धनुषा । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ पर्नु भएका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनु भएको छ ।
जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायाधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिनु भएको हो ।
शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएलगतै साधारण तारेखमा छोड्ने आदेश दिएको हो । गएको सोमबार जनकपुर विमानस्थलमा बुद्ध एअरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको थियो ।
बुधबार जिल्ला अदालत धनुषाले उहाँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।
सांसद साहलाई ४ दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिए पनि प्रहरीले भने दुई दिन अगाडि नै घटनाको अनुसन्धान गरिसकेको बताएको छ ।
नागरिक उड्डयन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो ।