे १० बजे तिर चर्काे आवाजमा डिजे बजाउँदा अजय साह कानु र ललन साहले आवाज कम गर्न आग्रह गर्दा विवाद उत्पन्न भएको थियाे ।
निजहरुले आवाज कम नगर्ने र डिजे बन्द नगर्ने अडान लिएपछि उत्पन्न विवादको क्रममा झडप समेत भएको थियो । झडपमा घाइते भएका कानुको टाउको, खुट्टा तथा छातीमा चोट लागेको छ भने साहको टाउको, आँखा, खुट्टामा चोट लागेको छ ।
प्रतिक्रिया लेख्नुहोस