Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टम प्रतिवेदनप्रति असहमति जनाउँदै माइती पक्षले शव बुझ्न अस्वीकार गरेपछि शव अझै अस्पतालमै रहेको हो ।

ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी तथा दुई सन्तानकी आमा लक्ष्मी साउन ६ गते बिहान आफ्नै घर नजिकैको गोठमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनालगत्तै माइती पक्षले उनको आत्महत्या नभई हत्या गरेर घटनालाई आत्महत्याको रूप दिइएको आरोप लगाउँदै आएको छ ।

सोमबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा मृतकका आफन्तले पोस्टमार्टम प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाउँदै घटनाको निष्पक्ष, पारदर्शी र वैज्ञानिक ढंगले पुनः अनुसन्धान गर्न माग गरेका छन् ।

मृतकका मामा इन्द्रबहादुर बस्नेतले लक्ष्मीलाई उनका पति सुधिर सिलवाल, सासु–ससुरा तथा परिवारका अन्य सदस्यले कुटपिट गरी हत्या गरेको आरोप लगाए । उनका अनुसार घटनास्थलमा फुटेका चुरा, झगडा भएको कोठाबाहिर देखिएको रगतका दाग तथा अन्य परिस्थितिजन्य प्रमाणहरूले घटना आत्महत्या नभई हत्या भएको संकेत गर्ने दाबी गरे । उनले वास्तविक दोषी पहिचान गरी कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान दोहोर्याए ।

मृतकका आमा देवकुमारी खड्का र बुवा खडगबहादुर खड्काले पनि मृत्युको वास्तविक कारण खुल्ने गरी पुनः छानबिन तथा दोषीमाथि कारबाही प्रक्रिया अघि नबढेसम्म शव नबुझ्ने बताएका छन् । माइती पक्षले घटनामा मृतकका पति सुधिर सिलवाल, सासु–ससुरा, नन्द तथा नन्दका श्रीमान्को समेत संलग्नता रहेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीलगायत जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो । उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नारायणी अस्पतालबाट प्राप्त पोस्टमार्टम प्रतिवेदनमा लक्ष्मीको मृत्यु पासो लगाएर आत्महत्या गरेको कारण भएको उल्लेख छ । तर माइती पक्षले उक्त प्रतिवेदनमाथि प्रश्न उठाएकाले अनुसन्धानका सबै पक्षलाई समेटेर प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार घटनाको अन्तिम निष्कर्ष अझै आइसकेको छैन ।

प्रहरीले घटनाकै दिन मृतकका पति सुधिर सिलवाललाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सासु र ससुरालाई पनि प्रारम्भिक रूपमा नियन्त्रणमा लिइए पनि वृद्ध अवस्थाका कारण मृतकका आफन्तको सहमतिमा तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

माइती पक्षका अनुसार सुधिर सिलवाल नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन् । उनीमाथि लागू पदार्थ सेवन गर्ने, परिवारसँग पटक–पटक विवाद गर्ने तथा श्रीमतीमाथि कुटपिट गर्ने गरेको आरोप पनि लगाइएको छ । प्रहरीले भने ती आरोपबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ ।

यसअघि साउन ११ गते माइती पक्ष, आफन्त तथा स्थानीयवासीले ठोरीबाट वीरगंजमा आएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको थियो ।

हाल शव नारायणी अस्पतालको शवगृहमै रहेको छ भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यता, पीडित परिवारले सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याइनेमा आफूहरू अझै आशावादी रहेको बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...

सर्वपक्षीय संवादपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षको ताल्चा खुल्यो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा लगाइएको ताल्चा आइतबार सर्वपक्षीय संवादपछि खोलिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख...