Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026
Home Blog Page 56

अपराध नियन्त्रणसँगै ‘प्रहरीप्रति जनविश्वास बढाउँछु’ : एसपी भट्टराई

0

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जिल्लामा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रण र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।

शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साको सभाहलमा स्थानीय सञ्चारकर्मीसँग आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै एसपी भट्टराईले प्रहरी सेवालाई थप जनमैत्री, विश्वसनीय, पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्दै शान्ति सुरक्षा, अमनचयन, सामाजिक सद्भाव तथा विधिको शासन कायम गर्न प्रहरी प्रशासन सक्रिय रहने बताए।

सीमा क्षेत्रमा हुने तस्करीसहितका गैरकानुनी तथा आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइने उल्लेख गर्दै एसपी भट्टराईले अपराधरहित समाज निर्माणका लागि प्रहरीको एक्लो प्रयास पर्याप्त नहुने बताए। उनले अपराध नियन्त्रण तथा सामाजिक सुरक्षा मजबुत बनाउन सञ्चारकर्मी, स्थानीय नागरिक र समाजका सबै पक्षसँग निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रहरीप्रति नागरिकको विश्वास अझ मजबुत बनाउन सूचना आदानप्रदान र नागरिकसँगको सहकार्यलाई प्रभावकारी बनाउने बताउँदै उनले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी र जवाफदेही बनाउँदै कानुन कार्यान्वयनमा निष्पक्षता कायम गर्ने प्रतिबद्धता जनाए।

अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले प्रहरी प्रशासनको कामकारबाही थप पारदर्शी, प्रभावकारी र जनउत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले हिंसामा परेका तथा न्यायको खोजीमा प्रहरीसमक्ष आउने पीडितलाई थप पीडा दिने नभई संवेदनशील र मानवीय व्यवहार गर्न आग्रह गरे।

सञ्चारकर्मीहरूले विगतमा सूचना सङ्कलन तथा समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूलाई प्रहरी प्रशासनबाट अनावश्यक दुःख दिने तथा असहज परिस्थिति सिर्जना हुने गरेको गुनासोसमेत गरेका थिए। आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन तथा प्रहरी र सञ्चारकर्मीबीच सहकार्य र विश्वासको वातावरण बनाउन उनीहरूले आग्रह गरे।

कार्यक्रममा प्रहरी र सञ्चारकर्मीबीचको समन्वयलाई थप बलियो बनाउने, सूचनाको सहज आदानप्रदान गर्ने तथा नागरिकका समस्या र गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा समेत छलफल भएको थियो।

अन्तरक्रिया कार्यक्रममा प्रहरी नायब उपरीक्षकद्वय चक्रबहादुर मल्ल र राजु कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, पूर्वकेन्द्रीय सचिव दीपेन्द्र चौहानलगायत प्रहरी अधिकृत तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

0

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा दुई जना विद्यार्थी घाइते समेत भएका छन् ।

बिहीबार क्याम्पसमा एमए फस्ट सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका बेला परीक्षा हलमा मोबाइल फोन प्रयोग गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि क्याम्पस परिसरमै दुई समूहबीच कुटाकुट भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको प्रत्यक्षदर्शीले वताएका छन् ।

क्याम्पसका एक कर्मचारीका अनुसार परीक्षा दिइरहेका स्ववियु सदस्य आयुष यादव क्याम्पसले निर्धारण गरेको सिट प्लानअनुसारको कोठामा नबसी अर्कै कोठामा बसेका थिए । परीक्षामा खटिएका निरीक्षकले उनलाई निर्धारित कोठामा जान आग्रह गर्दा विवाद भएको थियो ।

त्यसैक्रममा परीक्षा अनुगमनका लागि पुगेका स्ववियु सभापति राजकुमार यादवले परीक्षाको मर्यादा पालना गर्न आग्रह गर्दा उनीहरूबीच थप विवाद भएको थियो । परीक्षा हलमै यादवको साथबाट मोबाइल फोनसमेत भेटिएपछि विवाद थप चर्किएको थियाे ।

क्याम्पस प्रमुख डा. केशव यादवले स्ववियु सदस्य आयुष यादवको साथमा रहेको मोबाइल जफत गरेपछि उनी आक्रोशित बनेको र फोनमार्फत बाहिरबाट आफ्ना समर्थकहरूलाई क्याम्पसमा बोलाएको कर्मचारीले बताएका छन् ।

त्यसपछि आयुष यादव र राजकुमार यादव पक्षबीच क्याम्पस परिसरमै हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले लाठीचार्ज गरेको थियो ।

कुटाकुटमा वीरगंज महानगरपालिका–२४ का अन्दाजी २३ वर्षीय सुनिल यादव र वीरगंज–१० का अन्दाजी २५ वर्षीय राजु श्रीवास्तव घाइते भएका छन् । दुवै जना क्याम्पसका विद्यार्थी रहेको र उनीहरूको नारायणी अस्पतालमा उपचारको लागि पठाइएकाे प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा स्ववियु सदस्य आयुष यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

डीएसपी मल्लका अनुसार परीक्षा सञ्चालन भइरहेका बेला क्याम्पसले तोकेको भन्दा फरक कोठामा परीक्षा दिन बसेका स्ववियु सदस्य यादव र परीक्षा अनुगमनका क्रममा पुगेका स्ववियु सभापति यादव पक्षबीच विवादपछि कुटाकुट भएको हो ।

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो तहका प्रहरी कर्मचारीका समस्या, सरुवा–काजको प्रक्रिया तथा सेवा सुविधाबारे गम्भीर प्रश्न उठाएका हुन्।

ती प्रहरी अधिकृतका अनुसार प्रहरी कर्मचारीलाई आवश्यकताअनुसार सरुवा वा काजमा खटाउने अधिकार संगठनसँग भए पनि त्यसको प्रयोग गर्दा कर्मचारीको पारिवारिक अवस्था, कार्यक्षेत्रको दूरी तथा आर्थिक भारलाई समेत ध्यान दिनुपर्ने हुन्छ। तर, कतिपय अवस्थामा स्पष्ट कारण वा पर्याप्त जानकारीबिना लामो दूरीमा सरुवा तथा काजमा खटाउँदा तल्लो तहका कर्मचारी र उनीहरूको परिवार प्रत्यक्ष प्रभावित हुने गरेको उनको गुनासो छ।

उनले भने, “प्रहरीलाई आवश्यकताअनुसार सरुवा गर्ने अधिकार संगठनसँग होला, तर बिना कारण वा पर्याप्त आधारबिना श्रीमान्–श्रीमतीलाई अलग–अलग ठाउँमा राख्ने र लामो दूरीमा खटाउने कार्यले कर्मचारीको पारिवारिक तथा आर्थिक जीवनमा ठूलो असर पार्छ।”

उनका अनुसार अचानक हुने सरुवा वा काजले बालबालिकाको पढाइ, श्रीमान्–श्रीमतीको पारिवारिक जीवन तथा दैनिक व्यवस्थापनमा समेत समस्या सिर्जना गर्छ। एउटै परिवारका श्रीमान्–श्रीमती फरक–फरक जिल्लामा बस्नुपर्ने अवस्था आउँदा पारिवारिक सम्बन्धमा समेत तनाव बढ्ने गरेको उनले बताए।

त्यस्तै, नयाँ ठाउँमा जाँदा उपयुक्त डेरा खोज्न कठिन हुने र पायक पर्ने स्थानमा कोठा पाए पनि चर्को भाडा तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। “तलब सीमित हुन्छ, तर सरुवा भएर नयाँ ठाउँमा पुग्दा डेरा, खानपिन, आवतजावतलगायतका खर्च बढ्छन्। कतिपय अवस्थामा तलबको ठूलो हिस्सा बसोबासमै खर्च हुन्छ,” उनले गुनासो गरे।

प्रहरी कर्मचारीको सेवा प्रकृति नै २४ घण्टा नागरिक तथा राष्ट्रको सुरक्षामा खटिनुपर्ने भएकाले उनीहरूको व्यक्तिगत तथा पारिवारिक समस्यालाई पनि संगठनले संवेदनशील रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ।

उनले संगठनभित्र माथिल्लो तहका अधिकारीका निर्णयविरुद्ध तल्लो दर्जाका प्रहरी कर्मचारीले खुलेर गुनासो राख्न सक्ने प्रभावकारी संयन्त्रको आवश्यकता औंल्याए। “आफूलाई पर्दा गुनासो गर्ने र समस्या सुनाउने अवस्था हुन्छ, तर तल्लो दर्जाका प्रहरी कर्मचारीको समस्या कसले सुनिदिने ? उनीहरूका लागि पनि निष्पक्ष सुनुवाइको व्यवस्था हुनुपर्छ,” उनले प्रश्न गरे।

कानुनमा भएको व्यवस्था कार्यान्वयन गर्न माग

प्रहरी कर्मचारीहरूले सरुवा तथा काजसम्बन्धी विद्यमान कानुनी तथा प्रशासनिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका छन्। प्रहरी नियमावली तथा काज निर्देशिकामा कर्मचारीको पारिवारिक अवस्था र सरुवा–काज व्यवस्थापनसँग सम्बन्धित प्रावधान रहेकाले ती व्यवस्था व्यवहारमै लागू गर्नुपर्ने उनीहरूको भनाइ छ।

प्रहरी नियमावली, २०७१ को नियम ४९ को उपनियम (४) बमोजिम प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (प्रवनानि) सम्मका दर्जाका कर्मचारीलाई सम्भव भएसम्म घरपायक तथा प्रदेशभित्र सरुवा गर्ने प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ।

त्यस्तै, काज निर्देशिका, २०६९ को दफा ३ को ‘ग’ बमोजिम ६ महिनाभित्र सरुवा मिलान वा पुनः काज आदेश नभएमा सम्बन्धित प्रहरी कर्मचारी स्वतः दरबन्दीमा फिर्ता हुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ छ।

यसैगरी, काज निर्देशिका, २०६९ को दफा ८ को ‘ठ’ बमोजिम श्रीमान्–श्रीमती दुवै प्रहरी कर्मचारी भए उनीहरूलाई सम्भव भएसम्म एउटै क्षेत्र वा पायक पर्ने स्थानमा सरुवा तथा काजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

प्रहरी अधिकृतका अनुसार यी व्यवस्था कार्यान्वयन भएमा तल्लो तहका प्रहरी कर्मचारीले भोग्दै आएका पारिवारिक विछोड, अनावश्यक आर्थिक भार तथा मानसिक तनाव धेरै हदसम्म कम गर्न सकिन्छ।

उनका अनुसार संगठनभित्र अधिकार प्रयोग गर्दा कानुन, नियम र मानवीय पक्षलाई समेत समान रूपमा हेर्न आवश्यक छ। तल्लो दर्जाका कर्मचारीमाथि आफूलाई कानुनभन्दा माथि राखेर व्यवहार गर्ने प्रवृत्तिले प्रहरी संगठनभित्रको मनोबलमा असर पार्न सक्ने उनको भनाइ छ।

सरुवा तथा काज प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउनुपर्ने, कर्मचारीको पारिवारिक अवस्था र सम्भावित आर्थिक भारलाई समेत मूल्यांकन गर्नुपर्ने तथा सम्भव भएसम्म श्रीमान्–श्रीमतीलाई एउटै स्थान वा पायक पर्ने क्षेत्रमा व्यवस्थापन गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले सुझाव दिएका छन्।

नागरिक र राष्ट्रको सुरक्षाका लागि निरन्तर खटिने तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च राख्न सेवा–सुविधा, आवास, सरुवा प्रणाली र गुनासो सुनुवाइ संयन्त्रमा सुधार आवश्यक रहेको उनको निष्कर्ष छ। संगठनभित्रका यस्ता व्यावहारिक समस्या सम्बोधन गर्न नीतिगत सुधारसँगै विद्यमान कानुनी व्यवस्था र कल्याणकारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनले बताएका छन् ।

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

0

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

रास्वपा छिपहरमाई गाउँपालिका समितिको आयोजनामा वडा नं. ३ झलमैयामा आयोजित भेलामा आगामी निर्वाचनको तयारी तथा संगठन सुदृढीकरणका विषयमा छलफल गरिएको हो ।

कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति जितेन्द्र मिश्राले गरेका थिए भने प्रमुख अतिथिका रूपमा रास्वपा पर्साका जिल्ला कार्यवाहक सभापति तुलसा पौडेल सहभागी थिइन् ।

कार्यक्रममा रास्वपा पर्साका जिल्ला सचिव सुदिस प्रजापति, क्षेत्रिय उप संयाेजक प्रवेज अहमद, छिपहरमाई गाउँपालिकाका सभापती उमेश यादव, उपसभापति बृजकिशोर यादव, क्षेत्रीय सदस्य विक्की यादव, युवा नेता मुना बर्मा, रामाशंकर शाहलगायतको उपस्थिति रहेको थियो ।

भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ गठन, संगठन विस्तार, सम्भावित उम्मेदवार छनोट, कार्यकर्ता परिचालनलगायतका विषयमा छलफल भएको रास्वपा पर्साले जनाएको छ ।

त्यस्तै, पार्टी संगठनलाई अझ सशक्त, अनुशासित, व्यवस्थित र जनमुखी बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी रूपमा अघि बढ्ने विषयमा समेत सहभागीहरूले धारणा राखेका थिए ।

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

0

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ।

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्ने सन्देशसहित बुधबार वीरगञ्जमा युवा र्‍याली निकालिएको हो। र्‍यालीपछि विभिन्न क्षेत्रका प्रेरणादायी वक्ताहरूको प्रस्तुति, अन्तरक्रियात्मक सत्र तथा सामग्री सिर्जनाकर्ता प्रतियोगितासहितको मुख्य कार्यक्रम सम्पन्न गरिएको थियो।

एनवाइइएफ वीरगञ्ज च्याप्टर र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा निकालिएको र्‍याली माइस्थान चोकस्थित गहवा माई मन्दिर अगाडिबाट सुरु भएको थियो। र्‍याली गीतामन्दिर हुँदै घडिअर्वा पोखरी पुगेपछि मुख्य सडक हुँदै सरोवर पोर्टिको होटलमा पुगेर सम्पन्न भएको थियो।

र्‍यालीमा सहभागी युवाहरूले लागुऔषधविरुद्ध विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेका थिए। युवालाई लागुऔषधको दुव्र्यसनबाट टाढा राख्दै सकारात्मक सोच, शिक्षा, सिर्जनशीलता र भविष्य निर्माणतर्फ अग्रसर गराउने उद्देश्यले र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ।

र्‍यालीपछि सरोवर पोर्टिको होटलमा एनवाइइएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा मुख्य कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मनिष झा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका डा. बासु कर्ण, डा. अरविन्द श्रेष्ठ, डा. नीरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योगपति गणेश लाठ, डा. सुबोध गुप्ता, युवा नेता सुधीर पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, भारतीय दूतावास वीरगञ्जका मनिष सिंह, एनवाइइएफका कार्यकारी सदस्य पवित्रा गौतम, होप गिभर नेपालका संस्थापक रोमन गुरुङ, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईंलगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

वीरगञ्ज सनलाइट कलेज, ममता विद्यामन्दिर, वीरगञ्ज पब्लिक कलेज, ब्राइट प्लस टु कलेज, बीपीएस कलेजलगायत विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूले कार्यक्रममा उल्लेखनीय सहभागिता जनाएका थिए।

कार्यक्रममा युवाको नेतृत्व विकास, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनका विषयमा वक्ताहरूले आफ्ना धारणा राख्दै युवालाई सामाजिक क्षेत्रमा सक्रिय बनाउनुपर्नेमा जोड दिए। युवालाई सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढाउन शिक्षा, अवसर र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्ने वक्ताहरूको भनाइ थियो।

यसै अवसरमा आयोजित सामग्री सिर्जनाकर्ता प्रतियोगिता–२०२६ मा पाँच जना सहभागीमध्ये कन्हैया सराफ विजेता बनेका छन् । विजेता सराफलाई नगद ५ हजार १ सय रुपैयाँ, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सूर्यनारायण विकले गरेका थिए।

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

0

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सरार्फले युवाको ऊर्जा, सिर्जनशीलता, क्षमता र नेतृत्वलाई सही दिशामा परिचालन गर्न सके समृद्ध, समावेशी र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् ।

उनले युवाका लागि अवसर, रोजगारी, उद्यमशीलता, शिक्षा, प्रविधि तथा नेतृत्वमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । युवाको सोच, जोश र क्षमतालाई राष्ट्र निर्माणसँग जोड्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली युवालाई अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्दै सरार्फले ‘युवा शक्ति, समृद्ध भविष्य; सशक्त युवा, समृद्ध समाज, समृद्ध राष्ट्र’ भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् ।

उनले युवालाई अवसर र जिम्मेवारी प्रदान गर्दै उनीहरूको क्षमता उपयोग गर्न सके मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

0

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यही साउन २८ र २९ गते सबै विद्यालयमा बिहानको सत्र सञ्चालन गर्नुपर्नेछ ।

महानगरले उक्त दुई दिन बिहान ६ बजेदेखि ९ः३० बजेसम्म मात्र कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।

आकस्मिक रूपमा अत्यधिक गर्मी बढेको र त्यसबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै बिहानको समयमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन पालना गर्न आग्रह गरेको छ ।

काठमाडाैंमा ८१ लाख भन्दा बढी रकमसहित छिपहरमाईका युवक पक्राउ

0

वीरगंज । हुण्डी कारोबारको आशंकामा प्रहरीले काठमाडौंको कुलेश्वरस्थित एक फलफूल पसल र डेराबाट ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद गरेको छ । रकमसहित पर्साका एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको कुलेश्वरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र साह तुराहा रहेका छन् ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वर फलफूल मण्डीस्थित आँचल फ्रुट सेन्टरमा स्रोत नखुलेको रकमको हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा मंगलबार प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पसलमा छापा मारेको थियो ।

खानतलासीका क्रममा तुराहा सञ्चालक रहेको फलफूल पसल तथा उनको डेरा कोठाबाट स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३०० बरामद भएको प्रहरीले जनाएको छ । भारतीय रुपैयाँलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा ४ लाख ८६ हजार ८८० रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ ।

दुवै रकम जोड्दा प्रहरीले कुल ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद गरेको हो ।

बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका प्रहरीले गरेको छ । पक्राउ परेका तुराहालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरी वृत्त कालीमाटीका अनुसार तुराहाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित महतो पक्राउ

0

सर्लाही । स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतबाट सर्लाहीको वयलबासतर्फ हुण्डी कारोबारको रकम लिएर आउँदै गरेको सूचनाका आधारमा प्रहरीले रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

मंगलबार भारतबाट ज.१० प ८६५२ नम्बरको स्कुटरमा रकम लिएर आउँदै गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडि स्कुटर रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा स्कुटरमा सवार व्यक्तिले बोकेको कालो झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा विभिन्न दरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५ सय रुपैयाँ दरका ३ हजार १०८ थान, १ सय रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट बरामद भएको हो । बरामद रकमको कुल मूल्य ५१ लाख ३४ हजार रुपैयाँ रहेको छ।

रकमसँगै प्रहरीले ज.१० प ८६५२ नम्बरको स्कुटर र Redmi कम्पनीको एउटा मोबाइलसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन् ।

पक्राउ परेका महतो तथा बरामद रकम र अन्य सामग्रीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

कवाडी करकाे नाममा अवैध असुली गर्नेमाथि प्रहरीकाे एक्सन, थप एक जना पक्राउ

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । कवाडी करको नाममा अवैध असुली गरेको आरोपमा पर्सा प्रहरीले थप एक जनालाई पक्राउ गरी मुद्दा चलाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित ढाटबाट सोमबार राति स्थानीय ३५ वर्षीय अशोक प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रवक्ता मल्लका अनुसार यसअघि पनि प्रहरीले जगरनाथपुरस्थित सोही ढाटबाट एक जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाए पनि कवाडी करको नाममा हुँदै आएको भनिएको अवैध असुली पूर्णरूपमा रोक्न नसकेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार जगरनाथपुर चोकस्थित सडक किनारमै त्रिपालको छाप्रो बनाएर केही युवाहरूले कवाडी करको नाममा सवारीसाधनबाट रकम असुल्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयले कारबाही थालेपछि पनि रातिको समयमा बिना रसिद रकम असुल्ने गरिएको स्थानीय प्रत्यक्षदर्शी तथा सवारी चालकहरूले बताएका छन्। उनीहरूले यसलाई करभन्दा पनि जबर्जस्ती असुलीका रूपमा लिएको बताएका छन् ।

गत आर्थिक वर्षमा वीरगंज महानगरपालिकाले कवाडी करको ठेक्का अमित ठेक्का पट्टलाई दिएको थियो । सम्झौताअनुसार पुरानो फलाम, प्लास्टिक, कागज, टायर–ट्युब लगायतका निश्चित कवाडी सामग्रीमा मात्र कर असुल्न पाउने व्यवस्था थियो । महानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज कर्णका अनुसार नयाँ आर्थिक वर्षको साउन महिनाका लागि पनि पुरानै सम्झौताअनुसार उक्त ठेक्काको म्याद थप गरिएको थियो ।

तर सम्झौताविपरीत आईसीपीबाट निस्कने मालवाहक भारतिय सवारीसाधनबाट समेत रकम असुली भइरहेको स्थानीयको आरोप छ । राजमार्गमा यसरी कर असुल्न नपाइने व्यवस्था हुँदाहुँदै महानगरपालिकाको नाममा अवैध असुली भइरहेको उनीहरूको भनाइ छ ।

स्थानीयले उक्त अवैध असुलीमा वीरगंजका केही प्रभावशाली व्यक्तिहरू तथा इलाका प्रहरी कार्यालय सुगौलीको समेत मिलेमतो रहेको आरोप लगाएका छन् । यसका साथै वीरगंज महानगरपालिकाकाे जनप्रतिनिधि र केही कर्मचारीकाे समेत मिलाेमताे रहेकाे छ ।