Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 98

१० महिनामा वीरगंज भन्सारद्वारा एक खर्ब ९९ अर्ब राजस्व संकलन

0

वीरगंज । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

भन्सार विभागले कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि हालसम्म लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व उठेको हो ।

कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड र असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो । यस्तै कात्तिकमा १७ अर्ब ३३ करोड, मंसिरमा २० अर्ब ८० करोड तथा पुसमा २० अर्ब २० करोड रुपैयाँ राजस्व उठेको जनाएको छ ।

त्यसैगरी माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

उदयसिंह विष्टले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन भइरहेकाले अवस्था सन्तोषजनक रहेको बताए ।

भन्सार विभागले कार्यालयलाई चालु आवभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । आर्थिक वर्षको अझै दुई महिना बाँकी रहेकाले थप राजस्व संकलन हुने अपेक्षा कार्यालयले गरेको छ ।

पत्रकारको आन्दोलनमा निजी क्षेत्रको पूर्ण समर्थन : अध्यक्ष गाैतम

0

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्षका अध्यक्ष हरि गौतमले सरकारको वर्तमान विज्ञापन नीतिका कारण निजी सञ्चारमाध्यम र पत्रकारहरू समस्यामा परेको बताएका छन् ।

क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै केन्द्रित गर्ने नीतिले निजी मिडियालाई प्रत्यक्ष असर पुगेको बताए ।

उनले निजी मिडिया र पत्रकारहरूको आन्दोलन जायज रहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको पनि पूर्ण समर्थन रहेको बताए । “निजी मिडियालाई सरकारी विज्ञापनबाट वञ्चित गर्न पाइँदैन,” उनले भने, “सरकारको नीतिका कारण निजी सञ्चारमाध्यम आर्थिक संकटमा परेका छन् ।”

अध्यक्ष गौतमले सरकारलाई निजी मिडिया मन नपरेकाले पनि यस्तो नीति ल्याइएको आरोप लगाए । उनले वर्तमान विज्ञापन नीतिका कारण पत्रकारहरूलाई सञ्चारमाध्यम सञ्चालन र घरपरिवार चलाउन समेत कठिनाइ भएको बताए । आवश्यकता अनुसार निजी क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

उनले मुलुकको समग्र आर्थिक अवस्था पनि कमजोर बन्दै गएको उल्लेख गर्दै उद्योगी व्यवसायी पलायन हुने जोखिम बढेको बताए । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण बनाउन नसकेको भन्दै उनले व्यवसायीहरूमा निराशा बढ्दै गएको धारणा राखे ।

आन्तरिक आम्दानी कमजोर हुँदा राज्य सञ्चालनमै समस्या देखिएको उल्लेख गर्दै उनले अहिलेको राजस्वले कर्मचारीको तलबसमेत धान्न कठिन अवस्था रहेको बताए । निजी क्षेत्र स्वयं समस्यामा परेको भन्दै उनले पत्रकारहरूलाई यस्ता विषय समाचारमार्फत उजागर गर्न आग्रह गरे ।

पत्रकारिता बिना लोकतन्त्र र शान्ति सम्भव छैन : न्यायाधीश डाँगी

0

वीरगंज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगी ले मिडिया र पत्रकारबिना मुलुकमा शान्ति स्थापना सम्भव नरहेको बताएका छन् ।

क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकको विकास, सुशासन र शुद्धीकरणका लागि स्वतन्त्र मिडिया तथा जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए ।

उनले देशमा जब–जब संकट र परिवर्तनको अवस्था आएको छ, त्यतिबेला नागरिकको पक्षबाट पत्रकारहरू अग्रपंक्तिमा उभिएको उल्लेख गरे । मुलुकको परिवर्तनमा पत्रकार र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले अहिलेका चुनौती र आगामी अवसरलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

न्यायाधीश डाँगीले संविधानले मौलिक हकको व्यवस्था गरेसँगै पत्रकारलाई खबरदारी गर्ने अधिकारसमेत सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको सही प्रयोग गर्न आग्रह गरे ।

उनले समयसँगै सञ्चारमाध्यमको स्वरूप परिवर्तन हुँदै गएको बताउँदै सामाजिक सञ्जालमा आएका सबै कुरा समाचार नहुने भएकाले सत्य र तथ्य छुट्याउने क्षमता आजको आवश्यकता भएको बताए ।

कानुनको पालना गर्दै सञ्चारमाध्यम सञ्चालन गर्न पत्रकारहरूलाई सुझाव दिँदै उनले समयअनुसार आफूलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने बताए ।

राज्य, जनता र सरकारलाई सचेत बनाउने ‘चौथो अंग’को सम्मान गर्न नसके देश अगाडि बढ्न कठिन हुने उनको भनाइ थियो । केही सञ्चारमाध्यमप्रति जनविश्वास कमजोर बनेको उल्लेख गर्दै उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत सञ्चार क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

नागरिकले अपेक्षा गरेअनुसार शब्दको मर्यादा र पत्रकारिताको मूल्य–मान्यता कायम राख्दै अघि बढ्न उनले पत्रकारहरूलाई आग्रह गरे ।

क्रियाशील युवा पत्रकार मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा आनन्द पटेल

0

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । वीरगंजस्थित होटल मकालुमा सम्पन्न साधारण सभाले आनन्द पटेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र साह, महासचिवमा राकेश कुमार साह, सचिवमा ओमप्रकाश कुमार सराफ तथा कोषाध्यक्षमा उपेन्द्र कुमार बरै चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुनिल कुमार ओझा, आरोहण साह, कनहिया बर्नवाल, मुकेश कुमार यादव, आदित्य शर्मा, दिपेश कुमार ठाकुर, उपेन्द्र कुमार पटेल, दिनेश प्रसाद कुशवाहा, अर्जुन कुमार दास तथा अरुण कुमार साह चयन भएका छन् ।

साधारण सभाकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगीले गरेका थिए । उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै न्यायाधीश डाँगीले सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै सत्य, विश्वासिलो तथा खोजमूलक समाचार तयार गर्न पत्रकारहरूलाई सुझाव दिए ।

उनले क्रियाशील युवा पत्रकार मञ्च नेपालले विगतमा गरेका गतिविधिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हितमा कलम चलाउन शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले राज्यले पत्रकारहरूमाथि आर्थिक नाकाबन्दी गर्दै मिडियाको शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे । उनले पत्रकारले सबैका लागि बोल्ने र लेख्ने गरे पनि पत्रकार समस्यामा पर्दा ठूला उद्यमी, व्यवसायी तथा संघसंस्थाबाट अपेक्षित सहयोग नपाएको दुखेसो व्यक्त गरे । साथै पत्रकारिता विश्वासिलो र आम जनताको रुचिको विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पत्रकार मञ्चका अध्यक्ष प्रणय साहकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शक्य, ज्ञानदा माद्यमिक विद्यालयका सञ्चालक राजेन्द्र कोइराला, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गाैतम, पूर्व अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिटाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, नेपाल भारत सहयाेग मञ्चका अध्यक्ष अशोक वैद्य,  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार नै सम्पन्न भएको छ । मंचका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।

बैठकले पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गर्ने, आगामी दिनमा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने तथा वीरगंजमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै जेठ महिनाभित्र रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

वीरगंज भन्सार पछाडि खसी–बोकाको तस्करी, सशस्त्र प्रहरीमाथि मिलेमतोको आरोप

0
वीरगंज । वीरगंज भन्सार कार्यालय पछाडिको ईनर्वा गाउँ नाका हुँदै सिमावर्ती भारतीय शहर रक्सौलबाट खसी–बोकाको निर्वाध तस्करी भइरहेको पाइएकाे छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगंज भन्सारबाट डियुटीमा खटिएका  सुरक्षाकर्मीहरुको मिलेमतोमा तस्करी भइरहेको पाइएकाे हाे ।
स्थानीयका अनुसार पछिल्लो समय दिनदहाडै तस्कर समूहले बालबालिकालाई प्रयोग गरेर खसी–बोका नेपाल भित्र्याउने काम गरिरहेका छन् । भारततर्फ खसी–बोका नेपालभन्दा सस्तो मूल्यमा पाइने भएकाले तस्कर समूहले त्यसैको फाइदा उठाउँदै अवैध कारोबार गरिरहेको उनीहरुको भनाइ छ।
स्थानीयवासीले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको अगाडिबाटै तस्करी भइरहे पनि कुनै रोकथाम नभएको गुनासो गरेका छन् । तस्कर समूहले मासिक रुपमा रकम बुझाउने सहमतिमै अवैध ओसारपसार भइरहेको आरोप समेत उनीहरुले लगाएका छन्।
उनीहरुका अनुसार सीमाबाट सामान्य सर्वसाधारणले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा समेत कडाइ हुने गरेको छ । तर तस्कर समूह भने खुला रुपमा खसी–बोका भित्र्याइरहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
यस विषयमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माेहन निराैलासँग बुझ्दा हाम्राे जानकारीमा यस्तो घटना नभएकाे प्रतिक्रिया दिएका छन् । उनले प्राप्त सूचनाका आधारमा अनुसन्धान गरिने र संलग्नता पुष्टि भए दोषीमाथि कारबाही गरिने बताए ।

वीरगंजको मुख्य सडक आवश्यकता अनुसार फराकिलो बनाऔँ : पूर्वमन्त्री प्रदीप यादव

0

वीरगंज । पूर्वमन्त्री तथा पर्सा क्षेत्र नं. १ का निर्वतमान प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगंजको मुख्य सडक आवश्यकता र औचित्यका आधारमा मात्रै फराकिलो बनाइनुपर्ने बताएका छन् ।

शुक्रबार वीरगंजमा पत्रकारहरूसँग कुरा गर्दै उनले अदालतको निर्णय कार्यान्वयन गर्ने क्रममा सरकारले हुकुमी शैली अपनाएर घर तथा पसलहरू खाली गराएको टिप्पणी गरे । यसरी एक्कासी संरचना खाली गराउँदा स्थानीय व्यवसायी तथा जग्गाधनीहरूले लाखौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको उनले बताए ।

“अदालतको निर्णय भएकाले त्यसमा प्रत्यक्ष टिप्पणी गर्ने आधार नभए पनि कार्यान्वयन प्रक्रिया व्यावहारिक र मानवीय हुनुपर्छ,” उनले भने ।

यादवले सम्बन्धित मन्त्री स्वयंले स्थलगत अनुगमन गरी कति मिटर सडक विस्तार उपयुक्त हुन्छ भन्ने विषयमा पुनः मूल्याङ्कन गर्नुपर्ने र आवश्यक परे वैकल्पिक उपाय खोज्नुपर्ने सुझाव दिए ।

विकासका विषयमा सबैको सहमति भए पनि जनप्रतिनिधिहरूको मौनता देख्दा आफू दुःखी भएको उनले उल्लेख गरे ।

तराई–सीमा क्षेत्रमा लाग्ने भन्सार शुल्कसम्बन्धी विवादबारे बोल्दै उनले हालको कानुन समयअनुकूल नभइसकेको भन्दै परिमार्जन आवश्यक रहेको बताए । नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै उनले “रोटी–बेटीको सम्बन्ध” लाई कुनै पनि सरकारले कमजोर बनाउन नसक्ने स्पष्ट पारे ।

यसै क्रममा वीरगंजस्थित हरिखेतान कलेजमा भएको घटनालाई उनले दुःखद भएको बताए । दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै उनले विद्यार्थी भर्नाका क्रममा सामुदायिक कलेजमा विवाद सिर्जना गरी निजी कलेजलाई फाइदा पुर्‍याउने प्रयास भएको हुन सक्ने आशंका व्यक्त गरे ।

उक्त घटनाको योजनाकारसम्म पुगेर छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई गम्भीर बन्न आग्रह गरे ।

मधेश प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहेको विषयमा उनले “अन्तिम किस्ता उठान सरकार परिवर्तनको खेल” भएको टिप्पणी समेत गरे ।

वीरगंजका होटलमा अनुगमन, तीन व्यवसायीलाई जरिवाना

0

वीरगंज । जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले मूल्य पारदर्शिता सप्ताह अन्तर्गत शुक्रबार वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनहरूमा आकस्मिक अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत कार्य गरेको पाइएपछि तीन व्यवसायीलाई कुल ७५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार वीरगंज महानगरपालिका वडा नं. ११ मा सञ्चालित तराई हस्पिटलका क्यान्टिनका सञ्चालक दिपक शाहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम कार्य नगरेको तथा दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी वडा नं. १३ मा सञ्चालित होटल शेखर थापाकी सञ्चालक ज्योति मगरलाई ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) अनुसार कसुर गरेको पाइएकाले दफा ३९ (१) (क) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।

यस्तै, वडा नं. १३ मै रहेको चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि सोही ऐन अन्तर्गत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीले वडा नं. १३ मा व्यवसाय सञ्चालन गर्दै आएकी अनु देवीलाई भने व्यवसाय सुधार गर्न सामान्य निर्देशन दिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपभोक्ताको अधिकार संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाले पाए सफाई

0

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको सडक मर्मत तथा कालोपत्रे ठेक्का प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफासहित तीन जनाले विशेष अदालतबाट सफाई पाएका छन् ।

विशेष अदालतका इजलास नं. १ का अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सदस्य न्यायाधीश विदुर कोइरालाको संयुक्त इजलासले उपसचिव महमद शेरे मुस्तुफासहित बहुदरमाई नगरपालिकाका तत्कालीन सहलेखापाल उपेन्द्र कुमार साह र जनप्रतिबिम्ब दैनिकका प्रकाशक/सम्पादक संजय कुमार साहलाई सफाई दिएको हो ।

बहुदरमाई नगरपालिका–बहुअरी पिडरीले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत तथा कालोपत्रे गर्ने ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका व्यक्तिहरूले मिलेमतोमा कमिशनको आधारमा ठेक्का प्रक्रिया प्रभावित पार्दै आफू निकट व्यक्तिलाई बोलपत्रमार्फत ठेक्का दिएको तथा बजेट दुरुपयोग हुने गरी योजना सञ्चालन गरेको दाबी गर्दै २०८२ पुस ९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

तर, आरोपपत्र दायर भएको करिब पाँच महिनापछि विशेष अदालतले आरोपअनुसारको कसुर प्रमाणित हुन नसकेको ठहर गर्दै तीनै जनालाई सफाई दिएको हो ।

संविधान संशोधन बहशपत्र छलफलमा पर्साका तीन युवा आमन्त्रित

0

वीरगंज । सरकारले संविधान संशोधनका लागि गठन गरेको “संविधान संशोधन बहशपत्र तयार कार्यदल” ले छलफलका लागि थप २० जना जेनजी (Gen Z) युवाहरुलाई आमन्त्रण गरेको छ । उक्त सूचीमा पर्साबाट तीन जना युवा परेका छन् ।

गत वैशाख ३० गते प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले थप २० जना जेनजी युवाहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अर्जुन साह छनोटमा परेका हुन् ।

कार्यदलका सदस्य सचिव लिलाधर सुबेदीका अनुसार उनीहरुलाई आज (शुक्रबार) साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलका लागि बोलाइएको छ ।

संविधान संशोधनका लागि तयार पारिने बहशपत्रमा युवाहरुको धारणा, सुझाव तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जेनजी युवाहरुलाई छलफलमा आमन्त्रण गरिएको सुबेदीले जानकारी दिए ।

सरकारले संविधान संशोधन सम्बन्धी बहसलाई व्यापक बनाउन विभिन्न क्षेत्रका युवा, विज्ञ तथा सरोकारवालासँग चरणबद्ध रुपमा छलफल गरिरहेको बताइएको छ ।

हरिखेतान क्याम्पस विवाद उग्र बन्दा पठन–पाठन ठप्प, सरोकारवाला मौन

0

वीरगंज । वीरगंजस्थित हरि खेतान बहुमुखी क्याम्पस मा बिहीबार भएको दुर्व्यवहार र कुटाकुटको घटनापछि क्याम्पसको शैक्षिक वातावरण प्रभावित बनेको छ । घटनापछि क्याम्पस प्रशासनले शुक्रबार एक दिनका लागि सम्पूर्ण तहको पठन–पाठन स्थगित गरेको जनाएको छ ।

क्याम्पस प्रशासन शाखाले बिहीबार साँझ सूचना जारी गर्दै “विशेष कारणवश” पठन–पाठन बन्द गरिएको उल्लेख गरे पनि त्यसको मुख्य कारण बिहीबार क्याम्पस परिसरमै भएको विवाद र तनावपूर्ण अवस्था रहेको बताइएको छ ।

लामो समयदेखि आन्तरिक विवाद चल्दै आएको क्याम्पसमा बिहीबार शिक्षक तथा पदाधिकारीबीचको विवाद दुर्व्यवहार र हातहालाहालको अवस्थासम्म पुगेको थियो । क्याम्पस परिसरमै शिक्षकहरूबीच लछारपछार भएको तथा क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दलिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको व्यापक आलोचना भइरहेको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सा ले अनुसन्धान अघि बढाएको छ । क्याम्पस प्रमुखमाथि दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिए ।

शिक्षण संस्थाभित्र शिक्षकहरूबीच नै भएको लज्जास्पद घटनाले शैक्षिक क्षेत्रप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ । सामुदायिक क्याम्पसका रूपमा स्थापित संस्थामा सीमित व्यक्तिहरूको प्रभाव बढ्दै गएको तथा निजी स्वार्थ हाबी भएको आरोप लाग्दै आए पनि सम्बन्धित निकाय र जनप्रतिनिधिहरू मौन रहेको भन्दै आलोचना भइरहेको छ ।

घटनापछि क्याम्पसको शैक्षिक, प्रशासनिक तथा सामाजिक विश्वसनीयतामाथि समेत प्रश्न उठ्न थालेको छ ।