Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 97

दुर्गा प्रसाईं वीरगंजमा, मंगलबार गहवामाई दर्शन गर्ने

0

वीरगंज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं साेमबार वीरगंज आइपुगेका छन् । उनको आगमनसँगै वीरगंज तथा आसपासका क्षेत्रमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रसाईं वीरगंज आउने क्रममा सिमरा विमानस्थलमा उनका समर्थकहरूले भव्य स्वागत गरेका थिए । विमानस्थल परिसरमा समर्थकहरूले फूलमाला, नाराबाजी तथा स्वागत कार्यक्रममार्फत प्रसाईंप्रति समर्थन व्यक्त गरेका थिए ।

वीरगंज प्रवेशपछि विभिन्न स्थानमा उनका समर्थकहरूको चहलपहल बढेको देखिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायले वीरगंजका मुख्य क्षेत्रहरूमा निगरानी बढाएको स्रोतहरूले बताएका छन् ।

प्रसाईं निकट स्रोतका अनुसार उनले साेमबार वीरगंजवासीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय गरेका छन् । साथै साेमबार राति उनी सिद्धार्थ डियालो होटलमा बसेका छन् ।

त्यसैगरी मंगलबार बिहान १२:३० बजे वीरगंजको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरमा पूजा–पाठ गर्ने कार्यक्रम रहेको बताइएको छ । उनी बसेको होटलबाट समर्थकहरूसँग पैदल यात्रा गर्दै मन्दिर दर्शनका लागि जाने कार्यक्रम तय गरिएको छ ।

पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय रहँदै आएका प्रसाईंको वीरगंज भ्रमणलाई उनका समर्थकहरूले विशेष महत्वका साथ हेरेका छन् । यद्यपि, उनको भ्रमणको औपचारिक उद्देश्यबारे विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

पर्सामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ ८ देखि, १४ पालिकाका खेलाडी सहभागी हुने

0

वीरगंज । पर्सा जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ ८, ९ र १० गतेसम्म वीरगंजस्थित नारायणी रंगशालामा सञ्चालन हुने समितिले जनाएको छ ।

विद्यालय तहका खेलाडीहरूको सहभागितामा आयोजना हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दोलगायत विभिन्न खेल समावेश गरिएका छन् । प्रतियोगितामा जिल्लाका १४ वटै स्थानीय तहबाट खेलाडीहरूको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न पालिका प्रतिनिधि तथा खेलप्रेमीहरूलाई उत्साहजनक सहभागिताका लागि समितिले अनुरोध गरेको छ ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो । बैठकमा पर्सा जिल्ला खेलकुद विकास समितिका प्रमुख महम्द नाजिर हुसेन, पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, श्रीजंग गण वीरगंजका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की तथा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवलगायतको सहभागिता रहेको थियो ।

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रामाथि आक्रमण

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रमाथि आइतबार राति आक्रमण भएको छ ।

क्षेत्र अन्तर्गतको छिपहरमाई गाउँपालिकाको वडा नं. २ टिहुकीमा आयोजित वडा अधिवेशनमा सहभागी भएर वीरगंज फर्कने क्रममा कालिकामाई गाउँपालिका वडा नं. १ स्थित मुडली पुल नजिक अज्ञात समूहले उनीमाथि आक्रमण गरेको हो । घटना आइतबार राति करिब ८ बजे भएको बताइएको छ ।

सभापति मिश्रले पार्टीको काम सकेर वीरगंज फर्कने क्रममा आफूलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको बताएका छन् । आक्रमणका क्रममा उनी सवार बिइबी ५७८१ नम्बरको गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । अज्ञात समुहकाे आक्रमणबाट गाडीको अगाडिको सिसा फुटेको भए पनि मिश्र सकुशल रहेका छन् ।

उक्त गाडीमा रास्वपा पर्साका सहसचिव तथा संगठन विभाग प्रमुख कृष्णा पासवान पनि सवार रहेका थिए । प्रहरीका अनुसार उनी पनि सुरक्षित रहेका छन् ।

घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदिप पौडेलले घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको बताए । उनका अनुसार घटनामा संलग्नहरुको पहिचान भए पनि फरार रहेकाले पक्राउ गर्न नसकिएको हो ।

रास्वपाको केन्द्रीय तालिका अनुसार हाल जिल्लाभर वडा अधिवेशन चलिरहेको छ । प्रारम्भिक रूपमा घटना पार्टीभित्रकै असन्तुष्ट पक्षसँग जोडिएको आशंका गरिएको छ ।

नेशनल एकेडेमीद्वारा कक्षा १२ र बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाई

0

वीरगंज । नेशनल एकेडेमीले कक्षा १२ तथा बिबिएस चौथो वर्षका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । गण्डकस्थित क्लार्क रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाइ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लब अफ वीरगंज ३२५ एस का पूर्व डिस्ट्रिक्ट गभर्नर देवकीनन्दन (डीएन) अग्रवालले केवल शैक्षिक प्रमाणपत्रले मात्र व्यक्तित्व विकास नहुने धारणा राखे । उनले विद्यार्थीहरूले समाजसेवा, नेतृत्व र व्यावहारिक कार्यमा सक्रिय सहभागिता जनाए मात्र समाज र देश निर्माणमा वास्तविक योगदान पुग्ने बताए ।

यस्तै, कलेजका प्राध्यापक इन्दुशेखर मिश्रले परीक्षाको अंकले मात्रै विद्यार्थीको वास्तविक मूल्यांकन हुन नसक्ने उल्लेख गर्दै अनुशासन, लगनशीलता र जिम्मेवारीबोधलाई जीवनको वास्तविक परीक्षा भएको बताए ।

कलेजका अध्यक्ष छोटेलाल प्रसादले शिक्षा क्षेत्रलाई व्यापार नभई सेवाको माध्यमका रूपमा अगाडि बढाएको स्पष्ट पारे । उनले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनलाई कलेजको मुख्य प्राथमिकता रहेको बताउँदै शिक्षकको दक्षता अभिवृद्धि तथा शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

कलेज सञ्चालक समितिका सदस्य बलराम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कलेज प्रमुख केदार साह, पत्रकार नीरज पिठाकोटे मगर, प्रणय साह, शिक्षकद्वय राहुल केवट र श्याम साह लगायतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गर्दै आफ्ना कलेज जीवनका सम्झनालाई अविस्मरणीय बनाएका थिए ।

लिटिल बड्डी प्रिस्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

0

वीरगंज । लिटिल बड्डी प्रिस्कुलमा आइतबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बालबालिका तथा शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको विद्यालयले जनाएको छ ।

वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १४० जना विद्यार्थी, उनीहरूका परिवारका सदस्य तथा १५ जना शिक्षक–कर्मचारीको आँखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए ।

शिविरमा प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाईं, पत्रकार जगत राई तथा दिपु कुमार वर्णवालको उपस्थिति रहेको थियो ।

विद्यालयले नियमित स्वास्थ्य परीक्षणले विद्यार्थीहरूको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

शिविरमा नेत्रचिकित्सक महेश सिंह धामी, प्रभात चौरसिया तथा नेत्र सहायकहरू मनोज पटेल र सृष्टि चौधरीको टाेलीले आँखाकाे जाँच गरेकाे थियो ।

कालिकामाईका चार वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न, एक वडामा स्थगित

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको कालिकामाई गाउँपालिकाका चार वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ भने एक वडाको अधिवेशन स्थगित भएको छ ।

पार्टीको केन्द्रीय कार्यतालिकाअनुसार शनिबार कालिकामाई गाउँपालिकाका वडा नं. १, २, ४ र ५ मा वडा अधिवेशन सम्पन्न भएको तथा वडा नं. ३ को अधिवेशन विवादका कारण स्थगित भएको रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राले जानकारी दिए ।

उनका अनुसार सम्पन्न अधिवेशनबाट वडा नं. १ मा लालबाबु राउत बरई, वडा नं. २ मा मनमोहन प्रसाद चौरसिया, वडा नं. ४ मा विकास कुशवाहा र वडा नं. ५ मा धनिलाल राउत कुर्मीको सभापतित्वमा वडाकाे तदर्थ समितिहरू सर्वसम्मत रूपमा गठन गरिएको छ ।

रास्वपाले स्थानीय तहसम्म संगठन विस्तार तथा पार्टी गतिविधिलाई सशक्त बनाउन वडा अधिवेशनलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको जनाएको छ ।

पर्सामा खैरो हिरोइनसहित दुई युवक पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ९ः४० बजे वीरगंज महानगरपालिका–३१ कटगेनवा सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त टोलीले ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेर जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले लगाएको पाइन्टभित्र लुकाइछिपाइ राखिएको प्लाष्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ता रहेका छन् ।

उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई आईएसओ मान्यता

0

वीरगंज । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय प्रमाणीकरणअन्तर्गत आईएसओ गुणस्तर व्यवस्थापन प्रणालीको मान्यता प्राप्त गरेको छ ।

अस्पताललाई रोयल ईम्प्याक्ट सर्टिफिकेशन लिमिटेडका निर्देशक रोशन श्रेष्ठबाट उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । अस्पताल स्थापना भएको लामो समयपछि मधेश प्रदेशको एक मात्र शिक्षण अस्पताल आईएसओ गुणस्तर व्यवस्थापन प्रणालीबाट सर्टिफाइड भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक शाहवनाज अंसारीले आईएसओ प्रमाणपत्र प्राप्तिसँगै अस्पताल अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा स्थापित भएको बताए । उनले अस्पतालको सम्पूर्ण टोलीको लामो समयको मेहनत र व्यवस्थापन सुधारका कारण यो उपलब्धि हासिल भएको उल्लेख गरे ।

उनका अनुसार अस्पतालले गुणस्तर सुनिश्चितता, व्यवस्थापन प्रणाली सुधार तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउन विशेष काम गर्दै आएको छ । नेपालमा बिरामी उपचारको स्तर, उपचार पद्धति, गुणस्तर नियन्त्रण तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन अस्पतालले निरन्तर काम गरिरहेको उनले बताए ।

अस्पतालले स्वास्थ्य विभागबाट प्राप्त निर्देशनअनुसार औषधि उपचार, विभिन्न निकाय तथा संस्थाबाट प्राप्त मापदण्डको पालना, बिरामी परीक्षण तथा निजी प्रयोगशालाको गुणस्तर परीक्षणसमेत गर्दै आएको जनाएको छ ।

त्यसैगरी, अस्पतालले नियामक निकायका लेखापरीक्षण, स्वदेशी तथा आयातित औषधिको गुणस्तर परीक्षण र विश्लेषण, विश्लेषण विधिको प्रमाणीकरण तथा कुशल प्रयोगशाला अभ्याससम्बन्धी निरीक्षण र लेखापरीक्षणको काम पनि गर्दै आएको अस्पतालले जनाएको छ ।

क्रियाशील युवा पत्रकार मञ्चद्वारा स्व. नरेश सर्राफलाई सम्मान

0

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नाे दोस्रो साधारण सभाको अवसरमा संस्थाका संस्थापक सदस्य स्वर्गीय नरेश सर्राफलाई मरणोपरान्त सम्मान गरेको छ । शनिबार वीरगंजस्थित होटल मकालुमा आयोजित कार्यक्रममा स्व. सर्राफको पत्रकारिता तथा संस्थाप्रतिको योगदानको कदर गर्दै नगदसहित सम्मान प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष प्रणय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व. सर्राफकी छोरीलाई नगद रु ५ हजार १ सयसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगीले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले स्व. सर्राफले पत्रकारिता क्षेत्र तथा संस्थाको स्थापना र सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय रहेको बताए । संस्थाले उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान स्वरूप मरणोपरान्त सम्मान अर्पण गरिएको जनाएको छ ।

साधारण सभामा विभिन्न सञ्चारकर्मी, सामाजिक व्यक्तित्व तथा पत्रकारिता क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो । वीरगंजका पत्रकार सर्राफकाे २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातका कारण निधन भएकाे थियाे ।

पर्सा–बाराका ३ स्थानमा रक्तदान कार्यक्रम, १२९ युनिट रगत संकलन

0

वीरगंज । पर्सा र बाराका तीन स्थानमा शनिबार आयोजित रक्तदान कार्यक्रममा कुल १२९ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगंजमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाले आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेका अनुसार पर्साको दुई स्थान र बाराको एक स्थानमा सम्पन्न कार्यक्रममा ४ महिला सहित १२९ जनाले रक्तदान गरेका हुन् ।

पर्सा बिक्री प्रतिनिधि समूहको आयोजनामा वीरगंजको बसपार्कमा आयोजित कार्यक्रममा एक महिला सहित ५१ जनाले रक्तदान गरेका समूहका बिकी सराफले जानकारी दिए । कार्यक्रममा विनोद श्रेष्ठ, रामाशंकर महतो, कमला मगर, अभिषेक नेलाली, दिपेश कुशवाहा, सन्दिप साह, सन्तोष महतो, बद्रीप्रसाद चौरसिया, प्रमोद पासवान, सगिर अन्सारी लगायतले रक्तदान गरेका थिए ।

त्यसैगरी बाराको प्रसौनी गाउँपालिका वडा नं. २ मा ईलेभेन स्टार क्रिकेट क्लबको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ महिला सहित ४२ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख पाण्डेले बताए ।

यस्तै वीरगंजको माइस्थान पार्कमा आयोजित अर्को रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र वीरगंजमा पछिल्लो समय रगत अभाव बढ्दै गएपछि आयोजना गरिएका यी कार्यक्रमबाट केही हदसम्म रगत अभाव पूर्ति हुने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन् ।