Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

spot_img
spot_img

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा निकालिने दाहा उत्सव–यात्रामा कुनै पनि प्रकारका घरेलु वा अन्य हातहतियार तथा भाँठाको प्रदर्शन गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । बैठकले मोहरम पर्वका दिन वीरगंज तथा जिल्लाका अन्य स्थानहरूमा निकालिने दाहा यात्रामा हातहतियार प्रदर्शन गर्न नपाइने तथा डिजे वा अन्य बाजा प्रयोग गरी उच्च ध्वनि प्रदूषण गर्न पनि रोक लगाएको जनाएको छ ।

बैठकमा दाहा उत्सव–यात्रा स्थानीय प्रशासनले तोकेको रुटमै सञ्चालन गर्नुपर्ने, कुनै पनि धार्मिक समुदायले अर्को समुदायको भावना, आस्था तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गतिविधि गर्न नपाइने निर्णय गरिएको छ । साथै यात्राको नेतृत्व सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिले गर्ने र धार्मिक तथा सामाजिक सहिष्णुतामा असर पुग्ने गरी अन्य देशका झण्डा, लोगो वा छाप अंकित सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ ।

यस्तै सामाजिक सञ्जालमार्फत धार्मिक समुदायबीच वैमनस्यता, भ्रम वा उत्तेजना फैलाउने खालका पोस्ट, तस्बिर तथा भिडियोहरू साझेदारी नगर्न पनि बैठकले सबै पक्षलाई अनुरोध गरेको छ । दाहा निकाल्ने क्रममा कुनै विवाद वा उच्छृङ्खल गतिविधि भएमा दुवै समुदायका अगुवाहरूले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने सहमति भएको छ ।

मोहरम पर्वको अवधिभर मुस्लिम समुदायको तर्फबाट महबुब अली (शेरु) र हिन्दु समुदायको तर्फबाट रञ्जीत शाह सुरक्षा निकायका पदाधिकारीहरूसँग समन्वयमा रही कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रशासनले सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्दै पर्व मनाउन आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज कारागारबाट फरार कैदी भारतको आदापुरमा पक्राउ

वीरगंज । वीरगंज कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४...

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...