सेढवा । पर्सा जिल्लामा गएरातिदेखि परेको मेघगर्जनसहितको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । चट्याङ, बाढी र डुबानका कारण सर्वसाधारणसँगै किसानहरू पनि समस्यामा परेका छन् । जिल्लाका दुई स्थानमा चट्याङ लाग्दा १० जना घाइते भएका छन् भने बाढी–डुबानले बस्ती र खेतीबालीमा ठूलो क्षति पुर्याएको छ ।
पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेबाट सिधौलिया (भारत) जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला बिहान चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् । घाइते हुनेहरूमा शान्तिदेवी सहनी, राधिका देवी सहनी, रिता देवी सहनी, कुश्मी देवी सहनी, सन्ध्या देवी, प्रमिला सहनी र संगीता देवी रहेका छन् ।
घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ ।
उपचाररतमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको जनाइएको छ ।
यस्तै, पर्सा राष्ट्रिय वनसँग जोडिएको पटेर्वासुगौली गाउँपालिका–२ थरघटीमा बिहान करिब ७:१५ बजे चट्याङ लाग्दा दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव घाइते भएका छन् । उनीहरू जंगलमा पशु चौपाया चराउन गएका बेला चट्याङको चपेटामा परेका थिए । नारायणी अस्पतालका अनुसार सूर्य महतो उराँवको पेट र छातीमा गम्भीर चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।
अविरल वर्षाले जिल्लाको कृषि क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ । विशेषगरी जिराभवानी र जगरनाथपुर गाउँपालिकामा किसानहरूले लगाएको चैते धान (हर्दिनाथ–१) बाली डुबानमा परेको छ । पाकेर भित्र्याउने तयारीमा रहेको धान खेतमै डुबेका कारण किसानहरू चिन्तित बनेका छन् । कतिपय किसानले काटेर घरमा ल्याएको धानसमेत लगातारको वर्षाले सुकाउन नपाउँदा पालमै उम्रिन थालेको गुनासो गरेका छन् ।
लगातारको वर्षासँगै खोला, नाला र पैनीहरूमा पानीको सतह बढ्दा विभिन्न बस्ती पनि डुबानमा परेका छन् । जिराभवानी गाउँपालिका–३ का अमृत चौधरी, रामऔतार दास र सुदेशी चौधरीको घरमा बाढी पसेको छ ।
त्यस्तै पटेर्वासुगौली गाउँपालिका–१ मलाहीटोलका रामाधार सहनी, उमेश सहनी, वृजलाल सहनी, हरिन्दर सहनी, सुरज सहनी, राजु सहनी, जोगिन्दर सहनी र नन्दु सहनीका घरमा पनि बाढीको पानी पसेको स्थानीयले बताएका छन् ।
वर्षापछि खेतबारीमा पानीको बहाव बढ्दा धान रोपाइँ सम्पन्न गरेका किसानहरू थप समस्यामा परेका छन् । जिराभवानी गाउँपालिका–२ सेढवाका किसान पुजन चौधरीका अनुसार खेतमा बनाइएका करिब ८० प्रतिशत आली बगाएको छ । रोपाइँ सकिसकेकाले पुनः आली बनाउन आवश्यक माटोसमेत नपाइने अवस्था रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
यता, अत्यधिक वर्षाका कारण वीरगंजलाई जोड्ने हुलाकी सडकखण्डका विभिन्न स्थानमा सडकभन्दा करिब डेढदेखि दुई फिटमाथिसम्म बाढी बगेपछि केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो ।
प्रशासनले वर्षा जारी रहने सम्भावना रहेकाले नदी–नाला, खुला खेत तथा वन क्षेत्रमा अनावश्यक रूपमा नजान, चट्याङबाट बच्न आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।









