Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 547

संघिय र सबै प्रदेश सरकारमा पालै पालो नेतृत्व हुन्छ : अध्यक्ष नेपाल

0

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघिय र प्रदेश सबै सरकारमा गठबन्धनकारी दलको पालै पालो नेतृत्व हुने बताएका छन् ।

जनकपुरधाममा शुक्रवार समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिती नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्ने बताए । चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मुलधारका पार्टीहरु समयमै समिक्षा सहित सुध्रिन संन्देश दिएकाले त्यसको तत्कालै समिक्षा र सुधार हुन आवयश्क रहेको उनले वताए ।

उनले अव ७० लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम् आफु लगायत त्यस्ता सम्पुर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरेका छन् । देशमा आर्थिक संकटका बिच प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई/दुई लाख दिने निर्णयको उनले विरोध समेत गरे । उनले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको बताए ।

आफुलाई धेरै कुरा थाहा नरहेको बताउँदै नेपालले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यसकाे विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र होइन बिप्लव समुह संग समेत कुराकानी भइरहेको बताउँदै उनले कम्युनिष्ठ आन्दोलन बचाउन मोर्चा गरिने बताए ।

समाजवादी पत्रकार संगठनका धनुषाका अध्यक्ष अकुल प्रसाद साहकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ प्रसाद साह, नेताहरु रामचन्द्र झा, सत्रुधन महतो, रामअवतार यादव, लाल गोइत, गोविन्द न्यौपाने, शितल झा, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह सहितको उपस्थिती थियाे ।

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

0

वीरगंज । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो ।

नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएको हो ।

नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

त्यस्तै नेपालमा जडान हुने वा उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक पेस गर्नुपर्नेछ । प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ ।

विभागले यही वैशाख १३ गते निर्देशिका परिवर्तन गर्ने निर्णय गरेकामा आज सो सम्बन्धी सूचना सार्वजनिक गरेको हो । निर्देशिकाको बुँदा नं ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी उल्लेखित विषय संशोधन गरिएको जनाइएको छ ।

सवारीसाधन दर्तासम्बन्धी समस्या भएको विषयमा उठेको जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि प्रधानमन्त्रीको कार्यालयले नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुन संशोधन गरी मन्त्रिपरिषद् प्रस्ताव ल्याउने निर्णय गरेको थियो ।

मधेसमा प्रदेशस्तरमै अनलाइन दर्ता

0

जनकपुरधाम । सङ्घीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा मधेश प्रदेशमा भने यससम्बन्धी सम्पूर्ण काम प्रदेशस्तरमै भइरहेको छ ।

अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सङ्घीय सरकारअन्तर्गतको सूचना तथा प्रसारण विभागमा दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकरण गर्न काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै हाल प्रदेशस्तरमै अनलाइन मिडिया दर्ता सुरु गरेको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ को व्यवस्थाअनुसार विगत ११ महिनादेखि दर्ता सुरु भएकामा हालसम्म २२ अनलाइन सञ्चारमाध्यम प्राधिकरणमा दर्ता भएका छन् । “प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ को दफा २० ले प्रदेशमै अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहनेले तोकिएको विवरणसहित प्राधिकरणमा दर्ता तथा अभिलेखिकरण गराउनुपर्ने व्यवस्था गरेको छ”, अध्यक्ष यादवले भन्नुभयो ।

सङ्घीय कानुन संशोधन भएमा मधेश प्रदेशलाई लक्षित गरी यसअघि केन्द्रमा दर्ता भएका अनलाइनका फाइल प्रदेशमा मगाउने प्रक्रिया सुरु गर्ने उल्लेख गर्दै उहाँले यसबाट नियमन, लोककल्याणकारी विज्ञापन वितरण र अन्य क्षमता विकासका काम गर्न सहज हुने उहाँले बताउनुभयो । प्राधिकरणको तथ्याङ्कअनुसार मधेश प्रदेशबाट सञ्चालन हुने भनि हाल केन्द्रमा दर्ता भएका अनलाइनको सङ्ख्या एक सय ६४ भन्दा बढी छ । केन्द्रमा सङ्घीय सरकारअन्तर्गतको विभागमा दर्ता र काउन्सिलमा सूचीकरण गरे जस्तै मधेश प्रदेशमा प्राधिकरणमा अनलाइन दर्ता गरी मधेश प्रदेश मिडिया काउन्सिलमा सूचीकरण गर्ने काम भइरहेको छ ।

काउन्सिलका कार्यबाहाक अध्यक्ष कैलास दासले यसरी प्रदेशस्तरमै अनलाइन दर्ता भएपछि अनुगमन, नियमन तथा अन्य कार्य गर्न सहज भइरहेको बताउनुभयो । “स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि काउन्सिलले काम गर्ने क्रममा मिडियाले आचारसंहिता पालना गरे नगरेको विषयमा पनि अनुगमन गर्नुपर्छ”, उहाँले भन्नुभयो,“प्रदेशस्तरमै अभिलेख र सूचीकरण भएपछि यहीबाट आवश्यक कार्य गर्न हामीलाई सहज भइरहेको छ ।” उहाँले दर्ता र अन्य हिसाबले केन्द्र सरकारका निकायप्रति जवाफदेहिता हुने भएपछि प्रदेशमा स्थापित मिडिया क्षेत्रसम्बद्ध संस्थालाई त्यस्ता माध्यमका बारेमा केही जानकारी नहुने हुँदा काम कारबाही गर्न कठिन हुन्छ भन्ने कुरा भर्खरै सम्पन्न बारा निर्वाचन क्षेन नं २ को उपनिर्वाचनबाट सिकाइ भएको बताउनुभयो । अब अरु मिडियालाई पनि प्रदेश सरकार र प्रदेश सरकारका निकायसँग कुनै न कुनै रुपमा जोडिने गरी सङ्घीय कानुनमा संशोधन आवश्यक रहेको दासको भनाइ छ ।

प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्रकुमार सिंह प्रदेशस्तरमा एकअर्काप्रति जवाफदेहिता सिर्जना गर्ने मात्र नभइ आफ्नो प्रदेशमा सञ्चालित मिडियाको दीगो व्यवस्थापनका लागि योजना बनाउन पनि कुनै न कुनै रुपमा मातहतका जिल्लामा सञ्चालित मिडियाको समन्वय प्रदेशसँग हुनेगरी कानुनी व्यवस्था हुनुपर्ने बताउनुहुन्छ । “हाल प्रदेशस्तरमा अनलाइन दर्ता सुरु भएको छ ।”

आगामी आर्थिक वर्षमा यहाँ दर्ता भएका अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापनलगायत अन्य व्यवस्थापकीय सुधार र दक्षता अभिवृद्धिका काममा ऐन नियम बनाउन र भएकै ऐन नियम संशोधन गरी आवश्यक काम गर्न सघाउ पुग्ने सिंहले बताउनुभयो ।

मधेश प्रदेशबाहेक बागमती प्रदेशअन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले अनलाइन दर्ता सुरु गरेको भनिए पनि सूचीकरणका लागि भने प्रेस काउन्सिल नेपाल काठमाडौँमै धाउनुुपर्ने अवस्था छ । मधेश प्रदेशमा हाल १२ टेलिभिजन, एक सय सात एफएम रेडियो र करिब आठ सयभन्दा बढी पत्रपत्रिका दर्ता छन् भने एक सय ७२ पत्रपत्रिका प्रेस काउन्सिल नेपालको वर्गीकरण प्रक्रियामा समावेश रहेको प्राधिकरणले जनाएको छ ।

वीरगंज नगर क्षेत्र भित्रकाे अव्यवस्थित तार हटाउने निर्णय

0

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू आइतबारबाट काटेर हटाउने भएको छ । बिहीबार महानगर क्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले नगर क्षेत्रको अव्यवस्थित तार काटेर हटाउने निर्णय गरेको हो ।

पहिलो चरणमा आइतबारदेखि घण्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने निर्णय गरिएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । महानगरले पटक पटक तार व्यवस्थापनका लागि पहल गर्दा समेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट भने काटेरै हटाउन लागिएको हो ।

बिहीबारको बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि ५ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागि भएका थिए । नेपाल टेलिकम, सीजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागि थिए ।

वीरगंजकाे मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलहरूमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाहरूले टाँगेका तारहरू अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकोले महानगरले व्यवस्थापनको लागि पटक पटक प्रयास गर्दै आइरहेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुन सक्ने हुँदा ती तारहरूको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो ।

बैठकमा सहभागि सेवाप्रदायक कम्पनीका प्रतिनिधिले तार व्यवस्थापनमा अटेर गर्ने सेवा प्रदायकलाई जरिबाना गर्ने व्यवस्था सुरु गर्न पनि आग्रह गरेका थिए ।

लागू औषध खैरो हिरोइनसहित १ जना पक्राउ

0

वीरगंज । बारा प्रहरीले लागु औषध खैराे हिराेइन सहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले भारत गोरखपुर खजुरी ग्राम पंचायत बस्ने बर्ष ६० को संतोष कुमार त्रिपाठीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको अधारमा खटिएकाे प्रहरी टाेलीले बिहिबार बिहान १०:०० बजेको समयमा बाराकाे जितपुरसिमारा उपमहानगरपालिकाकाे वडा नं. २१ अमलेखगंज स्थित त्रिभुवन राजमार्गबाट त्रिपाठीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ना.१.ज. २०८६ नम्बरको टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार त्रिपाठीले आफ्नो दुबै खुट्टामा २/२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन दुई सय ग्राम ईलास्टिकले बाँधी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषाेत्म प्रसाद पाण्डेले जानकारी दिए । 

साथै उक्त ना.१.ज.२०८६ न. को टाटा सुमो तथा सोका चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान समेत भई रहेको प्रहरीले जनाएकाे छ ।                 

राउण्ड टेबलद्वारा वीरगंजका ५२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

0

वीरगंज । राउण्ड टेबल नेपाल नामक संस्थाले देशभर एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले चलाउँदै आएको ‘एजुकेट ए चाइल्ड’ अर्थात एउटा बच्चालाई पढाऔं भन्ने कार्यक्रममार्फत बुधबार देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । संस्थाको वीरगंज, विराटनगर, धनगढी, नारायाणघाट, भैरहवा र काठमाडौँ लगायत देशभर रहेका शाखामार्फत बुधबार एकै पटक विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

‘एजुकेट ए चाइल्ड’ अन्तर्गत वीरगंजस्थित विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयमा आयोजना गरिएको कार्यक्रममा वीरगंजका तिन सामूदायिक विद्यालयका ५२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९, श्री महानगरपालिका आधारभूत विद्यालयका १० र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १३ जना गरी ५२ जना विद्यार्थीलाई २ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको संस्थाका एरिया ३ प्रोजेक्ट कन्भेनर दीपल खन्नाले बताए ।

राउण्ड टेबलको शाखा वीरगंज फ्रेन्ड्स राउण्ड टेबल ८ र वीरगंज राइजीङ राउण्ड टेबल २० ले संयुक्त रुपमा आफ्नो क्षेत्रमा पर्ने विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९ जना विद्यार्थीलाई ९६ हजार, श्री महानगरपालिका आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई ४४ हजार र श्री नेपाल राष्ट्रिय आधारभूत विह्द्यलीका १३ जनालाई ६० हजार गरी कूल २ लाख रुपैयाँ प्रदान गरिएको खन्नाले जानकारी दिए । प्रदान गरिएको रकम बराबरको चेक सम्बन्धित विद्यालयका प्रधानाध्यपक एवम् प्रतिनिधिहरुलाई प्रदान गरिएको उनले बताए ।

छात्रवृत्ति वितरणसँगै संस्थाले विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९ जना विद्यार्थीलाई पाठ्यपुस्तक र ब्याग (झोला) पनि प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकको सहयोगमा ब्याग प्रदान गरिएको खन्नाले बताए । त्यस्तै कार्यक्रममै क्लबका सदस्य गौरभ अग्रवालले व्यक्तिगत खर्चमा सोही विद्यालयलाई ६ थान पङ्खापनि दान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् राउण्ड टेबल इन्टरनेशनल एएसपीए क्षेत्रका प्रमुख सदस्य सौरभ केडियाले आधा दशकदेखि चल्दै आएको ‘एजुकेट ए चाइल्ड’ आजको दिनसम्म आउँदा धेरै ठूलो कार्यक्रम भइसकेको बताउँदै खुशी व्यक्त गरे । उनले एक हजार विद्यार्थीलाई शिक्षामा सहयोग गर्नु ऐतिहासिक विषय भएको उल्लेख गर्दै भने, ‘आज हामीले एक हजार विद्यार्थीलाई सहयोग गर्न सकेका छौं । आउने वर्षमा यो सङ्ख्यालाई हामीले बढाउँदै लग्नु पर्छ । समाज शिक्षित भए मात्र देश विकसित हुन्छ । देश विकासमा हाम्रो एउटा महत्वपूर्ण योगदान छ ।’

केडियाले दातृ संस्था र व्यक्तिहरुलाई छात्रवृत्तिबाट लाभावान्वित विद्यार्थीको प्रगति विवरणको बारेमा जानकारी गराउन आग्रह पनि गरे । ‘हामीले छात्रवृत्ति प्रदान गर्नुसम्म आफूलाई सिमित राख्नु हुँदैन । प्राप्त गरेका विद्यार्थीले यसबाट प्राप्त उपलब्धि बारे सहयोगीहरुलाई जानकारी गराउन पर्छ । यसले उहाँहरुलाई आफ्नो सहयोगको सदुपयोग भएको जानकारी हुन्छ,’ उनले भने ।

त्यस्तै विशिष्ट अतिथि एवम् राउण्ड टेबल नेपालका पूर्व सदस्य मनोज दासले आफ्नो विगतको अनुभवलाई साझा गर्दै ‘एजुकेट ए चाइल्ड’ जस्तो परोपकारी कामलाई निरन्तरता दिन सुझाव दिए । उनले आफू यस कार्यक्रमको सानो दाता भएको जानकारी गराउँदै आउने दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘पाँच वर्षदेखि चल्दै आएको यस कार्यक्रमको म पनि एउटा दाता हुँ । गरिब, असाहय र अब्बल विद्यार्थीलाई यसरी छात्रवृत्ति प्रदान गर्दा उनीहरुको पढाई तर्फ आकर्षण बढ्दै जाने भएकोले यस कार्यक्रमसँग जोडिन पाउँदा खुसी महसुस भएको छ । संस्थाका साथीहरुलाई आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन मेरो सुझाव छ । मेरो तर्फबाट हुने हरेक सहयोग मैले गर्नेछु ।’

त्यस्तै विद्यार्थीहरुलाई ब्याग उपलध गराउने महालक्ष्मी विकास बैंकका मधेश प्रदेश प्रमुख सुदीप पोखरेलले हजारौँ विद्यार्थीलाई सहयोग गर्ने कामको भाग हुन पाउनु सौभाग्यको विषय भएको बताए । उनले शैक्षिक क्षेत्रको सुधारका सहयोग गर्न आफ्नो बैंक सधै तयार रहेको जानकारी गराउँदै आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तिनवटै विद्यालयका प्रधानाध्यापकहरुले सामूदायिक विद्यालय सरकारको एकल लगानीबाट मात्र नचल्न सक्ने भएको हुँदा राउण्ड टेबल नेपाल जस्ता संघ संस्थाहरुको सहयोग अपरिहार्य भएको बताए । भविष्यमा पनि विद्यालयलाई हुँदै आएको सहयोगलाई निरन्तरता दिन उनीहरुको आग्रह थियो ।

कार्यक्रमलाई समापन गर्दै वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ का अध्यक्ष मनिष लाठले राउण्ड टेबल नेपालले अन्य सामाजिक काम गरेपनि शिक्षा पहिलो प्राथमिकतामा पर्ने बताए । लाठले देशको विकास र समृद्धिका लागि शिक्षित समाज अपरीहार्य भएको बताउँदै राउण्ड टेबलले यस्ता कामलाई अझै विस्तार गर्दै बढीभन्दा बढी विद्यालयसम्म पुग्ने लक्ष्य लिएको बताए ।

कार्यक्रममा वीरगञ्ज राइजीङ राउण्ड टेबल २० का अध्यक्ष राहुल सौथालिया, महालक्ष्मी विकास बैंकका वीरगञ्ज शाखा प्रबन्धक पुरुषोत्तम अधिकारी, राउण्ड टेबल नेपाल एरिया ३ का संयोजक आरोह मित्तल, लेडिज सर्कल नेपाल, विद्यालय र राउण्ड टेबल नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

राउण्ड टेबल नेपालले लामो समयदेखि शिक्षालाई आफ्नो प्राथमिकताको क्षेत्र मानेर काम गर्दै आएको छ । ‘एजुकेट ए चाइल्ड’ जस्तो कार्यक्रम मार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै संस्थाले वीरगञ्ज आसपास क्षेत्रका विभिन्न विद्यालयमा पक्की भवन निर्माणको कामपनि गरेको छ । त्यसका साथै समयसमयमा रक्तदान कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

अपहरण गरी फिरौती माग्ने दुई जना पक्राउ

0

वीरगंज । घर बनाउन बोलाएर अपहरण गरी फिरौतीको लागि चार लाख माग्ने दुई जना रौतहटबाट पक्राउ परेका छन् । प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ बर्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो भन्ने हिरामन महतोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरा स्थित रक्सी भट्टी पसलमा लगि ८/९ जना मिलेर गत बैशाख ९ गते अपहरण गरेका थिए ।

महतोलाई अपहरण गरि कोठा भित्र बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्दै अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैया माग गरेको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका महतोलाई सर्लाहीको बलराबाट भारत तर्फ लैजान लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बलरा नगरपालिका–३ स्थित नेपाल भारतको सीमाबाट अपहरणकारीमध्ये दुई जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए ।

पीडितको उद्धार गरिएको तथा पक्राउ परेका दुबै जनालाई अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उधोग मुद्दा दर्ता गरी अदालतबाट म्याद गराई कारवाही प्रक्रिया अघि बढाइएको एसपी मगरले बताए ।

प्राकृतिक प्रकोपबाट हुने क्षति राेक्न सरकार गम्भीर भएन : प्रभु साह

0

वीरगंज । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य (सांसद) प्रभु साहले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरकरको पूर्व तयारी अपर्यात्प रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । साहले प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न सरकार गम्भीर नबनेको आरोपसमेत लगाए । उनले प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न के भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।

साहले भने, ‘दिनदिनै आगलागीका घटना भइरहेका छन् । कुनै दिन छैन आगलागीका घटना नभएको दिन । आगलागी सुन्न नपरोस् । अहिले मात्रै बर्सेनि आगलागीका घटना दोहोरिरहन्छन् । बर्सेनि बोल्छौं तर, केहि गर्दैन सरकारले ।’ 

आगलागी पीडितहरूले न्याय नपाएको उनकाे भनाई थियाे ।

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीहरुसँग अन्तरक्रिया

0

वीरगंज । सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग १ दिने अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत अगुवाई, प्रदेश सरकारको समन्वय, हेल्भेटास नेपालको प्राविधिक सहयोग, स्थानीय सरकारको नेतृत्व र सेवा प्रदायक संस्था दिव्य विकास स्रोत केन्द्र, पर्साको सहजीकरणमा सञ्चालन भईरहेको “सुरक्षित आप्रवासन (सामी) परियोजना” अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

बैदेशिक रोजगारीको क्रममा ठगी तथा विभिन्न समस्यामा परेकाहरुको छिटो छरितो न्याय प्राप्ती तथा उनीहरुले पाउने क्षतिपूर्ति सहज ढंगबाट प्राप्त गर्नको लागि प्रहरीसंग समन्वय गर्ने तथा आउने दिनहरुमा बैदेशिक रोजगारीमा जाने कुनै पनि युवा ठगीमा नपरुन उद्देश्यले समुदायमा व्यापक सचेतीकरण तथा समस्यामा परेर उजूरी भएका घटनाहरुको न्यायीक प्रक्रियामा सहयोग गर्नको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको दिव्य विकास स्राेत केन्द्रका गणेश ठकुरीले जानकारी दिए ।

कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत शिवचरण रौनीयारले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको संक्षिप्त जानकारी तथा यस कार्यक्रमले कसरी आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाईरहेको विषयमा प्रस्तुतिकरण मार्फत जानकरी गराएका थिए ।

कार्यक्रममा आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता जयप्रकाश प्रसादले आप्रवासी स्रोत केन्द्रमा यस चालु आर्थिक वर्षमा ८७ ओटा बैदेशिक रोजगारी सम्बन्धी घटनाहरु दर्ता भएको, जसमध्ये २८ ओटा घटनाहरु समाधान भईसकेको वताए । जस मध्ये १४ ओटा घटनाहरु ठगीका घटनाहरु रहेको उनले जानकारी गराए  ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालको संविधानमा संशोधन भएका बैदेशिक रोजगार सम्बन्धी ऐन, नियमहरु तथा प्रमुख जिल्ला अधिकारीको भूमिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उनले यूवाहरुलाई विदेश जानु पूर्व नै ठगीनबाट बचाउनको लागि विभिन्न पहल गर्दै आएको कामकाे प्रशंसा गर्दै यसलाई अझै व्यापक रुपमा जनसमुदायमा पु¥याउनु आवश्यक रहेको वताए । उनले बैदेशिक रोजगारीमा जानेको संख्या बढेकोले ठगीनेहरुको संख्या पनि बढेको जसमा विदेश जानुपूर्व, गएपछि तथा विदेशबाट फर्केर आएपछि पनि ठगिने गरेकाे वताए । तर ठगीएको प्रमाण नभएका कारण यस्ता घटनाहरुलाई पनि प्रहरीको नेतृत्वमा ठगहरुबाट क्षतिपूर्ती दिलाउन सकिने कुरामा जोड दिदै प्रहरी साथीहरु संग यस्ता घटनाहरुलाई सामाधान लागी पहल गरिदिन पनि आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दावा शेर्पाले सामी कार्यक्रम तथा नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्य सम्बन्धी प्रस्तुीकरण गरेका थिए । कार्यक्रममा भएको खुल्ला छलफलमा सहभागीहरुले आ–आफ्ना जिज्ञासा राखेका थिए भने परियोजनाका कमचारीहरुबाट जिज्ञासालाई सामाधान गरिएका थिए ।

पत्रकार महासंघ पर्साको उपाध्यक्ष युवराज खड्काले सामी कार्यक्रम अन्तर्गतका सीपमुलक तालिम संचालन भईरहेको तर सबैलाई जानकारी नभएकोले समुदायलाई जानकारी गराउनको लागी चेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने कुरा आफ्नो मन्तब्यको क्रममा राखेका थिए ।

ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीले सामी कार्यक्रम एकदमै राम्रो रहेको र यसले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित बनाउनको लागी अहम भुमिका निर्वाह गरिरहेको वताए ।

दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रसाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सहित विभिन्न ईलाका प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयहरुका प्रतिनिधि, पत्रकार लगायतकाे  सहभागिता रहेको थियो ।

होटेल रोयल  विरगंजमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामकान्त प्रसाद कुर्मीले राखेका थिए भने सहजिकरण दिब्य विकास स्रोत केन्द्रका कोपिला चौलगाईले गरेकी थिइन ।

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

0

वीरगंज । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यकाे बैशाख १० गते आइतबार भएकाे उपनिर्वाचनकाे बुधबार विहान १:३० बजे सम्पन्न मतगणना नतिजा अनुसार ५ हजार ८१ मतले अध्यक्ष यादव विजयी भएका हुन् ।

५ दलिय गठबन्धनका सांझा उम्मेदवार समेत रहेका अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरि विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए  ।

तेस्राे स्थानमा नेकपा एमालेका पुरुषाेत्तम पाैडेल १० हजार २१६ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेल २ हजार ८२९ मत र पांचाै स्थानमा रहेका आम जनता पार्टीका अरुण कुमार ज्ञवाली २ हजार ७३८ मत पाएका हुन् ।

यस क्षेत्रमा एक लाख ५ हजार २४८ जम्मा मतदाता रहेपनि त्यसकाे ६५ .५८ प्रतिशत अर्थात ६९ हजार २२ मत मात्र खसेकाे थियाे । जस मध्ये ८३० मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

२०७९ मंसिर ४ गते भएकाे निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जसपा कै रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेकाे पदकाे लागि उपनिर्वाचन भएकाे थियाे ।