Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 59

सर्वपक्षीय संवादपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षको ताल्चा खुल्यो

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा लगाइएको ताल्चा आइतबार सर्वपक्षीय संवादपछि खोलिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा सर्वसाधारणबीच भएको विस्तृत छलफलपछि नागरिक अगुवा कृष्ण चौधरीले अध्यक्ष चौधरीलाई ताल्चाको साँचो हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको संवादमा वडा नं. ३ बरातमा सञ्चालित लक्ष्मी ह्याचरी सम्बन्धी विवाद प्रमुख एजेन्डाका रूपमा उठेको थियो । स्थानीयले अदालतले ह्याचरी बन्द गर्ने फैसला गरिसक्दा पनि त्यसको कार्यान्वयन किन नभएको भन्दै प्रश्न उठाएका थिए । प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले अदालतको फैसला कार्यान्वयन पनि कानुनी प्रक्रिया र अदालतकै संयन्त्रमार्फत हुने स्पष्ट पारे ।

स्थानीयका अनुसार लक्ष्मी ह्याचरीका कारण हरैया, बसन्तपुरलगायतका गाउँमा झिँगाको प्रकोप बढ्नुका साथै वातावरणीय प्रदूषण भएको भन्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी परेको थियो । न्यायिक समितिले ह्याचरी बन्द गर्न निर्देशन दिएपछि सञ्चालकले अदालतबाट अन्तरिम आदेश (स्टे अर्डर) ल्याएका थिए । पछि अदालतले गाउँपालिकाकै पक्षमा फैसला गरेको जानकारी बैठकमा दिइएको थियो ।

संवादका क्रममा सर्वसाधारणको मागअनुसार आर्थिक वर्ष २०८२/८३ को रातो किताब प्रमुख प्रशासकीय अधिकृत गिरीले उपलब्ध गराएका थिए । नेपाल सरकारको अनुदानमा वितरण गरिएको रासायनिक मलमा अनियमितता भएको आरोपबारे कृषि सहकारी संस्था तथा मल वितरणको विवरण पनि सार्वजनिक गरिएको थियो । कृषि शाखा प्रमुख रिन्कु चौधरीले सम्बन्धित तथ्याङ्क प्रस्तुत गरेका थिए ।

त्यसैगरी वडा नं. २ मा सञ्चालित आदर्श विद्युत उपभोक्ता समिति सेढवाको साधारणसभा, शिक्षाको गुणस्तर सुधार, उद्योग तथा व्यवसाय दर्ता नीति, ऐतिहासिक जिराभवानी मन्दिरको मेला तथा संरक्षण, बिओपी जिराभवानीको व्यवस्थापन, गाउँपालिकाको प्रशासनिक भवन, कार्यालयमा कर्मचारी तथा जनप्रतिनिधिको नियमित उपस्थिति तथा बालबालिकामा बढ्दो कुलत नियन्त्रणलगायतका विषयमा पनि विस्तृत छलफल भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए । नागरिक अगुवा कृष्ण चौधरीले संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, गाउँपालिकाको आन्तरिक स्रोत र वार्षिक आय–व्ययको विस्तृत विवरणसमेत सार्वजनिक गर्न माग गरिने बताए ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीले सूचना माग्नु प्रत्येक नागरिकको वैधानिक अधिकार भएको उल्लेख गर्दै कानुनी प्रक्रियाअनुसार माग गरिएका सूचना यथाशीघ्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, वडाध्यक्ष रामशरण ख्वास, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसियालगायतले स्थानीयले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।

साउन ४ गते स्थानीयवासीले सार्वजनिक संवादको माग गर्दै गाउँपालिकामा निवेदन दर्ता गरेका थिए । सोहीअनुसार साउन १३ गते संवादको मिति तय गरिए पनि अध्यक्ष अनोज चौधरी व्यक्तिगत कारणले उपस्थित हुन नसकेपछि असन्तुष्ट स्थानीयले उनको कार्यकक्षमा ताल्चा लगाएका थिए । आइतबार भएको सर्वपक्षीय संवादपछि उक्त विवाद तत्कालका लागि समाधान भएको छ ।

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

0

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सम्पूर्ण जिल्लावासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, पर्साद्वारा सोमबार जारी सूचनामा सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि सुरक्षित उच्च स्थान, सामुदायिक आश्रयस्थल तथा नजिकको खुला क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । साथै स्थानीय प्रशासन, बाढी पूर्वानुमान महाशाखा तथा आधिकारिक सञ्चारमाध्यमबाट जारी हुने सूचनालाई नियमित रूपमा पछ्याउन र हल्ला तथा अफवाहको पछि नलाग्न पनि आग्रह गरिएको छ ।

प्रशासनले नागरिकता, जग्गाधनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रलगायत महत्वपूर्ण कागजात तथा नगद रकमलाई वाटरप्रूफ झोलामा सुरक्षित राख्न तथा आकस्मिक अवस्थाका लागि चिउरा, चाउचाउजस्ता सुख्खा खाना, अत्यावश्यक औषधि, टर्चलाइट, पावरबैंक र स्वच्छ पिउने पानीसहितको ‘इमर्जेन्सी गो–ब्याग’ तयार राख्न सुझाव दिएको छ ।

सूचनामा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा र उद्धारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ । बाढी पसेका घर वा पसलमा विद्युतीय सर्ट सर्किटबाट हुन सक्ने दुर्घटनाबाट जोगिन मुख्य विद्युत् स्विच बन्द राख्न तथा नदी–खोलामा पानीको बहाव बढिरहेका बेला माछा मार्ने, पौडी खेल्ने वा काठ–दाउरा संकलन गर्न नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ ।

मनसुनजन्य विपद्को अवस्थामा उद्धार, खोज तथा राहतका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४) वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) पर्सा (१२३४) मा तत्काल सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जारी गरेको सूचनामार्फत सबै नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ ।

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

0

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

स्थानीय आनन्द चौधरीले करिब चार महिनादेखि टिनको घेरा हालेर घर निर्माण गरिरहेका कारण आवतजावतमा समस्या भएको र शनिबार रातिको वर्षापछि पानी घर–घरमा पसेपछि स्थानीयहरू बिराेधमा उत्रेका हुन् ।

आइतबार बिहान स्थानीयवासीको विरोधपछि वडा नं. ७ का अध्यक्ष हिराकाजी महर्जन तथा वीरगंज महानगरपालिकाका नगर प्रहरी घटनास्थल पुगेका थिए । स्थानीयहरूले सार्वजनिक बाटो अवरुद्ध गर्नुका साथै बाटोमै नाला निर्माण गर्न खोजिएको भन्दै घरधनीसँग प्रश्न गर्दा केहीबेर तनावसमेत उत्पन्न भएको थियो ।

स्थानीयहरूको आरोप अनुसार पहुँच र पैसाको बलमा सार्वजनिक बाटो अवरुद्ध गरी घर निर्माण भइरहेको छ । यसअघि भत्काइएको नालासमेत पुनः ढलान बाटोमै बनाउन खोजिएको उनीहरूको दाबी छ ।

स्थानीय अजय श्रीवास्तवका अनुसार यस विषयमा यसअघि पनि विवाद भएको थियो । घरधनीले ३५ दिनभित्र बाटो खाली गर्ने प्रतिबद्धता जनाए पनि त्यसको पालना नगरेको उनले बताए । शनिबार रातिको वर्षापछि वर्षाको पानी घरभित्र पसेपछि आइतबार पुनः विरोधमा उत्रिएको र त्यसक्रममा बाटोमाथि ढलान निर्माण भइरहेको देखिएपछि त्यसलाई रोक्न खोजिएको उनले बताए ।

स्थानीयवासीहरूले वडा कार्यालय र वीरगंज महानगरपालिकाको मिलेमतोमा घरधनीले मनपरी गरेको आरोपसमेत लगाएका छन् ।

यता वडा अध्यक्ष हिराकाजी महर्जनले भने घरधनी चौधरीले वडा कार्यालयको निर्देशन बारम्बार अटेर गरेको बताए । उनका अनुसार घर निर्माणको नक्सा पेश गर्न र सार्वजनिक बाटो खाली गर्न भन्दै चार पटकसम्म पत्राचार गरिएको भए पनि चौधरीले कुनै जवाफ नदिएकाे बताए ।

वडाध्यक्ष महर्जनले अब कानुनी प्रक्रिया अनुसार घरधनीलाई जरिवाना गरिने जानकारी दिँदै स्थानीयको विरोधपछि आफू स्वयं घटनास्थल पुगेर बाटोमा हालिएको टिनको घेरा हटाउन लगाएको बताए । उनले सार्वजनिक बाटो अवरुद्ध कुनै पनि हालतमा स्वीकार्य नहुने र आवश्यक कारबाही अगाडि बढाइने स्पष्ट पारे ।

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

0

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।

दिव्य विकास स्रोत केन्द्र (डीडीआरसी) पर्सा र एक्शनएड नेपालको साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महतो र वडा नं. ४ का वडा अध्यक्ष बासु पंजियारले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

बालबालिकालाई सुरक्षित, बालमैत्री तथा गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउने उद्देश्यले निर्माण हुन लागेको उक्त भवनका लागि एक्शनएड नेपालले आर्थिक सहयोग उपलब्ध गराएको हो । भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधार सुदृढ भई विद्यार्थीहरूको अध्ययन–अध्यापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी, दिव्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण उपभोक्ता समितिका प्रतिनिधि, स्थानीय अधिकार कार्यक्रममा कार्यरत कर्मचारी, महिला समूहका सदस्य, समाजसेवी तथा स्थानीय बासिन्दासहित करिब २५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षाका लागि सुदृढ भौतिक पूर्वाधार अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालय भवन निर्माणले बालबालिकालाई सुरक्षित र सहज सिकाइ वातावरण प्रदान गर्नुका साथै समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

निर्माण हुन लागेको ४ कोठे विद्यालय भवनको कुल लागत रु. ६६ लाख ९३ हजार रहेको आयोजकले जनाएको छ ।

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

0

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८ वर्षीय निखिल सिंह रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सिंहविरुद्ध बालबालिकासम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार पीडित बालिका सिंहकै घरमा काम गर्दै आएकी थिइन् । घरमा अन्य कोही नभएको समयमा सिंहले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा ना.१० प ४४६९ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–२ घर भई हाल चितवनको माडी नगरपालिका–९ हनुमानझुलामा बस्दै आएका ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय ५०० दरका ३१६ थान (रु. १ लाख ५८ हजार), २०० दरका ७५ थान (रु. १५ हजार) र १०० दरका ३६५ थान (रु. ३६ हजार ५००) गरी जम्मा भारतीय रु. २ लाख ९ हजार ५०० बरामद गरिएको हो ।

बरामद गरिएको भारतीय मुद्रा तथा मोटरसाइकल नियन्त्रणमा लिई दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

0

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित प्रतियोगितामा समाजसेवी तथा उद्योगपति जगदीश अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । युवाहरूमा सार्वजनिक वक्तृत्वकला, तार्किक सोच, आत्मविश्वास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले प्रतिस्पर्धात्मक युगमा सफल हुन ज्ञानसँगै प्रभावकारी सञ्चार कला, तार्किक सोच र नेतृत्व क्षमता अपरिहार्य रहेको बताए । यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने आत्मविश्वास बढाउनुका साथै भविष्यका सक्षम नेतृत्व उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष ज्योति क्याल र वीरगंज टोस्टमास्टर्स क्लबकी अध्यक्ष खुशी अग्रवालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अभ्यास तथा नेतृत्व विकासमा केन्द्रित हुन आग्रह गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानले आफ्नो उद्देश्य दूरदर्शी नेतृत्व विकास, आजीवन सिकाइको संस्कार, साहित्य तथा सामाजिक चेतनाको प्रवर्द्धन र उद्यमशीलताको विकासमार्फत नैतिक, समुन्नत र समृद्ध समाज निर्माण गर्नु रहेको जनाएको छ । संस्थाले ज्ञान, नेतृत्व, सेवा र समृद्धिलाई आफ्नो मूल मूल्यका रूपमा अघि बढाउँदै आएको जानकारी पनि कार्यक्रममा दिइयो ।

प्रतियोगिताको फाइनल चरणमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरूले ‘इन्टरनेटका फाइदा र बेफाइदा’ तथा ‘सामाजिक सञ्जालका फाइदाभन्दा बेफाइदा बढी छन्’ विषयमा खुला बहस गर्दै प्रभावशाली तर्क, विश्लेषण र वक्तृत्व क्षमता प्रस्तुत गरेका थिए । सहभागीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र तार्किक विश्लेषणले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो ।

कार्यक्रममा समाजसेवी तथा उद्योगपति गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मानवसेवा आश्रमका देवेश गुप्ता, शिक्षाविद् राजेन्द्र कोइराला, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

आयोजकले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आलोचनात्मक सोच, प्रभावकारी सञ्चार कला तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

0

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएकाे निषेधाज्ञा शनिबार बिहानदेखि हटाइएको हो । उनले वीरगंजमा पछिल्ला दिनमा देखिएको तनावको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।

यसैबीच, सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच ८ बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ । उक्त सहमतिपछि वीरगंजमा विगत केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घ–संस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

आन्दोलनरत सङ्गठनहरूले दिएकाे जानकारीअनुसार पीडित परिवार र सरकारबीच सहमति भएपछि शनिबारदेखि पर्सामा सञ्चालित सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिइएको हो ।

आन्दोलन स्थगित भएसँगै वीरगंज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ । शनिबारदेखि बजार पूर्ण रुपले खुल्नुका साथै सवारीसाधन सञ्चालन पनि सहज भएको छ ।

सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन जना युवाको मृत्यु भएको घटनाको विरोधमा पर्साको सदरमुकाम वीरगंजमा पनि हिन्दूवादी सङ्गठनहरूको नेतृत्वमा केही दिनदेखि प्रदर्शन तथा विरोधका कार्यक्रम सञ्चालन हुँदै आएका थिए । सरकार र पीडित पक्षबीच सहमति भएपछि ती कार्यक्रम स्थगित गरिएका हुन् ।

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

0

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्।

सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको घटनाको विरोधमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको आरोपमा रानीघाट निवासी प्रदीप सर्राफ, विकास साहसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसलगतै हिन्दुवादी संगठनहरुले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका थिए । त्यसपछि उनीहरूलाई शनिबार साँझ रिहा गरिएको हो ।

स्थानीयवासीले रानीघाटस्थित सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चारै जनालाई रिहापछि हिन्दू स्वयंसेवक संघका कृष्णा चौरसिया, ओमप्रकाश गुप्तालगायतका पदाधिकारीहरूले अविरको टीका लगाएर स्वागत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको कमान्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईसहितको संयुक्त टोलीले प्रदर्शनस्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले सार्वजनिक शान्ति तथा सामाजिक सद्भाव खलबल्याउने उद्देश्यले सडकमा टायर बालेर प्रदर्शन गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको जनाएको थियो । यद्यपि, पक्राउका बेला प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको थिएन ।

‘हर हर महादेव’ सम्बन्धी अभिव्यक्तिपछि सांसद रहबर अन्सारीको आलोचना

0

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

नेकपा (एमाले) बारा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रशान्त यादवले एक सार्वजनिक धारणा जारी गर्दै हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिक उद्घोष ‘हर हर महादेव’ लाई लागुऔषध वा भाङ सेवनसँग जोडेर प्रस्तुत गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

यादवले यस्तो अभिव्यक्तिले करोडौँ हिन्दू श्रद्धालुको धार्मिक आस्था र भावनामा चोट पुगेको दाबी गरेका छन् । उनले लागुऔषध दुव्र्यसन गम्भीर सामाजिक समस्या भएकाले यसको नियन्त्रणका लागि तथ्य, प्रमाण र जिम्मेवार अभिव्यक्तिको आवश्यकता पर्ने उल्लेख गर्दै कुनै धर्म वा धार्मिक नारालाई त्यससँग जोडेर टिप्पणी गर्नु उचित नहुने बताएका छन् ।

प्रतिनिधिसभाको साउन १४ गते बसेको बैठकमा सांसद अन्सारीले धर्मसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्ति सार्वजनिक भएपछि त्यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आइरहेका छन् ।

यस विषयमा सांसद अन्सारीले थप स्पष्टीकरण दिएका छैनन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

सामाजिक सञ्जालमा जारी बहसबीच विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले सार्वजनिक अभिव्यक्ति दिँदा धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।