Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026
Home Blog Page 78

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

0

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १ गते राति ११ः५६ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डकचोक सडकखण्डबाट राजस्व छली गरी विलबिजकभन्दा बढी औषधि तथा अन्य मालसामान ढुवानी भइरहेको सूचनाका आधारमा बा.प्र. ०३–००१ ख ३३४६ र ना.६ ख ५५०१ नम्बरका मालवाहक ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि दुवै ट्रकलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालयले असार ८ गते ट्रकहरूको चेकजाँच गर्दा बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको ट्रकबाट प्रतिबन्धित लागूऔषध Tramadol Hydrochloride IP-50 (Tramol) बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त ट्रकबाट १२ हजार ६२ पत्तामा रहेका प्रति पत्ता १० ट्याब्लेटका दरले जम्मा १ लाख २० हजार ६ सय २० ट्याब्लेट बरामद भएको छ । बरामद लागूऔषधको अनुमानित मूल्य ९ लाख ८४ हजार २ सय ५९ रुपैयाँ रहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–७ निवासी २३ वर्षीय सुशिल घलेलाई नियन्त्रणमा लिइएको छ । बरामद लागूऔषध, ट्रक तथा चालकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

0

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) को सहकार्य तथा सङ्घको स्टार्टअप एण्ड इनोभेसन कमिटीको समन्वयमा सञ्चालित कार्यक्रम १३ दिनसम्म बिसिसिआईको सभाहलमा सञ्चालन गरिएको थियो ।

युवा उद्यमी तथा व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा व्यवसाय व्यवस्थापन, वित्तीय योजना, ब्रान्डिङ, बजार विस्तार, लगानी तयारी, बैंकिङ पहुँच, कानुनी प्रक्रिया तथा सञ्चालन व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

१३ दिने मास्टरक्लासमा विभिन्न क्षेत्रका विज्ञ तथा उद्योगीहरूले सहजीकरण गरेका थिए । कार्यक्रममा उद्यमशीलताको आधारभूत अवधारणा, व्यवसायिक योजना निर्माण, लेखा तथा कर प्रणाली, बजार विश्लेषण, वित्तीय साक्षरता, लगानी व्यवस्थापन, स्टार्टअप फाइनान्सिङ, उद्योग विश्लेषण तथा सञ्चालन व्यवस्थापनका विषय समेटिएका थिए ।

कार्यक्रमको उद्घाटन निम्बस ग्रुपका अध्यक्ष तथा उद्योगी जगदीश अग्रवालले गरेका थिए । सङ्घका सहसचिव तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा भएकाे समापन समारोहमा सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधवराज पाल र उपाध्यक्ष आशिष लाठ लगायत सहभागी थिए ।

आयोजकका अनुसार प्रशिक्षण अवधिभर सहभागीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवहारिक ज्ञान र सीप हासिल गरेका छन् । साथै कार्यक्रमले युवा उद्यमीहरूलाई अनुभवी व्यवसायी तथा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया तथा नेटवर्किङ गर्ने अवसर समेत प्रदान गरेको थियो ।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै नयाँ व्यवसाय स्थापना तथा विद्यमान व्यवसायलाई विस्तार गर्न सहभागीहरू सक्षम हुने विश्वास व्यक्त गरिएको छ ।

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

0

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थी कल्याण परिषद्मा निर्वाचित हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा प्रिफेक्टहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले विद्यालयस्तरमै लोकतान्त्रिक अभ्यास गराइनु सकारात्मक पक्ष भएको बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा निर्णय गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने बताए । उनले विद्यार्थीहरूलाई अनुशासन, इमानदारी र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।

विद्यालयका संस्थापक प्रधानाध्यापक सरोज चौधरीले विद्यार्थी कल्याण परिषद्को निर्वाचन विद्यालयमै अध्ययनरत दुई जना विद्यार्थीले निर्माण गरेको विद्युतीय मतदान मेसिनमार्फत सम्पन्न गरिएको जानकारी दिए । आधुनिक प्रविधिको प्रयोग गर्दै विद्यालयमा लोकतान्त्रिक अभ्यास गराउन पाएकोमा गर्व महसुस भएको उनले बताए ।

“विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई नेतृत्व, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताको व्यवहारिक अनुभव दिन विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ,” चौधरीले भने ।

उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, केन्द्रीय सदस्य छुडुप लामा लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यसै अवसरमा गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर–१३ का वडा अध्यक्ष हिरा गिरी, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, प्याब्सन मधेश प्रदेश उपाध्यक्ष इमामुद्दीन अहमद, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालय परिसरमा भएकाे कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए ।

वन तथा वातावरण संरक्षणमा जगरनाथपुरको उत्कृष्टता, मधेश प्रदेशमै पहिलो

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका ‘समृद्धिका लागि वन (Forests for Prosperity)’ परियोजनाअन्तर्गत स्थानीय तहमा सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेशभर प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले वन विकास, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकालाई प्रशंसापत्रसहित रु १ लाख २५ हजार नगद पुरस्कार प्रदान गरेको हो ।

डिभिजन वन कार्यालय सिमरामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री तथा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलाई पुरस्कार राशिको चेक र प्रशंसापत्र हस्तान्तरण गरिएको जगरनाथपुर गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवले जानकारी दिए ।

रेड कार्यान्वयन केन्द्रका राष्ट्रिय परियोजना निर्देशक तथा सहसचिव नवराज पुडासैनीद्वारा प्रदान गरिएको प्रशंसापत्रमा जगरनाथपुर गाउँपालिकाले स्थानीय स्तरमा वन तथा वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।

यसैगरी वार्षिक मूल्याङ्कनमा हरिवन नगरपालिका दोस्रो, नवराजपुर नगरपालिका तेस्रो तथा पटेर्वा सुगौली गाउँपालिका चौथो स्थानमा परेका छन् । उनीहरूलाई क्रमशः रु १ लाख, रु ७५ हजार र रु २५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको हाे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापा, गणेश कार्की, महेश ढुंगाना, वन विज्ञ पशुपतिनाथ कोइराला, मधेश प्रदेश वन निर्देशक जगरनाथ प्रसाद जयसवाल तथा योजना अधिकृत लालबाबु यादवलगायत वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

0

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेलले गरेका हुन् ।

प्रमुख अतिथिका रूपमा सहभागी भएका नेता पटेलले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलाडीहरूलाई शुभकामना व्यक्त गरेका थिए । उनले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव र प्रतिस्पर्धी भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाहरूलाई अवसर प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे । खेलकुदको माध्यमबाट युवालाई कुलत तथा विकृतिबाट टाढा राख्न सकिने भन्दै उनले खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखे ।

आयोजक क्लबका पदाधिकारीहरूले प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहेको जानकारी दिँदै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको बताए । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

स्थानीय खेलप्रेमी, समाजसेवी, जनप्रतिनिधि तथा युवाहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । आयोजकका अनुसार प्रतियोगिताले स्थानीय क्षेत्रमा क्रिकेट खेलको विकास र युवाबीच एकता तथा भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीले गाउँसभामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए। प्रस्तुत बजेट अनुसार शिक्षा क्षेत्रको विकासका लागि २ करोड रुपैयाँ, स्वास्थ्य क्षेत्रका लागि १ करोड रुपैयाँ, कृषि विकासका लागि १ करोड ५० लाख रुपैयाँ, भौतिक पूर्वाधार विकासका लागि ५ करोड रुपैयाँ तथा सामाजिक विकासका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

जिराभवानी गाउँपालिका–३ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभाहलमा अध्यक्ष चौधरीको सभापतित्वमा सम्पन्न गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले कर्मचारीहरूलाई सेवाप्रति उत्तरदायी, पारदर्शी र इमानदार बन्न आग्रह गरे। उनले सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा गैरजिम्मेवार व्यवहार गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गरिने चेतावनी समेत दिए।

कार्यक्रमका अवसरमा चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय सहयोगी नागेन्द्र चौधरी र श्रीराम पटेललाई सम्मान गरिएको थियो।

गाउँसभामा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्षहरू रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्या सरोज चौरसिया तथा वडा सदस्य शंकर पटवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले वर्तमान जनप्रतिनिधिहरूको कार्यकालको अन्तिम गाउँसभा भएकाले विगतका उपलब्धि तथा चुनौतीहरूको समीक्षा गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र समग्र विकासका क्षेत्रमा भएका कामको मूल्यांकन गर्नुपर्ने धारणा राखे। साथै आगामी दिनमा पनि जनअपेक्षा अनुरूप विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

0

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नारायणी अस्पताल वीरगंजको संयुक्त सहकार्यमा बिहिवार भएको चेकजाँच कार्यक्रम सञ्चालन गरिएको थियो ।

पथलैया–वीरगंज सडकखण्डमा गुड्ने निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूको स्वास्थ्य तथा सवारी सञ्चालन अवस्था परीक्षण गर्ने क्रममा २२ वटा सवारीसाधनका चालकको लापसे चेकजाँच गरिएको थियो ।

जाँचका क्रममा १ वटा निजी तथा ४ वटा सार्वजनिक सवारीसाधनका चालक गरी कुल ५ जनामा लापसे सम्बन्धी समस्या देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

वीरगंजमा सशस्त्र प्रहरीद्वारा तीनदिने विपद् स्वयंसेवक तालिम सम्पन्न

0

वीरगंज । मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक एवं मानवजन्य प्रकोपलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने ‘विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम’ सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको आयोजना तथा वीरगंज महानगरपालिकाको संयोजनमा सञ्चालन गरिएको उक्त तालिम असार २ गतेदेखि वीरगंज महानगरपालिका कार्यालयको सभाहलमा सुरु भएको थियो ।

तालिममा स्थानीय समुदायका ३० जना स्वयंसेवकहरूको सहभागिता रहेको थियो । तालिम अवधिभर सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरूले विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार कार्य, विपद्को समयमा अपनाउनुपर्ने सावधानी र स्वयंसेवकको भूमिकाबारे व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीलगायत अन्य अधिकृतहरूको पनि उपस्थिति रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले विपद्को समयमा स्थानीय स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायस्तरमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गरेका थिए ।

सशस्त्र प्रहरी बलले यस प्रकारको तालिमले वीरगंज तथा आसपासका क्षेत्रमा हुन सक्ने सम्भावित विपद्जन्य क्षति न्यूनीकरण गर्न तथा जनधनको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

अब वीरगंजमै एथरका स्मार्ट इलेक्ट्रिक स्कुटर, नयाँ शोरुम सञ्चालनमा

0

वीरगंज । नेपालका अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले वीरगञ्जको आदर्शनगरमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त केन्द्रले मधेश प्रदेशका ग्राहकहरूलाई एथरका आधुनिक तथा प्रविधिमैत्री इलेक्ट्रिक स्कुटरहरू सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

असार ४ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नयाँ केन्द्रसँगै एथर नेपालको देशभर रहेका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ। कम्पनीका अनुसार काठमाडौं उपत्यकाका पाँच केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा एथरका एक्सपिरियन्स सेन्टर सञ्चालनमा रहेका छन्।

नयाँ केन्द्रमा एथरका सम्पूर्ण मोडेलहरू उपलब्ध छन्। प्रदर्शन केन्द्रित एथर ४५० सिरिज तथा परिवारमैत्री एथर रिज्टा मुख्य आकर्षणका रूपमा रहेका छन्। एथर ४५० सिरिजमा गुगल म्याप्स आधारित नेभिगेसन, अटोहोल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोड तथा रेस्पोन्सिभ टचस्क्रिन ड्यासबोर्डजस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्। त्यस्तै एथर रिज्टामा फराकिलो सिट, ठूलो अन्डर–सिट स्टोरेज, ट्र्याक्सन कन्ट्रोल, टो एन्ड थेफ्ट अलर्ट, ह्वाट्सएप नोटिफिकेसन तथा आरामदायी राइडिङ अनुभव प्रदान गर्ने सुविधाहरू समावेश छन्।

ग्राहकहरूले नयाँ एक्सपिरियन्स सेन्टरमा स्कुटरहरूको प्रत्यक्ष अवलोकन, उत्पादन प्रदर्शन, टेस्ट राइड, स्मार्ट तथा कनेक्टेड प्रविधिबारे जानकारी, आकर्षक फाइनान्सिङ सुविधा तथा एक्सचेन्ज योजनाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्। साथै कम्पनीले बिक्रीपछिको सेवा सुदृढ गर्न प्रशिक्षित प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा मर्मत–सम्भार सेवासहित सेवा सहायता व्यवस्था पनि विस्तार गरेको जनाएको छ।

एथर नेपालले देशभर आफ्नो ‘एथर ग्रिड’ फास्ट चार्जिङ नेटवर्कलाई समेत विस्तार गरिरहेको छ। हाल प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। यसले एथर प्रयोगकर्ताहरूलाई सहज र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराइरहेको छ।

उद्घाटनको अवसरमा कम्पनीले असार १२ गतेसम्मका लागि विशेष अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकहरूले आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशतसम्म ब्याजदरको फाइनान्सिङ सुविधा तथा एक्सचेन्ज गर्दा आठ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ प्राप्त गर्न सक्नेछन्।

कम्पनीले नवीन प्रविधि, सुदृढ पूर्वाधार तथा ग्राहक–केन्द्रित सेवामार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

नेपालका लागि एथर इनर्जीको आधिकारिक तथा एकमात्र वितरक वैद्य इनर्जी प्रालिले देशभर विस्तार हुँदै गएको एक्सपिरियन्स सेन्टर, सर्भिस सेन्टर तथा एथर ग्रिड चार्जिङ पूर्वाधारमार्फत नेपालको विद्युतीय सवारी इकोसिस्टम निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।

आचारसंहिताको पालना गर्दै विश्वसनीय पत्रकारिता गर्न आग्रह

0

वीरगंज । मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहीबार वीरगंजमा सम्पन्न भएको छ।

वीरगंजस्थित होटल वृन्दावनमा आयोजित एकदिने कार्यक्रममा पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, व्यावसायिक मर्यादा कायम तथा सञ्चार माध्यमप्रति जनविश्वास बढाउन पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका र दायित्वबारे प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गर्दै प्रभावकारी सञ्चार सीप पत्रकारिताको आधारभूत आवश्यकता रहेको बताए। उनले सञ्चारका आधारभूत तत्वबारे पर्याप्त ज्ञान नहुँदा अन्योलता सिर्जना हुने जोखिम बढ्ने भएकाले पत्रकारले सर्वप्रथम सञ्चारका सिद्धान्त र प्रक्रियाबारे बुझ्नुपर्नेमा जोड दिए।

झाले पत्रकारिताले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै तथ्य, सत्यता र निष्पक्षतालाई केन्द्रमा राखेर मात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताए। “जे मन लाग्यो त्यही प्रकाशन वा प्रसारण गर्ने कार्य पत्रकारिता होइन,” उनले भने।

उनले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता तथा डिजिटल युगमा देखिएका चुनौतीबारे विस्तृत प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा सहभागी सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, तथ्यपरक समाचार सम्प्रेषण, गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा व्यावसायिक पत्रकारिताका मूल्यमान्यताबारे जानकारी गराइएको थियो।

मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लालबाबु राउत गद्दीले गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव तथा विश्व पत्रकार महासंघका दीपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, मिडिया काउन्सिल सदस्य रिन्कु मिश्र, मन्नु पासवानलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध एक सयभन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।