Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 87

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

0

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् ।

संघीय सरकारले जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट २९ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव बोहरालाई वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो ।

सरकारले सरुवा निर्णय गरेको १० दिनपछि बोहराले बिहीबार वीरगंज महानगरपालिकामा हाजिर भई जिम्मेवारी सम्हालेका हुन् । उनको आगमनसँगै केही समयदेखि रिक्त जस्तै बनेको प्रमुख प्रशासकीय अधिकृतको पदमा नियमित प्रशासनिक गतिविधि सञ्चालन हुने अपेक्षा गरिएको छ ।

यसअघि फागुन १२ गते तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री सुशीला कार्कीको कार्यकालमा रेशमलाल कँडेललाई वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो । तर महानगर प्रमुख राजेशमान सिंहले महानगरपालिकाको सहमति बिना गरिएको सरुवाप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार गर्न मन्त्रालयलाई पत्राचार गरेका थिए ।

कँडेलको सरुवालाई लिएर महानगर र संघीय सरकारबीच विवाद चर्किएको थियो । कँडेल वैशाख २८ गते रमाना लिएर वीरगंज महानगरमा हाजिर हुन आए पनि महानगरले उनलाई कार्यभार ग्रहण गर्न दिएको थिएन । जेठ ५ गते बसेको जनप्रतिनिधिहरूको बैठकले समेत कँडेललाई हाजिर हुन नदिने र संघीय सरकारले जबरजस्ती गरे महानगर कार्यालयमा तालाबन्दी गरेर साँचो मन्त्रालयमा बुझाउने निर्णय गरेको थियो ।

लामो समयदेखि जारी विवादका बीच सरकारले पुनः सरुवा गर्दै बसन्त बहादुर बोहरालाई वीरगंज पठाएको हो । बोहराको हाजिरीसँगै महानगरको आर्थिक तथा प्रशासनिक कार्य पुन: गति लिने अपेक्षा गरिएकाे छ ।

रास्वपा धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल पटेल

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट पटेलको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवनिर्वाचित समितिको उपसभापतिमा राजु पटेल, सचिवमा निरज पटेल तथा सहसचिवमा नविन राम चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा गीता देवी पटेल, मनोज प्रसाद कुर्मी, शोभावती देवी, तेतरी देवी, कान्ति देवीलगायत निर्वाचित भएका छन् ।

रास्वपा पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले पार्टी संगठनलाई गाउँस्तरसम्म सुदृढ बनाउँदै जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नवनिर्वाचित सभापति पटेलले पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा स्थानीय जनताको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

0

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भीमबहादुर बिक तथा सरिता बराइली चयन भएका छन् ।

त्यसैगरी महासचिवमा करण ताम्राकार निर्वाचित भएका छन् भने सचिवहरूमा राजेश कुमार पासवान, बसन्त विश्वकर्मा, चिन्ता परियार र बसन्त विश्वकर्मा चयन भएका छन् । कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिका सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार तथा पिवि दियाली निर्वाचित भएका छन् ।

महाधिवेशनको समापन कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद पहाडीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संस्थाको उद्देश्य, दलित पत्रकारहरूको हकहित र पेशागत सशक्तीकरणका लागि एकताबद्ध भएर काम गर्न आग्रह गरे । उनले संघलाई अझ प्रभावकारी र सक्रिय बनाउँदै दलित समुदायको आवाजलाई सञ्चारमाध्यममार्फत सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए ।

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

0

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन आयोजित र्‍यालीमार्फत वातावरण संरक्षण तथा ट्राफिक सचेतनाबारे सन्देश प्रवाह गरिएको हो ।

प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा आयोजित र्‍यालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलिप कार्की, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, रुपनारायण सिंह, केदार गुप्ता, सञ्चारकर्मी आकाश पटेल, रानिघाट प्रहरी पोस्टका प्रहरी कर्मचारी, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर र्‍यालीको उद्घाटन गरेका थिए । रानिघाटस्थित विद्यालयबाट सुरु भएको र्‍याली घण्टाघर, बसपार्क, बाइपास रोड हुँदै नगवा पुगेर पुनः रेशमकोठी, मेनरोड, कैलाश होटल चोक, घडिअर्वा पोखरी, माइस्थान र घण्टाघर हुँदै विद्यालय परिसरमा पुगेर समापन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी प्रमुख युवराज कटुवालले मानव जीवनका प्रत्येक चरणमा वातावरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले स्वच्छ हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटीजस्ता जीवनदायी स्रोतहरू प्रकृतिले निःशुल्क उपलब्ध गराइरहेको भन्दै यसको संरक्षण र संवर्द्धनमा सबैले योगदान दिनुपर्नेमा जोड दिए । साथै उनले ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगञ्ज” र “धरती बचाऔँ, वातावरण जोगाऔँ” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै संस्थाले विगतका वर्षहरूझैँ यस वर्ष पनि वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए ।

उनका अनुसार विश्व वातावरण दिवसको पूर्वसन्ध्यादेखि नै सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् भने साइकल र्‍यालीमार्फत वातावरणप्रति नागरिकको जिम्मेवारीबारे थप जनचेतना फैलाउने प्रयास गरिएको हो ।

अध्यक्ष सिंहले वातावरण संरक्षण, सम्मान तथा संवर्द्धनका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउँदै कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका पदाधिकारीहरूप्रति आभार व्यक्त गरेका थिए ।

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

0

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी डिस्पेन्सर सहयोग गरेको छ ।

कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा संस्थाका पदाधिकारीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई उक्त पानी डिस्पेन्सर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । सहयोग सामग्री हस्तान्तरणसँगै दुवै पक्षबीच समुदायको हित तथा सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी विषयमा समेत छलफल भएको थियो ।

सर्कल अफ केयरका अनुसार सडकमा दिनरात खटिने ट्राफिक प्रहरी कर्मचारीहरू तथा विभिन्न कामका लागि कार्यालयमा सेवा लिन आउने सर्वसाधारण नागरिकलाई स्वच्छ, सुरक्षित र सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले समाजको विकास र जनसेवाका क्षेत्रमा कार्यरत निकायहरूसँग सहकार्य गर्दै अघि बढ्नु संस्थाको प्राथमिकता रहेको बताए । समुदाय र सेवामुखी संस्थाबीचको समन्वय तथा सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनीहरूले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नरेश भंसाली, दिलिप कार्की लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले सर्कल अफ केयरले समाजसेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता सहयोगमूलक कार्यक्रमले समुदाय र सरकारी निकायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

पर्साका असई शक्ति राम र युवती शर्मिला सामुदायिक वनमा मृत भेटिए

0

वीरगंज । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृतकहरूमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी सशस्त्र प्रहरी बलका असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार उनीहरूको शव पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा मौवा रुखमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार बिहान फेला परेको हो ।

प्रहरीका अनुसार वन समितिका सदस्यहरू सल्लाको खोटो संकलन तथा वन अनुगमनका क्रममा पुगेका बेला शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा पुग्दा दुवै जना छुट्टाछुट्टै पासोमा झुण्डिएको तथा शव अत्यधिक सडिसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवको टाउको र शरीरका केही भाग छुट्टिएर जमिनमा खसेको अवस्था रहेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानबाट बरामद कपडा, कागजात तथा परिवारका सदस्य र आफन्तमार्फत गरिएको पहिचानका आधारमा मृतकहरू शक्ति राम र शर्मिला चौधरी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

शक्ति राम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत थिए । उनी वैशाख १९ गतेदेखि दुई दिनको बिदामा निस्किएका थिए । यस्तै शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रेपलाञ्चोक जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

दुवै जना सम्पर्कविहीन भएपछि शक्तिरामको परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नम्बर हेडक्वाटर पाँचखालमा खोजतलासका लागि निवेदन दिएको थियो । शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दिएका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

वीरगंज–१५ घटनाबारे स्थानीयको फरक दाबी, निष्पक्ष छानबिनको माग

0

वीरगंज । पर्साको वीरगंज महानगरपालिका वडा नं. १५ मा भएको घटनाबारे सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका विवरणप्रति स्थानीयवासीहरूले फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरूले घटनालाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको दाबी गर्दै वास्तविकता बाहिर ल्याउन निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

स्थानीय स्रोतहरूका अनुसार घटनामा घाइते भएका भनिएका सुकदेव साह तुरहाले घटनाको दिन मादक पदार्थ सेवन गरेका थिए । मेडिकल परीक्षण प्रतिवेदनमा समेत उनले मादक पदार्थ सेवन गरेको उल्लेख रहेको दाबी गरिएको छ । स्थानीयका अनुसार मादक पदार्थ सेवनपछि तुरहा गाउँ–टोलमा होहल्ला गर्दै गालीगलौज गरिरहेका थिए ।

उनीहरूका अनुसार राति करिब ११ बजे तुरहा आफ्नो घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोपाल साह सोनारको घर अगाडि पुगेका थिए । त्यहाँ उनले घरधनीको नाम नै लिएर चर्को स्वरमा गालीगलौज गर्न थालेपछि गोपाल साहका छोरा सनोज सर्राफले सम्झाउने प्रयास गरेका थिए ।

स्थानीयवासीको भनाइमा उक्त क्रममा कुनै योजनाबद्ध आक्रमण नभएको र तुरहा आफैं असन्तुलित भई लड्दा नालामा खसेर टाउकोमा चोट लागेको हो । त्यसलाई ज्यान मार्ने उद्देश्यले गरिएको सामूहिक आक्रमणका रूपमा चित्रण गरिएको भन्दै उनीहरूले असहमति जनाएका छन् ।

यस्तै, घटनासँग जोडेर उठाइएको जग्गा–जमिन विवादको विषयमा पनि स्थानीयहरूले स्पष्टीकरण दिएका छन् । उनीहरूका अनुसार विवाद सम्बन्धित व्यक्तिसँग नभई अन्य व्यक्तिबीच रहेको र त्यसलाई समेत घटनासँग जोडेर गलत ढंगले प्रचार गरिएको छ ।

घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूले समेत आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताएका छन् । उनीहरूका अनुसार दुई व्यक्तिबीच भएको सामान्य विवादलाई राजनीतिक प्रभाव तथा व्यक्तिगत स्वार्थका कारण गम्भीर आपराधिक घटनाका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ । साथै, एक व्यक्तिसँगको विवादलाई आधार बनाएर सम्पूर्ण परिवारका सदस्यहरूलाई मुद्दामा तान्ने र सामाजिक रूपमा बदनाम गर्ने षड्यन्त्र भइरहेको आरोप समेत उनीहरूले लगाएका छन् ।

स्थानीय सरोकारवालाहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल तथा एकपक्षीय सूचनाका आधारमा निष्कर्षमा नपुग्न आग्रह गर्दै उनीहरूले कानुनी प्रक्रियामार्फत वास्तविकता बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

स्थानीयहरूको भनाइ छ, “सत्य तथ्य आरोप–प्रत्यारोपबाट होइन, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियाबाट मात्र बाहिर आउँछ ।”

रक्सौलमा काली सेनाको नयाँ कार्यालय उद्घाटन, २६ सय महिलालाई स्वरोजगारसँग जोडिएको दाबी

0

रक्सौल । रक्सौलस्थित आश्रम रोडमा रहेको सेवक संजय नाथ काली न्यास विद्यालय परिसरमा काली सेनाको नयाँ कार्यालय उद्घाटन गरिएको छ । मंगलबार साँझ आयोजित कार्यक्रममा स्थानीय विधायक प्रमोद कुमार सिन्हाले कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा काली मन्दिरका पीठाधीश्वर सेवक संजय नाथसहित विभिन्न क्षेत्रका समाजसेवी, राजनीतिक व्यक्तित्व तथा महिला सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक प्रमोद कुमार सिन्हाले काली सेनाले महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने प्रशंसनीय कार्य गरिरहेको बताए । गृह उद्योगमार्फत महिलाहरूलाई रोजगारी उपलब्ध गराई आत्मनिर्भर बनाउन संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता पहल समयको आवश्यकता रहेको बताए ।

उनले काली मन्दिरका पीठाधीश्वर सेवक संजय नाथले संस्थालाई निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै काली सेनाको विकास तथा विस्तारका लागि सरकारी र गैरसरकारी तहबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । साथै, संस्थाकी अध्यक्ष पार्वती तिवारीले समाजका पिछडिएका वर्गका महिलाहरूलाई रोजगारमूलक अवसर प्रदान गर्न खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै पीठाधीश्वर सेवक संजय नाथले महिलाहरूका लागि सकारात्मक र दीर्घकालीन कार्य गर्ने आफ्नो चाहना काली सेनामार्फत साकार भइरहेको बताए। संस्थाको माध्यमबाट धेरै महिलाहरू आत्मनिर्भर बन्दै गएकोमा उनले खुसी व्यक्त गरे ।

काली सेनाकी अध्यक्ष पार्वती तिवारीले हालसम्म संस्थासँग करिब २ हजार ६ सय महिलाहरू आबद्ध भइसकेको जानकारी दिइन् । उनका अनुसार ती महिलाहरूले तिसौरी, अदौरी, अचार लगायतका घरेलु उत्पादन तयार गरी आम्दानी गरिरहेका छन् । संस्थाद्वारा उत्पादित सामग्रीले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको र नयाँ कार्यालय सञ्चालनमा आएपछि गतिविधि थप प्रभावकारी हुने तथा अझ बढी महिलाहरूलाई रोजगारसँग जोड्न सहज हुने उनले बताइन् ।

कार्यक्रममा भाजपा नेता अजय पटेल, मृत्युन्जय सिंह, समाजसेवी निरुल्लाह खान, कन्हैया सर्राफ, प्रेम गुप्ता, सैफुल आजम, अबरार खान, विमल सर्राफ, दीपू श्रीवास्तव, दीपक श्रीवास्तव, पप्पु साहलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

वीरगंजकी नाबालिग सिद्धि मिश्रा बेपत्ता, सूचना दिनेलाई १ लाख रुपैयाँ पुरस्कार घोषणा

0

वीरगंज । पर्सा जिल्लाको वीरगंज निवासी नाबालिग बालिका सिद्धि मिश्रा गत वैशाख १६ गते (२९ अप्रिल २०२६) देखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन् ।

परिवारका सदस्यहरूले उनको खोजीका लागि विभिन्न स्थानमा व्यापक खोजतलास तथा प्रयास गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । बालिकाको अवस्था र अवस्थिति अज्ञात रहेकाले परिवार चिन्तित तथा व्याकुल बनेको छ ।

घटनालाई गम्भीर रूपमा लिँदै भारतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्माले सिद्धि मिश्राको सुरक्षित उद्धार गर्न सहयोग पुर्‍याउने वा उनको अवस्थिति सम्बन्धी विश्वसनीय सूचना उपलब्ध गराउने व्यक्तिलाई १ लाख रुपैयाँ (भारु) पुरस्कार प्रदान गरिने घोषणा गरेका छन् ।

उनले सर्वसाधारणलाई बालिकासम्बन्धी कुनै जानकारी प्राप्त भएमा वा कतै देखिएमा तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् ।

सम्पर्क:
इन्स्पेक्टर मनोज कुमार शर्मा
मोबाइल/ह्वाट्सएप : +९१–८८५३७०३७६१

साथै, बालिकाको सकुशल खोजी तथा उद्धारमा सहयोग पुग्ने विश्वासका साथ उक्त सूचना बढीभन्दा बढी व्यक्तिसम्म पुर्‍याउन समेत अनुरोध गरिएको छ ।

पूर्व राजा वीरेन्द्र परिवारको स्मृतिमा वीरगंजमा श्रद्धाञ्जली सभा

0

वीरगंज । तत्कालीन राजा वीरेन्द्र शाह तथा उनका परिवारको निधन भएको २५औँ स्मृति दिवसको अवसरमा मंगलबार वीरगंजमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।

राजभक्त–देशभक्त समूहको आयोजनामा महावीरस्थानमा आयोजित कार्यक्रममा सहभागीहरूले दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा राजपरिवारका सदस्यप्रति श्रद्धासुमन अर्पण गरेका थिए । कार्यक्रममा स्वर्गीय राजपरिवारको तस्वीरमा माल्यार्पण गर्नुका साथै मौनधारण समेत गरिएको थियो ।

राजभक्त–देशभक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजावादी अभियन्ता महेन्द्र प्रसाद साह, वीरेन्द्र थापा, रामनारायण साह, पशुपति विक्रम साह, जनक साह, जय नारायण गरौ, रोशनी साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले तत्कालीन राजा वीरेन्द्रको शासनकाललाई स्थिरता, राष्ट्रिय एकता र जनतासँगको निकट सम्बन्धको प्रतीकका रूपमा स्मरण गरेका थिए । उनीहरूले नेपाल र नेपाली जनताप्रति राजा वीरेन्द्रले पुर्‍याएको योगदानको चर्चा गर्दै उनको व्यक्तित्व र कार्यशैली आज पनि धेरै नेपालीका लागि प्रेरणाको स्रोत रहेको बताए ।

श्रद्धाञ्जली सभामा २०५८ साल जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डबारे समेत चर्चा गरिएको थियो । वक्ताहरूले उक्त घटनाबारे अझै पनि आम नागरिकमा विभिन्न जिज्ञासा र शंका कायमै रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।