Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 58

पर्सागढीमा ‘जनसेवा अभियान’ : बस्तीमै स्वास्थ्य परामर्श र सामाजिक सुरक्षा सेवाबारे जनचेतना

0

वीरगंज । जनसेवा, स्वास्थ्य सचेतना तथा सामाजिक सुरक्षासम्बन्धी जानकारी समुदायसम्म पुर्‍याउने उद्देश्यले सञ्चालित ‘जनसेवा अभियान–पर्सागढी नगरपालिका’ अन्तर्गत पर्सागढीका विभिन्न बस्तीमा जनजागरण तथा जनसहभागितामूलक कार्यक्रम सम्पन्न भएको छ ।

रास्वपा महाधिवेशन प्रतिनिधि डा. चन्द्र भूषण सिंहको आयोजनामा सञ्चालित युवा अभियानअन्तर्गत पर्सागढी नगरपालिका–६ शिव टोल, वडा नं. ७ रघुनाथपुर र वडा नं. १ भटनी गाउँमा पुगेर स्थानीयलाई स्वास्थ्य परामर्श तथा सामाजिक सुरक्षासम्बन्धी जानकारी दिइएको हो ।

कार्यक्रममा चिकित्सकले स्थानीय नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै वर्षायाममा लामखुट्टेको टोकाइबाट फैलिने डेंगुलगायतका रोगबाट बच्ने उपाय, व्यक्तिगत तथा सामुदायिक सरसफाइ र रोग रोकथामका व्यवहारबारे जानकारी गराएका थिए ।

लामखुट्टेजन्य रोगबाट बच्ने सन्देश समुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रममा सांकेतिक रूपमा झुलसमेत वितरण गरिएको थियो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन समुदायस्तरमै सचेतना र रोकथामलाई प्राथमिकता दिनुपर्नेमा अभियानले जोड दिएको छ ।

यस्तै, स्वास्थ्य तथा सामाजिक सुरक्षा सेवाबाट वञ्चित नागरिकलाई राज्यबाट उपलब्ध सेवासुविधाको पहुँचमा ल्याउने उद्देश्यले स्वास्थ्य बिमा, निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध स्वास्थ्य बिमालगायतका विषयमा जानकारी दिइएको थियो ।

आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका विपन्न नागरिकले विपन्न नागरिक औषधि उपचार कोषमार्फत प्राप्त गर्न सक्ने उपचार सहायता तथा सहुलियतका विषयमा समेत स्थानीयलाई जानकारी गराइएको आयोजकले जनाएको छ ।

अभियानमार्फत जनताको घरदैलोमै पुगेर स्वास्थ्य समस्या बुझ्ने, स्वास्थ्य परामर्श दिने, सरकारी सेवासुविधाबारे जानकारी गराउने तथा सेवाबाट वञ्चित नागरिकलाई सम्बन्धित निकायसँग जोड्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रममा रास्वपा पर्सागढीका सभापति कविराज अर्याल, युवा नेताहरू समीर अन्सारी, रौनक सिंह, जोखू मियाँ, रवि राज यादव, विनय ओझा, मिनबहादुर भण्डारी, बिकेस राय थारु, जयकरण यादव, रामकिशोर राय थारु र जयप्रकाश यादवलगायत पर्सागढी नगरका रास्वपा नेता तथा अभियानकर्मीहरूको सहभागिता रहेको थियो ।

आयोजक समूहका अनुसार ‘जनसेवा अभियान’लाई आगामी दिनमा पर्सागढीका अन्य गाउँ तथा समुदायमा समेत विस्तार गरिनेछ । स्वास्थ्य, जनकल्याण, सामाजिक सुरक्षा तथा जनजागरणका कार्यक्रमलाई चरणबद्ध रूपमा समुदायको घरदैलोसम्म पुर्‍याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

वीरगंजकाे ट्राफिक व्यवस्थापनबारे जेन–जी पर्सा र ट्राफिक प्रहरीबीच छलफल

0

वीरगंज । जेन–जी पर्साका संयोजक विशेष साहको नेतृत्वमा जेन–जी पर्साको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख दीपेन्द्र श्रेष्ठसँग भेटघाट गरी वीरगंज तथा पर्सा जिल्लाको ट्राफिक व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विभिन्न विषयमा छलफल गरेको छ ।

वीरगंजका विभिन्न स्थानमा सडक निर्माण तथा भत्काउने कार्य भइरहेकाले सवारीसाधन र सर्वसाधारणको आवागमनमा पर्न सक्ने समस्या न्यूनीकरण गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो ।

छलफलका क्रममा सडक निर्माण भइरहेको स्थानमा ठूला सवारीसाधनको आवागमनलाई आवश्यकताअनुसार व्यवस्थापन गर्ने, जोखिमयुक्त स्थानमा सावधानी अपनाउने तथा सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइएको थियो ।

त्यसैगरी, पर्सा जिल्लामा बढ्न सक्ने सवारी दुर्घटना रोकथाम, सडक सुरक्षा, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा जिल्लाको समग्र ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख दीपेन्द्र श्रेष्ठले नागरिकको सहज र सुरक्षित आवागमनका लागि आवश्यक समन्वय तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा भएकाे छलफलमा लालबाबु यादव, रवि चौरसिया, सागर सहनी, शिव पटेल, सुशील पटेल, सुकेश पटेललगायत जेन–जी पर्साका सदस्य तथा युवाहरूको सहभागिता रहेको थियो ।

पर्सामा ३९ किलोभन्दा बढी गाँजा बरामद, ३ मोटरसाइकलसहित एक जना पक्राउ

0

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ३९ किलोभन्दा बढी गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार शनिबार राति करिब ११ः५५ बजे विन्दवासिनी गाउँपालिका–४ मधवलस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त पदार्थ बरामद गरिएको हो ।

वि.ओ.पि. अमरपट्टी, वि.ओ.पि. प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीबाट संयुक्त रूपमा खटिएको टोलीले इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूमाथि निगरानी गरिरहेको थियो । प्रहरी टोलीलाई देखेपछि उनीहरूले तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीतर्फ फालेर भाग्ने प्रयास गरेका थिए ।

संयुक्त टोलीले उनीहरूमध्ये एक जनालाई नियन्त्रणमा लिन सफल भएको थियो । झोला जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

0

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको सडक विस्तारअन्तर्गत संरचना हटाउने अभियान अहिले तीव्र पारिएको हो ।

शनिबार वीरगंजको माइस्थान क्षेत्रमा डोजर प्रयोग गरी सडक सीमाभित्र रहेका संरचना हटाइएको छ । सडक डिभिजन कार्यालयका वीरगंज फोकल पर्सन दुर्गा प्रसादका अनुसार अब करिब ६० वटा घर तथा अन्य संरचना हटाउन बाँकी छन् ।

उनका अनुसार बाँकी रहेका संरचनाहरू पनि एक साताभित्र हटाउने कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अब मुख्यतः ठूला घर तथा व्यावसायिक संरचना हटाउन बाँकी रहेको उनले बताए ।

वीरगंजको मुख्य सडक क्षेत्रमा रहेका पम्पम बिल्डिङ, हिमालयन बैंक, सिद्धार्थ बैंक, डाबरको भवनलगायतका ठूला संरचनाहरू अझै हटाउन बाँकी छन् ।

त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडक विस्तारका लागि सडकको दायाँ र बायाँ २५/२५ मिटरभित्र पर्ने संरचना हटाउने अभियान सञ्चालन भइरहेको छ । सडक डिभिजन कार्यालयले सडक सीमाभित्र पर्ने संरचना हटाउँदै सडक विस्तारका लागि आवश्यक क्षेत्र खाली गराउँदै आएको छ ।

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

0
फाइल तस्बिर

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली रोकिएको छैन ।

वीरगंज–२२ जगरनाथपुर चोक, रामगढवा, परवानीपुरलगायतका क्षेत्रमा लामो समयदेखि भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनबाट कवाडी करको नाममा रकम असुली हुँदै आएको स्थानीय तथा चालकहरूले बताएका छन् ।

स्थानीयका अनुसार वीरगंज महानगरपालिकाले कवाडी कर असुलीका लागि अमित ठेक्का पट्टालाई ठेक्का दिएको थियो । उक्त ठेक्काको अवधि असार मसान्तमै समाप्त भइसकेको भए पनि नयाँ आर्थिक वर्ष सुरु भइसक्दा समेत ठेकेदार पक्षले कर असुलीलाई निरन्तरता दिइरहेको आरोप छ ।

महानगरपालिकासँगको मौखिक सहमतिका आधारमा असुली जारी राखिएको दाबी गरिए पनि नयाँ आर्थिक वर्षका लागि औपचारिक सम्झौता भइसकेको जानकारी छैन । स्थानीयहरूका अनुसार सम्झौता नै नभएको अवस्थामा पनि विभिन्न स्थानमा ढाँट राखेर सवारीसाधनबाट रकम उठाउने काम भइरहेको छ ।

राजमार्गमा स्थानीय तहले जथाभावी कर तथा शुल्क असुल्न नपाउने व्यवस्था हुँदाहुँदै पनि राजमार्गमै कवाडी करका नाममा रकम उठाइएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । महानगरपालिकाले विगतमा गरेको सम्झौताअनुसार पनि पुरानो फलाम, प्लास्टिक, कागज, टायर–ट्युब लगायतका निश्चित कवाडी सामग्रीमा मात्र कर असुल्न पाउने व्यवस्था रहेको बताइएको छ ।

तर उक्त व्यवस्थाविपरीत खाली सवारीसाधन तथा अन्य मालवाहक गाडीबाट समेत रकम असुली भइरहेको चालकहरूको गुनासो छ । उनीहरूका अनुसार कतिपय अवस्थामा रसिद नदिई रकम लिने, रसिदमा उल्लेख भएको रकमभन्दा बढी असुल्ने तथा रकम दिन अस्वीकार गर्दा दुर्व्यवहार गर्ने गरेको आरोप छ ।

जगरनाथपुर चोकमा गण्डक नहरको जग्गामा बनाइएको कर असुली गर्ने छाप्रो यसअघि गण्डक नहर अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले डोजर लगाएर हटाएको थियो । तर संरचना हटाइएपछि पुनः त्रिपालको छाप्रो निर्माण गरी असुली सुरु गरिएको स्थानीयको भनाइ छ ।

जगरनाथपुर चोक, रामगढवा र परवानीपुर क्षेत्रमा भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली भइरहेको आरोप छ । लामो समयदेखि यस विषयमा समाचार सार्वजनिक हुँदै आए पनि अवैध असुली पूर्ण रूपमा रोक्न नसकिएको भन्दै स्थानीयले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन् ।

पर्सा प्रहरी प्रमुखका रूपमा एसपी पवन भट्टराई आएको करिब १० दिन भइसके पनि विगतदेखि हुँदै आएको अवैध असुली रोकिएको छैन । नयाँ प्रहरी नेतृत्व आएपछि अवैध असुली नियन्त्रणमा आउने अपेक्षा गरेका स्थानीय निराश भएका छन् ।

यसैबीच दुई दिनअघि जगरनाथपुर ढाँटबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगंज–२२ का अजयप्रसाद यादवलाई नियन्त्रणमा लिएको हो । यादवमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक नवीन थापा मगरले बताए ।

यद्यपि एक जनालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाइए पनि जगरनाथपुर क्षेत्रमा कवाडी करका नाममा हुँदै आएको असुली भने नरोकिएको स्थानीयको दाबी छ ।

स्थानीयले राजमार्गमा हुने अवैध असुली तत्काल रोक्न, ठेक्काको वैधानिकता सार्वजनिक गर्न तथा सम्झौताविपरीत रकम असुली भए कारबाही गर्न महानगरपालिका र प्रहरी प्रशासनसँग माग गरेका छन् । स्थानिय प्रहरी प्रशासनकाे मिलाेमताेमा विगत लामाे समयदेखि अवैध असुली हुँदै आएकाे स्थानियहरुकाे आराेप समेत रहेकाे छ ।

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

0

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले पछिल्लो समय देशलाई संकटतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसबाट निकास दिन आफूहरू एकजुट भएको बताए ।

साहले अहंकार, एकाधिकार र सर्वसत्तावादको राजनीतिविरुद्ध सहअस्तित्व, सहकार्य र सर्वस्वीकार्य शासनको पक्षमा आफूहरू रहेको बताए । उनले भने, “उनीहरू अहंकारयुक्त नेपाल चाहन्छन्, तर हामी अहंकारमुक्त नेपाल बनाउन चाहन्छौं । उनीहरू एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सहअस्तित्वमा आधारित सहकार्य चाहन्छौं ।”

उनले पछिल्लो समय ‘फेक फेस’ मार्फत ‘फेक शासन’ लाद्न खोजिएको आरोप लगाउँदै आफूहरू ‘रियल फेस’ मार्फत वास्तविक शासन र असल शासनको पक्षमा रहेको बताए । उनले वर्तमान राजनीतिक संघर्षलाई विदेशी प्रभावविरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँका रूपमा चित्रण गर्दै अग्रगामी मोर्चाले अराजकता र तानाशाहीबाट देशलाई बचाउने दाबी गरे ।

साहले नेपालमा भएका ठूला–ठूला क्रान्ति तथा आन्दोलनहरू पटक–पटक ‘हाइज्याक’ भएको दाबी गर्दै विगतका आन्दोलनको निर्मम समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । देश निर्माणको शक्तिको स्रोत जनता भए पनि नक्कली शासकका कारण जनता पटक–पटक ठगिँदै र लुटिँदै आएको उनको भनाइ थियो ।

उनले मोर्चामा आबद्ध सबैलाई पद र पार्टीगत स्वार्थभन्दा माथि उठेर सहअस्तित्व स्वीकार गर्दै देशलाई एकताबद्ध गर्ने राजनीति गर्न आग्रह गरे । टुटफुट र विभाजनको सट्टा एकता तथा ध्रुवीकरण, घृणा र विध्वंसको सट्टा प्रेम, सद्भाव र निर्माणको राजनीति आवश्यक रहेको उनले बताए ।

विगतका गठबन्धनहरू नेतृत्वमा इमानदारिताको कमी, वैचारिक अस्पष्टता, संकीर्णता र व्यक्तिवादी प्रवृत्तिका कारण सफल हुन नसकेको साहले दाबी गरे । अब एकले अर्कालाई प्रयोग गर्ने नभई जोड्ने र सहकार्य गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए ।

देशमा जारी संकट अन्त्य गर्न मोर्चा गठन गरिएको बताउँदै साहले सरकार परिवर्तन भए पनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गरे । देशबाट युवाहरू बाहिरिने क्रम नरोकिएको, सेवाका लागि नागरिकले लामो लाइन बस्नुपरेको, व्यापारी तथा व्यवसायी पलायन भइरहेको, किसान निराश रहेको र मूल्यवृद्धि निरन्तर बढिरहेको उनको भनाइ थियो ।

साहले भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको कविता उद्धृत गर्दै आफूहरू पद र सत्ता प्राप्तिका लागि नभई देशको संकट समाधान गर्न एकजुट भएको स्पष्ट पारे । उनले अग्रगामी मोर्चा सरकार बनाउने वा गिराउने, भागबण्डा गर्ने अथवा पद बाँडफाँट गर्ने उद्देश्यले गठन नभएको दाबी गरे ।

“हाम्रो एकता कुनै पद प्राप्तिका लागि होइन, अनि सत्ताको साझेदारीका लागि पनि होइन । यो मोर्चा संकट समाधानका लागि एउटा महासहकार्य हो,” साहले भने ।

उनले अग्रगामी मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेशको मान बढाउने दाबी गर्दै आफूहरूको मोर्चा समग्र देशको हित चाहनेहरूको मोर्चा भएको बताए ।

साहले अग्रगामी मोर्चा विगतको राजनीतिक निरन्तरता नभई ‘क्रमभंग’ भएको दाबीसमेत गरे । आफूहरूले लिएको विचार, संकल्प, एजेण्डा र राजनीतिक कार्यशैली नयाँ भएकाले मोर्चा पनि नयाँ स्वरूपको भएको उनको भनाइ थियो ।

उनले समानता र न्यायका लागि आफूहरू संघर्षरत रहेको भन्दै देश र जनतालाई विभेद तथा अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

राउन्ड टेबल र रोट्र्याक्ट क्लबको कार्यक्रममा ५८ जनाले दिए रगत

0

वीरगञ्ज । राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको घण्टाघरस्थित आयोजित कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा देवनाथ राय, सगुन कुमार सिंह, अफरोज अन्सारी, कृष्ण मोहन यादव, सन्जोग थापा, शक्ति श्रेष्ठ, सहिम राउत गद्दी, राहुल महतो लगायतले रक्तदान गरेको आयोजकले जनाएको छ ।

राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामविनय यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईं, दीनानाथ रौनियार, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल, समाजसेवी राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तलले संस्था विशुद्ध मानवीय सेवाको उद्देश्यले निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएको बताए । वीरगञ्जमा रगतको अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

उनले रक्तदान गर्दा रक्तदातालाई कुनै ठूलो घाटा नहुने तर रगत प्राप्त गर्ने व्यक्तिका लागि भने त्यसले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । मित्तलले स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा प्रत्येक तीन महिनामा रक्तदान गरी मानवता र सामाजिक सेवामा योगदान गर्न आग्रह गरे ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो ।

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

0

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत वीरगंजका प्रतिमाचोक, मुर्ली, गण्डक, परवानीपुरलगायतका व्यस्त क्षेत्रसँगै ग्रामीण क्षेत्रका मिलनचोक, बहुअर्वा र ठोरीमा दुई पाङ्ग्रे सवारी चालकसँग प्रत्यक्ष संवाद गरी ट्राफिक नियमबारे जानकारी प्रदान गरिएको हो ।

कार्यक्रमका क्रममा चालकहरूलाई हेल्मेटको अनिवार्य प्रयोग, मोटरसाइकलमा तीन जना वा सोभन्दा बढी सवार नगर्ने, मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) गरी सवारी नचलाउने, तीव्र गतिमा सवारी नहाक्ने, आवश्यक सवारीसम्बन्धी कागजात साथमा राख्ने तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठका अनुसार प्रत्येक चालकसँग करिब दुई मिनेट प्रत्यक्ष संवाद गर्दै सुरक्षित यात्रा, जिम्मेवार चालकको भूमिका र सडक दुर्घटना न्यूनीकरणका उपायबारे सचेतना फैलाइएको हो ।

उनले यस्ता जनचेतनामूलक अभियानले चालकमा ट्राफिक नियमप्रति जिम्मेवारीबोध बढाउने र सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै सडक सुरक्षा संस्कृतिको विकास र दुर्घटना न्यूनीकरणमा विशेष जोड दिने जनाएको छ ।

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

0

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टम प्रतिवेदनप्रति असहमति जनाउँदै माइती पक्षले शव बुझ्न अस्वीकार गरेपछि शव अझै अस्पतालमै रहेको हो ।

ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी तथा दुई सन्तानकी आमा लक्ष्मी साउन ६ गते बिहान आफ्नै घर नजिकैको गोठमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनालगत्तै माइती पक्षले उनको आत्महत्या नभई हत्या गरेर घटनालाई आत्महत्याको रूप दिइएको आरोप लगाउँदै आएको छ ।

सोमबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा मृतकका आफन्तले पोस्टमार्टम प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाउँदै घटनाको निष्पक्ष, पारदर्शी र वैज्ञानिक ढंगले पुनः अनुसन्धान गर्न माग गरेका छन् ।

मृतकका मामा इन्द्रबहादुर बस्नेतले लक्ष्मीलाई उनका पति सुधिर सिलवाल, सासु–ससुरा तथा परिवारका अन्य सदस्यले कुटपिट गरी हत्या गरेको आरोप लगाए । उनका अनुसार घटनास्थलमा फुटेका चुरा, झगडा भएको कोठाबाहिर देखिएको रगतका दाग तथा अन्य परिस्थितिजन्य प्रमाणहरूले घटना आत्महत्या नभई हत्या भएको संकेत गर्ने दाबी गरे । उनले वास्तविक दोषी पहिचान गरी कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान दोहोर्याए ।

मृतकका आमा देवकुमारी खड्का र बुवा खडगबहादुर खड्काले पनि मृत्युको वास्तविक कारण खुल्ने गरी पुनः छानबिन तथा दोषीमाथि कारबाही प्रक्रिया अघि नबढेसम्म शव नबुझ्ने बताएका छन् । माइती पक्षले घटनामा मृतकका पति सुधिर सिलवाल, सासु–ससुरा, नन्द तथा नन्दका श्रीमान्को समेत संलग्नता रहेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीलगायत जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो । उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नारायणी अस्पतालबाट प्राप्त पोस्टमार्टम प्रतिवेदनमा लक्ष्मीको मृत्यु पासो लगाएर आत्महत्या गरेको कारण भएको उल्लेख छ । तर माइती पक्षले उक्त प्रतिवेदनमाथि प्रश्न उठाएकाले अनुसन्धानका सबै पक्षलाई समेटेर प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार घटनाको अन्तिम निष्कर्ष अझै आइसकेको छैन ।

प्रहरीले घटनाकै दिन मृतकका पति सुधिर सिलवाललाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सासु र ससुरालाई पनि प्रारम्भिक रूपमा नियन्त्रणमा लिइए पनि वृद्ध अवस्थाका कारण मृतकका आफन्तको सहमतिमा तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

माइती पक्षका अनुसार सुधिर सिलवाल नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन् । उनीमाथि लागू पदार्थ सेवन गर्ने, परिवारसँग पटक–पटक विवाद गर्ने तथा श्रीमतीमाथि कुटपिट गर्ने गरेको आरोप पनि लगाइएको छ । प्रहरीले भने ती आरोपबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ ।

यसअघि साउन ११ गते माइती पक्ष, आफन्त तथा स्थानीयवासीले ठोरीबाट वीरगंजमा आएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको थियो ।

हाल शव नारायणी अस्पतालको शवगृहमै रहेको छ भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यता, पीडित परिवारले सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याइनेमा आफूहरू अझै आशावादी रहेको बताएका छन् ।

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

0

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार आइतबार र साेमबार नं. १३ गण मुख्यालय पर्सा, सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्ज, बिओपी सिर्सिया तथा सीमा सुरक्षा गुल्म मुख्यालय भिखमपुरबाट खटिएका टोलीहरूले विशेष सूचनाका आधारमा तथा नियमित चेकजाँचका क्रममा विभिन्न स्थानमा कारबाही गरेका हुन् ।

कारबाहीका क्रममा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका कपडा, फलफूल, हार्डवेयर सामग्री, कम्प्युटर पार्ट्स (सीपीयू प्रोसेसर), मोटरसाइकलका पार्ट्स, किराना सामान, कस्मेटिक सामग्री, मदिरालगायतका सामान बरामद गरिएको छ । साथै अवैध ओसारपसारमा प्रयोग भएका म्याजिक भ्यान, टाँगा तथा घोडासमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त कारबाही वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोक, वडा नं. १६ इनर्वा र भगवा तथा वडा नं. १ छप्कैयालगायतका सीमा क्षेत्रमा सञ्चालन गरिएको थियो ।

बरामद गरिएका सम्पूर्ण सामान तथा ओसारपसारमा प्रयोग भएका सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।