चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
दुर्घटनामा कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गम्भीर घाइते भएकी परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
बुधबार दिउँसो करिब १ः३५ बजे मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना।६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो आपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा बलेरोमा सवार कालिका–३ का ५२ वर्षीया सावित्री माझी, ३५ वर्षीया सितामाया श्रेष्ठ, २५ वर्षीया कविता परियार, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा, २० वर्षीया पवित्रा विक र ४२ वर्षीया लालकुमारी गुम्बा तथा कालिका–७ की २६ वर्षीया उमा श्रेष्ठ घाइते भएका छन्।
बलेरो चालक कालिका नगरपालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठसमेत घाइते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर, चालक कालिका–१ का ४२ वर्षीय बिके श्याङ्वो तथा बलेरो नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








