Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 60

बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै

0

धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्‍याउँदै छ ।

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले राहत सामग्री आज पठाउन लागेको हो ।

बैठकमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुनमन्त्री महतोले जानकारी दिनुभयो ।

मन्त्री महतोका अनुसार आज सात हजार थान कम्बल र ७०० थान अस्थायी आवासका लागि टेन्ट पठाइनेछ । बाढीका कारण विस्थापित परिवारको व्यवस्थापन तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन प्रदेश सरकारका तर्फबाट थप सहयोग र समन्वय गरिने उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन लागेको हो । पहिलो चरणमा रु ५५ लाख पठाइएको थियो । अहिले कम्बल र टेन्ट पठाउने निर्णय भएको छ,” मन्त्री महतोले भन्नुभयो, “आगामी दिनमा राहतका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा मङ्गलबार पुनः बैठकमा छलफल हुनेछ ।”

बाढी प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहायता सरकारको प्रमुख दायित्व भएकाले विपद्का बेला आवश्यक राहत तथा सहयोगलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने विषयमा बैठकमा जोड दिइएको थियो ।

अनधिकृत प्रचार गर्नेविरुद्ध कारबाही गर्ने रास्वपा पर्सा ४ को चेतावनी

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ ले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवारका नाममा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्षेत्रीय सभापति जितेन्द्र मिश्रद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टीको आधिकारिक निर्णय, नीति तथा निर्देशनबिना “मिसन ८४”, “मिसन मेयर” लगायतका कुनै पनि प्रकारका प्रचार सामग्री, नारा, पोस्टर, भिडियो, ब्यानर वा सन्देश सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचारप्रसार नगर्न सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समर्थकलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा आधिकारिक निर्णयबिना गरिने यस्ता गतिविधिले संगठनको अनुशासन, नीति तथा आधिकारिक धारणाविपरीत भ्रम सिर्जना गर्न सक्ने उल्लेख गर्दै यस्ता कार्यबाट टाढा रहन अनुरोध गरिएको छ ।

त्यस्तै, कुनै व्यक्ति वा समूहले अनधिकृत रूपमा यस्ता प्रचारप्रसार गरेको प्रमाणित भएमा सम्बन्धित व्यक्ति तथा प्रचारमा संलग्न पेज, ग्रुप वा एडमिनको विवरणका आधारमा पार्टीको विधान, अनुशासन तथा प्रचलित नियमअनुसार आवश्यक छानबिन गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने चेतावनी पनि दिइएको छ ।

रास्वपाले पार्टीको गरिमा, संगठनात्मक अनुशासन तथा आधिकारिक निर्णयको सम्मान गर्दै जिम्मेवार, संयमित र अनुशासित ढंगले प्रस्तुत हुन सम्पूर्ण सदस्य तथा समर्थकलाई आग्रह गरेको छ ।

वीरगंजकाे रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने ४ जना पक्राउ

0

वीरगंज । वीरगंवजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गरिरहेका चार जना हिन्दू सङ्गठनसँग आबद्ध युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको घटनाको विरोधमा शनिबार रानीघाट क्षेत्रमा प्रदर्शन भइरहेको बेला प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको कमान्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईसहितको संयुक्त प्रहरी टोलीले प्रदर्शनकारीलाई रानीघाट चोकबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले टायर बालेर सार्वजनिक शान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न चार जनालाई पक्राउ गरिएको जनाएको छ । यद्यपि, पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले दोस्रो पटक शुक्रबार साँझ ५ बजेदेखि वीरगंजमा निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा शनिबार बिहान ६ बजे हटाइएपछि प्रदर्शन भएको हो ।

घटनापछि रानीघाट क्षेत्रको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

0

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ करिब ७ः३५ बजे वीरगंज–२ निवासी १८ वर्षीय समिर अन्सारीले पुरानो व्यक्तिगत विवादका कारण वीरगंज–१६ ईनर्वागाउँ निवासी १८ वर्षीय रंजित यादवमाथि कुटपिट गरेका थिए । घटनामा घाइते भएका यादवको ओठ र नाकमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेलाई तत्काल प्रभु अस्पताल पुर्‍याई उपचार गराएको तथा घटनामा संलग्न समिर अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच, उक्त घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा सामाजिक तथा धार्मिक सद्भाव खलबलिने किसिमका सामग्री सम्प्रेषण भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको सत्यतथ्य अनुसन्धान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइसकिएको उल्लेख गर्दै अपुष्ट तथा भ्रामक सूचना नफैलाउन आग्रह गरिएको छ ।

प्रहरीले सञ्चारकर्मी तथा सर्वसाधारणलाई सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेको छ ।

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

0

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको छ ।

गृहमन्त्री सुधन गुरुङ र मृतकका बुवा रामवृक्ष यादवबीच भएको सम्झौतामा सरकारले पीडित परिवारका माग यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो ।

सम्झौताअनुसार नेपाल सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ । साथै, श्रावण १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।

यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने, घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनअनुसार कार्यान्वयन गरिने सहमति भएको छ ।

सम्झौतामा गणेश यादवको स्मृतिमा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने तथा आवश्यक अन्य पहल गर्ने उल्लेख छ । साथै, मृतकको अन्त्येष्टि शनिबार बिहान १० बजे गर्ने सहमति भएको छ ।

त्यसैगरी, मृतकका भाइ र बहिनीलाई निःशुल्क शिक्षाको व्यवस्था तथा उनका आमा–बुवाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिबद्धता पनि सम्झौतामा समेटिएको छ ।

उक्त सम्झौतामा मृतकका बुवा रामवृक्ष यादव र गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

0

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्। देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूलाई पदमुक्त गरिएको घटनाप्रति प्रतिक्रिया दिँदै उनले एमालेको कदम संविधान, कानून र लोकतान्त्रिक अभ्यासविपरीत रहेको बताएका हुन्।

शनिबार जारी गरेको वक्तव्यमा अध्यक्ष साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीमा भित्र्याउने एमालेले देवाही–गोनाहीका मेयरलाई भने असंवैधानिक रूपमा पदमुक्त गर्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरे। उनले नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाबाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायत विभिन्न स्थानीय तहका प्रमुखलाई एमालेमा प्रवेश गराएको स्मरण गराउँदै, दल नै नत्यागेका मेयर प्रेमलाल साह कानूलाई पदमुक्त गर्नु हास्यास्पद भएको बताए।

साहले स्थानीय निर्वाचनमा अत्यधिक मतका साथ विजयी भएका मेयर कानूलाई संविधान र कानूनमा व्यवस्था नै नभएको आधारमा हटाइएको दाबी गरे। उनले यस्तो निर्णय नगरपालिकामाथि राजनीतिक नियन्त्रण कायम गर्ने उद्देश्यले गरिएको आरोपसमेत लगाए।

उनले एमाले नेतृत्वलाई नैतिकताको ख्याल गर्न आग्रह गर्दै भने, “अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई दिनदिनै एमालेमा प्रवेश गराउने नेतृत्वले कुन नैतिकताले देवाही–गोनाहीका नगरप्रमुखलाई पदमुक्त गर्‍यो? वीरगञ्ज महानगरपालिकालगायत देशका दर्जनौँ मेयरलाई केपी ओलीले आफ्नै हातले टीका लगाएर पार्टी प्रवेश गराएको कुरा सबैलाई थाहा छ।”

पूर्वमन्त्री साहले मेयर प्रेमलाल साह कानू एमालेको भोटले नभई आफ्नै जनाधारका आधारमा निर्वाचित भएको दाबी गर्दै पछिल्लो निर्वाचनमा सो नगरपालिकामा एमालेले जम्मा पाँच सय मत मात्र प्राप्त गरेको तथ्यांक पनि उल्लेख गरेका छन्। उनले एमाले नेतृत्वलाई लोकतन्त्रविरोधी र षड्यन्त्रकारी प्रवृत्ति अपनाएको आरोप लगाए।

साहले नेपालको संविधानको धारा २१६ को उपधारा (८) अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको पद राजीनामा, मृत्यु वा पदावधि समाप्त भएको अवस्थामा मात्र रिक्त हुने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै, त्यसविपरीत गरिएको पदमुक्ति संविधानको भावना विपरीत भएको जिकिर गरेका छन्।

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

0

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतको मिति २०७८ फागुन २९ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका पर्साको पोखरिया नगरपालिका–२, लमरियाका २३ वर्षीय सदाम अन्सारीलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनलाई शुक्रबार अपराह्न करिब ४ः३० बजे लमरिया सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरी, सिरहा लगायत देशका विभिन्न जिल्लामा हालै भएका संवेदनशील घटनाका साथै पर्सा जिल्लाको वर्तमान सुरक्षा अवस्थाबारे विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । बैठकले जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

बैठकले हिन्दु, मुस्लिम, बौद्ध, इसाई लगायत सबै धर्मका गुरु, अगुवा तथा जिम्मेवार व्यक्ति एवं संस्थाहरूलाई आफ्ना समुदायमा धैर्यता, सहिष्णुता, साम्प्रदायिक सद्भाव र शान्ति कायम राख्न सार्वजनिक आह्वान गर्न अपिल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, जिल्लाका सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज तथा धार्मिक संघ–संस्थाको अगुवाइमा आपसी भाइचारा र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंजमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गर्न पनि बैठकले आह्वान गरेको छ ।

बैठकले स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा विभिन्न संघ–संस्थालाई समाजमा नकारात्मक त्रास फैलाउने सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ । साथै शान्ति, सामाजिक एकता र सद्भाव प्रवर्द्धन गर्ने समाचार तथा सन्देशलाई प्राथमिकता दिन नेपाल पत्रकार महासंघ पर्सामार्फत सम्पूर्ण सञ्चार क्षेत्रलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, बैठकले सबै सरोकारवाला पक्षलाई संयमित, जिम्मेवार र सहकार्यपूर्ण भूमिका निर्वाह गर्दै जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा सम्पन्न बैठकमा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्त, क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानु, क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसिया, वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी र सरोकारवालाको सहभागिता रहेको थियो ।

वीरगंज–२६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

0

वीरगंज । वीरगंज महानगरपालिका–२६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । एक समारोहका बीच वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले दुवै भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले नयाँ वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि स्थानीयवासीलाई सेवा प्रवाह थप प्रभावकारी, सहज र गुणस्तरीय हुने विश्वास व्यक्त गरे । उनले वडा नं. २६ को विकास र जनसेवाका लागि महानगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिका स्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन तथा प्रदेश सरकारको योजनाअन्तर्गत स्वास्थ्य चौकी भवन निर्माण गरिएको जानकारी दिए । उनका अनुसार वडा कार्यालय भवन करिब १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।

वडाध्यक्ष मिश्राले वडा कार्यालय र स्वास्थ्य चौकी एउटै परिसरमा सञ्चालनमा आउँदा स्थानीय नागरिकले प्रशासनिक तथा स्वास्थ्य सेवा एकै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्ने बताए । यसका साथै वडा कार्यालय नजिक विद्यालय र प्रहरी कार्यालय समेत रहेकाे उनले जानकारी दिए ।

वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षता तथा कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप प्रसाद कुर्मी लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सद्भाव र्‍यालीपछि पनि प्रदर्शन नरोकिएपछि वीरगंजमा फेरि निषेधाज्ञा लागू

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको मुख्य क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । घण्टाघर क्षेत्रमा हिन्दु युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सुनसरी, सिरहा लगायत देशका विभिन्न जिल्लामा हालै भएका संवेदनशील घटनाको समीक्षा गर्दै पर्सामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने निष्कर्ष निकालेको थियो । बैठकपछि सद्भाव र्‍याली समेत आयोजना गरिएको थियो ।

तर सद्भाव र्‍याली सम्पन्न भएको केही समयमै वीरगंजकाे घण्टाघर क्षेत्रमा पुनः प्रदर्शन भएपछि प्रशासनले स्थिति थप तनावग्रस्त हुन सक्ने आकलन गर्दै निषेधाज्ञा जारी गरेको हाे । सुरक्षा निकायलाई सुनसरी र सिरहाका घटनाको विरोधमा शुक्रबार साँझ थप प्रदर्शन हुन सक्ने सूचना प्राप्त भएपछि सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरेकाे हाे ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम साउन १५ गते शुक्रबार साँझ ५ः०० बजेदेखि साउन १६ गते शनिबार बिहान ६ः०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका छन् ।

प्रशासनका अनुसार निषेधाज्ञा वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको चार किल्लाभित्र लागू हुनेछ ।

उक्त अवधिभर तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य कुनै पनि प्रकारका सामूहिक गतिविधि गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । साथै सम्भावित अप्रिय घटना रोक्न तथा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन प्रशासनले आग्रह गरेको छ ।