काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले पछिल्लो समय देशलाई संकटतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसबाट निकास दिन आफूहरू एकजुट भएको बताए ।
साहले अहंकार, एकाधिकार र सर्वसत्तावादको राजनीतिविरुद्ध सहअस्तित्व, सहकार्य र सर्वस्वीकार्य शासनको पक्षमा आफूहरू रहेको बताए । उनले भने, “उनीहरू अहंकारयुक्त नेपाल चाहन्छन्, तर हामी अहंकारमुक्त नेपाल बनाउन चाहन्छौं । उनीहरू एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सहअस्तित्वमा आधारित सहकार्य चाहन्छौं ।”
उनले पछिल्लो समय ‘फेक फेस’ मार्फत ‘फेक शासन’ लाद्न खोजिएको आरोप लगाउँदै आफूहरू ‘रियल फेस’ मार्फत वास्तविक शासन र असल शासनको पक्षमा रहेको बताए । उनले वर्तमान राजनीतिक संघर्षलाई विदेशी प्रभावविरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँका रूपमा चित्रण गर्दै अग्रगामी मोर्चाले अराजकता र तानाशाहीबाट देशलाई बचाउने दाबी गरे ।
साहले नेपालमा भएका ठूला–ठूला क्रान्ति तथा आन्दोलनहरू पटक–पटक ‘हाइज्याक’ भएको दाबी गर्दै विगतका आन्दोलनको निर्मम समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । देश निर्माणको शक्तिको स्रोत जनता भए पनि नक्कली शासकका कारण जनता पटक–पटक ठगिँदै र लुटिँदै आएको उनको भनाइ थियो ।
उनले मोर्चामा आबद्ध सबैलाई पद र पार्टीगत स्वार्थभन्दा माथि उठेर सहअस्तित्व स्वीकार गर्दै देशलाई एकताबद्ध गर्ने राजनीति गर्न आग्रह गरे । टुटफुट र विभाजनको सट्टा एकता तथा ध्रुवीकरण, घृणा र विध्वंसको सट्टा प्रेम, सद्भाव र निर्माणको राजनीति आवश्यक रहेको उनले बताए ।
विगतका गठबन्धनहरू नेतृत्वमा इमानदारिताको कमी, वैचारिक अस्पष्टता, संकीर्णता र व्यक्तिवादी प्रवृत्तिका कारण सफल हुन नसकेको साहले दाबी गरे । अब एकले अर्कालाई प्रयोग गर्ने नभई जोड्ने र सहकार्य गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए ।
देशमा जारी संकट अन्त्य गर्न मोर्चा गठन गरिएको बताउँदै साहले सरकार परिवर्तन भए पनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गरे । देशबाट युवाहरू बाहिरिने क्रम नरोकिएको, सेवाका लागि नागरिकले लामो लाइन बस्नुपरेको, व्यापारी तथा व्यवसायी पलायन भइरहेको, किसान निराश रहेको र मूल्यवृद्धि निरन्तर बढिरहेको उनको भनाइ थियो ।

साहले भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको कविता उद्धृत गर्दै आफूहरू पद र सत्ता प्राप्तिका लागि नभई देशको संकट समाधान गर्न एकजुट भएको स्पष्ट पारे । उनले अग्रगामी मोर्चा सरकार बनाउने वा गिराउने, भागबण्डा गर्ने अथवा पद बाँडफाँट गर्ने उद्देश्यले गठन नभएको दाबी गरे ।
“हाम्रो एकता कुनै पद प्राप्तिका लागि होइन, अनि सत्ताको साझेदारीका लागि पनि होइन । यो मोर्चा संकट समाधानका लागि एउटा महासहकार्य हो,” साहले भने ।
उनले अग्रगामी मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेशको मान बढाउने दाबी गर्दै आफूहरूको मोर्चा समग्र देशको हित चाहनेहरूको मोर्चा भएको बताए ।
साहले अग्रगामी मोर्चा विगतको राजनीतिक निरन्तरता नभई ‘क्रमभंग’ भएको दाबीसमेत गरे । आफूहरूले लिएको विचार, संकल्प, एजेण्डा र राजनीतिक कार्यशैली नयाँ भएकाले मोर्चा पनि नयाँ स्वरूपको भएको उनको भनाइ थियो ।
उनले समानता र न्यायका लागि आफूहरू संघर्षरत रहेको भन्दै देश र जनतालाई विभेद तथा अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।








