Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सुशासन, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका सवालमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।

शनिबार वीरगंजमा आयोजित आम जनता पार्टीको मधेस प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले दुई तिहाइ जनमतको समर्थनसहित सरकार सञ्चालन गर्ने अवसर पाएको रास्वपा नेतृत्वको सरकारप्रति जनताले ठूलो आशा र अपेक्षा राखेको भए पनि छोटो समयमै निराशा बढेको बताए ।

उनले सरकारको सुशासनको नारामाथि प्रश्न उठाउँदै सुरुवातमा ठूलो प्रचार गरिए पनि व्यवहारमा कुनै उल्लेखनीय सुधार नदेखिएको दाबी गरे । “हाम्रोतिर एउटा उखान छ, गर्जिने बादलले वर्षात् गर्दैन । अहिलेको सरकार पनि सुशासन र सदाचारको नाममा धेरै बोल्यो तर परिणाम दिन सकेन,” उनले भने ।

साहले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरिए पनि त्यसमा निष्पक्षता नदेखिएको आरोप लगाए । सरकारी कार्यालयमा सेवाग्राहीको भीड र झन्झट कम गर्ने प्रतिबद्धता पूरा नभएको, करार कर्मचारी हटाउने घोषणा गरेर उल्टै नयाँ भर्ती प्रक्रिया बढाइएको तथा राजनीतिक कार्यकर्ताहरूलाई विभिन्न निकायमा अवसर बाँडिएको उनको आरोप थियो ।

प्रधानमन्त्री शाहले सरकारी तथा सार्वजनिक क्षेत्रका उत्पादनको प्रवर्द्धन गर्नु सकारात्मक भए पनि निजी क्षेत्रका निश्चित ब्रान्डको प्रचारमा संलग्न देखिनु उपयुक्त नभएको साहले बताए । उनले वर्तमान सरकारले आर्थिक नीतिमा समेत स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरे ।

सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै उनले बजेटले गरिब, किसान, बेरोजगार र मध्यम वर्गका नागरिकलाई कुनै आशा नदिएको बताए । बजेटमा विकास निर्माणका नयाँ योजनाको अभाव रहेको, विकास खर्च घटाइएको तथा कर र ऋणको भार बढाइएको उनको भनाइ थियो ।

मधेसप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै साहले विकास पूर्वाधार, खेलकुद तथा अन्य क्षेत्रमा मधेसलाई उपेक्षा गरिएको बताए । मुलुकको आर्थिक राजधानीका रूपमा चिनिने वीरगञ्जलाई समेत योजनाबद्ध रूपमा बेवास्ता गरिएको उनको आरोप थियो ।

राष्ट्रियताको विषयमा पनि सरकार चुकेको भन्दै उनले विदेशी नागरिकलाई विभिन्न क्षेत्रमा सहज पहुँच दिने प्रयास, नेपाली भूमि सम्बन्धी विषयमा कमजोर कूटनीतिक अडान तथा राष्ट्रिय हित विपरीतका निर्णयले गम्भीर प्रश्न उठाएको बताए ।

लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई कमजोर बनाउने गरी सरकार अघि बढेको आरोप लगाउँदै साहले संसद् र निर्वाचित जनप्रतिनिधिको भूमिकालाई कमजोर पार्ने काम भइरहेको बताए । उनले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न खडा गरेको उल्लेख गरे ।

आजपाका मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...