Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 71

मधेशी भएकै कारण विभेद र फिल्मबाट हटाइएको काजल कर्णको दाबी

0

काठमाडौं । छायांकनरत नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ । अभिनेत्री काजल कर्णले आफू मधेशी भएकै कारण विभेद गरिएको र फिल्मबाट हटाइएको आरोप लगाएपछि विवाद सार्वजनिक भएको हो ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कर्णले फिल्मको सेटमा आफूलाई ‘मधेशिनी’ भन्दै जिस्काइएको, वर्ण तथा भूगोलका आधारमा उपहास गरिएको र केही प्राविधिक तथा छायांकन टोलीका सदस्यबाट अपमानजनक व्यवहार भएको दाबी गरेकी छन् । उनले यस घटनामा संलग्न भएको आरोप लगाउँदै केही प्राविधिक सदस्यहरूको नामसमेत उल्लेख गरेकी छन् ।

३५० भन्दा बढी मैथिली, भोजपुरी तथा नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी कर्णले आफूलाई फिल्मबाट हटाउनुका साथै काम गरेबापतको पारिश्रमिकसमेत नदिएको आरोप लगाएकी छन् । नेपाली चलचित्र क्षेत्रमा कुनै कलाकारले आफू मधेशी भएकै कारण परियोजनाबाट हटाइएको आरोप सार्वजनिक रूपमा लगाएको सम्भवतः यो पहिलो घटना मानिएको छ ।

यता, फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ले कर्णले लगाएका आरोप निराधार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कर्णले आफूलाई यसबारे कुनै जानकारी नगराएको उल्लेख गरेका छन् ।

निर्देशक आचार्यले यदि कुनै सदस्यबाट विभेदपूर्ण व्यवहार भएको पुष्टि भएमा दोषीमाथि तत्काल कारबाही गरिने स्पष्ट पारेका छन् । उनले कर्णले अभिनय गरेका सबै दृश्यहरूको फुटेज सुरक्षित रहेको उल्लेख गर्दै गोबर सोहर्न लगाइएकोजस्ता आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् । पारिश्रमिकबारे भने सबै कलाकारलाई डबिङ सम्पन्न भएपछि तेस्रो किस्ता भुक्तानी गर्ने प्रचलन रहेको उनको भनाइ छ ।

यसैबीच, नेपाल चलचित्र कलाकार संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले हालसम्म औपचारिक उजुरी प्राप्त नभए पनि दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा आरोपहरू गम्भीर प्रकृतिका भएकाले आवश्यक छलफल र अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्न सकिने उल्लेख गरिएको छ । साथै, सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप गर्नुको सट्टा संयमित संवाद र आपसी छलफलबाट समस्या समाधान गर्न दुवै पक्षलाई आग्रह गरिएको छ ।

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

0

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा संरचना हटाइएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

सडक डिभिजन हेटौंडाका इन्जिनियर तथा वीरगंजका फोकल पर्सन दुर्गा प्रसादका अनुसार गण्डकदेखि घण्टाघरसम्म तथा मितेरी पुलदेखि वीरगंज उद्योग वाणिज्य संघको भवनसम्मको क्षेत्रमा पर्ने करिब ३ सय घर तथा संरचना हटाइएको हो ।

हाल ६ वटा डोजर परिचालन गरी दैनिक ५० देखि ६० वटा घर तथा संरचना हटाउने काम भइरहेको उनले बताए । कुल ८ किलोमिटर सडक विस्तार क्षेत्रमध्ये करिब ६ किलोमिटर भागको संरचना हटाइसकिएको र बाँकी २ किलोमिटर क्षेत्रमा पनि काम निरन्तर जारी रहेको उनले जानकारी दिए ।

शनिबार श्रीराम हल, नारायणी अस्पतालदेखि विर्तासम्मका क्षेत्रमा डोजर परिचालन गरी सडकको २५/२५ मिटर दायाँ–बायाँ पर्ने घर तथा संरचना हटाउने कार्यलाई निरन्तरता दिइएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार अब मुख्य रूपमा आदर्शनगर, महावीरस्थान, माइस्थान र घण्टाघर क्षेत्रका संरचना हटाउन बाँकी रहेको छ ।

कार्यालयले बजार क्षेत्रका केही घरधनीले आफ्ना भवनका संरचना स्वयं हटाउन थालेकाले बाँकी क्षेत्रमा सडक विस्तारको काम अझ सहज र छिटो सम्पन्न हुने अपेक्षा गरिएको जनाएको छ ।

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

0

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन् । एक व्यापारीले निजी बंगलो निर्माणका क्रममा सार्वजनिक बाटो नै अवरुद्ध गराएको आरोप लगाउँदै स्थानीयवासीले महानगरपालिकासँग तत्काल हस्तक्षेपको माग गरेका छन् ।

स्थानीयका अनुसार नेपाल तथा भारतलगायत विभिन्न देशमा व्यापार गर्दै आएका व्यापारी निरञ्जन चौधरीले घर निर्माणका क्रममा सार्वजनिक बाटो बन्द गराएका हुन् । उनीहरूले वीरगंज महानगरपालिकाका केही कर्मचारी, वडा नं. ७ का जनप्रतिनिधि तथा प्रभावशाली व्यक्तिहरूको पहुँचका कारण बाटो लामो समयदेखि बन्द रहेको आरोप लगाएका छन् । केही स्थानीयले यस प्रकरणमा आर्थिक चलखेल भएको आशंकासमेत व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार निर्माणका क्रममा ठेकेदार कम्पनीले डोजर प्रयोग गरी सडक र नाला भत्काउँदा बाटो भासिएको थियो । त्यसपछि स्थानीयको विरोधपछि नगर प्रहरीको रोहबरमा ३५ दिनभित्र सडक पूर्ववत् बनाउने सहमति भएको थियो ।

सम्भावित दुर्घटना रोक्न भन्दै अस्थायी रूपमा बाटो बन्द गरिएको बताइए पनि सहमति भएको ७० दिनभन्दा बढी समय बितिसक्दा पनि बाटो सञ्चालनमा ल्याउने कुनै काम नभएको स्थानीयको गुनासो छ ।

बाटो बन्द रहँदा नालाको निकाससमेत अवरुद्ध भएको र सामान्य वर्षामै टोल डुबानमा पर्न थालेको स्थानीयले बताएका छन् । शुक्रबार राति परेको सामान्य वर्षापछि पानी घर–घरमा पसेपछि शनिबार बिहान स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए ।

स्थानीयले निर्माणधनीसँग पटक–पटक सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएको जनाउँदै वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलम तथा वडा नं. ७ का वडा अध्यक्ष हिराकाजीसँग तत्काल हस्तक्षेपको माग गरेका थिए ।

विवाद बढेपछि महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुसाल तथा वडा अध्यक्ष हिराकाजी निर्माणस्थल पुगेका थिए । तर सार्वजनिक बाटो कहिलेदेखि सञ्चालनमा आउने भन्ने विषयमा कुनै ठोस निर्णय हुन नसकेको स्थानीयको भनाइ छ ।

स्थानीयवासीले महानगरपालिकाको ढिलासुस्ती र निष्क्रियताका कारण सार्वजनिक बाटो लामो समयदेखि बन्द रहेको आरोप लगाउँदै सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण तत्काल अन्त्य गर्न माग गरेका छन् ।

स्थानीयहरूको भनाइ छ, “सार्वजनिक बाटो कुनै व्यक्तिको निजी सम्पत्ति होइन । यदि सार्वजनिक बाटो अवरुद्ध गरिएको हो भने सम्बन्धित निकायले तत्काल हस्तक्षेप गरी बाटो खुलाउनुपर्छ र दोषीमाथि कानुनी कारबाही गर्नुपर्छ ।”

शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनुहुँदैन : कार्यवाहक नगर प्रमुख आलम

0

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलम ले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने जुनसुकै समस्याको समाधानका लागि महानगरपालिका सदैव तयार रहेको बताएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साद्वारा वीरगंजस्थित होटल भिस्वामा आयोजित ‘एसईई २०८२ एक्सीलेन्स अनर अवार्ड’ कार्यक्रममा बोल्दै उनले आर्थिक अभावका कारण महानगरभित्रका कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिए ।

उनले विद्यालय व्यवस्थापन र अभिभावकबीच समय–समयमा विभिन्न विषयमा विवाद उत्पन्न हुने गरेको उल्लेख गर्दै दुवै पक्षले एकअर्काको अवस्था र समस्या बुझ्न आवश्यक रहेको बताए। अभिभावकले विद्यालयको अवस्था र विद्यालयले अभिभावकको पीडालाई आत्मसात् गरे मात्र विद्यार्थी, विद्यालय र अभिभावकबीच सहकार्य बढ्ने र महानगरको शिक्षा क्षेत्र थप सुदृढ बन्ने उनको भनाइ थियो। शिक्षा क्षेत्रसँग सम्बन्धित जुनसुकै समस्या समाधान गर्न महानगरपालिका निष्पक्ष र उत्तरदायी रूपमा भूमिका निर्वाह गर्न तयार रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका नेशनल प्याब्सनसँग आबद्ध २० विद्यालयका ५६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। पर्सा जिल्लाभर सबैभन्दा उत्कृष्ट नतिजा अर्थात् ४.० जीपीए ल्याउन सफल जि.एच.पी. विद्यालय का ६ जना तथा कादम्बरी स्कुल का २ जना विद्यार्थी र सम्बन्धित विद्यालयलाई विशेष सम्मान प्रदान गरिएको थियो। अन्य उत्कृष्ट विद्यार्थीहरूलाई पनि खादा, टीका र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

समारोहमा उपस्थित अतिथिहरूले सम्मानित विद्यार्थीहरूको सफलता कडा मेहनत, अनुशासन, अभिभावकको साथ र गुणस्तरीय शिक्षाको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उपलब्धि हासिल गर्न शुभकामना दिएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ता ले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले निजी विद्यालयप्रतिको जनविश्वास अझ मजबुत भएको बताए। उनले विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र स्वयं विद्यार्थीको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक तथा प्रतिस्पर्धात्मक शिक्षामा जोड दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, यस्ता प्रेरणादायी सम्मान कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिए ।

जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

संगठन बलियो भए मात्रै कांग्रेस प्रभावकारी बन्छ : महामन्त्री पौडेल

0

वीरगंज । नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिको आयोजनामा शनिबार वीरगंजमा ‘क्रियाशील सदस्यता सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउने, क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले मधेश प्रदेशमा नेपाली कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेको उल्लेख गर्दै जनजाति, दलित तथा अन्य समुदायबाट पनि थप क्रियाशील सदस्य बनाउने अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले पार्टीको क्रियाशील सदस्यता प्रणाली समयमै सम्पन्न गर्नुपर्ने बताउँदै संगठन बलियो भए मात्रै कांग्रेस अझ प्रभावकारी बन्न सक्ने धारणा राखे। क्रियाशील सदस्यता पार्टीको मेरुदण्ड भएकाले सदस्यता वितरण र नवीकरण प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात, ढिलासुस्ती वा अन्योल हुन नहुने उनको भनाइ थियो ।

महामन्त्री पौडेलले कार्यकर्ताको सक्रिय सहभागिता, अनुशासन र जनतासँगको निरन्तर सम्पर्कले मात्रै पार्टीप्रतिको विश्वास अझ मजबुत हुने उल्लेख गर्दै आगामी निर्वाचनलाई लक्षित गरी अहिलेबाटै गाउँ–टोलसम्म संगठन विस्तार र सुदृढीकरणमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू रमेश रिजाल, अजयकुमार चौरसिया, सुरेन्द्र चौधरी, रामरूप प्रसाद कुर्मी, जिल्ला उपसभापति रामनारायण कुर्मी, सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, महाधिवेशन प्रतिनिधि राकेश सिंह, महिला नेतृ किरण सरकार, मनोजा चौधरी लगायत क्रियाशील सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई क्रियाशील सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण तथा संगठन विस्तारसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो । साथै, सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै पार्टीको संगठनलाई तल्लो तहसम्म सशक्त बनाउने विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ ।

गहवामाईको चौथो विशाल रथ यात्राको सम्पूर्ण तयारी पूरा, हेलिकप्टरबाट पुष्पवर्षा गरिने

6

वीरगंज । वीरगंजस्थित प्रमुख धार्मिक आस्थाको केन्द्र श्री गहवामाई मन्दिरमा आयोजना हुने चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिले असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने धार्मिक महोत्सवका कार्यक्रम सार्वजनिक गर्दै यस वर्ष पनि लाखौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा रहेकाे आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर परिसरबाट विधिपूर्वक पूजा–अर्चना गरी चौथो विशाल रथ यात्राको शुभारम्भ गरिनेछ । यस वर्षको रथ यात्राको विशेष आकर्षणका रूपमा यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

सोही दिन साँझ मन्दिर परिसरमा प्रख्यात भजन कलाकारहरूको सहभागितामा भव्य भजन सन्ध्या आयोजना गरिनेछ । त्यसपछि श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ ।

पत्रकार सम्मेलनमा समितिले रथ यात्राका क्रममा लाखौँ श्रद्धालुको सहज आवागमन र सुरक्षालाई मध्यनजर गर्दै वीरगंजको मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा संरचना हटाउने कार्य रथ यात्रा अवधिभर स्थगित गर्न सम्बन्धित सडक डिभिजन कार्यालयलाई औपचारिक पत्राचार गरिसकिएको जानकारी दिएको छ ।

समितिले वीरगंजका सामाजिक, धार्मिक, जातीय तथा व्यावसायिक सङ्घ–संस्था, बुद्धिजीवी र नागरिक समाजलाई रथ यात्रामा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ । साथै रथ यात्रा मार्गमा पर्ने घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन गरी माताको स्वागत गर्न तथा श्रद्धालुका लागि खानेपानी, सर्वतलगायत सेवामूलक व्यवस्था मिलाई धार्मिक महोत्सवलाई सफल बनाउन आग्रह गरिएको छ ।

पत्रकार सम्मेलनमा रथ यात्रा–२०८३ की महिला संयोजक विभा साह, संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

आयोजक समितिले गहवा माईको रथ यात्रा धार्मिक आस्थाको मात्र नभई वीरगंजको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र सामुदायिक एकताको महाउत्सव भएकाले सबैलाई सहभागी भई कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन आग्रह गरेको छ ।

वालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी

0

वीरगंज । ‘कमन जेन–जी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारका गतिविधि जनविरोधी, निरंकुश र नागरिक अधिकारमाथि हस्तक्षेपकारी बन्दै गएको आरोप लगाउँदै तत्काल आफ्नो कार्यशैली नसच्याए देशव्यापी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत संगठनले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै हालैका विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

संगठनले यातायात व्यवस्था र ट्राफिक प्रहरीको ज्यादतीका कारण भारी जरिवाना तिर्न नसक्दा तथा सवारीसाधन नियन्त्रणमा लिएपछि मुगुका युवा गणेश नेपालीले आत्मदाह गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, उक्त घटनाबारे संसदमा गृहमन्त्रीले दिएको ‘स्थानीय सरकार दलहरूको अधिपत्यमा रहेको र यसमा संघीय सरकारको कुनै दोष नरहेको’ भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेको छ।

कमन जेन–जी नेपालका अध्यक्ष विकेश साह, महासचिव रोनिश साह तथा इन्चार्ज कृष्णमोहन सहनीद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा मृतक गणेश नेपालीलाई उचित सम्मान प्रदान गर्न, उनका परिवारको दीर्घकालीन भरणपोषणको व्यवस्था गर्न तथा घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

संगठनले सरकारलाई समयमै आफ्ना गतिविधि सच्याएर नागरिकमैत्री शासन सञ्चालन गर्न आग्रह गर्दै त्यसो नभए देशभरका जेन–जी युवा तथा आम नागरिकसँग मिलेर सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख तथा हालका प्रधानमन्त्री वालेन्द्र शाहकै कार्यकालदेखि महानगरमा प्रहरीको ज्यादती र उदण्डताको सुरुआत भएको दाबी गर्दै अहिले त्यसको परिणाम देखिन थालेको उल्लेख गरिएको छ।

कमन जेन–जी नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले १०० दिन पूरा गर्दा पनि जनताको पक्षमा कुनै प्रभावकारी काम गर्न नसकेको आरोप लगाएको छ। बरु सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने, राज्य संयन्त्रको दुरुपयोग गरी सार्वजनिक निकायका पदाधिकारीलाई बर्खास्त गर्ने तथा सरकारी कर्मचारीलाई दबाबमा राखेर अनिच्छित कार्य गर्न बाध्य पार्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, बजेट तथा नीति कार्यक्रममा युवाको रोजगारी र आयआर्जनका लागि ठोस कार्यक्रम नल्याइएको तथा सवारी चालकलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेर नागरिकको स्वतन्त्र आवागमनमाथि बन्देज लगाउन खोजिएको आरोप पनि संगठनले लगाएको छ।

विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएको, त्यसबारे संसदमा स्पष्टीकरण नदिई संसदकै अपहेलना गरेको तथा बहालवाला र सेवानिवृत्त पदाधिकारीहरूको सम्पत्ति विवरण बुझाउने र छानबिन गर्ने संवैधानिक व्यवस्थालाई निष्क्रिय बनाउने प्रयास भइरहेकोप्रति समेत आपत्ति जनाइएको छ।

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने आदर्श मिश्रामाथि कारबाहीको माग

0

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्रामाथि कानुनी कारबाहीको माग गरेको छ ।

महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै ‘आदर्श मिश्रा’ नामबाट टिकटक सञ्चालन गर्ने व्यक्तिले पत्रकारिता क्षेत्रलाई लक्षित गरी अमर्यादित, अश्लील तथा अपमानजनक शब्द प्रयोग गरेको र सामाजिक सद्भावमा समेत असर पर्ने सामग्री सार्वजनिक गरेको जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोले सार्वजनिक गरिएको भिडियो सामग्रीले पर्साका पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्‍याएको उल्लेख गर्दै कुनै पनि पेशाप्रति अश्लील तथा अपमानजनक टिप्पणी गर्नु निन्दनीय र कानुनी कारबाहीको विषय भएको बताएका छन् ।

महतोले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकसमक्ष निवेदन बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी सम्बन्धित व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

आरोपित आदर्श मिश्रा बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–स्थित नगौल निवासी रहेको जनाइएको छ ।

महासंघले सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्ति वा कुनै पनि पेशाको मर्यादामा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ ।

वीरगंज महानगरमा छड्के अनुगमन, २० कर्मचारी कार्यकक्षमा अनुपस्थित भेटिए

0

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले शुक्रबार महानगरका विभिन्न शाखा तथा फाँटमा आकस्मिक (छड्के) अनुगमन गरेका छन्। सेवाग्राहीका गुनासोको तत्काल सम्बोधन गर्ने र कार्यालयभित्रको ढिलासुस्ती अन्त्य गर्ने उद्देश्यले संयुक्त रूपमा अनुगमन गरिएको हो ।

शुक्रबार बिहान करिब १०:३० बजे कार्यवाहक नगर प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत बोहरा महानगरका विभिन्न शाखामा पुगेर कर्मचारीहरूको उपस्थितिको अवस्था निरीक्षण गरेका थिए। नेतृत्व तह आफैं कार्यालय समयको सुरुवातमै शाखा–शाखामा पुगेपछि कर्मचारी वृत्तमा हलचलसमेत देखिएको थियो ।

अनुगमनका क्रममा महानगरका विभिन्न शाखा तथा फाँटमा कार्यरत करिब २० जना कर्मचारी आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएका थिए।

अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले प्रशासनिक अनुशासनमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै अनुपस्थित कर्मचारीहरूको विवरण प्रमाणीकरण गरिने बताए ।

उनले भने, “कार्यकक्षमा नदेखिएका कर्मचारीमध्ये केही बिदामा रहेको, केही फिल्डमा गएको र केही ढिला आएको जानकारी प्राप्त भएको छ। उनीहरूले पेश गर्ने विवरणको विस्तृत प्रमाणीकरण गर्नेछौं। यदि कसैको लापरबाही वा गल्ती पुष्टि भएमा नियमानुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले छड्के अनुगमनको उद्देश्य कर्मचारीमाथि कारबाही गर्नु मात्र नभई सेवाप्रवाहलाई प्रभावकारी बनाउनु रहेको बताए ।

उनले भने, “महानगरमा सेवा लिन आउने सेवाग्राहीबाट पटक–पटक गुनासो आउने गरेको छ। ती गुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्न र कार्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन अनुगमन गरिएको हो। साथै, पछिल्लो जेन्जी (Gen-Z) आन्दोलनपछि बदलिएको परिस्थितिमा कर्मचारीहरूले सेवा प्रवाहका क्रममा भोगिरहेका व्यवहारिक समस्या पनि प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरेका छौं ।”

महानगर नेतृत्वले आगामी दिनमा पनि यस्ता आकस्मिक अनुगमनलाई निरन्तरता दिँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाइने जनाएको छ ।

काठमाडौंमै बसेर मौलापुरको खाताबाट करोडौं निकालेको आरोप, उपसचिव घिमिरेमाथि छानबिनको माग

0

वीरगंज । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरेमाथि काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौं रुपैयाँ अवैध रूपमा निकालेको आरोप लागेको छ ।

लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका घिमिरेले नगर नेतृत्वको जानकारी र निर्णयबिनै सरकारी खाताबाट ठूलो रकम निकालेको भन्दै तत्काल छानबिन, निलम्बन र रकम फिर्ता गराउन माग गरिएको छ ।

मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आफ्नो जिम्मेवारी पूरा गर्नुको सट्टा सरकारी स्रोत–साधनको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको आरोप लगाएकी हुन् ।

उनले महिनौँदेखि कार्यालयमा उपस्थित नभई नगरपालिकाको प्रशासनिक कामकाज अस्तव्यस्त बनाएको, सेवाप्रवाह ठप्प पारेको, विकास निर्माणका काम प्रभावित बनाएको तथा बजेटसमेत फ्रिज हुने अवस्था सिर्जना गरेको उल्लेख गरेकी छन् ।

मेयर साहले नगर नेतृत्वको जानकारी र स्वीकृतिबिना सरकारी खाताबाट करोडौं रुपैयाँ निकालिएको घटना गम्भीर आर्थिक अपराध भएको बताउँदै उक्त रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गर्न र संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेकी छन् ।

विज्ञप्तिमा सरकारी ढुकुटीलाई निजी सम्पत्तिजस्तो ठानी मनपरी खर्च गर्ने कार्य आर्थिक उदण्डता र भ्रष्टाचारजन्य अपराध भएको उल्लेख गर्दै यसमा संलग्न जोसुकैलाई पनि छानबिनको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

मेयर साहका अनुसार नगरपालिकामा लाभ हुने योजनामा मात्र भुक्तानी गर्ने र अन्य योजनाको भुक्तानी रोक्ने प्रवृत्तिले थप समस्या उत्पन्न गरेको छ । त्यसैले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी सरकारी खाताबाट निकालिएको रकम असुलउपर गरेर नगरपालिकाको खातामा फिर्ता गराउन नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

उनले मौलापुर नगरपालिकामा देखिएको समस्या समाधान गर्न संघीय मन्त्रालय पटक–पटक असफल भएको उल्लेख गर्दै यसपटक भने गम्भीर भएर समस्याको निकास निकाल्न आग्रह गरेकी छन् । साथै, सर्वोच्च अदालतको अन्तरिम आदेशको भावना विपरीत हुने गरी प्रमुख प्रशासकीय अधिकृतले काम गरेको आरोपसमेत लगाएकी छन् ।

यस घटनाप्रति असन्तुष्टि जनाउँदै मौलापुरवासी आन्दोलनमा उत्रिएका छन् । बिहीबार स्थानीयले प्रधानमन्त्री वालेन शाहको पुतला दहन गर्दै प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन र कारबाहीको माग गरेका थिए ।