Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

उच्च अदालत वीरगंजकाे ७१ प्रतिशत मुद्दा फर्छ्योट, पुराना मुद्दा पनि उल्लेख्य रूपमा घटे

spot_img
spot_img

वीरगंज । कर्मचारी अभाव, सीमित भौतिक पूर्वाधार र बढ्दो मुद्दाको चापबीच पनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा न्याय सम्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । अदालतले कुल मुद्दामध्ये ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट गर्दै अघिल्ला वर्षको तुलनामा न्यायिक कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको हो ।

बिहीबार अदालत परिसरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मुख्य न्यायाधीश गोकर्ण डाँगीले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूको समन्वित प्रयासका कारण अदालतले प्रभावकारी रूपमा न्याय सम्पादन गर्न सफल भएको बताए । उनले भवन र जनशक्तिकाे कमि हुँदा हुँदै पनि ७२ प्रतिशत मुद्दा फैसला ठुलाे उपलब्धि भएकाे वताए ।

अदालतले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ३ हजार ५९४ र नयाँ दर्ता भएका ४ हजार ६३० गरी कुल ८ हजार २२४ मुद्दा विचाराधीन रहेका थिए । तीमध्ये ५ हजार ८४६ मुद्दा टुंग्याइएको छ भने २ हजार ३७८ मुद्दा अझै फैसला हुन बाँकी छन् ।

फर्छ्योट दरमा पनि अदालतले निरन्तर सुधार गरेको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५६.६० प्रतिशत र २०८१/८२ मा ५६.८५ प्रतिशत रहेको मुद्दा फर्छ्योट दर यस वर्ष बढेर ७१.०८ प्रतिशत पुगेको हो ।

अदालतले लामो समयदेखि विचाराधीन रहेका पुराना मुद्दा टुंग्याउन विशेष प्राथमिकता दिएको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेका १८ महिनाभन्दा बढी पुराना १५७ मुद्दामध्ये अधिकांशको फैसला गर्दै हाल त्यस्ता २१ वटा मात्रै मुद्दा बाँकी रहेको अदालतका रजिस्ट्रार तारादत्त बडुले जानकारी दिए ।

उनका अनुसार हाल विचाराधीन मुद्दामध्ये ६ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, १२ देखि १८ महिनासम्मका २८२ र १८ महिनाभन्दा बढी पुराना २१ मुद्दा रहेका छन् । त्यस्तै रिटतर्फ विभिन्न अवधिका गरी ४१९ वटा मुद्दा अझै फैसला हुन बाँकी छन् ।

मुख्य न्यायाधीश डाँगीले आवश्यक जनशक्ति, पर्याप्त भौतिक संरचना र स्रोतसाधन उपलब्ध गराइए अदालतको सेवा प्रवाह अझ प्रभावकारी, छिटो र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे । उनले न्यायिक सुशासन, पारदर्शिता र सर्वसाधारणलाई सहज रूपमा न्याय उपलब्ध गराउने प्रतिबद्धता अदालतले निरन्तर कायम राख्ने पनि बताए ।

कार्यक्रममा  मुद्दाको अवस्था, फर्छ्योट दर तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी रजिस्ट्रार बडुले प्रस्तुत गरेका थिए ।

मुख्य न्यायाधीश डाँगीकाे अध्यक्षतामा भएकाे अन्तरक्रियामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका न्यायाधीश जगतबहादुर थापा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, अदालतका रजिस्ट्रारहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

वि.सं. २०७३ साल असोज ३ गतेदेखि सञ्चालनमा आएको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज हाल उच्च अदालत पाटनपछिकाे दोस्रो ठूलो उच्च अदालतकाे रूपमा परिचित छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज कारागारबाट एक कैदी फरार, खोजी तथा अनुसन्धान सुरु

वीरगंज । वीरगंज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन् । फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–४, सतरियाका ३० वर्षीय सुनिल साह तुरहा...

महुवनमा रास्वपाको कार्यकर्ता भेटघाट तथा छलफल, स्थानीय निर्वाचनबारे पनि चर्चा

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। पर्सा निर्वाचन क्षेत्र नं. १...

चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा ३० वर्षीय सुमन राना मगरले...