सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी हुने क्रम बढेपछि विभिन्न स्वास्थ्य समस्या देखिन थालेका हुन् ।
ग्रामीण क्षेत्रमा विशेषगरी रुघाखोकी, भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेको स्थानीय स्वास्थ्य संस्थाहरूले जनाएका छन् । मौसममा आएको परिवर्तनका कारण बालबालिका, वृद्धवृद्धा तथा अन्य उमेर समूहका व्यक्तिमा स्वास्थ्य समस्या देखिन थालेको बताइएको छ ।
जगरनाथपुर गाउँपालिका–३ का धर्म साह तेलीले आफूलाई तीन दिनदेखि रुघाखोकीले सताएको बताए। उनका अनुसार गाउँ–टोलमा समेत पछिल्लो समय धेरै व्यक्ति रुघाखोकीबाट प्रभावित भएका छन् । जिराभवानी गाउँपालिका–२ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादका अनुसार स्वास्थ्य चौकीमा रुघाखोकी, भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ ।
अहिले दैनिक करिब ३० देखि ३५ जना बिरामी उपचारका लागि स्वास्थ्य चौकीमा आउने गरेको उनले बताए । सामान्य अवस्थाको तुलनामा अहिले बिरामीको संख्या करिब दोब्बर भएको उनको भनाइ छ । पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादवले मौसम परिवर्तनसँगै ग्रामीण क्षेत्रमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडको संक्रमण बढ्ने गरेको बताए ।
उनले ज्वरो तथा रुघाखोकीका लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन आग्रह गरे। स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि सेवन गर्न, सरसफाइमा ध्यान दिन तथा बिहान–बेलुका मनतातो पानी सेवन गर्न पनि उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।








