Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 6

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

0

सुनसरी । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ । पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार तथा जल प्रदूषणका कारण कछुवाको सङ्ख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ ।

कछुवा तथा सरिसृपसम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले कछुवा संरक्षणलाई एउटा जीव वा प्रजाति बचाउने विषयका रूपमा मात्र लिन नहुने बताउनुभयो । कछुवा बाँच्ने पानी, नदी किनार, अण्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा तथा आसपासको हरियाली जोगाउनसके मात्र संरक्षण प्रभावकारी हुने उहाँको भनाइ छ ।

“कछुवा संरक्षणका लागि त्यसको बासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “सरिसृप वर्गमा पर्ने कछुवाका लागि पानीसँगै सुरक्षित नदीकिनार, अण्डा पार्ने स्थान, घाम ताप्ने ठाउँ, आहारा र प्राकृतिक वनस्पति आवश्यक पर्छ ।”

कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थान खोज्ने गर्छन् । प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ ।

सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिनमुनिको पानी पुन भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई बासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

पूर्वी नेपालमा पाइने नरम खबटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले बासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन् । नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन् ।

माछा मार्ने क्रममा जाल तथा बल्छीमा परेका कछुवा घाइते हुने, निसासिने वा मर्ने जोखिम गरेको अनुसन्धानकर्ता सुब्बाले जानकारी दिनुभयो ।

ठूलो बासस्थान ससाना क्षेत्रमा विभाजन हुँदा आहारा खोज्न, प्रजनन गर्न र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुने तथा सडक पार गर्ने क्रममा सवारीसाधनको चपेटामा पर्ने उत्तिकै जोखिम छ । उहाँले भन्नुभयो, “यो ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले सङ्ख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्छ ।”

पूर्वी तराईको चारकोसे झाडी क्षेत्रमा बस्ती विस्तार, कृषि, सडक तथा अन्य पूर्वाधार विस्तार हुँदा प्राकृतिक जीवन खण्डित भएको छ । वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा हुने परिवर्तनले त्यहाँ आश्रित जलचर तथा वन्यजन्तुलाई असर पारेको छ ।

सरिसृप तथा उभयचरसम्बन्धी विषयमा विद्यावारिधि गर्नु भएका प्राध्यापक डा कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र बासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “कछुवाको अवस्था बुझ्न अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा बासस्थानको नियमित अध्ययन आवश्यक छ”, उहाँले भन्नुभयो,

कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामासमेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ । गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्नसके कछुवाको बासस्थान जोगाउन सकिने उहाँले बताउनुभयो ।

स्थानीयले कछुवाका अण्डा तथा बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापार रोक्न सहयोग गर्नु आवश्यक छ । यस्तै, विष र करेन्ट प्रयोग गरी माछा मार्ने कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक पोखरी र सिमसार पुर्ने कार्य रोक्नसके कछुवा संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कछुवाको शरीरलाई कडा खपटाले ढाकेको हुन्छ । यो पानी वा जमिनमा बस्ने गर्छ । यसको आकार, आहार तथा जीवनशैली पनि फरकफरक हुने यसका जानकारहरुको भनाइ छ ।

वीरगञ्जमा १० लाख बढीका भन्सार छलीका सामान बरामद

0

वीरगञ्ज । प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका १० लाख ६ हजार ७६० रुपैयाँ बराबरका मोबाइल, शृङ्गारका सामान तथा स्याउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकबाट भन्सार छली गरी ल्याइएका विभिन्न कम्पनीका चार थान मोबाइल, कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको हो। बरामद सामानको मूल्य ५ लाख ५२ हजार २१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, वीरगञ्ज–१६ स्थित रजतजयन्ती चोकबाट ४ लाख ५४ हजार ५५० रुपैयाँ बराबरका शृङ्गारका सामान तथा स्याउ बरामद गरिएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

0

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन लाभको बाँडफाँट, लगानी योजना निर्माण तथा वन व्यवस्थापनसँग जोडिएका विषयमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नारासहित जिल्ला समन्वय समिति पर्साको सभाहलमा तालिम सञ्चालन गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, पर्साको आयोजनामा भएको तालिममा प्रशिक्षक निरञ्जन हुमागाईंले सहभागीलाई कार्बन लाभको अवधारणा, लाभ बाँडफाँटको प्रक्रिया, लगानी योजना निर्माण तथा सामुदायिक वनको दिगो व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको अध्यक्षता सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, पर्साका अध्यक्ष एकवाली प्रसाद यादवले गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल मधेश प्रदेशका अध्यक्ष सोम प्रसाद शर्मा, महासंघका केन्द्रीय सदस्य जयप्रकाश थारु, उषा थरुनी, जिल्ला समन्वय समिति पर्साकी सदस्य श्रीकान्ती देवीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वन संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदायको भूमिका, कार्बन सञ्चितिबाट प्राप्त हुने लाभलाई पारदर्शी र न्यायोचित ढंगले वितरण गर्ने विषय तथा प्राप्त लाभलाई समुदायको आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको थियो ।

सहभागीहरूले कार्बन लाभसम्बन्धी नीतिगत व्यवस्था, लाभ बाँडफाँटको प्रक्रिया र लगानी योजना तयार गर्ने विषयमा जानकारी प्राप्त गरेको आयोजकले जनाएको छ । तालिमले सामुदायिक वन उपभोक्ता समूहलाई वनको दिगो व्यवस्थापनसँगै कार्बन लाभबाट प्राप्त अवसरलाई समुदायको हितमा उपयोग गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

0

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

दुर्घटनामा कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गम्भीर घाइते भएकी परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार दिउँसो करिब १ः३५ बजे मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना।६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो आपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा बलेरोमा सवार कालिका–३ का ५२ वर्षीया सावित्री माझी, ३५ वर्षीया सितामाया श्रेष्ठ, २५ वर्षीया कविता परियार, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा, २० वर्षीया पवित्रा विक र ४२ वर्षीया लालकुमारी गुम्बा तथा कालिका–७ की २६ वर्षीया उमा श्रेष्ठ घाइते भएका छन्।

बलेरो चालक कालिका नगरपालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठसमेत घाइते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर, चालक कालिका–१ का ४२ वर्षीय बिके श्याङ्वो तथा बलेरो नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

0

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले जनआन्दोलनलाई नयाँ चरणमा अघि बढाउने तथा पार्टीको संगठनात्मक संरचना पुनर्गठन गर्ने निर्णयसमेत गरेको हो ।

बैठकले अध्यक्ष साहद्वारा प्रस्तुत ‘फेक शासनको भण्डाफोर गरौँ, जनआन्दोलनको दिशामा अघि बढौँ’ भन्ने मूल नारासहितको १८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको आजपा प्रवक्ता सुभाष प्रसाद साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै गलत संवैधानिक व्यवस्था र कमजोर नेतृत्वका कारण राष्ट्रिय स्वाधीनता, अर्थतन्त्र तथा लोकतन्त्र संकटमा पर्दै गएको निष्कर्ष निकालिएको छ । यस्तो अवस्थामा देशलाई निकास दिन ‘सिस्टम सुधार’ आवश्यक रहेको भन्दै पार्टीले अन्तरिम संविधानसहित अन्तरिम सरकारको मागलाई अघि बढाउने निर्णय गरेको हो ।

आजपाले यसअघि उठाउँदै आएको जनसंघर्ष तथा तेस्रो जनआन्दोलनका मुद्दालाई थप सशक्त र प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।

केन्द्रीय कमिटी पुनर्गठन

बैठकले पार्टीको केन्द्रीय कमिटी पुनर्गठन गर्दै प्रभु साहलाई अध्यक्षमा कायम राखेको छ । तिलक थापा मगरलाई सह–अध्यक्ष तथा आत्माराम प्रसाद साह, रीतादेवी साह, समिना हुसेन, अशोककुमार लामा, बिल्टु यादव र धनकुमारी मगरलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्रिभुवन साह महासचिव तथा सियाराम कुशवाहा, उमेश कुशवाहा, देवी पण्डित रेग्मी, लालबाबु मन्सुरी र रञ्जुकुमारी साह उपमहासचिवमा चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी सुभाष प्रसाद साहलाई दिइएको छ ।

बैठकले विभिन्न प्रदेश, विशेष कमिटी, जनसंगठन तथा पार्टीका विभागहरूको नेतृत्वसमेत हेरफेर गरेको छ । प्रदेशतर्फ कोशीमा जुरिलाल मोची, मधेशमा आत्माराम साह, बागमतीमा धनकुमारी मगर, गण्डकीमा शिवप्रसाद गौतम, लुम्बिनीमा विजय यादव, कर्णालीमा श्रीभगवान पटेल र सुदूरपश्चिममा विसुन सिंह बोहरालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै काठमाडौं उपत्यका विशेष कमिटीको इन्चार्ज तिलक थापा मगर र जबस विशेषको इन्चार्ज त्रिभुवन साहलाई तोकिएको छ ।

आजपाले आईटी आर्मी, आम विद्यार्थी मोर्चा, आम किसान मोर्चा, आम महिला मोर्चा, आम दलित मोर्चा, आम मुस्लिम मोर्चा, आम पत्रकार मोर्चा, आम बुद्धिजीवी मोर्चालगायत विभिन्न जनसंगठनको इन्चार्ज तथा अध्यक्षको जिम्मेवारीसमेत तोकेको छ ।

पार्टीका स्कुलिङ विभागको प्रमुखमा तिलक थापा मगर, अनुशासन विभागमा आत्माराम साह, संगठन विभागमा त्रिभुवन साह, प्रचारप्रसार विभागमा सुभाष प्रसाद साह, विदेश विभागमा बालकृष्ण सापकोटा र आर्थिक विभागमा देवकुमारी साहलाई जिम्मेवारी दिइएको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता साहले राष्ट्रिय संकटको निकासका लागि पार्टीका राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप तीव्र बनाउने बताए । उनका अनुसार आगामी कार्ययोजना, वैचारिक तथा राजनीतिक कार्यक्रम, संगठनात्मक अभियान र संघर्षका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाइनेछ ।

आजपाको निर्णयले एकातर्फ पार्टीको आन्तरिक संगठनलाई पुनर्गठन र जिम्मेवारी बाँडफाँट गरेको छ भने अर्कोतर्फ अन्तरिम संविधान र अन्तरिम सरकार गठनको मागलाई आगामी राजनीतिक संघर्षको प्रमुख एजेन्डा बनाउने संकेत गरेको छ ।

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 60

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना भए पनि लगातार झरी नपर्ने बताएको छ ।

आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले राससलाई बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

पटेर्वा सुगौलीमा विद्यालय सुधार योजनालाई समावेशी बनाउनेबारे अभिमुखीकरण

0

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी तथा सहभागितामूलक बनाउने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा People in Need (PIN), Accountability Lab Nepal, नेशनल क्याम्पेन फर एजुकेशन नेपाल (NCE Nepal) र नेपाल डिसेबल्ड वुमन एसोसिएसन (NDWA) को सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र (DDRC), पर्साको साझेदारीमा सञ्चालित पहुँच परियोजना (ACCESS Project) अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

पटेर्वा सुगौली गाउँपालिकाअन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौली दा.प. र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाका विद्यालय प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पञ्जियारले विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्दा सबै बालबालिकाको पहुँच, सहभागिता र आवश्यकतालाई समेट्नुपर्नेमा जोड दिए । उनले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालय तथा समुदायबीच समन्वय आवश्यक रहेको बताए ।

अभिमुखीकरणमा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा सूचना प्रविधिसम्बन्धी कार्य गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागीलाई विद्यालय सुधार योजनालाई विद्यालयको वास्तविक आवश्यकता तथा प्राथमिकतामा आधारित, समावेशी र सहभागितामूलक बनाउने विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रमपछि तीनवटै विद्यालयका प्रतिनिधिहरूले असोज मसान्तभित्र विद्यालय सुधार योजनालाई समावेशी दृष्टिकोणबाट अद्यावधिक गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । यसबाट विशेषगरी पछाडि पारिएका तथा सीमान्तकृत समुदायका बालबालिकाको आवश्यकता र सहभागितालाई विद्यालयको योजनामा समेट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए । कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले समन्वय तथा सहजीकरणमा सहयोग गरेका थिए ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी विद्यालयका सरोकारवालाहरूले समावेशी विद्यालय सुधार योजनाको आवश्यकता, प्रक्रिया र प्रभावकारी कार्यान्वयनबारे थप स्पष्टता प्राप्त गर्नुका साथै तीनवटै विद्यालयले समावेशी एसआईपी अद्यावधिक गर्ने प्रतिबद्धता जनाउनु कार्यक्रमको प्रमुख उपलब्धि हो ।

सखुवा प्रसौनीमा रक्तदान, दुई महिलासहित २५ जनाले दिए रगत

0

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावास्थित पार्कमा आयोजित एकदिने रक्तदान कार्यक्रममा दुई महिलासहित २५ जनाले रक्तदान गरेका छन्।

नारायणी खबर मिडिया सखुवा प्रसौनीको आयोजना तथा सखुवा प्रसौनी गाउँपालिकाको समन्वय र सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। रक्तसञ्चार केन्द्र पर्साको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम नारायणी खबरका सम्पादक चिरञ्जीवी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वडा अध्यक्ष चिरञ्जीवी महतो थारु, एम. आरफ अन्सारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा, लेखा शाखा प्रमुख सुमन साह, प्रशासन शाखा प्रमुख अरविन्द ठाकुर तथा स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारलगायतको उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा कमलेश गुप्ता, सन्दीप महतो, शम्भु सहनी, नवलकिशोर महतो, दीपक तिमल्सिना, राजन खड्का, मुकेश चौधरी, सलवन्ती कुमारी, मोतीराम महतो र राकेश सहनीलगायत रहेका थिए।

रक्तसञ्चार केन्द्र पर्साका प्राविधिक मनिष साहले रक्तदान कार्यक्रमले स्थानीयस्तरमा रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नियमित रूपमा आयोजना हुने यस्ता कार्यक्रमबाट संकलित रगत आवश्यक परेका बिरामीसम्म पुर्‍याउन सहज हुने बताए।

उनले स्थानीयस्तरमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै यस्ता मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

मुआब्जा माग्दै श्रीसियावासीद्वारा ड्राइपोर्टको मूलगेटमा धर्ना

0

वीरगञ्ज । मुआब्जा माग गर्दै वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले श्रीसिया सुक्खा बन्दरगाह ९ड्राइपोर्ट०को मूलगेटमा आज बिहानदेखि धर्ना दिएका छन्।

स्थानीयवासीले बिहान ७ बजेदेखि त्रिपाल टाँगेर धर्ना सुरु गरेका हुन्। उनीहरूका अनुसार फिल्डबुकमा दर्ता रहेका करिब ८०–९० जनाको जग्गा, घर, अस्पताल, विद्यालयलगायत स्ववासी जग्गा तथा संरचनाको मुआब्जा सरकारले उपलब्ध गराउन ढिलाइ गरेको भन्दै आन्दोलन गर्नुपरेको हो।

सरकारले संरचनाको मुआब्जा उपलब्ध गराउँदा फुसको घरमा एक प्रतिशत, खपडाको घरमा डेढ प्रतिशत र पक्की घरमा दुई प्रतिशत सम्पत्ति कर कट्टा गर्ने निर्णय गरेको भन्दै स्थानीयवासीले त्यसको समेत विरोध गरेका छन्।

मुआब्जाको सम्पूर्ण रकम उपलब्ध गराउनुपर्ने र लिखित सम्झौता भएपछि मात्र धर्ना अन्त्य गर्ने वडा सदस्य तेतरी देवीले बताइन्। सरोकारवाला निकायले माग सम्बोधन नगरे भोलिदेखि ड्राइपोर्ट सडकमा नै त्रिपाल टाँगेर पशुचौपाया बाँध्ने, खाना पकाउने र सडकमा नै दैनिक जीवन बिताउने चेतावनी उनले दिइन्।

यसअघि जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारणका लागि मूल्याङ्कन समिति गठन गर्ने निर्णय भएको थियो। समितिले संरचनाको मूल्याङ्कन गरी मुआब्जा रकम मागका लागि अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयबाट रकम प्राप्त भएपछि मात्र स्थानीयवासीलाई मुआब्जा वितरण गर्न सकिने प्रशासनले जनाएको छ।

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

0
एआईका सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी हुने क्रम बढेपछि विभिन्न स्वास्थ्य समस्या देखिन थालेका हुन् ।

ग्रामीण क्षेत्रमा विशेषगरी रुघाखोकी, भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेको स्थानीय स्वास्थ्य संस्थाहरूले जनाएका छन् । मौसममा आएको परिवर्तनका कारण बालबालिका, वृद्धवृद्धा तथा अन्य उमेर समूहका व्यक्तिमा स्वास्थ्य समस्या देखिन थालेको बताइएको छ ।

जगरनाथपुर गाउँपालिका–३ का धर्म साह तेलीले आफूलाई तीन दिनदेखि रुघाखोकीले सताएको बताए। उनका अनुसार गाउँ–टोलमा समेत पछिल्लो समय धेरै व्यक्ति रुघाखोकीबाट प्रभावित भएका छन् । जिराभवानी गाउँपालिका–२ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादका अनुसार स्वास्थ्य चौकीमा रुघाखोकी, भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ ।

अहिले दैनिक करिब ३० देखि ३५ जना बिरामी उपचारका लागि स्वास्थ्य चौकीमा आउने गरेको उनले बताए । सामान्य अवस्थाको तुलनामा अहिले बिरामीको संख्या करिब दोब्बर भएको उनको भनाइ छ । पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादवले मौसम परिवर्तनसँगै ग्रामीण क्षेत्रमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडको संक्रमण बढ्ने गरेको बताए ।

उनले ज्वरो तथा रुघाखोकीका लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन आग्रह गरे। स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि सेवन गर्न, सरसफाइमा ध्यान दिन तथा बिहान–बेलुका मनतातो पानी सेवन गर्न पनि उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।