वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
रास्वपा छिपहरमाई गाउँपालिका समितिको आयोजनामा वडा नं. ३ झलमैयामा आयोजित भेलामा आगामी निर्वाचनको तयारी तथा संगठन सुदृढीकरणका विषयमा छलफल गरिएको हो ।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति जितेन्द्र मिश्राले गरेका थिए भने प्रमुख अतिथिका रूपमा रास्वपा पर्साका जिल्ला कार्यवाहक सभापति तुलसा पौडेल सहभागी थिइन् ।
कार्यक्रममा रास्वपा पर्साका जिल्ला सचिव सुदिस प्रजापति, क्षेत्रिय उप संयाेजक प्रवेज अहमद, छिपहरमाई गाउँपालिकाका सभापती उमेश यादव, उपसभापति बृजकिशोर यादव, क्षेत्रीय सदस्य विक्की यादव, युवा नेता मुना बर्मा, रामाशंकर शाहलगायतको उपस्थिति रहेको थियो ।
भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ गठन, संगठन विस्तार, सम्भावित उम्मेदवार छनोट, कार्यकर्ता परिचालनलगायतका विषयमा छलफल भएको रास्वपा पर्साले जनाएको छ ।
त्यस्तै, पार्टी संगठनलाई अझ सशक्त, अनुशासित, व्यवस्थित र जनमुखी बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी रूपमा अघि बढ्ने विषयमा समेत सहभागीहरूले धारणा राखेका थिए ।








