वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, बारामा नागरिकतासम्बन्धी उजुरी परेपछि अनुसन्धान भइरहेको बताइएको छ । मित्तलमाथि भारत र नेपाल दुवै देशको नागरिक रहेको आरोपसमेत लाग्दै आएको छ ।
यसैबीच, मित्तलमाथि वीरगंजका व्यवसायी निरञ्जन अग्रवाललाई फसाउन खोजेको आरोपसमेत लागेको छ । उद्योगी अग्रवालले आफूले लिनुपर्ने रकमबापत मित्तलले सौहार्दपूर्ण वातावरणमा चेक दिएको, तर पछि उल्टै प्रहरीमा उजुरी गरेर आफूलाई फसाउने प्रयास गरेको आरोप लगाएका छन् ।
आफूले पाउनुपर्ने रकमबापत मित्तलले आफैंले दिएको चेकका आधारमा रकम असुल गर्नुपर्ने अवस्थामा उल्टै प्रहरीमा निवेदन दिएर मानसिक यातना दिने प्रयास गरिएको अग्रवालको आरोप छ । मित्तलले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपछि चेक लिने पक्षलाई नै प्रतिवादी बनाउने प्रयास भएको भन्दै अग्रवालले आपत्ति जनाएका छन् ।
आफैंले दिएको चेक चोरी भएको वा दुरुपयोग भएको दाबी गर्दै उजुरी परेपछि आफू आश्चर्यमा परेको अग्रवालले बताएका छन् । अग्रवालका अनुसार यसअघि पनि मित्तलले विभिन्न बिचौलियामार्फत आफूविरुद्ध मुद्दा तथा जालझेल गर्ने प्रयास गर्दै आएका थिए । पछिल्लो समय बाटोघाटोमा भेट हुँदा समेत आफूहरूबीच सौहार्दपूर्ण रूपमा कुराकानी हुने गरेको र मित्तलले विगतमा भएका विषयमा आफूले कुनै षड्यन्त्र नगरेको बताउने गरेको अग्रवालको दाबी छ ।
अग्रवालले भने, “हामी मिलेर आ–आफ्नो कारोबार गरौँ, हामीबीच रहेको लेनदेनको विषय आपसी सहमतिमा मिलाऔँ र अड्डा–अदालतबाट पछि हटौँ” भन्दै मित्तलले आफूलाई दिनुपर्ने रकम बराबरको चेक आफैं दिएको दाबी गरेका छन् । तर अहिले आएर सोही विषयलाई लिएर आफूविरुद्ध झुटो मुद्दा लगाउने प्रयास भएको जानकारी केही सञ्चारमाध्यमबाट पाएको उनले बताए ।
मित्तलसँग आफ्नो कुनै किसिमको दुश्मनी वा द्वेष नरहेको बताउँदै अग्रवालले उनको पछिल्लो कार्यशैलीबाट आफू चकित भएको बताएका छन् । केही दिनअघि मात्र आफूहरूबीच भेटघाट तथा कुराकानी भएको र उक्त भेटको भिडियोसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरे । अग्रवालले मित्तललाई बिचौलियाको उक्साहटमा पुनः आफूविरुद्ध लागेको आरोपसमेत लगाएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रहरीमा उजुरी परेको र घटनाका सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । चेक के–कति कारणले लेनदेन भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने तथा दोषी देखिएकालाइ आवश्यक कानुनी कारबाही गरिने उनले बताए ।
चेक लेनदेनसम्बन्धी विवादमा दुवै पक्षका दाबी फरक–फरक रूपमा सार्वजनिक भएपछि व्यवसायी वृत्तमा समेत चेकको विश्वसनीयता र व्यावसायिक कारोबारमा यसको प्रयोगबारे चर्चा सुरु भएको छ । व्यवसायिक कारोबारमा चेक दिएपछि पुनः त्यही चेकको विषयमा विवाद उत्पन्न हुने अवस्था आए व्यापारिक लेनदेनमा यसको प्रभाव कस्तो पर्छ भन्ने प्रश्नसमेत उठेको छ ।








