Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 635

मेयर सिंहकाे १०० दिन : घण्टाघरकाे सडक निर्माणदेखि मलकाे व्यवस्था सम्म

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । महानगरपालिकाको सभाकक्षमा शुक्रबार पत्रकार सम्मेलन गरी मेयर सिंहले सपथग्रहण गरेदेखि १ सय दिनसम्म गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

२०७९ जेठ १२ गते सपथग्रहण गरेदेखि हालसम्मको १ सय दिनमा जनताको दैनिकी जीवनसँग जोडिएका समस्यालाई समाधान गरिएको भन्दै मेयर सिंहले छिटो छरितो र सहज सेवा प्रदान, नक्सा शाखाको फाइलहरुको विवरण सार्वजनिक, अधिवक्ताको व्यवस्थापन तथा नियुक्ति, महानगरभित्रको घरहरुको तथ्याँक संकलनको काम लगायतको कामहरुको शुरुवात भएको दाबी गरे ।

उनले महानगरले अनिवार्य शुल्क बाहेक सेवाग्राहीसँग असुलिने गलत अभ्यासलाई पूर्ण रुपमा अन्त्य गरिएको, सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै एसि जडान, खानेपानीको व्यवस्था, बेञ्चको व्यवस्था, डिजिटल टोकनको व्यवस्थाको साथसाथै कर्मचारीहरुलाई निगरानी गर्नका लागि ई–हाजिरीको व्यवस्था, प्रत्येक शाखामा सिसिटिभि जडान, इन्टरकम फोन जडान जस्ता कार्यहरु भएको बताए ।

त्यसैगरि एक वडामा एक सचिव सहित सहायक सचिवको व्यवस्था, प्रत्येक वडामा कम्प्युटर अपरेटरको व्यवस्था र सोही स्थानबाट व्यवसाय कर, बहाल कर तथा एकिकृत सम्पत्ति कर लगायतको कर तिर्ने व्यवस्था मिलाइएको भन्दै मेयर सिंहले १ हजार वर्गमिटरसम्मको घरको नक्सा पास वडाबाटै गर्न मिल्नेगरि नीति बनाइएको मेयर सिंहको दाबी छ ।

यसरी नै मुख्य सडक र ठूला नालाहरुको सफाई गर्नुका साथै कैलाश होटल आसपासका नालामाथिको अतिक्रमण भत्काइनुको साथै घण्टाघरको सडक निर्माण, मुख्य सडकमा पानी जम्ने समस्यालाई समाधान गर्न पावरहाउस चोकदेखि घण्टाघरसम्मको ११ स्थानमा चेम्बर निर्माण गरि पानी निकासको व्यवस्था मिलाइएको मेयर सिंहले बताए ।

उनले १० हजार घरधुरीको घरेलु मिटरमा अधिकत्म ३० युनिट र महानगरभित्रका ४ सय ७० कृषि मिटरको सम्पूर्ण विद्युत खपतको भुक्तानी महानगरले गर्ने निर्णय भएको र सो कार्यान्वयनको अन्तिम चरणमा रहेको मेयर सिंहको भनाई छ ।

यसैगरि सवारी व्यवस्थापन कर खारेज, महानगरका सम्पूर्ण करहरुको पुनरावलोकन गर्दै कर घटाइएको छ भने छाडा चौपाया नियन्त्रण, जरिवाना र मेडिकल वेष्ट जथाभावी फाल्नेलाई जरिवाना गर्ने कामलाई निरन्तरता दिएको उनले वताए ।

यस महानगरपालिकाको कृषकहरुको सुविधालाई मध्यनजर गर्दै कृषि सामाग्री कम्पनी लिमिटेडबाट महानगरले पाएको कोटा २७ सय ७१ बोरा बाहेक थप १० हजार बोराको सहमति गरिएको गर्नुकाे साथै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग समेत थप २ हजार बोरा युरिया मल र २ हजार बोरा डिएपी मल लिई वितरण गर्ने काम अन्तिम चरणमा पुगेको मेयर सिंहले वताए ।

धार्मिक स्थलको सौन्दर्यीकरण अन्तर्गत गहवामाई मन्दिर अगाडि सडक तथा पेटि युरोपियन स्टान्डर्डको पेवर्स (इन्टरलक) लगाउने काम तथा सौन्दर्यीकरणको काम भइरहेको वताउँदै त्यसका अलावा मन्दिरलाई आधुनिक बत्तिबाट सजाउने कामको समेत चाँडै शुरुवात हुने तथा घण्टाघर, शंकराचार्य गेटलाई समेत डिजिटल लाइटिङ्गको काम अघि सारिएको मेयर सिंहले जानकारी गराए ।

उनका अनुसार सँस्थागत विद्यालयमा देखा परेको समस्यालाई दीर्घकालीन समाधानको लागि शिक्षा समितिलाई पूर्णता दिनुका साथै सामुदिायिक विद्यालयको समस्या समाधानको लागि व्यवस्थापन समिति गठन, भौतिक पूर्वाधार निर्माण लगायतको काम अघि बढाइएको बताए ।

त्यसैगरि प्रत्येक वडामै पुग्नेगरि स्वास्थ्यकर्मी तथा प्रयोगशाला सहितको मेयर घरदैलो स्वास्थ्य कार्यक्रम संचालन, ल्याब जडित गाडी, एम.बि.बि.एस. डाक्टर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, सिएमए तथा अनमि सहितको टोली खटाइने भन्दै मेयर सिंहले वीरगंज महानगरपालिकाको अवस्थाबारे जानकारी प्रदान गर्न स्वेतपत्र पनि जारी गरिएको बताए ।

बसर्पाकको पुनः निर्माणको काम पनि अगाडि बढाइएको वताउँदै ट्राफिक जामको समस्यालाई निराकरण गर्न ई–रिक्सालाई महानगरमा दर्ता गर्नुका साथै रुट निर्धारण गर्ने काम पनि अगाडि बढाइएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा उप मेयर इम्तियाज आलम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पाैडेल लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

0

कलैया । आफ्नै श्रीमतीको हत्याको आरोपमा श्रीमान र उनका भाउजुलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र उनका भाउजू २५ वर्षीया अप्सना खातुन रहेको बाराका प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले बताए ।

सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । अप्सना सहनाजकी जेठानी हुन् ।

भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको भनी सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अवलोकन र अनुसन्धान गरेको थियो ।

मृतकको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएकोले मृतकको लाश पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौमा पठाईको छ ।

सहनाजको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएपछि प्रहरीले सैमोदिनसँग सोधपुछ गर्दा सैमोदिनले घटनामा भाउजु अप्सना समेतको संलग्नता रहेको बताएका थिए ।

प्रहरीले बिहीबार नै उनीहरुलाई पक्राउ गरेर ल्याएको थियो । दुवै जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय समुदायहरुबीच बलियो साझेदारी आवश्यक छ : मन्त्री यादव

0

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरुलाई विश्वव्यापी रुपमा उजागर गर्ने राष्ट्रहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायहरुबीच दिगो पर्वतीय विकासका लागि बलियो साझेदारी आवश्यक रहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतिय वर्ष, २०२२ अन्तर्गत आयोजित ‘मिट द एम्बेसडरस’ कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायहरुबीच बलियो साझेदारी र संस्थाहरु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिन्दुकुश हिमाली क्षेत्रमा थप औपचारिक र प्रभावकारी ढङ्गले काम गर्दै विकास गर्नका लागि एउटा मन्त्रिस्तरीय सामूहिक सङ्गठनको आवश्यकता छ । हामी विश्वभरका पहाडी क्षेत्रहरुको समृद्धिको लागि विश्व स्तरका देशहरुसँग सहकार्य र साझेदारी बढाउन इच्छुक छौं ।” यसैगरी मन्त्री यादवले संयुक्त राष्ट्र संघको महासभाले सन् २०२२ लाई दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको रुपमा तोकेको समेत जानकारी दिए ।

दिगो पर्वतीय अन्तर्राष्ट्रिय वर्ष, २०२२ मनाउने नेपालको पहलको ढाँचाभित्र यस ‘मिट द एम्बेसडरस’ कार्यक्रममा सहभागि अतिथीहरुलाई आफुले स्वागत गर्न पाएको भन्दै मन्त्री यादवले खुशी समेत व्यक्त गरे । नेपाल सरकारले आफ्ना हिमालका समस्या र सम्भावनाहरु नागरिक र अन्तर्राष्ट्रिय समुदायमा बाँडफाँड गर्न सक्ने गरी विभिन्न कार्यक्रम र गतिविधिहरु सहितको दिगो पर्वतीय विकास अन्तर्राष्ट्रिय वर्ष मनाउने निर्णय भएअनुसार आफुहरु काममा लागि परेको समेत उनले जानकारी गराए ।

नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरुलाई विश्वव्यापी रुपमा उजागर गर्ने र राष्ट्रहरु, क्षेत्रीय संस्थाहरु र अन्तर्राष्ट्रिय समुदायहरुबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी खोज्ने यो ठूलो अवसर भएको मन्त्री यादवको भनाई थियो । हामीले वर्षभारीका लागि बनाएको योजना मध्येको आज आयोजना गरिएको कार्यक्रम एउटा कोशेढुङ्गाको रुपमा आफुले लिएको मन्त्री यादवले जिकिर गरे ।

यसैगरी मन्त्री यादवले नेपालमा हिमाल र पहाडले करिब करिब ८० प्रतिशतभन्दा बढी भूभाग ओगटेको तथा ती क्षेत्रमा पर्ने जङ्गल, सिमसार, खेतबारी, दायरा र चट्टान अनी हिउँको परिदृश्यले नेपाली पहाडहरु निकै मनोरम रहनुका साथै ठूलो सङ्ख्यामा वनस्पति र जनावरहरुका प्रजातिका साथै मानव जीविकालाई सहज भएको बताए ।

हिमालमा जलवायु परिवर्तनको प्रभावले तराईमा पनि प्रभाव पार्ने तथा विशेष गरी पहाड र तराईको बीचमा पानी जस्ता पारिस्थितिक प्रणाली सेवाहरुको प्रवाहको कारणले हिमालमा पर्ने जलवायु परिवर्तनले तराई क्षेत्रमा पनि प्रभाव पार्ने प्रति मन्त्री यादवले चिन्ता समेत व्यक्त गरेका थिए ।

पहाडी क्षेत्रहरु, विशेष गरी विकासोन्मुख देशहरुमा, बढ्दो गरिबी, खाद्य असुरक्षा, वातावरणीय ह्रास, प्रकोपको जोखिम र आधारभूत सेवामा सीमित पहुँच जस्ता धेरै कठिनाइहरु भोगिरहेका कारण समस्या भइरहेको उनको भनाई थियो । 

अन्तराष्ट्रिय पर्वतीय वर्ष २०२२ को अर्को प्रमुख कार्यक्रम सेप्टेम्बर २० र ३२ मा ‘मुस्ताङ माउन्टेन समिट’ को रुपमा मनाइने भएको छ । मुस्ताङ, एउटा सुन्दर ट्रान्स हिमालयन जिल्ला भएकाले उक्त महान् शिखर सम्मेलनमा नेपालले आफ्नो पर्वतीय घोषणापत्र जारी गर्ने योजना बनाएको छ ।

वन तथा वातावरण सचिव डा पेमनारायण कँडेलको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायत, ब्रिटेन, ब्राजिल, इजिप्ट, जापान, श्रीलङ्का, जापान, बाङ्लादेश लगायतका राजदूत तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पर्सा क्षेत्र नं. ४ बाट जसपा अध्यक्ष उपेन्द्र यादवकाे नाम सिफारिस

0

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवसहित दुई जनाकाे नाम सिफारिस भएकाे छ ।

प्रतिनिधि सभा क्षेत्रीय समन्वय समितिको बैठकले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारकाे लागि अध्यक्ष उपेन्द्र यादव र पर्सा जिल्ला सचिव तबरेज अहमदकाे नाम सिफारिस गरेकाे क्षेत्रिय अध्यक्ष रामपुकार यादवले जानकारी दिए ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे (ख) बाट प्रदेशसभा सदस्यकाे उम्मेदवारकाे लागि बर्तमान प्रदेश सभा सदस्य सिंहासन साह कलवारकाे एकल नाम सिफारिस भएकाे छ । प्रदेश सभा पर्सा क्षेत्र नं. ४ काे (ख) क्षेत्रिय समन्वय समितिकाे बैठकले  प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि कलवारकाकाे एकल नाम सिफारिस गरेकाे प्रदेश सभा क्षेत्रिय अध्यक्ष दिपक सर्राफले जानकारी दिए ।

यसैगरी पर्सा क्षेत्र नं. २ काे (क) बाट प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवसहित ३ जनाकाे नाम सिफारिस भएकाे छ ।

प्रदेशसभा क्षेत्रिय अध्यक्ष धर्मेन्द्र महताे थारुकाे अध्यक्षतामा बसेकाे प्रदेश सभा क्षेत्रिय समन्वय समितिकाे बैठकले प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि जिल्ला अध्यक्ष यादवसहित बिरेन्द्र यादव र विपिन यादवकाे नाम सिफारिस गरेकाे पर्सा जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

बिल विजक भन्दा बढी सामानहरू बोकेको ट्रक प्रहरी नियन्त्रणमा

0

वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको ट्रक नियन्त्रणमा लिएकाे छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहिबार दिउसाे १ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.६ लोहारपट्टी सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको ट्रक नियन्त्रण लिइएकाे हाे ।

सूचनाकाे आधारमा मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त ट्रकमा रहेकाे लत्ताकपडा तथा खुद्रा सामानहरूकाे रू. एक करोड दुई लाख ४६ हजार ७ सय ५९ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । 

एमालेबाट पर्सा क्षेत्र नं. ३ मा गुप्ताकाे एकल नाम सिफारिस

0

वीरगंज । नेकपा एमालेबाट पर्सा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा राजकुमार गुप्ताको नाम सिफारिस भएको छ ।पाेखरियामा बिहिबार भएकाे क्षेत्रिय भेलाले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हाे ।

क्षेत्रिय समन्वय समितीका अध्यक्ष राजेश्वर रौनियारको अध्यक्षतामा भएकाे भेलाले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा गुप्ताकाे एकल नाम सिफारिस गरेपनि प्रदेश सभा सदस्य उम्मेदवारकाे नाम सिफारिस गरेकाे छैन ।

पार्टीका केन्द्रिय सदस्य समेत रहेका गुप्ता २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।

पाेखरियामा भएकाे क्षेत्रिय भेलामा पर्सा ईन्चार्ज प्रभु हजरा, पर्सा अध्यक्ष जयप्रकाश थारु, सचिव मनोज गुप्ता, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, प्रद्युमन चौहान, बलिराम साह, तेज प्रकाश निषाद, नेताहरु प्रहलाद गिरी, जालिम मियाँ, सखुवा प्रसौनी गाँउपालिका अध्यक्ष यशवन्त यादव लगायतको उपस्थिती रहेको थियो । 

यसैगरी एमाले पर्सा क्षेत्र नं १ को क्षेत्रीय समितिले क्षेत्र नं. १ को ‘ख’ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ सुन्दर कुर्मी, शम्भु गुप्ता, हबिब शेख सेरु, ओमप्रकाश गुप्ताको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ शिवजी गुप्ता, बाबुराम कौशिक, मन्दु हजरा, मुना दहाल, लालबाबु शेख, महम्मद निजाम, रमेश महतो, उर्मिला राम, नलिया देवी गोसाई, जले आमल, श्रीहरि पौडेल लगायतको नाम सिफारिस भएको एमाले वीरगञ्ज महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए ।

यस अघि पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट बसरुदिन अन्सारी, जुनैद अन्सारी र ईस्लाम हवारीको नाम सिफारिस भएको थियाे ।

समानुपातिकतर्फ प्रभु हजरा, निर्मला देवकोटा, डा. विशम्भर कुमार शर्मा, बाबुराम कौशिक, उर्मिला श्रेष्ठ, मेघराज पासवान, श्याम बञ्जारा, केसी लामिछाने, उर्मिला शर्मा र रञ्जु फुयाँलको नाम सिफारिस भएको छ ।

जसपा पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समन्वय समिति गठन

0

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय भेला सम्पन्न भएकाे छ । कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीमा भएकाे भेलाले रामपुकार यादवकाे अध्यक्षतामा ५१ सदस्यीय प्रतिनिधि सभा क्षेत्रिय समिति गठन गरेकाे  जसपा पर्साका सचिव तबरेज अहमदले वताए ।

जुन समितिमा प्रमाेद यादव, गणेश राउत अहिर, शैयद खाँ पैठान, पूर्ण तामाङ, राेशनी लामा लगायतकाे रहेकाे उनले जानकारी दिए ।

यसैगरी भेलाले विकाउ प्रसाद भण्डारीकाे अध्यक्षतामा प्रदेश सभा क्षेत्र नं. ४ काे (क) क्षेत्रिय समन्वय समिति गठन गरेकाे छ । जुन समितिमा नेसार सम्मानी, लक्ष्मी मियाँ थरुनी, सुरज लामा, जगदिश गढवाल, लाेहा सिंह, उपेन्द्र मुखिया लगायतका रहेका छन् ।

यसैगरी भेलाले दिपक सर्राफकाे अध्यक्षतामा प्रदेश सभा क्षेत्र नं. ४ काे (ख) क्षेत्रिय समन्वय समिति गठन गरेकाे छ । जुन समितिमा बृजमाेहन प्रसाद कुर्मी, राजेश्वर प्रसाद कलवार, सुरेन्द्र राम, दुर्गा पटेल, फिराेज खाँ लगायतका रहेका छन् ।

गाेरख प्रसाद केंवटकाे अध्यक्षतामा भएकाे भेलामा पार्टीका केन्द्रिय सदस्यद्वय माेहनलाल चाैधरी, जनार्दन यादव, जिल्ला सह इन्चार्ज महराज यादव, प्रदेश सदस्य मदन चाैहान, जिल्ला सचिव तबरेज अहमद, छिपहरमाई गाउँपालिका समितिका अध्यक्ष इग्रासन साह कलवार, ठाेरी गाउँपालिका समितिका अध्यक्ष ओमराज श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

जलवायु परिवर्तनको समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ : मन्त्री यादव

0

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका छन् । बिहिबार मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २७) मा नेपालले उठान गर्ने मुद्धाबारे विभिन्न संघ/संस्थाहरु सँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले हामी सबैले कार्बन उत्सर्जनलाई काम गरेर र दिगो जीवन–शैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तनको सामना गर्न मद्धत गर्नु पर्ने बताए ।

उनले भने, “जलवायु परिर्वतनका कारण विश्वमा विभिन्न बाढी पहिराे लगायतका घटना भइरहेका छन्, यो समस्या सामाधानका लागि विश्वव्यापी रुपमा प्रयास भइरहेकाले हामीले पनि समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ ।” सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिर्वतन न्यूनीकरण गर्न विभिन्न खाले प्रयास भइरहे पनि खासै सफल हन नसकेको बताए ।

यसैगरी मन्त्री यादवले राष्ट्रिय जलवायु परिर्वतन नीती २०७६ तर्जुमा भइ कार्यान्वयनमा रहेको समेत जानकारी गराए । नेपालले सन् २०४५ मा हरितगृह ग्याँसहरुको कुल उत्सर्जन शुन्य बनाउने लक्ष लिएको र राष्ट्रिय निर्धारित प्रतिबद्धता र राष्ट्रिय अनुकुलता योजना तयार गरिएको समेत मन्त्री यावदले सो कार्यक्रममा जानकारी दिए ।

मन्त्रालयले अर्थमन्त्रालयसहित अन्य विषयगत मन्त्रालय, विभिन्न संघ संस्थाहरुसँगको सहयोग र समन्वयमा दश वर्षका लागि क्लाइमेट फाइनान्स एसर्टटेजी एण्ड एक्सन प्लान र राष्ट्रिय निर्धारित प्रतिबद्धताको इम्प्रेषण प्लान बनाएको र नेपाल सरकारले उक्त महत्वपूर्ण कार्यक्रम स्वीकृत गर्ने समेत मन्त्री यादवले बताए । नेपालले बनाएको नीती तथा रण निती तथा कार्यक्रमहरु सबै तहमा कार्यन्वयन गरिने समेत उनकाे भनाई थियो ।

हाम्रा महत्वाकाँक्षि प्रतिबद्धता तथा कार्यक्रम कार्यान्वयन गर्न हामीलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएकाले नेपालले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा पनि यो कुरा राखेको मन्त्री यादवले बताए । उनले भने, “जलवायु परिर्वतनमा सहयोग गर्ने सम्पूर्ण मित्र तथा मित्र राष्ट्रलाई धन्यवाद छ, आगामी दिनमा पनि उहाँहरुको सहयोगको अपेक्षा समेत राखेकाछौँ ।”

यसैगरी मन्त्री यादवले मन्त्रालयका राष्ट्रसेवक कर्मचारी, आम नागरिक, सामुदायिक वनका पदाधिकारी लगायत विभिन्न संस्थाहरुको सहयोगमा वनको कुल हिस्सा ४५ प्रतिसत भन्दा बढी पुगेकाले आफुहरु आफ्नो लक्ष भन्दा माथी पगेको दावी समेत गरे ।

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयले जलवायु परिर्वतनका विषयमा कोही कसैबाट एक रुपियाँ पनि ऋण नलिने जिकिर गराए । उनले भने, “क्लाईमेट चेन्जका कुरामा हामी न ऋण लिन्छौँ, न भोलीका दिनमा कहिँ सहि गर्छौँ, ऋण लिने अरु गाली खाने हाम्रो मन्त्रालय, त्यो हुँदैन, सहयोग दिए लिन्छौँ, ऋण लिदैनौँ ।”

विश्वको तापमान १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न नदिने भनी यूएनएफसीसीसीका पक्ष मुलुकहरूले पेरिसमा सहमति गरेका भएपनि त्यसको खासै सकारात्मक प्रभाव पर्न नसकेको उक्त कार्यक्रमका सहभागिहरुले बताए ।

वन तथा वातावरण मन्त्रालयले कोप २७ मा नेपालले उठाउने र उठाउनुपर्ने मुद्धा तय गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो ।

जलवायु परिवर्तन न्यूनीकरण महाशाखा प्रमुख डा बुद्धिसागर पौडेलका अनुसार त्यसका लागि दुई वटा समिति तय भएका छन् । एजेण्डा तय गर्न वन तथा वातावरणमन्त्री यादवको नेतृत्वमा निर्देशक समिति गठन भएको छ भने सचिव डा कडेँलको नेतृत्वमा मस्यौदा समिति रहेको छ । त्यसबाहेक विज्ञ समिति पनि गठन गरिएको उनले जानकारी दिए ।

कोपमा १९७ देश सदस्य रहेका छन् । कोप ‘युनाइटेड नेशन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ (यूएनएफसीसीसी) अन्तर्गतको सम्मेलन हो । कोप २६ स्कटल्यान्डको ग्लास्गोमा भएको थियो । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको पेरिस सम्झौतापछि जलवायु परिवर्तनको असर न्युन गर्न विश्वले गरेका प्रगतिबारे आगामी सम्मेलनमा बहस हुने बताइएको छ ।

विकसित मुलुकले सन् २०२० देखि २०२५ सम्म वार्षिक १ सय बिलियन अमेरिकी डलर विकासशील मुलुकलाई प्रदान गर्ने प्रतिवद्धता जनाए पनि उक्त रकम प्राप्त हुन नसकिरहेका बेला नेपालले यो वर्ष यही मुद्धा उठान गर्ने भएको छ ।

स्वर्गीय गिरीको पुण्य तिथीमा वीरगंजमा श्रद्धाञ्जली सभा

0

वीरगंज । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको १३ औँ दिनको पुण्य तिथीमा बिहिबार वीरगंजमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका प्रतिनिधिको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदीप गिरी नेपाली कांग्रेसका मात्रै नभएर अन्य पार्टीका लागि पनि साझा नेता रहेको बताए  थिए । कांग्रेसको नेता हुँदाहुँदै उनी कम्युनिष्टलाई समाजवाद र माक्र्सबाद पढाउँदै हिँडेको स्मरण गर्दै वक्ताहरुले गिरीलाई कुनै पार्टीको मात्रै घेरामा राख्नु भन्दा पनि सबैका लागि साझा व्यक्तित्व रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि रमेश रिजालले स्वर्गीय प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न सके मात्रै पनि उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए । यो गर्छु त्यो गर्छु भनेर भन्नु भन्दा पनि हरेकले गाउँमा रहेका विपन्न, गरिब, दलितका एकएक जना सन्तानको शिक्षाको जिम्मा लिने हिम्मत गरे मात्रै स्वर्गीय गिरी प्रतिको सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए ।

एक फरक प्रसंगमा नेता रिजालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा अहिले रहेको गठबन्धनको विकल्प नरहेको बताए ।
स्थानीय तहको बेला कसले कहाँ घात अन्तर्घात गर्यो भन्दा पनि अहिले संविधान विरोधी, संघीयता विरोधी तत्वलाई परास्त गर्न पनि बलियो र विश्वासिलो गठबन्धन बनाएरै अघि बढ्नु पर्ने आवश्यकता रहेको औँल्याए ।

अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेको भन्दै उनले कसको के हैसियत छ बुझेर बाँडफाँडको टुंगो लाग्ने पनि स्पष्ट पारे ।
कांग्रेसले १ सय सिट माग गरिरहेको भए पनि ८०/८५ सिटमा कुरा मिल्न सक्ने भन्दै उनले त्यति जित्न सकिए पनि समानुपातिक जोडेर कांग्रेस ठूलो पार्टी बन्नेमा कसैले रोक्नै नसक्ने बताए ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य अजय चौरसियाले स्वर्गीय गिरीको स्वभाव जस्तै सबैले लोभ, लालच, अभिमान त्यागे मात्रै राजनीतिले सच्चाई प्राप्त गर्ने बताए ।

नेता अजय द्विवेदीले गिरीको निधनले समग्र राजनीतिमा विचारको दियो निभेको भान भएको बताए । उनले स्वर्गीय गिरी माक्र्सबाद र गान्धिवादको मिश्रण गरेको भन्दै पार्टीमा उनी बैचारिक सिङ्गल पिस रहेको पनि बताए । उनी जस्तो नेता अब खोजेर नपाईने भन्दै स्वर्गीय गिरीका विचार अहिले पनि सामाजिक सञ्जालमा खोजि खोजी आफूले सुन्ने गरेको र अरुलाई पनि सुन्न आह्वान गरे ।

कार्यक्रममा नेकपा एमाले सुन्दर कुर्मी, जनता समाजवादी पार्टीका सचिव तबरेज अहमद लगायतले गिरीको विचारले आफूलाई पनि राजनीतिमा तानेको भन्दै उनी जस्तो सबैको प्रिय नेता अब भेट्न नसकिने विचार व्यक्त गरे ।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर साह, वीरगंज महानगरपालिकाका पूर्व उपमेयर शान्ति कार्की, सामाजिक कार्यमा सक्रिय युवा नेता कञ्चन झा लगायतले प्रदीप गिरीको जीवनीका बारेमा चर्चा गरेका थिए ।