काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको बताएका छन् ।
काठमाडौंको कोटेश्वरमा शनिबार बसेको आजपा सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै साहले जेनजी आन्दोलनले उठाएका राजनीतिक, सामाजिक तथा शासन व्यवस्थासम्बन्धी मुद्दा सम्बोधन गर्न अन्तरिम राजनीतिक तथा संवैधानिक व्यवस्था आवश्यक रहेको बताएका हुन् ।
साहले जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भए पनि त्यसअनुसार नयाँ संवैधानिक व्यवस्था निर्माण हुन नसक्दा अहिले राजनीतिक अन्योल सिर्जना भएको दाबी गरे । उनले वर्तमान अवस्थालाई संविधान र सरकारबीचको संवैधानिक अन्तरविरोधका रूपमा व्याख्या गरेका छन् ।
उनले भने, ‘यदि अहिलेकै संविधान ठीक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठीक हो भने अहिलेको संविधान गलत छ ।’
संविधानले प्रतिनिधिसभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्ने परिकल्पना नगरेको उल्लेख गर्दै साहले सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको अवस्थाले संवैधानिक संकटको प्रश्न उठाएको बताए ।
‘प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुने परिकल्पना यो संविधानमा छैन । त्यसैले अहिलेको संविधानको आवश्यकता र औचित्यमाथि गम्भीर प्रश्न उठेको छ,’ उनले भने ।
साहले पुरानै संवैधानिक व्यवस्थाभित्रबाट वर्तमान राजनीतिक संकट समाधान गर्न खोज्दा समस्या थप जटिल बन्न सक्ने दाबी गरे । मुलुकलाई निकास दिन तत्काल अन्तरिम सरकार गठन गरी अन्तरिम संवैधानिक व्यवस्थामार्फत अघि बढ्नुपर्ने उनको जोड छ ।
जेनजी आन्दोलनले उठाएका विषयलाई केवल सरकार परिवर्तन गरेर मात्र सम्बोधन गर्न नसकिने साहको भनाइ छ । आन्दोलनका मुद्दा, राज्य सञ्चालनको संरचना र संवैधानिक व्यवस्थामाथि समेत पुनर्विचार गर्नुपर्ने उनले बताए ।
आफ्नो राजनीतिक प्रतिवेदनमा साहले अन्तरिम सरकार र अन्तरिम संविधान निर्माण गरेर मात्रै मुलुकलाई राजनीतिक निकास दिन सकिने उल्लेख गरेका छन् ।
यसैबीच, आजपाले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि विकसित परिस्थिति तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिएका छन् ।








