वीरगञ्ज । आयस्रोत कम भएका परिवारलाई लक्षित गरी ५७ वर्षअघि स्थापना भएको रात्रीकालीन विद्यालय महानगरपालिकाले बन्द गराउने निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिकामा रहेको एक मात्र रात्री माध्यमिक विद्यालय बन्द गर्ने निर्णयले सयौंको भविष्य अनिश्चित भएको छ ।
महानगरपालिका–८ गहवामा सञ्चालित वीरगञ्ज रात्री माध्यमिक विद्यालयलाई महानगरपालिकाले बन्द गर्ने निर्णय गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चिन्तित भएका छन् । २०१८ सालमा स्थापना भएको माध्यमिक विद्यालयमा दिनमा काम गर्ने गरिब र विपन्न परिवारका युवायुवतीहरू रातिको समयमा पढ्दै आएका छन् । विद्यालय बन्द हुने सुनेपछि आफुहरू तनावमा परेको कक्षा १० मा अध्ययनरत राजीव ठकुरीले वताए । वीरगञ्ज ८ पानीट्यांकी निवासी ई रिक्सा चालक ठकुरीले भने, ‘दिन भरी ई रिक्सा चलाउने र रातीको समयमा पढ्दै आएको थिए, विद्यालय बन्द हुने सुनेपछि अब पढ्न नपाउने चिन्ता भएको छ ।’
यस्तै, दिन भरी वीरगञ्जको माईस्थानमा पोतो गास्ने र रातीको समय विद्यालयमा अध्ययन गर्दै आएका गौतम कुमार पटवाको चिन्ता पनि गहिरिँदो छ । विद्यालय बन्द हुने सुनेपछि एसइई पास हुने रहर अधुरै रहने हो की भन्ने चिन्ताले उनी दैनिक छटपटाइरहेका छन् । विद्यालयमै भेटिएका पटवाले भने, ‘हामीजस्तो गरिब र विपन्न परिवारका छोराछोरी अध्ययनरत विद्यालय बन्द गर्ने निर्णयले दुःख लागेको छ ।’
कक्षा १० मा अध्ययनरत पूजा कुमारी वर्णवालले विद्यालय बन्द हुने सुनेपछि आफूलाई पनि तनाव भएको बताइन् । गरिब परिवारकी वर्णवाल दिनमा घरमा पशुपालन गर्दै जिविकोपार्जन गर्ने गरेकी छिन भने रातीको समयमा पढ्दै आएको बताइन् । आफूलाई पनि एसइई पास गर्ने रहर भएकाले रात्री माध्यमिक विद्यालयमा पढेको भए पनि सपना अधुरै रहने हो की भन्ने शंका उत्पन्न भएको सुनाइन् ।
विद्यालयमा एक ४० बर्षिय कलशा प्रजापति कुमाहल पनि पढदै आएकी छिन् । विद्यालय मै भेटिएकी वीरगञ्ज २४ अठराहा सुगौलीकी कुमाहल बालविकास शिक्षिका पनि हुन् । श्री ने.रा.प्रा.वि. अठराहा सुगौलीकी बालविकास शिक्षिका दिनभरि आफू बालविकासमा पढाउने र रातीको समयमा विद्यालयमा पढदै आएको बताइन् । अस्थायी बालविकास शिक्षिका रहेकी उनले भनिन्, ‘पहिला ८ कक्षा पास भएकोमा वालविकास शिक्षिका भइयो अब कक्षा १० आवश्यक रहेकोले आफू पढ्ने सोच बनाए पनि पढ्न नपाइने हो की चिन्ता भएको छ ।’
कक्षा ८, ९ र १० को अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा हाल ५५ जना विद्यार्थीहरू अध्ययनरत छन । विद्यालय प्रशासनका अनुसार हाल कक्षा १० मा ८ जना महिलासहित २८ जना, कक्षा ९ मा ७ जना महिलासहित २३ जना र कक्षा ८ मा ५ जना अध्ययनरत छन । महानगरपालिकाले २०७६ सालको नयाँ शैक्षिक सत्र वैशाखदेखि नयाँ विद्यार्थीको भर्ना नलिन भनेपछि विद्यार्थी संख्या नबढेको विद्यालयले जनाएको छ ।
गत वर्ष कक्षा ८ मा १० जना महिलासहित २३ जना, कक्षा ९ मा ५ जना महिला सहित ४५ जना र कक्षा १० मा १२ जना महिलासहित ५० जना अध्ययनरत रहेको विद्यालय प्रशासनले उपलब्ध गराएको तथ्यांकले देखाउछ । यस वर्ष महानगरपालिकाले भर्ना नलिन भनेपछि विद्यालयले नयाँ भर्ना लिएको छैन । विद्यालय बन्द हुने हल्ला र कक्षा ८ मा नयाँ भर्ना नभएका कारण विद्यार्थी संख्या न्यून भएको विद्यालयका प्रधानध्यापक पुरूषोत्तम मिश्र बताउँछन । अहिले पनि नयाँ भर्नाका लागि केही युवायुवती आउने गरेका छन् ।
कतिपयले भर्नाको लागि फोन गरेर सोध्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । तर, विद्यालय बन्द हुने की चल्ने अन्योलका कारण आफूहरू नयाँ भर्ना नलिएको शिक्षकहरूको भनाई छ । यस वर्ष मात्र विद्यालयबाट ४४ जना परीक्षार्थीहरू एसइई परीक्षामा सहभागि भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा १५ वर्षदेखि ४५ वर्षसम्मको युवायुवती पढ्दै आएका छन् । गरिब र विपन्न परिवारका तथा पढ्नुपर्ने समयमा नपढेका र पछि पढ्नु पर्छ भने महसुस भएका आउने गरेका छन् ।
अशिक्षाको अध्यारोबाट शिक्षाको उज्यालोतर्फ लैजाने रात्रिकालीन विद्यालय बन्द गराउने जनप्रतिनिधिको निर्णयलाई स्थानीयले मन पराएका छैनन् । विद्यालयको स्थलगत अनुगमनविनै विद्यालय बन्द गर्ने महानगरको निर्णय गलत भएको विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बताउँछन् । यस विषयमा मेयर विजय सरावगीसँग भेट्न गए पनि आफूहरूको कुरा नसुनेको विद्यालयमा अध्ययनरत कलशा प्रजापति बताइन् ।
पाँचवटा कोठा भएको आफ्नै पक्की भवनमा रात्री माध्यमिक विद्यालय सञ्चालन हुँदै आएको छ । जुन विद्यालयमा हाल एक शिक्षिका र प्रअसहित ४ जना शिक्षक रहेका छन् । दुई जना मा.वि. तहका स्थायी र दुई जना नि.मा.वि. तहका राहत शिक्षक रहेका छन् ।
सात वटा कोठामा संचालन रहेको विद्यालयमा न्यून विद्यार्थी संख्या रहेको भन्दै महानगरपालिले त्यो विद्यालयलाई अरू विद्यालयसग मर्ज गरिसकेको छ । सो भवन निजी पब्लिक केनाइट कलेज सञ्चालनको लागि दिएको छ । मेयर सरावर्गीले आफू निकटका व्यक्तिलाई कलेज संचालन गर्न दिनको लागि विद्यालय बन्द गराएको आरोपसमेत लाग्दै आएको छ ।
तर, विद्यालयमा विद्यार्थी संख्या अति न्यून भएका कारण विद्यालय बन्द गरिएको मेयर सरावर्गीको भनाइ छ । रात्री माध्यमिक विद्यालयमा पनि विद्यार्थीको संख्या अति नै न्यून भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए । २ महिना पहिला नै बन्द गरिएको विद्यालयमा हाल रहेको विद्यार्थी संख्या नक्कली भएको उनको भनाइ छ । बन्द गरिएको विद्यालयमा के गर्ने भने योजना नबनेको बताउँदै मेयर सरावर्गीले बोर्ड बैठकबाट निर्णय गरिने बताए ।