Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 5

जनकपुरको दशरथ तलाउमा पुरुषको शव फेला

1

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलाउमा मंगलबार बिहान एक पुरुषको शव फेला परेको छ।

दशरथ मन्दिरअघि रहेको पोखरीमा पहिचान खुल्न नसकेको अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो। मृतकको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

स्थानीयले बिहान करिब पौने १० बजे पोखरीमा एक पुरुष तैरिरहेको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले शव पोखरीबाट निकालेर आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मृतक अघिल्लो दिन नै पोखरीमा डुबेको हुनसक्ने आशङ्का गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

1

लन्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै सबैभन्दा धेरै भएको छ।

सेप्टेम्बरमा बेलायतमा ३ लाख ५० हजार ५३६ नयाँ कार दर्ता भए। यो अघिल्लो वर्षको सेप्टेम्बरभन्दा १२ प्रतिशत बढी हो।

विद्युतीय र अन्य विद्युतीकृत कारको बिक्रीले बजार बढाउन ठूलो भूमिका खेलेको छ। यस्ता कारले कुल नयाँ कार दर्ताको ५८।४ प्रतिशत हिस्सा ओगटेका छन्।

प्लग–इन हाइब्रिड कारको दर्ता ५५।५ प्रतिशतले बढेको छ। त्यस्तै, ब्याट्रीबाट चल्ने विद्युतीय कारको बिक्री ३६।३ प्रतिशतले बढेर ९९ हजार २०१ थान पुगेको छ।

बेलायतमा अहिले विद्युतीय कारका १७८ वटा नमुना बिक्रीका लागि उपलब्ध छन्। सन् २०२३ यता यस्ता कारका विकल्प दोब्बरभन्दा बढी भएका छन्।

बढ्दो कारका विकल्प र महँगो इन्धनका कारण मानिसहरू विद्युतीय कारतर्फ आकर्षित भइरहेको बताइएको छ।

तर, सन् २०२६ का लागि तोकिएको विद्युतीय कारको बिक्री लक्ष्य भने अझै पूरा भएको छैन। यस वर्षको पहिलो नौ महिनामा विद्युतीय कारले कुल नयाँ कार दर्ताको २६।२ प्रतिशत हिस्सा मात्र ओगटेका छन्। लक्ष्य भने ३३ प्रतिशत रहेको छ।

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

0

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ।

उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो।

राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टै विज्ञप्तिमा यो सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताउनुभएको छ। उहाँले दुर्घटनामा ज्यान गुमाउनुभएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गर्नुभएको छ।

नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिएको उक्त विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। उक्त विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको हो।

राष्ट्रपति टिनुबुले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्नुभएकोमा वायुसेनाको प्रशंसा गर्नुभएको छ।

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

0

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।

टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष समेत रहनुभएका उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको उहाँले बताउनुभयो । व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न आवश्यक पहल गरिदिन समेत सभापति लामिछानेलाई आग्रह गरेको छ ।

व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि वढ्ने आश्वासन दिनुभएको अध्यक्ष सुवेदीले राससलाई जानकारी दिनुभयो ।

धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

0

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् ।

गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, सात वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन् ।

घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

0

लोथर (चितवन) । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ ।

जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिनुभयो । परियोजनअन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कट्ठामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ ।

इन्डियन आयल कर्पोरेसशन (आइओसी)को मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिनेछ । अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छ्याइनेछ ।

निगमले भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याइरहेको छ । सोही पाइपलाइनलाई अमलेखगन्जदेखि लोथरसम्म विस्तार गर्न लागिएको हो ।

पाइपलाइनको नक्साङ्कन भइसकेको प्रमुख यादवले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन बिच्छ्याइने छ । त्यसका लागि सडक विभागसँग समन्वय भइसकेको निगमले जनाएको छ । हेटौँडा बजारमा ‘बाइपास’ गरेर पाइपलाइन बिच्छ्याउने गरी डिजाइन तय भएको छ ।

“अमलेखगन्जबाट आउँदा रातोमाटेभन्दा अगाडि नै नदीको बीचबाट पाइपलाइन जानेछ, त्यो पाइपलाइन हेटौँडा बजार कटिसकेपछि राप्ती पुल नजिकै निस्कनेछ, हेटौँडा बजारमा पाइपलाइन जाँदैन”, उहाँले भन्नुभयो, “निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्नेगरी काम भइरहेको छ ।” अबको तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा लोथरसम्म तेल आपूर्ति गर्न सकिने निगमले जनाएको छ । कुल ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकैबेला नियमित रुपमा ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ ।

निगमका उपप्रबन्धक ऋषिराम शर्माले परियोजना निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने र परियोजना निर्माण थालनीको पूर्वतयारीका काम धमाधम चलिरहेको बताउनुभयो । जग्गा तयार भएपछि निगमले भण्डारणसहितका संरचना निर्माणका लागि आइओसीलाई जिम्मा लगाउनेछ ।

ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले पाएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले जग्गा पुर्नका लागि आवश्यक कच्चा पदार्थ सङ्कलन गर्ने र साइटमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो ।

सो कम्पनीले गत भदौदेखि काम सुरु गरेको हो । परियोजना निर्माणस्थलमा बाहिरी पर्खाल लगाउने र माटो भर्न मोतीदान कन्स्ट्रक्सनले करिब रु ७९ करोडमा ठेक्का पाएको छ । ठेक्का अवधि एक वर्षको भए पनि आठ/नौ महिनामा सम्पन्न गर्नेगरी कामलाई तीव्र पारिएको ठेकेदार कम्पनीले जनाएको छ ।

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिनेछ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ ।

त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि ८०० किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स ट्याङ्क निर्माण गरिनेछ ।

हवाई इन्धन पनि पाइपलाइनबाटै

लोथरमा हवाई इन्धन भण्डारणका लागि ट्याङ्क निर्माण भएपछि हवाई इन्धन पनि पाइपलाइनबाटै ल्याउन सकिनेछ । निगमले अहिले भारतको बरौनीबाट हवाई इन्धन ट्याङ्करमार्फत ढुवानी गरिरहेको छ ।

निगमले अहिले करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ल्याइरहेको छ । पाइपलाइनमार्फत लोथरमा हवाई इन्धन ल्याउन थालेपछि ढुवानीबापत प्रतिलिटर पाँच रुपैयाँ जोगिने निगमको भनाइ छ । पाइपलाइनबाट हवाई इन्धन ल्याउन थालेपछि वार्षिक करिब दुई अर्ब ढुवानी बराबरको खर्च जोगिने अनुमान छ ।

पाइपलाइनबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावटको सम्भावना अन्त्य हुनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माणको लागत रु १४ अर्ब नौ करोड ६० लाख अनुमान गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माणको समझदारी भएको थियो ।

सो समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख थियो । सोही समझदारीअनुसार २०८१ असोजमा १७ गते इण्डियन आयल कर्पोरेशन (आइओसी) र नेपाल आयल निगमबीच सम्झौता भएको थियो ।

सो सम्झौतामा निर्माण कार्य सुरु भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याइने उल्लेख छ । इण्डियन आयल कर्पोरेशनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरिसकेको छ ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा आएको हो । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कुल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिनेगरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति गर्दै आएको छ । अमलेखगन्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने विश्वास व्यक्त गरिएको छ । विसं २०२७ मा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरणका लागि निगमको स्थापना भएको थियो ।

कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

0

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या सात हजार ११४ पुगेको छ ।

मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै आज विहान ९:३० बजे मतदाता नामावली प्रकाशन उपर दावी विरोध, ९:३० बजेदेखि १०:३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ, ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने सदस्यसचिव कटुवालले बताउनुभयो ।

यस्तै, उम्मेदवार मनोनयन दर्ता फारम वितरण र दिउँसो १२:३० बजेदेखि ४:०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । यस्तै, कांग्रेसको सोमबारको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार नै निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा २०० बढी स्वयंसेवक परिचालन

नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । कांग्रेसको हिजोदेखि सुरु भएको १५ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाले महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सहजताका लागि २०० स्वयंसेवक परिचालन गरिएको राससलाई जानकारी दिनुभयो ।

संयोजक लामाले बन्दसत्र हुने ठाउँ र निर्वाचन हुने ठाउँमा स्वयम्सेवक परिचालन गरिएको बताउनुभयो । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि देश तथा विदेशबाट सात हजार ५०० प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

आइतबारदेखि सुरु भएको महाधिवेशनको आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नुभएको छ ।

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

0

सुनसरी । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ । पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार तथा जल प्रदूषणका कारण कछुवाको सङ्ख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ ।

कछुवा तथा सरिसृपसम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले कछुवा संरक्षणलाई एउटा जीव वा प्रजाति बचाउने विषयका रूपमा मात्र लिन नहुने बताउनुभयो । कछुवा बाँच्ने पानी, नदी किनार, अण्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा तथा आसपासको हरियाली जोगाउनसके मात्र संरक्षण प्रभावकारी हुने उहाँको भनाइ छ ।

“कछुवा संरक्षणका लागि त्यसको बासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “सरिसृप वर्गमा पर्ने कछुवाका लागि पानीसँगै सुरक्षित नदीकिनार, अण्डा पार्ने स्थान, घाम ताप्ने ठाउँ, आहारा र प्राकृतिक वनस्पति आवश्यक पर्छ ।”

कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थान खोज्ने गर्छन् । प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ ।

सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिनमुनिको पानी पुन भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई बासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

पूर्वी नेपालमा पाइने नरम खबटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले बासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन् । नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन् ।

माछा मार्ने क्रममा जाल तथा बल्छीमा परेका कछुवा घाइते हुने, निसासिने वा मर्ने जोखिम गरेको अनुसन्धानकर्ता सुब्बाले जानकारी दिनुभयो ।

ठूलो बासस्थान ससाना क्षेत्रमा विभाजन हुँदा आहारा खोज्न, प्रजनन गर्न र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुने तथा सडक पार गर्ने क्रममा सवारीसाधनको चपेटामा पर्ने उत्तिकै जोखिम छ । उहाँले भन्नुभयो, “यो ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले सङ्ख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्छ ।”

पूर्वी तराईको चारकोसे झाडी क्षेत्रमा बस्ती विस्तार, कृषि, सडक तथा अन्य पूर्वाधार विस्तार हुँदा प्राकृतिक जीवन खण्डित भएको छ । वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा हुने परिवर्तनले त्यहाँ आश्रित जलचर तथा वन्यजन्तुलाई असर पारेको छ ।

सरिसृप तथा उभयचरसम्बन्धी विषयमा विद्यावारिधि गर्नु भएका प्राध्यापक डा कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र बासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “कछुवाको अवस्था बुझ्न अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा बासस्थानको नियमित अध्ययन आवश्यक छ”, उहाँले भन्नुभयो,

कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामासमेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ । गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्नसके कछुवाको बासस्थान जोगाउन सकिने उहाँले बताउनुभयो ।

स्थानीयले कछुवाका अण्डा तथा बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापार रोक्न सहयोग गर्नु आवश्यक छ । यस्तै, विष र करेन्ट प्रयोग गरी माछा मार्ने कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक पोखरी र सिमसार पुर्ने कार्य रोक्नसके कछुवा संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कछुवाको शरीरलाई कडा खपटाले ढाकेको हुन्छ । यो पानी वा जमिनमा बस्ने गर्छ । यसको आकार, आहार तथा जीवनशैली पनि फरकफरक हुने यसका जानकारहरुको भनाइ छ ।

वीरगञ्जमा १० लाख बढीका भन्सार छलीका सामान बरामद

0

वीरगञ्ज । प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका १० लाख ६ हजार ७६० रुपैयाँ बराबरका मोबाइल, शृङ्गारका सामान तथा स्याउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकबाट भन्सार छली गरी ल्याइएका विभिन्न कम्पनीका चार थान मोबाइल, कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको हो। बरामद सामानको मूल्य ५ लाख ५२ हजार २१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, वीरगञ्ज–१६ स्थित रजतजयन्ती चोकबाट ४ लाख ५४ हजार ५५० रुपैयाँ बराबरका शृङ्गारका सामान तथा स्याउ बरामद गरिएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

0

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन लाभको बाँडफाँट, लगानी योजना निर्माण तथा वन व्यवस्थापनसँग जोडिएका विषयमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नारासहित जिल्ला समन्वय समिति पर्साको सभाहलमा तालिम सञ्चालन गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, पर्साको आयोजनामा भएको तालिममा प्रशिक्षक निरञ्जन हुमागाईंले सहभागीलाई कार्बन लाभको अवधारणा, लाभ बाँडफाँटको प्रक्रिया, लगानी योजना निर्माण तथा सामुदायिक वनको दिगो व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको अध्यक्षता सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, पर्साका अध्यक्ष एकवाली प्रसाद यादवले गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल मधेश प्रदेशका अध्यक्ष सोम प्रसाद शर्मा, महासंघका केन्द्रीय सदस्य जयप्रकाश थारु, उषा थरुनी, जिल्ला समन्वय समिति पर्साकी सदस्य श्रीकान्ती देवीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वन संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदायको भूमिका, कार्बन सञ्चितिबाट प्राप्त हुने लाभलाई पारदर्शी र न्यायोचित ढंगले वितरण गर्ने विषय तथा प्राप्त लाभलाई समुदायको आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको थियो ।

सहभागीहरूले कार्बन लाभसम्बन्धी नीतिगत व्यवस्था, लाभ बाँडफाँटको प्रक्रिया र लगानी योजना तयार गर्ने विषयमा जानकारी प्राप्त गरेको आयोजकले जनाएको छ । तालिमले सामुदायिक वन उपभोक्ता समूहलाई वनको दिगो व्यवस्थापनसँगै कार्बन लाभबाट प्राप्त अवसरलाई समुदायको हितमा उपयोग गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।